कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ज्येष्ठ नागरिकको दसैं

दसैंमा छोराछोरी पर्खिरहेका आमाहरु 

‘शरीर दुख्छ । यहाँ स्याहार हुन्छ भनेर ल्याएको छोराले । आफ्नो भनेको त कोही पनि छैन । सँगै बसे पो खुसी लाग्छ ।’
बुनु थारु

काठमाडौँ — चाउरी परेका गाला अनि हँसिलो चेहरा । तल्लोपट्टि एउटाबाहेक सबै दाँत फुक्लिसकेका छन् । आँखामा चस्मा अनि हातमा सानो घडी । उनको आँखा घरिघरि घडीमा गइरहेछ । लाग्छ, उनी कसैको प्रतीक्षामा छिन् । घरिघरि गेटतिर हेर्छिन् । 

दसैंमा छोराछोरी पर्खिरहेका आमाहरु 

९२ वर्षीया कमलकेशरी श्रेष्ठ घर जान उत्सुक छिन्, किनकि दसैं आएको छ ।

आर्थिक अवस्था राम्रो भएकी डिल्लीबजारकी कमलकेशरी डिप्रेसनकी बिरामी हुन् । घरका सदस्य सबैजना कामका लागि बाहिर जाने गर्दा उनी बिस्तारै एक्लोपनको सिकार हुँदै गइन् । एक्लोपनले उनलाई झर्किने र कराउने बानी लाग्न थाल्यो । दिनभर टिभीको सहारा तर परिवारको सदस्यको आभास नपाएकी यी आमा अहिले बाँसबारीस्थित हार्मोनी होममा केही समयदेखि बसिरहेकी छिन् ।

दसैं मनाउनका लागि उनका छोरा ५ बजे लिन आउने रहेछन् । छोराको बाटो हेर्दै बसेकी थिइन् उनी । ‘छोरोले लिन आउने भनेको छ, १ घण्टा बाँकी छ, उनले हौसिँदै भनिन् । कमलकेशरी कान कम सुन्छिन् तर घडी एक मिनेट पनि तलमाथि पर्दैन । सधैंझै मुस्कुराइरहने उनी एकछिन कोही नहुँदा उनी आत्तिन्छिन् । उनलाई हरदम कोही न कोही साथमा चाहिन्छ । मान्छेहरुसित बोल्दा उनी खुसी हुन्छिन् ।‘बूढी भएँ अहिले त । सबैतिर दुख्छ, भर्खर मालिस गरेको खुट्टा,’ उनले भनिन् ।

उनले हार्मोनी होममा साथीहरु पाएकी छिन् । बेलाबेलामा टिभी पनि हेर्छिन् । कमलकेशरीले टिभीतिर देखाउँदै भनिन्, ‘के के आउँछ, अलिअलि थाहा छ । रामायण, महाभारत हेर्छु । कृष्ण पनि आउँछ ।’

उनका दुई जना दाइ र भाइले पढ्न पाए, तर उनका बहिनी र उनले पढ्न पाएनन् । ‘शरीर दुख्छ । यहाँ स्याहार हुन्छ भनेर ल्याएको छोराले । आफ्नो भनेको त कोही पनि छैन । सँगै बसे पो खुसी लाग्छ,’ उनी दुःखी हुँदै बोलिन् ।

हातमा सानो ट्याटु खोपाएकी उनले यसको प्रसंग खोतल्दै भन्छिन्, ‘साथीहरुले जाउँ भन्न थाले खोपाउन । सिस्नुले पोलेजस्तै दुख्ने रहेछ ।’

कमलकेशरी बाआमाले जे किनिदिए पनि खुसी हुने गर्थिन् । दसैंमा पाएको दक्षिणा कहिल्यै जोगाउने र आफूले मन लागेको चिज किन्ने गरेको सम्झिन्छिन् उनी । बिहेको कुरा गर्दा भने उनी लजाउन पुगिन् । कुरा गर्दै गर्दा चिया खाएरमात्र जानु भनिरहेकी थिइन् उनी ।

०००

७२ वर्षकी चन्द्रमाया गुरुङ खुलेर बोल्न सक्दिनन् । बिर्सिने बानी छ । ६ वर्षअगाडि उनलाई स्ट्रोक पनि भएको थियो । बिस्तारै मात्र बोल्न सक्छिन् । ब्रिटिस आर्मी परिवारकी उनी वर्षदेखि हार्मोनी होममा आश्रय लिइरहकी छिन् ।

छोराहरु विदेशमा भएपछि उनलाई स्याहार्ने कोही भएनन् । बिर्सिने बानीले उनले परिवारका सदस्य चिन्न त चिन्छिन् तर भेट्न आइरहने छोरीलाई चिन्दिनन् ।

दसैंमा उनको परिवार हार्मोनी होममै आउँछन् । टीका थाप्छन् अनि रमाइलो गरेर फर्किन्छन् । उनलाई स्याहार्ने स्टाफहरुलाई उनले टिका लाइदिन्छिन् । ‘पहिले दसैं मनाउँदा धेरै मानिसहरुका जमघट हुन्थ्यो । अब दसैंघरमा सबैलाई टीका लगाइदिन्छु । दक्षिणा दिन्छु,’ उनले यति बोलिन् ।

हार्मोनी होममा यी दुई आमालगायत ७ जना अरु पनि बस्छन् । कोही अटिजम, प्यारालाइसिस, डिमेन्सिया भएका बिरामीहरु छन् । होमकी सञ्चालक रोशा श्रेष्ठ भन्छिन्, ‘ सबैजना आर्थिक अवस्था राम्रो भएकाहरु बसेका छन् । कतिका छोराछोरी विदेश, कतिको समय दिन नसक्ने, धेरै स्याहार चाहिने आमाहरु हुनुहुन्छ ।’

जान सक्नेहरु घर जाने, नभए छोराछोरीहरु यहीँ आएर दसैं मनाएर जाने गरेको उनले बताइन् । ‘सबैभन्दा सिनियर व्यक्तिले टीका लगाइदिन्छन् । म पनि लगाइदिन्छु । मिठोमिठो खाएर रमाइलो गर्छौं । घरकै वातावरण मिलोस् भन्ने हो,’ उनले भनिन् ।

प्रकाशित : आश्विन २९, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?