संविधान !
मलाई एक पेग हिृवस्की दे !
मैले कहिले त्यसो भनेँ ?
जब कि
कसैकसैलाई
हिृवस्कीको झरना छ संविधानमा
एक व्यञ्जन दे !
त्यसो भनेँ र मैले ?
जब कि
कसैकसैलाई
पचासी व्यञ्जनको मज्जा छ
एक हात जमिन मागेको हुँ
एक हिस्सा सम्मान मागेको हुँ
समानता मागेको हुँ एक कित्ता
दलित जीवनको दस नंग्रा
मधेसी जीवनको दस नंग्रा
महिला जीवनको दस नंग्रा
अरू–अरू जीवनका दस–दस नंग्रा...
सहस्र नंग्रा खियाएर
गरेको छु यो भूगोल आवाद
जेजति छ हरियाली
मेरै नंग्राको दुःखगाथा हो
धारा, मेरा आँशुधारा
धारा, मेरा रक्तधारा
धारा, मेरा पसिनाधारा
छन् विलीन पातालमा
सनातनदेखि दुःखमा छु
दुःखबाहेक केही छैन मसँग
दुःखहरूबाट भागेर
म पुगुँला नै कहाँ र ?
चोटको अन्धकारमा छु
उदास र सइन अन्धकारमा
आँखामा जगमगाएका छन्
तोरीका फूलहरू
दुःखका फूलहरू
कसैले गर्दैन सोधनी
के छ खबर दुःखका फूलहरूको ?
राष्ट्रिय फूलको गाथको मात्रै
छ चिन्ता सर्वत्र
दस्तावेजै–दस्तावेज भागिहिँड्छ दुनियाँ
मलाई छलेर
मरुभूमिमा एक्लै छु, तिर्खासँग यात्रारत
हिँडिरहेको छु प्याकप्याकी
इतिहासको बालुवैबालुवा टेकेर
दस्तावेज बालेर आगो ताप्छु
दुःखको शाश्वत हिउँदमा
मृत्यु दिवस कति पटक मनाउनु
यो जिन्दगीमा ?
हातमा कसैले
चुट्किला संग्रह थमाइदिएको छैन
हाँस्नलाई
रुन थालेँ भने
हमलावर उक्सी उक्सी चक्कु चलाउँछ
त्यसैले सदा आक्रामक मुद्रामा हुन्छु म
बज्र खसाल्ने आकाशमुन्तिर
शूली उमार्ने धर्तीमा बाँच्न
यो एउटा मुद्रा पनि धारण गरिनँ भने
सारै के हुनेछ र
बाँच्नुको ?
नमरुन्जेल
हमलावरहरूलाई
हाँक त दिनु नै छ
मुटु कुल्चिजाने एक दिवसलाई
म पनि कसो कुल्चि नहिँडुला कुनै दिन ?
प्रकाशित : कार्तिक ४, २०७७ ०८:१६