२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एक्लै भएको कथा 

विशाल मरुभूमिमा एक्लै । दुई चार दिन हो भन्दै इन्डियन फर्क्यो । दिमागबाट बेली डान्स, पातलो कम्मर, हुक्का र ऊँटको सेकुवा क्रमशः धुमिल हुँदै गयो । म कठोर यर्थाथमा नराम्रोसँग बजारिएँ । यर्थाथमा महानीरवता थियो । र थियो एकाध घण्टामा आउने बालुवाको आँधी ।
प्रकाश थाम्सुहाङ

पहिलो लकडाउन ।  घरबाट निस्कनु प्रतिबन्ध थियो । राज्यको आदेश छँदै थियो, साथमा नौलो महामारीको भय पनि  । के सहर, के गाउँ  मानिस घरमै लुकेर बसेका थिए । बरण्डामा निस्केर हेर्छु घोर सन्नाटा छ । चारैतिर चकमन्न । सामाजिक सञ्जाल खोलेर हेर्‍यो रित्तो रित्तो सडकहरु । लाग्थ्यो यो पृथ्वीमा घोर विपत्ति आउनेवाला छ र मानिसहरु यो ग्रह छोडेर कुलेलाम ठोकिसके ।

एक्लै भएको कथा 

त्यो अत्यासलाग्दो समयमा सिनेमा समय बिताउने र महामारीको भयबाट ध्यान मोड्ने उपयुक्त माध्यम बनिदियो । लकडाउनको समय मित्रहरुको सिफारिसमा निकै हेरियो सिनेमा । कुनै बखत लाग्यो म सिनेमा म्याराथनमा छु । यसबीच, सिनेमा अभिव्यक्तिको उत्कृष्ट माध्यम हो भन्ने फेरि बोध भएर आयो । प्रस्तुति उम्दा भयो भने सिनेमा कलाको समुच्य रुप हुँदोरहेछ ।

सिनेमामाथि अलिकति पनि जानकार छु भन्ने ममा भ्रम छैन, तर म इमान्दार दर्शक हुँ भन्नेमा विश्वस्त छु । जस्तो कि कुनै कुनै सिनेमाहरुले मस्तिष्क यस्तो रन्थनाउँछ कि त्यसको ह्याङ धेरैदिनसम्म रहिरहन्छ । लकडाउनकै बीच साथीहरु रोशन र सुरेन्द्र राईको सिफारिसमा ‘कास्टअवे’ भन्ने अंग्रेजी सिनेमा हेरियो । एउटा कुरियर बोक्ने हवाइजहाजको दुर्घटनापछि बाँच्न सफल व्यक्ति जो वर्षौं टापुमा एक्लै बाँच्न अभिशप्त हुन्छ को कथा थियो – कास्टअवे । एक्लै निर्जन ठाउँमा एउटा एक्लो मानिसले बाँच्नका लागि गरेको संघर्षको कथा, जीवनप्रति उम्लेर आउने अथाह मोह भएको सिनेमा हेरिँरहदा म स्मृतिको गर्तमा भाँसिदै गएँ ।

अपुरो पुस्तक

तीन दशकअघिको समय । इलाम चोक बजार । यहाँबाट थोरै पूर्व लाग्दा एउटा पसल थियो । पसल बाहिर बोर्ड टाँगिएको हुन्थ्यो सिर्जना स्टोर । मेरो मानसपटलमा अझै ताजा याद छ त्यहाँ एक अंकल बस्थे जो मोटो पावरवाला चश्मा लगाएका हुन्थे । त्यो पसलमा म प्रायः गइरहन्थे । त्यहाँ डट्पेन कपी किन्थे । त्यो पसलको आर्कषण केमा पनि थियो भने त्यहाँ कमिक्स पाइन्थ्यो । चाचा चौधरी सिरिजको मलाई व्यग्र प्रतीक्षा हुन्थ्यो । अहिले यसो गम्छु, मेरो बाल मस्तिष्कमा कल्पनाशीलताको उडान भर्न मद्दत गर्ने त्यही कमिक्स थियो । र पढ्न लत लगाउने सिर्जना स्टोर । हिन्दी सिनेमा र कमिक्स नै हिन्दी भाषामाथि थोरै पहुँच पुग्नलाई आधार थियो, अहिले लाग्छ । केही समयपछि त्यहाँ नेपाली पत्रिका मुना पनि आउन थाल्यो । मुना अघोर मन पर्न थाल्यो मलाई ।

दसैंको लामो स्कुल बिदामा चङ्गा उडाउनु, साथीहरुसँग गुच्चा खेल्नु र पढ्नु नै मनोरञ्जनको माध्यम थियो । त्यो बेला घरमा टीभी थिएन । मोबाइल थिएन सुनाउँदा अहिलेका नानीहरु हाँस्छन् । एउटा रेडियो थियो पुरानो । धेरैअघि झापा जागिर खाँदा किनेको– बुवा भन्नुहुन्थ्यो । रेडियोमा बज्ने गीतको हतारहतार शब्द सार्नु पनि एउटा दैनिकी थियो । जब गीत सार्न थालेँ, कमिक्स र मुना पठनबाट छुट्दै गयो । अनि थपियो नयाँ पत्रिका जुन् दिदीहरुले त्यही सिर्जना स्टोरबाट ल्याउँथे । कादम्बिनी, गृहशोभा, गृहलक्ष्मी आदि । ती पत्रिकाभित्र एकाध छापिने कहानीहरु रुचिकर लाग्न थालेको थियो मलाई ।

कुनै कुनै पात्रहरु जीवन भर याद आइरहने हुँदा रहेछन् । म आख्यानका पात्रको कुरा गर्दैछु । त्यही बेला घरमा भेटियो साझा कथा । साझा प्रकाशनले छापेको किताबमा चुनिएका कथाहरु थिए । त्यहाँ गुरुप्रसाद मैनालीको बिदा कथा पनि थियो । बिदा कथाले अघोर छोयो मलाई । कथाको सरस बुनोटले पाठकलाई बाँधिराख्ने क्षमता थियो । तर वियोगान्त अन्त्यले पाठकलाई अवसादमा धकेल्थ्यो । आजपर्यन्त म मैनालीको कथा सम्झिन्छु र प्रभाको डुब्दै उत्रँदै गरेको शरीर, बिदा भनेको आवाज प्रतिध्वनित महसुस गर्छु । विजय मल्लको अनुराधा किन पागलपनबाट बौरिएनन् ! अझै छुकछुक लाग्छ । आजपर्यन्त यी पात्रहरु मस्तिष्कमा बसिरहनु आख्यानको शक्ति नै होला ।

एक मध्यान्ह । दसैंको कारण स्कुल बिदा थियो । घाम पारिलो र न्यानो लागेको थियो । हावामा ड्रागनफ्लाईहरु निमग्न कावा खाइरहेका थिए । लाग्थ्यो, चाड त उनीहरुलाई पनि लागेको छ । तर म भने उदास घर फर्किरहेको थिएँ । कारण मेहनतले बनाएको चङ्गा चेट भएर हावामै हराएको थियो । मनमा उब्जिएको थियो बदलाको भावना । दिमागमा खेल्दै थियो लट्टाईको धागोलाई अझै कसरी धारिलो बनाउन सकिन्छ । ताल परे चङ्गा चेट बनाउनेसँग भिड्ने सुर थियो । किनकि थुप्रै पटक चङ्गा चेट गराएर मेरो इगोलाई जिस्काइदिएको थियो । घरमा थियो ठुल्दाइले बनाउन लगाएको किताब राख्ने र्याक । त्यहाँ थियो मार्सल आर्टको किताब । विगतमा त्यो पढेर मभन्दा मुनि क्लासका विद्यार्थीमाथि प्रयोग पनि गरेको थिएँ ।

घरमा आएर सरासर त्यही किताब खोज्न थालेँ । तर त्यो पुस्त्तक भेट्नुभन्दा पहिले अर्को गाता च्यातिएको पुरानो पुस्तक हात पारेँ । के रहेछ भनेर पल्टाई हेरेँ । शब्दले तान्दै लग्यो । एउटा कौतुहलता जगाउँदै लग्यो । खासमा त्यो गाता उप्किएको पुरानो पुस्त्तक नेपालीमा अनुवाद भएको विदेशी आख्यान थिएछ । पछि कलेज पढ्दा अवगत भयो । जे होस् त्यो बेला मेरो बाल मस्तिष्कलाई उक्त आख्यानले यसरी रन्थनायो कि म मखलेल भएँ । सरस र मीठासपूर्ण अनुवाद र साथमा कौतुहलपूर्ण कथाले म अघोर सम्मोहित भएँ ।

एकाध दिन म त्यो पुरानो पुस्त्तकमा घोत्लिदैँ बसेँ । त्यो पुरानो पुस्तकको शिर्षक थियो ‘रबिन्सन क्रुसो ।’ समुन्द्रमा जहाज दुर्घटनाग्रस्त भएपछि भाग्यवश बाँचेर एक बिरानो टापुमा एक्लै परेका व्यक्ति रविन्सन क्रुसो । त्योबेला क्रुसोको आख्यानलाई सत्य कथा मानेर पढेँ । एक नाविकको साहस र जीवन सङ्घर्ष देखी अचम्मित भएँ । कथामा रविन्सन क्रुसो केही हप्ता क्षतिग्रस्त जहाजमा रहेको सुख्खा खाना खाएर बाँच्छन् । तर जब जहाजको खाना र पानी सकिन्छ अनि क्रुसोले गर्ने सर्भाइबल टेक्निकले पाठकलाई एडभेन्चरको दुनियाँमा पुर्‍याउँछ । प्रत्येक बिहान समुन्द्र किनारको बालुवामा कछुवाको अण्डा खोजाईको वर्णनले आजपर्यन्त मलाई रोमाञ्चित बनाउँछ । तर त्यो पुरानो किताब अपुरो थियो । रविन्सन क्रुसोको प्रत्येक बिहान आज कुनै जहाज आउँछ र उसलाई उद्दार गर्छ भन्ने आशा के साँच्चै पूरा हुन्छ ? त्यो पुरानो गाता च्यातिएको किताबमा थिएन । अनि के हुनु थियो ? म धेरै दिन छट्पटिएँ । खाना खाँदासमेत क्रुसोलाई सम्झिन्थेँ । के उनलाई लिन कुनै जहाज आयो कि त्यही बिरानो टापुमा नितान्त एक्लै मृत्युवरण गरे । कि अझै कछुवाको अण्डा खोजिरहेछन् ?

कास्टअवे सिनेमामा टम ह्यांक्सलाई धेरै वर्षपछि उद्दार गरिन्छ । के यसरी नै रविन्सन क्रुसोलाई पनि उद्दार गरियो ?

रविन्सन क्रुसो सन् १७१९ मा ड्यानियल डेफोले लेखेको आख्यान रहेछ । अंग्रेजी उपन्यासको इतिहास यही पुस्तकबाट सुरु भएको मान्नेहरु पनि धेरै छन् । भलै यसमा मतैक्य भने पाइँदैन । कसैले ‘डन किहोते’ त कसैले ‘ओरोनोको’ र कसैकसैले ‘ले मोर्ट डी आर्थर’लाई पनि अंग्रेजी भाषाको पहिलो उपन्यासका रुपमा लिन्छन् । मलाईचाहिँ रबिन्सन क्रुसो फेरि पढ्न मन लागेको छ । त्यो अपुरो किताबलाई पूरा गर्न मन लागेको छ ।

मरुभूमिमा क्रुसो

सन् दुई हजार लाग्नु केहीअघि, यो विश्वमा एउटा फेक न्युज खुब चर्चामा आएको थियो । मिलेनियम वर्ष लागेपछि विश्वका कम्प्युटरहरुले दुई अंकलाई कोड गर्ने छैनन् । अब परमाणु बमहरु आफसेआफ पड्किनेछन् र पृथ्वी ध्वस्त हुनेछ । सत्यझैं लाग्ने यो खबर अन्ततः पोस्टट्रुथ साबित भइदियो । माया सभ्यताको क्यालेण्डरझैं, कुनै धर्मगुरुको भविष्वाणीझैं अन्ततः सन् दुई हजारले पनि तमाम खबरहरुलाई झुटो साबित गरिदियो । सन् दुई हजारले पृथ्वीलाई ध्वस्त नगरे पनि विश्वलाई प्रत्यक्ष प्रभाव पार्ने घट्नाक्रमहरु घटित हुँदैथियो । यही बेला बिन लादेन खबरमा आए र अमेरिकाको जुम्ल्याहा टावरलाई खरानी बनाइदिए । पाँच वर्षअघि सुरु भएको नेपालको सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दै थियो ।

अखबार युद्व र मृत्युको त्रासद खबरले जहिल्यै भरिएको हुन्थ्यो । युवाहरु कि त युद्वमा थिए कि एयरपोर्टमा लामबद्व हुँदैथिए । मेरो मस्तिष्कमा नैराश्यता भरिन थाल्यो । आफूलाई ‘बिट जेनेरेसन’ ठान्न थालेँ र गलत समयमा जन्मिएको निर्क्योल निकाल्न थालेँ । गायक अरुण थापाको जीवनशैली र गीतको अचानक प्रशंसक भएर निस्केँ । अन्तत आईएको अन्तिम नतिजा पनि नकुरी म एयरपोर्टमा लामबद्व युवाहरुमध्ये एक भएँ । म अरब उडेँ ।

जसै दुबई एयरपोर्टबाट बाहिर निस्के तातो हावाले स्वागत गर्‍यो । लाग्यो, म अगेनोछेउ छु । सहरको भव्यता र विकासले भने चकित खाएँ । नयाँ सहरसँग अभ्यस्त हुन मलाई निकै समय लाग्यो । लाग्थ्यो, मलाई आँखामा पट्टी बाँधेर फिनिनिनी घुमाएर छोडिएको छ । तसर्थ म रनभुल्लमा छु । काम गर्ने बानी थिएन । देशको अवस्था कारण देखाउँदै प्रवासी भएको म, प्रवास बिल्कुलै सहज लागेन । सुरुमा अनुभवको कमीले काममा अभ्यस्त हुन समय लाग्यो ।

पुग्न पा छैन घर फिर्ने सोच मनमा पलाउन थाल्यो । खासमा म एउटा सेक्युरिटी कम्पनीमा गार्डको रुपमा गएको थिएँ । त्यो कम्पनीले अन्य कम्पनीसँग सम्झौता गरेर हामीलाई काम दिलाउँदो रहेछ । तर्सथ, जहाँ पठायो त्यहाँ जानुपर्ने र ठाउँ सरिरहनुपर्ने हाम्रो बाध्यता थियो । पहिलो ड्युटी सुपरमार्केटमा पर्यो । त्यहाँ धेरैजसो उभिनु पर्ने । उभिँदा उभिँदा खुट्टा सुन्नियो । हप्ता दिनपछि ड्युटी जान छोडिदिएँ । सुपरभाइजर खुब रिसायो । मलाई मस्त सुत्न पर्याप्त समय मिल्यो । दिनको खानापछि ओछ्यानमा के ढल्केको थिएँ क्याम्प सुपरभाइजरले बोलायो । ‘आधा घण्टामा तयार हुनू’ उसको उर्दी थियो । कुन ठाउँ सोधेँ मैले । पाकिस्तानी बोसले ठट्टा गर्दै बोल्यो — डिर्जट सफारी । मिश्री सुन्दरीका बेली डान्स आपके खिदमतमे पेस होगा ।

एक्लै – फेरि सोँधे । उसले हो मा टाउको हल्लायो । मसँग विकल्प थिएन । म सुत्न पनि आएको थिइनँ । केही पुराना साथीहरुलाई डिर्जट सफारीका बारेमा सोधेँ । उनीहरुले पनि रमाइलो हुने कुरा गरे । डिर्जट सफारीपछि साँझमा हुने खानपिन र बेली डान्समा सुरक्षा दिनुपर्ने होला, उनीहरुको अनुमान थियो ।

विशाल राजमार्ग । सयको गतिमाथि ल्याण्डक्रुजर कुदिरहेछ । मन एकतमासको भइरहेछ । कि यो राजमार्ग अजिङ्गर हो, मलाई यसले निल्दै गइरहेछ । सात, छ, पाँच, चार, तीन, दुई हुँदै जब एक लेनको सडकमा आइपुग्यौँ, गोवा घर भएको भारतीय चालकले गाडी रोक्यो । यसबीच हामी मेगा सिटी छाडेर सुनसान ठाउँमा आइपुगेका थियौँ । दाँयाबाँया चारैतिर रातो बालुवा नै बालुवा । लाग्थ्यो, मगंलग्रहको कुनै भूभाग हो । त्यो भारतीय चालकले गाडीबाट निस्केर टायरको हावा निकाल्न थाल्यो । मैले अतालिँदै सोधेँ – के गरेको ? उसले हाँस्दै भन्यो – टायरबाट आधा हावा निकाल्यो भने मात्र बालुवामा गाडी कुद्छ । नत्र गाडी फस्छ ।

साँच्चै गाडी त बालुवामा तुफान कुद्न थाल्यो । बालुवाका स–साना पहाडहरु उक्लिँदै ओर्लिंदै, कोल्टे पर्दै गाडी गुड्दा मुटु चिउँचिउँ भयो । यतिबेला मात्र बोध भयो म मरुभूमिमा छु । अरबमा छु । नत्र सहर त पैसा र मेहनतले हरियो थियो । जतिजति गाडी मरुभूमिको विशालतामा प्रवेश गर्दै गयो, मन उतिउति वेचैन हुँदै गयो । सुरुवातको एडभेन्चर आंतकमा परिणत हुँदै थियो । फेरि ड्राइभरको मलाई पुर्‍याएर आजै फकिर्ने कुराले खिन्न भएँ । उसले मलाई सम्झाउँदै थियो – मोबाइल आवश्यक पर्दा मात्र स्विचअन गर्नू । नत्र ब्याट्री सकिन्छ । पानी फारो गरेर चलाउनू । केही परे फोन गरिहाल्नू ।

अन्ततः गन्तव्य आइपुग्यो । मरुभूमिको सानो उपत्यका । वरिपरि बालुवाका स–साना पहाड, बीचमा सम्म ठाउँ । सम्म ठाउँमा वरिपरि टेन्टहरु । अन्यत्र लैजान मिल्ने सुन्दर बाथरुम, ट्वाइलेट । बीचमा स्टेज । अनुमान लगाएँ बेली डान्सर यहीँ नाच्छिन् ।

खोइ कोही छैनन् त ? – अलमल परेर सोधेँ । किन हुन्छन् त, यो बन्द भएको हो – उसको जवाफ ।

अनि मलाई किन ल्याएको ?

मलाई लानुको कारण त्यहाँ भएका महँगा सामानहरुको चौकिदारी रहेछ । त्यो डिर्जट सफारी गराउने कम्पनी बन्द भएका कारण सामान सहर नलगेसम्म मैलै सुरक्षा गर्नुपर्ने भएछ । त्यो पनि एक्लै । विशाल मरुभूमिमा एक्लै । दुई चार दिन हो भन्दै इन्डियन फर्क्यो । दिमागबाट बेली डान्स, पातलो कम्मर, हुक्का र ऊँटको सेकुवा क्रमशः धुमिल हुँदै गयो । म कठोर यर्थाथमा नराम्रोसँग बजारिएँ । यर्थाथमा महानीरवता थियो । र थियो एकाध घण्टामा आउने बालुवाको आँधी ।

खिस्रिक्क परेको म, ज्यान फालेर मरुभूमिमा पल्टिएँ । र आफैलाई खुच्चिङ् भने । पश्चिममा घाम रातो हुँदै थियो । आकाश ताक्दै विगत सम्झिएँ । कलेज, पढाइ, आवारागर्दी । काठमाडौंको वासा के सम्झिएको थिएँ कलेजो दुखेर आयो । अनि साउदी बसेर आएको एक साथीको सावधानी सम्झिएँ – मरुभूमिमा सिङ उम्रेको सर्प हुन्छ ।

भय, मनमा कुरा खेलाइले अबेरसम्म निद्रा नलागेको कतिखेर भुसुक्कै निदाएछु । ब्युझिँदा घाम झुल्किसकेको थियो । खाटमुनि हेर्छु केही घिस्रिएको डोब छ । साथीको चेतावनी याद भयो । किरा पनि हुनसक्छ, मन दह्रो बनाएँ । बिहानको नित्यकर्मपछि बालुवाको पहाड उक्लिएँ र टाढाटाढा हेरिपठाएँ । जताततै बालुवाको समुन्द्र । सजीवता केही छैन, देखिदैँन । फगत महाशून्यता । कि म सृष्टिको सुरुवाति चरणमा छु । तागेरा निङ्वाफूमाङले भर्खरै मान्छेको सृष्टि गर्न अह्राइ पठाएको पोरोक्मीयम्भामी हुँ म ।

कि म रविन्सन् क्रुसोको पछिल्लो भर्सन हुँ । मरुभूमिको महासमुन्द्रमा जहाज दुर्घटनापछि टापुमा फसेको छु । र उद्दारको पर्खाइमा छु । थाहा छैन कति समय एक्लै बस्नु छ । नितान्त एक्लै ।

प्रकाशित : कार्तिक ७, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?