एउटा दलाल कविको कथा
कविजी भनिरहन्थे–
‘इमानको मसीले लेख्नुपर्छ कविता
नैतिक हुनुपर्छ अक्षरहरू’
सहरका गोष्ठीहरूमा
कवि सम्मेलनहरूमा
भट्टीहरूमा
कविजी दोहोर्याइरन्थे–
‘भुइँमान्छेका आँसु र आक्रोशको आरनमा
डढेको हुनुपर्छ कविता
पसिनाको दूर क्षितिजबाट साँझपख भोकै फर्किरहेका
कर्मठ गौंथलीहरूको गीत गाउनुपर्छ कविताले
जब कविताले सुकिला शब्दहरूको छाता ओढ्न थाल्छ
बिम्ब र प्रतीकबीच दलाली गर्न थाल्छ
तब कविता मर्छ
कविता त, एन्टिकरेन्ट हुनुपर्छ एन्टिकरेन्ट !
लेख्दालेख्दै कविता
कविजीको उमेर ढल्किँदै गयो
सँगैका संगीहरू
–मन्त्री बने
–गुन्डा नाइके बने
–ठेकेदार बने
–लाहुरे बने
–जग्गा दलाल बने
तर कविजी कवि नै रहिरहे
लेखिरहे– यो देशमा म एउटा असल मान्छे खोजिरहेछु ।
अचानक एक दिन,
कविजी हराए
सहरका कवि गोष्ठी, सम्मेलन र भट्टीहरूमा
देखिन छाडे कविजी
अखबारका दसैं अंकबाट पनि
कविजीको नाम गुमनाम बन्यो
महिनौंपछि–
काँठको कुनै भित्री गाउँबाट
कविजीको फोन आयो–
‘निकै सस्तोमा जग्गा पाइन्छ है मित्र !
प्लटिङ थालेको छु, कहिले हेर्न आउने ?’
प्रकाशित : कार्तिक १, २०७७ १०:१९