कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३
उहिलेको दसैं

त्यो बेलाको लखनऊ चंगा : सत्यमोहन जोशी

त्यसबेला तीनै सहरमा राजा बुढानिलकण्ठमा चंगा उडाउन गए रे भनेर चर्चा चल्थ्यो । राष्ट्रपिता श्री ५ त्रिभुवन आफ्ना तीन छोराहरूलाई लिएर बुढानिलकण्ठमा चंगा उडाउन जान्थे । राजा त्रिभुवन चंगाका सौखिन थिए ।
कान्तिपुर संवाददाता

काठमाडौँ — २००७ सालसम्म काठमाठौँ ‘फर्विडेन सिटी’ थियो । अर्थात् बाहिरका मान्छे पनि विरलै आउँथे । र, यहाँका मानिस पनि विरलै बाहिरफेर जान्थे । त्यसैले त्यसबेलासम्म यो तीन सहर ‘फर्विडेन सिटी’ थियो ।

त्यो बेलाको लखनऊ चंगा : सत्यमोहन जोशी

विदेशको त कुरै छाडौँ, हाम्रै मधेसबाट कोही काठमाडौँ आउनुपर्‍यो भने पनि चिसापानी गढीमा राहदानी देखाएरमात्र आउन पाउँथे । बाहिरी दुनियाँसित नेपालीको सम्बन्ध र सम्पर्क निकै खुम्चिएको थियो ।

तर अहिलेचाहिँ त्यो अवस्था छैन । यहाँका मानिसहरू संसारका कुनाकाप्चासम्म पुगेका छन् । संसारको जुन कुनै कुनामा गए पनि नेपाली अनुहार भेटिन्छन् । र, विदेशीहरू पनि यहाँ धेरै आउजाउ गर्छन् ।

यातायातको द्रूत विकास, रेडियो, टिभीको प्रवेश र सूचना प्रविधिको विकासले पूरै विश्वलाई साँघुर्‍याएको छ । मोबाइलको आविष्कारले त घुम्ने, लेख्ने, पढ्ने, फोटो खिच्ने सबै कुरामा निकै परिवर्तन ल्याएको छ । यसबाट हामी अलग हुनसक्ने अवस्था छैन । काठमाडौँको रहनसहन, लवाइ–खवाइ, जात्रा, पर्व, संस्कार, संस्कृतिमा पनि विश्वव्यापी खुलापनको प्रभाव परेको छ ।

यो खुलापनसँगै आयातीत संस्कृति पनि आयो । संस्कार, संस्कृति, जात्रा र पर्वहरूमा पनि नयाँ परिवर्तन आएको छ । यसलाई रोकेर रोक्न सकिँदैन । समयले नै ल्लाएको परिवर्तन हो यो । तर, दुःखको कुरा के भने युनेस्कोको सम्मेलनका अनुसार देखिने (ट्यान्जिवल) र नदेखिने (इन्ट्यिान्जिबल) संस्कृतिलाई कसरी जोगाउने भन्ने कुरा आएको छ । ‘ट्यान्जिबल’ भन्नाले मन्दिरलगायत भौतिक पूर्वाधार भन्ने बुझ्न सकिन्छ भने ‘इन्ट्यिान्जिबल’ भन्नाले मौलिक सम्पदा भन्ने बुझिन्छ । यसलाई चोरेर लैजाने गरेको कुरा सुन्दा ज्यादै दुःख लाग्छ ।

कुनै पनि मुलुकको संस्कृतिसम्बन्धी नीतिले त्यसको सुरक्षामा जोड दिएको हुन्छ । नेपालको पनि सांस्कृतिक नीति (कल्चरल पोलिसी) छ । नेपालले ‘कल्चरल पोलिसी’ पनि बनायो, त्यसको बचाऊ गर्नुपर्छ पनि भनेको छ । तर दक्ष जनशक्तिको अभावमा यो नीति कार्यान्वयन हुन सकिरहेको छैन । कागजी सांस्कृतिक नीतिमात्र भएर हुँदैन । यसका लागि मन्त्रालय, विभाग र बजेट सबैकुरा चाहिन्छ ।

म सानो छँदा उपत्यका एउटा ‘फर्विडेन सिटी’ थियो । बाहिरी दुनियाँको यहाँ कुनै प्रवेश र प्रभाव थिएन । पहिलेदेखि चल्दै आएको परम्परामा सबै बाँधिएका हुन्थे । त्यसमध्ये मुख्य आकर्षकचाहिँ खड्गजात्रा हुन्थ्यो । इन्द्रजात्रादेखि विभिन्न प्रकारका रमझम शुरू हुन्छ । हमी केटाकेटी छँदा सरकारले एक रूपैयाँ हो कि पचास पैसा ‘कल्चरल ट्याक्स’ पनि लिन्थ्यो ।

बसन्तपुरस्थित हनुमानढोका दरबारमा श्रीपञ्चमीमा वसन्त श्रवण हुन्थ्यो । राष्ट्रप्रमुखका रूपमा श्री ५ महाराजाधिराज वसन्त श्रवण गर्न हनुमानढोका जाने चलन थियो । त्यसपछि दसैँका बेला शारदीय गीतहरू सुनाउने चलन थियो ।

काठमाडौँका नेवार समुदायमा दसैँ आयो कि त्यो तलेजुसित सम्बन्धित भइहाल्छ । गाउँघरमा पनि तलेजुजस्तै ‘मिनी तलेजु’ निर्माण गरिन्थ्यो । शक्तिपीठहरुमा मानिसहरूको भीड लाग्थ्यो । अहिले पनि शक्तिपीठहरूमा मानिसहरूको भीड लाग्छ । सिंहदरबार अगाडिको भद्रकाली मन्दिर पनि एउटा शक्ति पीठ नै हो । त्यसबेला भद्रकाली मन्दिर मुख्य सहरभन्दा बाहिर थियो । शाक्त सम्प्रदायले देवीहरूको शक्तिको पुजाआराधना गर्छन् । त्यसबेला पनि गर्थे ।

मालश्री राग गाउने गरिन्थ्यो । अहिलेको कागेश्वरीमा ठूलो मेला लाग्थ्यो । ऋतुपरक गीतहरू गाउने चलन थियो । वर्षा ऋतुका गीतहरूलाई छाडेर शरद् ऋतुका गीतहरू गाउन थालेपछि दसैँ आएको बुझ्न सकिन्थ्यो । मालश्री धुन बज्न थाले सँगै दसैँको प्रवेश हुन्थ्यो । देवीका थानहरूमा धुमधामले पुजाआज हुन्थ्यो । चंगा उडाइन्थ्यो ।

केटाकेटी छँदा दसैँमा चंगा उडाउँथेँ । कौसी हुनेहरू कौसीमा गएर चंगा उडाउँथे, नहुनेहरू टोल टोलमा गएर जहाँ जहाँ चउर छ, खुला ठाउँ छ त्यहीँ गएर उडाउँथे । चंगा उडाउने, जात्रा जाने, यताउति हिँड्ने गरेर दसैँ मनाइन्थ्यो ।

चंगा बनाउने प्रविधि र आकार त लगभग उही नै हो । तर त्यो बेला लखनऊ चंगाचाहिँ नामी मानिन्थ्यो । सायद् लखनऊबाट ल्याएको भएर त्यसको नामै लखनऊ रहेको हो कि ! एउटै रङको हुन्थ्यो त्यो चंगा । उडाउँदा आवाज आउँथ्यो । उडाउँदाखेरी सरर्र, हरर्र आवाज आउँथ्यो । ‘थ्रेडिङ भ्वइस’ सिर्जना गर्थ्यो । लखनऊ चंगा उडाउँदा बडो मज्जा आउँथ्यो ।

हाम्रो यहाँको स्थानीय चंगाचाहिँ दुईवटा आँखा भएको हुन्थ्यो । आँखे चंगा पनि निकै चल्तीमा थियो त्यसबेला । त्यो चाहिँ हाम्रो यहीँको चंगा हो । त्यस्तै धर्के, दाह्रीवाल, स्वाडा आदि किसिम किसिमका चंगा हुन्थे । यी सबैमा नामीचाहिँ लखनऊ चंगा नै थियो ।

त्यसबेला तीनै सहरमा राजा बुढानिलकण्ठमा चंगा उडाउन गए रे भनी चर्चा चल्थ्यो । राष्ट्रपित श्री ५ त्रिभुवन आफ्ना तीन छोराहरू (महेन्द्र, हिमालय, बसुन्धरा) लाई लिएर बुढानिलकण्ठमा चंगा उडाउन जान्थे । राजा त्रिभुवन चंगाका सौखिन थिए । राणा शासनमा दरबारभित्रै कति बस्ने ? बुढानिलकण्ठको खुला फाँटमा चंगा उडाउन राजा गएको कुरा सर्वत्र हल्ला फैलन्थ्यो । दसैँको बेला त्यहाँ ठूलो मेला पनि लाग्छ ।

चंगा लडाउने धुन निकै हुन्थ्यो । एकजनाले अर्काको चंगा काट्ने भन्यो, आकाशतिरै आँखा लगायो, दौड्यो, हा..हा..हु..हु गर्‍यो । त्यसबेलाको मज्जै अर्को हुन्थ्यो । जीतबाजीको कुरा पनि आउँथ्यो । त्यो मनोरञ्जन मात्रै होइन कि ‘आर्ट अफ काइट फ्लाइङ’ नै हुन्थ्यो । लट्टाइँ कसरी घुमाउने, आकाशमा चंगा कसरी भिडाउने, कसरी काट्ने, कसरी नियन्त्रणमा लिने आदि कला आवश्यक हुन्छ चंगा उडाउँदा । न भोक न प्यास । दसैँ लाग्यो कि जात्रा र चंगाको रन्को छुट्थ्यो ।

प्रस्तुतिः ध्रुव सिम्खडा

प्रकाशित : आश्विन २८, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?