२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रिलिजको ४ वर्षपछि यसरी ब्युँतियो सुगमको 'दसैं/तिहार' 

रीना मोक्तान

काठमाडौँ — दसैं नजिकिन थालेपछि आजभोलि सुगम पोखरेलको दसैं/तिहार गीत सुनिन थालेको छ । गायक सुगम पोख्रेलले गाएको यो गीत हरेक दसैंमा गाउँ/घरदेखि विदेशसम्म गुन्जिन्छ । 'यो गीत सुनेपछि दसैं आएको अनुभव हुन्छ,' फेसबुकमा यस्तो लेख्दै गीतलाई पुन:पोस्ट्याउँछन् दर्शक । सुगमको मन ढक्क फुल्छ । 

रिलिजको ४ वर्षपछि यसरी ब्युँतियो सुगमको 'दसैं/तिहार' 

'वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै

दसैं/तिहार चाड र वाड, खुशीले सारा भर्‍यो नि संसार

आह खुशीले सारा भर्‍यो नि संसार'

यो वर्ष पनि घटस्थापनाअघिदेखि नै यो गीत गुन्जिन थालिसकेको छ । सुगम आफैंले पनि केही दिनअघि एक डिपार्टमेन्टल स्टोर पुग्दा गीत घन्किइरहेको सुने । यसपालीको दसैंमा पहिलोपटक उनले आफ्नो गीत त्यहीँ सुनेका हुन् । त्यसपछि भाटभटेनी, छरछिमेकमा सुने । सुगमलाई लाग्छ यो गीतले दसैंमा खास अर्थ पाउँछ ।

'बाहिर निस्कँदा बाटोतिर पनि सुनिरहको हुन्छु । दसैंमा यो गीत बज्दा मनमा के लाग्छ भने हाम्रो काम सबैले रुचाइदिनु भएको छ भन्ने हुन्छ । दसैंको माहोलमा यो गीतको अर्थ अझ बढी खुल्छ जस्तो लाग्छ,' उनले सुनाए ।

आफूले सिर्जेको यो गीत यसरी हरेक दसैंमा घन्किएला भनेर सुगमले सोचेका थिएनन् । केही वर्षयता दसैंमा सँधै बज्ने गीतहरुको सूचीमा यो गीतले पनि स्थान पाउन थालेको छ । 'आफ्नो चाडपर्व, सँस्कृति आफ्नै तरिकाले मनाउनुपर्छ भन्ने हिसाबले गरेको हो यो गीत । खुशी लाग्छ, यो लेभलसम्म पुग्ला भनेर सोचेको थिएन । हरेक वर्ष दर्शकले प्रतिक्रिया दिइरहनुहुन्छ । बालबालिकादेखि वृद्धासम्मको मनलाई यो गीतले छुन सकेको छ,' दंग पर्दै सुनाउँछन् ।

सन् २००८ तिर स्टेज कार्यक्रमका लागि अमेरिका पुगेका थिए सुगम । अरुबेला पनि दसैं/तिहारमा स्टेज कार्यक्रमका लागि उनी विदेश पुगिरहन्थे । तर त्यो वर्ष दसैंमा देशबाट टाँढिनु पर्दाको अनुभव गीत बनेर उनको मुखबाट फुत्कियो,'वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै ।' त्यसपछाडिका पङ्ति फुरेन । तर, पुर्वेली भाकामा 'लाला' शब्द घुसाएर गीतको पहिलो हरफ गुनगुनाए ।

'दसैंमा बाहिर हुँदा मैले देश नै 'मिस' गरें । परिवार मिस गरें । विदेशमा पनि एकखालको रमाइलो त हुन्छ । तर गाउँ/ठाउँमा आफ्नै देशमा दसैं मनाउँदाको मज्जा अर्कै हुन्छ,' उनले गीत बुन्दाको समय सम्झे, 'त्यो अनुभवलाई नोस्टाल्जिक भएर मैले १/२ लाइन लेखें । मेलोडी बनाएँ ।'

पछि काठमाडौं फर्केर उनले संचारकर्मी रवि श्रेष्ठलाई गीत लेख्न लगाए । मेलोडी दिए । सुरुका दुई लाइन पनि सुनाइदिए । त्यसपछि एकै दिनमा रविले गीत लेखिदिए । 'एकै दिनमा गीत लेखेर दियो । मेरो अनुभव ठ्याक्कै शब्दमा उतारिदिएको थियो । मैले तिहारको पनि जोडौं भनेर एक लाइन लेखेको थिएँ । उसले त्यसमा थपिदिएको रहेछ । उसको शब्दलाई चलाउनै परेन,' सुगमले भने, 'मैले अलिकति सुरु गरेको थिएँ, उसले पूरा गरिदियो गीत । उसले गीत लेखेर दिएको कागज अहिलेसम्म पनि मसँग सुरक्षित छ ।'

गीत लेखिसकेपछि बिवश पौडेललाई अरेन्ज गर्न दिए । त्यसको केही समयपछि गीत रेकर्ड भयो । सन् २०१० तिर युट्युबमा सार्वजनिक भएको गीतले सोचेजस्तो चर्चा भने कमाएन । सिमित दर्शकबीच नै रुमल्लियो ।

चार वर्षपछि चर्चा

सार्वजनिक भएको चार वर्षपछि यो गीत एकाएक चर्चामा आयो । दर्शकको नजरमा नपरेको गीत चार वर्षपछि अचानक चर्चामा आउँदा सुगम आफैं चकित भएका थिए । 'मलाई जहाँसम्म लाग्छ २०१४ को दसैंबाट यो गीतलाई दर्शकले ह्वात्तै रुचाइदिनु भयो । म आफैंलाई पनि अचम्म लागेको थियो,' खुशी हुँदै सुनाए ।

सूचना प्रविधिको विकास सँगसँगै दर्शकको हातहातमा मोबाइल पुग्यो । उनका अनुसार दर्शक युट्युबतिर पनि सक्रिय हुन थालेपछि गीतको चर्चा चुलिएको हो । 'सायद दर्शकले युट्युबमा दसैं गीत खोजेर सुन्ने भयो होला । गीत खोज्दाखेरी यो गीत पनि आयो होला,' अनुमान लगाउँछन्, 'त्यो साल सोच्दै नसोचेको प्रतिक्रिया पाएँ । त्यसपछि सबैको मुखमै झुण्डियो । २०१४ पछिका दसैंको एन्थम नै बन्यो यो गीत ।'

गीत सुनेर एकजना सेनाका जवानले रुँदै फोन गरेपछि भने सुगमलाई पनि आफ्नो गीतले प्रभाव पार्‍यो भन्ने लागेको थियो । 'फोन गरेर उहाँ रुनु भो', नेपालमै भए पनि दसैंमा घर जान नपाउँदाको पीडा साट्नु भो । त्यसपछि मलाई गीतले मान्छेलाई छुन सफल भएछ भन्ने अनुभव भएको थियो । रुवाउनेसम्मको गीत बनाएछु भन्ने लागेपछि गीतले काम गरेछ भन्ने भयो,' उनले २०१४ को त्यो क्षण सम्झे ।

सुगम कति गीतले दर्शकलाई छुन समय लाग्ने बताउँछन् । 'दसैं/तिहार'मा सामान्य शब्दहरुको प्रयोग छ । विदेशिएकाहरुको पीडा समेटिएकै कारण गीतलाई अत्यधिक दर्शकले रचाइदिएको उनी बताउँछन् । नेपालमा हरेक परिवारका १/२ जना सदस्य विदेश पुगेकै हुन्छन् । पढाईका लागि होस् या कामका लागि नेपाली अमेरिका अस्ट्रेलिया, खाडी मुलुक पुगेका छन् । त्यसैले पनि गीतमा नेपाली दर्शकले अपनत्व अनुभव गरेको सुगमको भनाई छ । 'विदेशिनु हाम्रो जीवनशैली नै हो । सायद त्यसैले दर्शकको मन छोयो गीतले । शब्दले पनि दर्शकलाई छोएको छ,' उनले भने, 'यो म एक्लैले गरेको होइन । यो हाम्रो टिमको उपलब्धि हो ।'

'अर्काको देशमा लैलै सम्झना आको नि मैलाई,

सयपत्री फूलेको आँगन रातो अक्षता जमरा लगाई

यता मेरो आँशुको धारा, उता होलान् रातै ती निधार',

गीतको यो अंशले दसैं/तिहारमा विदेशमा हुनेहरुको मन हुँडल्छ । यो गीत धेरै चलेपछि के अन्य गीत विस्थापति भए त ? सुगमलाई त्यस्तो लाग्दैन । 'मेरो गीतले रिप्लेस गरिदिएको त म मान्दिनँ,' उनी भन्छन्, 'सबै गीतको कालखण्ड हुन्छजस्तो लाग्छ । समसामयिक विषय समेटेको हुनाले अहिलेको कालखण्डमा यो गीतलाई अलि बढीले रुचाइदिनु भएको हो । यो गीत पुर्वेली भाकामा छ । समला बिट प्रयोग गरिएको छ । पुर्वको हाकपारेसँग अलिकति नजिक छ यो भाका ।'

चाडबाडसम्बन्धि गीत कम बन्ने समयमा बजारमा ल्याएकै कारण यो गीतले दर्शकको साथ पाएको सुगम सुनाउँछन् । दसैंसम्बन्धि हरेक वर्ष गीतहरु सार्वजनिक भइरहेका हुन्छन् । सबै गीतले यत्तिकै चर्चा पाउँदैनन् । सुगम आफैंले दसैंका अरु २ गीत सार्वजनिक गरेका छन् । उनकै दुई गीतले पनि यसलाई उछिन्न भने सकेका छैनन् । उनले २ वर्षअगाडि 'दसैं आयो' बोलको गीत बजारमा ल्याएका थिए । त्यसमा जो जहाँ छन् त्यसमै रमाइलो गरौं भन्ने सन्देश मिसिएको थियो । गत वर्ष छोरी एञ्जेलिजासँगै 'शुभ दसैं' बोलको गीत सार्वजनिक गरेका थिए । गीत बालबालिका केन्द्रित छ । 'त्यसमा मामाघर जाने, चंगा, लङ्गुरबुर्जा खेल्ने कुराहरु समेटेको छु । त्यो संस्कार अहिले हराउँदै आएको जस्तो लाग्यो मलाई । हामीले जसरी दसैं मनायौं अहिलेको बच्चाहरुले त्यसरी मनाएजस्तो लाग्दैन । त्यसैले त्यो गीत बनाएँ,' उनले गीतबारे भने ।

यो गीतलाई दर्शकले 'दसैं/तिहार'सँग तुलना गरिदिएका थिए । तर, फरक स्वादको गीत ल्याउन रुचाउने उनी दसैंसम्बन्धि यी तीन गीतसँग सन्तुष्ट छन् । स्टेज कार्यक्रममा दर्शकले 'डिमान्ड' गर्ने गीत बनेको छ 'दसैं/तिहार' । विदेश होस् या नेपालकै कति ठाउँमा कार्यक्रममा यो गीत गाउँछन् सुगम । 'स्टेजमा यो गीत गाइरहेको हुन्छु । गीतलाई माया दिनु भएको खुशी शब्दमा बयान गर्न सक्दिनँ,' उनले आफ्नो खुशी साटे ।

'सालोको दौरा सुरुवाल मागेर भिडियो'

यो गीतको भिडियोको कन्सेप्ट सुगमकै हो । सुगमले 'वान लाइन' सुनाएपछि त्यसमा इनलाइन क्रियसनले भिडियो तयार पारेका हो । गीतको भिडियोमा नेपाली भेषभुषा देखाउने रहर थियो सुगमको । त्यसैले दौरा सुरुवाल लगाउने निर्णय गरे । त्यो बेला उनीसँग दौरा सुरुवाल थिएन । 'त्यो बेला मैले दौरा सुरुवाल सिलाएको थिइनँ । मैले मेरो सालोलाई फोन गरें, उसको दौरा सुरुवाल मागें । त्यही लगाएर सुटिङ गरें । मेरो भाग म बसेको घरकै छतमै बनाएको हो,' उनले सम्झे ।

भिडियो नाटकीय नदेखियोस् भनेर आफूहरुले दसैंको रौनक देखाउन केही फुटेज अरुसँग मागेर साभार गरेको सुगम सुनाउँछन् । यसअघि यो गीत 'इनलाइन क्रियसन'बाट सार्वजनिक भएको थियो । गीतमा ९० लाख बढी भ्युज प्राप्त थियो । तर, आफ्नो युट्युब च्यानल खोलेपछि सुगमले त्यो गीतलाई आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् । गीतलाई १ करोड बढीले युट्युबमा हेरिसकेका छन् ।

'सहमतिमै भिडियो मेरो युट्युब च्यानलमा राखेको हुँ । गीतको भ्युज अर्गानिक नै हो । त्यो गीतमा मेरो छोरी सानी छ । अहिले मेरो छोरी ठूली भइसकी,' भिडियोबारे भन्छन्, 'भिडियोको अन्तिमतिर विदेशबाट घर फर्किएको देखाइएको छ । मलाई यसमा विरहभन्दा पनि ह्याप्पी इन्डिङ देखाउने मन थियो । त्यसैले तिहारमा घर फर्केको देखाएको छु ।'

प्रकाशित : कार्तिक ३, २०७७ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?