कथा : एउटा शून्य धुन - दसैं विशेष - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कथा : एउटा शून्य धुन 

सुरेन्द्रकुमार राई

दोस्रो महायुद्ध सिद्धियो । मान्छेको आलो रगत हेर्ने यज्ञले घाउको खाटो लगायो । सँगैको साथीहरुको लाम्टा उछिट्टिदा आफ्नो तिघ्रामा बुलेटको नमेटिने लेघ्रो बसे पनि मनबहादुरले भाग्य सम्झिएको छ । हरेक साँझमा मादल बेसुरसँग पिटेर लोकगीत गाउने मनबहादुर त्यसदिन गाउँ सम्झेर झोक्राइरहेको थियो । 

'कर्णेल सापको सवारीको सलामीका लागि सेभेन जि आर प्लाटुन तामेल होस् ।' तामेली विगुल सुनियो । अनि छाउनीभरि भागदौड सुरु भयो । 'करपोरल मनबहादुर ! ज्यान सञ्चो छैन कि क्या हो ?' उर्दिवाल उस्तादले सोध्यो ।

'साप' मनबहादुर तन्कियो, 'होइन साप ।'

'कर्णेल सापको सवारी छ । अब यही बोर्नियोमा नै रहनुहुन्छ । भीसीका लागि हाम्रा जवानहरुका नाम पनि सिफारिस छन रे । कुनै न कुनै तक्मा त मिली हाल्ला । छातीभरी तक्मा भिरेर गाउँ जाँदा कस्तो होला ?'

'हजुर साप ।' मनबहादुर फूर्तिलो भयो । उस्ताद उर्दीमै लागे ।

त्यही साँझ कर्णेलको सवारी भयो । कर्णेल हृयारिसन स्टेवर्ट झर्रो बेलायती नभएर स्कटिस थिए । रवाफिलो फौजी छाती थियो । बसोजको लडाईंमा उनको बहादुरीले ठूलो जित पाएकोले उनको ख्याती र ऐश्वर्य बढाएको थियो । आफ्नी पत्नी र पन्ध्र वर्षीया छोरी साथमा थिए । फौजीहरुका सलामी राइफलहरुसँग बुटहरु बजे । एक इशारामा ज्यान दिने फौजी कतारको कर्णेल सापद्वारा निरीक्षण भयो । 'द इरी' भन्ने बगैचाले भरिपूर्ण बङ्गलो कर्णेल सापको निवास भनी बोर्ड झुन्ड्याइयो । जहाजबाट लरीहरुद्वारा समानहरु ओसारिए । एउटा निकै गह्रुँगो पियानोलाई जवानहरुले जतनसाथ ओह्राले । कर्णेलको छोरी लाउरा आफै त्यहाँ थिइन् ।

'यूअर नेम ?' बैसको संघार छोएकी मिसले मनबहादुरलाई सोध्दा फुरुगं भई सलाम गरिकन भन्यो– 'मनबहादुर ।'

'गुर्खा ?'

'यस मिस ।' ऊ तन्क्यो । दैनिक बेलुका सिकाइने अङ्ग्रेजी भाषाले गोर्खा जवानहरुले साधारण अङ्ग्रेजी बोलीचालीका भाषा बुझ्दथे । अदवका वाक्यहरु छोटकरीमा फर्काउथे । मिस लाउरा पञ्जाहरु खोलेर पातलो दाहिने हात कृतज्ञता साथ मनबहादुर तर्फ बढाइन् । मनबहादुरले दुवै हात बढायो ।

'आई निड युअर हेल्प, विल यु ?'

मनबहादुरले झट्ट जवाफ दिन सकेन । अदवकासाथ उभिई मात्र रहृयो । उ पनि दोस्रो विश्वयुद्धको विजयी लक्का जवान थियो ।

त्यो गह्रौं पियानो ढोकाबाट छिरेन । जवानहरुले झ्यालका सिसाका खाप्टाहरु उप्काएर पियानोलाई कोठाभित्र छिराए । मनबहादुरलाई त्यो त कुनै हतियारजस्तो लागेको थियो तर बाजा भन्ने थाहा पाएर सौखिन गोराहरुले बजाउने, खेल्ने, आपसमा आदार सद्भाव लेनदेन गर्ने शैली देखेर आह्रिस गर्‍यो । त्यो साँझ किनकिन मनबहादुरले माझघरे साईलीलाई सम्झियो । अनि लाउरासँग दाँज्यो ।

लाउरा आइतबार बिहानपख चर्च जानुबाहेक यदाकदामात्र बंगलो बाहिर निस्कन्थिन्, मानौं 'द इरी' बंगलो कुनै पुतली हो उनीबाहिर निस्कानासाथ उडेर जान्छ । आकलझुकल साँझपख बगैंचामा टहल्लिन्थिन् । स–साना फूलहरुका पत्र वा पातहरुलाई छुन्थिन् । अलकति साह्रो हिँड्दा वा फूलहरुलाई छुँदा तिनीहरु बिग्रन्छन झैं गरी फूलहरुलाई माया गर्थिन् । बिरुवाहरुमा भएका स–साना किराहरुलाइ नियाल्थिन् । पञ्जा लगाएका हातहरुमा एउटा हातमा पातला औंलाहरुले किताब च्यापिएका हुन्थे वा एक हातले गुलाबी छातालाई समातेर एक हातले भुईँ छोइरहेको लामी स्कर्टको फेरोलाई समाइरहेकी हुन्थिन् । एकछिन त्यो बगैंचाको मूलगेटमा उभिन्थिन् र भित्र अलप हुन्थिन् ।

रातको खानापछि त्यो गह्रुँगो पियानो बज्थ्यो । तर, आवाज हलुका निस्कन्थ्यो, लाउराका पञ्जा वा हिँडाइ झैं । त्यो धुन 'द इरी'लाई छाडेर लाउराका फूलहरु हुँदै छाउनीसम्म ढाक्थ्यो । जवानहरुलाई त्यो धुन पर्खने बानी परिसकेको थियो । यदाकदा तालीहरु पनि सुनिन्थ्यो । गोराहरुले गाउने प्रार्थना गीत वा ब्रिटिस परम्परागत राष्ट्रिय धुनहरु बज्थे ।

मनबहादुर ? ऊ यो मेरो कथाको बिलकुल सर्वसाधारण पात्र हो । बिलकुल सर्वसाधरण । मानिसले मानिसलाई बनाएको यो–त्यो को घेराभित्रको सर्वसाधरण भए पनि प्रकृतिले उसलाई पुरुष प्रदत्त गरेको छ । प्राकृतिक रुपमा नियमअनुसार परिपक्व जवान छ । घेराको सर्वसाधारण मनबहादुर प्राकृतिक रुपमा परिपक्व सृष्टि हो । जो–कोही ठूलोसानो सपना देख्छन् । प्राकृत मनबहादुर पनि देख्छ । उसको सपनामा लाउरा स्टेवर्टका पातला हातहरुबाट निस्कीएका धुनहरु गुन्जिरहन्छन् । सपना त हो हृदयको आवाज । स्वत:स्फूर्त झन्कार हो । त्यहाँ मैले दोषको प्रश्न ल्याउनु मेरो भूल हुनेछ । कर्णेल स्टेवर्ट पनि दोषमुक्त, पियानो पनि दोषमुक्त, लाउरा पनि दोषमुक्त, माझघरे साइली पनि दोषमुक्त । सारमा निर्दोष तथ्य छ । यो निर्देष तथ्यमा कतै दोषको गुन्जायस आउनैपर्छ भने त्यो दोषचाहिँ उही सर्वोच्च शक्ति दिने सात्र हो । जसले सबैको प्रार्थना र गालीउस्तै सहजमा लिन सक्छन् ।

मनबहादुरलाई एकपटक 'द इरी' जाने मौका मिल्यो । केही पार्सल पुर्‍याउनु थियो । कर्णेल थिएनन् । श्रीमती स्टेवर्टले स-धन्यवाद कोसेली लिइन् । मनबहादुरले त्यो बैठक कोठामा पियानोसँग लाउरालाई देखेन । भित्र कोहीसँग हाँसिरहेकीलाई उसले लाउरा भन्ने अड्कल गर्‍यो । कस्तो काडाँजस्तो घोच्ने हाँसो? राइफलको संगीनजत्तिकै हुनुपर्छ । अझ बिसालु पनि होला । मिठो बिष ।

मनबहादुरलगायत सेभेन जी आरका तीन जवानहरुलाई तीन महिने बिदा मिल्यो । ऊ भारी मनसँग साँझको जहाजमा कलकत्ताको लागि रवाना भयो । उसले आफूलाई त्यही बडेमानको जहाजसँग तुलना गर्‍यो । ऊ त्यस्तै भारी हो । लडाँइका दिनमा पो बरु ठीक थियो । मार्न सके त बाँच्न पाईने । गाउँ गएर छाती ढल्काउने सपना त थियो । कलकत्ता सहरमा साथीहरुले आमालाई एउटा छिटको सारी बुवालाई टेलरीनको पोश आफ्नी मनकीलाई चुरा, धागो के-के खोजे तर मनबहादुरले एउटा पियानो छान्न समय लगायो । साथीहरुले बौलायोसमेत भने । साँच्चै मान्छे एकपटक बहुलाउँछ तर मनबहादुरले चाहिँ लाउराको गँह्रुको पियानो जत्रो नभएर त्यो भोजपुरको अरुण नदीको ठाडो लाफे उकालोमा ढाकरमा बोक्न सक्ने पियानो किन्यो । उसलाई बजाउन आउँछ आउँदैन भन्नेसम्म पनि सोचेन । अनि गोरखपुर हुँदै ठूलो सास्ती लगाएर धनकुटा मुगाको तिल्के ओह्रालो र पारी लाफे उकालो काट्यो । अरुण युगौंदेखिउस्तै सुस्ताइरहेको थियो ।

पानी भर्न मध्यरातमा बुहारीले जरुवा उछिन्नुपर्ने गाउँ– दुम्मा । रणजीत लाहुरेले नौलो बाजा ल्यायो भनी हेर्नकै लागि छिमेकी गाउँ याकु, जरायोटार, दिफ्ला र कोही त दिल्पा, छिनामखु, खोटाङभन्दा परदेखि पनि आए । त्यो बाजा सबैलाई बजाउन आयो । लाउराजस्तै प्रार्थनाका धुन होइनन् । सबैले त्यसका चक्लेटी खाप्टाहरु थिचे । स्वतः फरक फरक आवाजहरु निस्किए । मनबहादुर स्वयं पनि त्यो पियानो बजाउन जान्दैनथ्यो । तर उसलाई सदा लाग्थ्यो त्यो पियानोको असली धुन उसलाई बजाउन आउँछ । उसका बावु परार बितेका रहेछन् । एक्ली आमाले धरधरी रोएर लाहुरको धन चाहिएन भनिन् । सपना सपनै हो भनी आमाको आसुँलाई अरुणलाई झैं फड्किन सकेन । माझघरे साइली नै उसको विपना भइन् ।

निमेष–निमेष समयले सबैलाई अदृष्य गर्तमा निल्दै गयो । मनबहादुर त्यही पखेरामा वर्षौं पियानोको धुन बजाइरह्यो । कार्त्तिके बेसीमा कतै-कतै ती पातला फूलका बोटहरु भन्ने सपना यदकदा देख्दथ्यो । छोरा–नातीहरुले पनि सघाए । अनि त एक दिन त्यो दिन पनि आयो– उसकी साइली र ऊ पालैपालो अरुणको एक डिलमा पुरिए । गोठमा आगलागी हुँदा घरको एक भाग पनि भेट्यो । छोरो परिवारसँग औलो खेप्न मधेस झर्‍यो ।

अहिले त्यो मनबहादुरको घर माकुराको जाल वा मुसाको मैदानमात्र बाँकी भएको खण्डहर छ । त्यहीँ कतै बेवारिसे अवस्थामा छ । पियानोका खाप्टाहरु उप्किएकोले मान्छेका कानहरुले सुन्न नसक्ने शून्य धुनहरु मात्र छन् । तैपनि कोही आलो मन हुने मान्छेले त्यो जीर्ण घर हेरेर तिलस्मी... अति दूर्लभ इश्वरले मात्र बुझ्ने धुन सुन्न सक्छन् ।

अनन्त अजम्मरी धुन ।

प्रकाशित : कार्तिक ८, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

बीपी प्रतिष्ठानमा कोरोनाले पाँचमहिने बालिकासहित दुईको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत पाँचमहिने बालिकासहित एक महिलाको मृत्यु भएको छ । उनीहरूको शुक्रबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा धरान उपमहानगरपालिका–११ सिधिंवा चोककी ५२ वर्षीया महिला र मोरङको सुन्दर हरैंचा नगरपालिकाकी पाँचमहिने बालिका छन् । उनका अनुसार पहिल्यैदेखि उच्च रक्तचाप र मधुमेहको समस्या रहेकी धरानकी महिलालाई कात्तिक ३ गते पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कात्तिक ५ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यसै गरी सुन्दरहरैंचाकी बालिकाको मस्तिष्कसम्बन्धी रोगको उपचार भइरहेको थियो । कात्तिक ५ गते विराटनगरको नोबेल अस्पतालमा पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका बीपी प्रतिष्ठान पठाइएको थियो ।

यससँगै प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ७२ पुगेको छ ।

प्रकाशित : कार्तिक ८, २०७७ ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×