अनुवाद उँभौली- दसैं विशेष - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुवाद उँभौली

विडम्बना के भने गतिला अनुवादकले ज्यालादारीमै चित्त बुझाउनुपर्ने अवस्था छ । तिनले मौलिक लेखकसरह प्रोत्साहन पनि पाएका छैनन् । स्तरीय कृति अनुवादका निम्ति न्यूनतम लगानीकर्तासमेत भेटिँदैनन् । अनुवादकले एकमुष्ट रकम लिने कि रोयल्टीमा गर्ने विकल्प पनि खुला भइसकेका छैनन् । अनूदित सामग्रीको स्तरवृद्धिका लागि ‘पियर रिभ्यू’ र मूल कृतिसँग रुजु गराउने चलन पनि छैन ।
राजकुमार बानियाँ

दसैँको मुखमा एकसाथ चार अनुवाद कृति पाठकलाई सुम्पियो, प्रकाशक बुकहिलले । ‘सत्ता र सत्य’, ‘युगान्त’, ‘मुसा मानुष’ र ‘विमुक्ति’ । अनूदित किताबको लस्कर भने सुविचारित नभएर संयोग मात्र रहेछ ।

कतिपय लेखकले कोभिडको कारण देखाएर क्यालेन्डरमा रहेका मूलकृति निकाल्न चाहेनन्, प्रकाशकले पनि प्रतिकूल समयको जोखिम उठाएनन् । र, पालो पाए अनुवाद कृतिले ।

मौलिक लेखनमै चम्किएका युवाहरूले उम्दा उल्था गरेर पाठकलाई दसैं उपहार टक्र्याएका छन् । पोखरा बसेर गनेस पौडेलले नोबेल पुरस्कार विजेता जोन स्टेनबेकको सदाकालीन आख्यान ‘अफ् माइस एन्ड मेन’ को अनुवाद ल्याए, ‘मुसा मानुष’ । संसारका सयौं भाषामा अनूदित र करोडौं थान बिक्रीको कीर्तिमानी यो आख्यानमा सन् १९३० को महामन्दीपछिको कृषि मजदुरको कथा छ । यो अमेरिकी स्कुलेको प्रिय पुस्तक हो तर कतिपय ठाउँमा प्रतिबन्धित पनि छ । गनेसले पश्चिमाञ्चल क्षेत्रको बोलीबान्कीमा यसको अनुसिर्जना पस्केका छन् ।

पोखराकै पढाकु युवा समूह ‘ह्वाट द बुक क्लब’ ले उपन्यासबारे बोलिदिन निम्त्याएपछि गनेसमा अनुवादको औडाहा चलेको रहेछ । उनी सिर्जनात्मक लेखन नफुर्दा आफ्नो दिल–मथिंगल चोरेका खुद्रा रचना अनुवाद गरिबस्छन् । ‘मेरा निम्ति अनुवादलाई एउटा सात्त्विक समाजसेवा हो,’ उनी भन्छन्, ‘यसलाई पैसा पनि आउने समाजसेवा भन्दा अझ आनन्द होला ।’

‘भारी–भरकम चीज निरन्तर पढिरहँदा पट्यार लागेपछि मन भुलाउन म कविता पढ्ने गर्छु,’ इतिहासकार नयराज पन्तको यसै उक्तिलाई पछ्याउँछन्, लेखक सुजित मैनाली । एकैखाले किताब पढ्न र एकैखाले सामग्री लेख्न दिक्क लाग्दा केही समय विश्राम लिने क्रममा उनले भारतीय मानवशास्त्री इरावती कर्वेको कालजयी कृति ‘युगान्त’ को अनुवादमा लागेका थिए ।

यो अनूदित कृतिले महाभारतै नपढेका पाठकलाई समेत महाभारतका अन्तरकुन्तरबारे सोलोडोलो जानकारी दिनेछ । ‘हामीकहाँ महाभारतसम्बन्धी एउटा पनि गहकिलो किताब लेखिएको छैन । पुस्तकालयमा पनि महाभारतसम्बन्धी प्रमुख ग्रन्थहरूको संकलन छैन,’ उनी भन्छन्, ‘आफूलाई मन परेको किताब आफ्नै भाषामा उल्था गरी पाठकलाई दिएको हुँ ।’

अनुवाद साहित्यमा युवा हलकारा मात्र होइन, प्रौढ हलकाराको सक्रियता पनि लोभलाग्दो छ । पटकपटक अन्तिम अनुवाद भन्दै आएका ७५ वर्षीय खगेन्द्र संग्रौलाको खातामा नयाँ उल्थाकृति थपिएको छ, ‘सत्ता र सत्य’ । त्यसमा मेरी डेसेनको छनोटमा अल्बर्ट आइन्सटाइन, बर्तोल्ट ब्रेख्त, आन्टोनियो ग्राम्स्की, विलियम मोरिस, विलियम हिल्टन, इडुआर्दो ग्यालियानो, हवार्ड जिन र एडवर्ड डब्लू सइदका ११ दार्शनिक निबन्ध छन् ।

सिर्जनाभन्दा अनुवादले चिनिएका संग्रौलालाई सुपरस्टार अनुवादक भने पनि हुन्छ । उनले विदेशी भाषाका तीन दर्जन कृति अनुवाद गरिसकेका छन् । त्यसो त उनलाई मौलिक चिन्तन र सिर्जना भएको मान्छे अनुवादमा किन अलमलिएको भन्ने हितैषी पनि नभएका होइनन् । ‘मलाई थाहा छ, म जे अनुवाद गर्छॅ, त्यस्तो लेख्न सक्दिनँ,’ उनी भन्छन्, ‘अनुवाद एक हिसाबले आफ्नै अज्ञानता र अभावको क्षतिपूर्ति हो ।’

अंग्रेजीबाट मात्र किन ? नेवारी (नेपाल) भाषाबाट समेत नेपालीमा अनुवाद भयो, मल्ल के सुन्दरको ‘विमुक्ति : बौद्ध विनय र सशस्त्र विद्रोहबीचको संवाद’ । मल्लको सात वर्ष पहिले प्रकाशित उपन्यास ‘व लँपु : थ्व पलाः’ को अनुवाद गरेका हुन्, महेशराज महर्जन र राजेन्द्र महर्जनले । यसले माओवादीको दसवर्षे विद्रोहको मर्मान्त कथा कहेको छ ।

‘बुकहिलसँग अनुवादको लामै सूची छ तर यसपालि सकिएका काम एकैसाथ आए,’ बुकहिलका भूपेन्द्र खड्का भन्छन्, ‘संकटका बेला मूलकृति दिन नसके पनि विश्वसनीय अनुवाद दिन पाएकामा खुसी छौं ।’ त्यसो त यहाँ अंग्रेजीमा लेख्ने विदेशी लेखकहरूको तुलनामा नेपाली लेखकद्वारा अंग्रेजीमा लेखिएका किताब खासै पढिँदैनन् । त्यही तितो यथार्थका कारण चाडबाडको किचाघानमा सगुना शाहले सुन्दर अनुवाद गरेर देखाइन्, ‘कान्छा महारानी’ ।

नारीलाई मुख्यपात्र बनाएर लेखिएको शीवा शाहको ऐतिहासिक आख्यान ‘द अदर क्विन’ को विमोचनमै उनले प्रोलग उल्था गरेर सुनाउँदा धेरै पाठकले नेपालीमा पढ्ने हतार भएको प्रतिक्रिया दिइसकेका थिए । ‘मैले अनुवाद रोजेको भन्दा पनि लेखकबाट प्रस्ताव पाएकी हुँ,’ उनी भन्छिन्, ‘दरबारिया बोलीचालीको भाषा मध्यनजर राखी मलाई प्रस्ताव आएको रहेछ ।’ त्यसअघि उनले फुटकर कथा र कविता अनुवाद गरेकी थिइन् ।

विभिन्न प्रकाशनगृह थुप्रै अनुवाद कृति बजारमा ल्याउने तम्तयारीमा छन् । ‘कान्छा महारानी’ को प्रकाशक सांग्रिला बुक्सले मञ्जुश्री थापाको उपन्यास ‘अल अफ अस इन आवर ओन लाइभ्स’ को अनुवाद गराइसकेको छ । विदेशीले पत्याएकी लेखक मञ्जुश्रीले उज्ज्वल प्रसाईको अनुवाद कलामार्फत नेपालीभाषी पाठक पाउँदै छिन् । ‘अनुवाद मात्र भन्दा पनि राम्रो किताबको बजार जहिल्यै हुन्छ,’ सांग्रिलाका मणि शर्मा विश्वस्त छन्, ‘अनुवाद सिर्जनाभन्दा मुस्किल काम हो, त्यस्ता कृति आए स्वागतै गर्छौं ।’

एकपछि अर्को हिट अनुवाद दिइरहेको प्रकाशक फाइनप्रिन्टले भने किताबी बाढीका कारण मनीषा कोइरालाको आत्मकथा ‘जिजीविषा’ को विमोचन दसैंपछाडि धकेलेको छ । मूलकृति ‘हिल्ड’ लाई पत्रकार स्वरूप आचार्यले उल्था गरेका हुन् । पाउलो कोहेलोको बेस्ट सेलर ‘हिप्पी’ लाई सुरेश बादलले भाषान्तरण गरेका छन् भने दिनेश काफ्लेले नयनराज पाण्डेकृत आख्यान ‘उलार’ र ‘लू’ को अनुवाद टुंगो लगाएका छन् ।

‘अनुवादको अतिरेक इच्छा भएर स्वीकृति लिन नपाउँदा हामी खुम्चिन बाध्य छौं,’ फाइनप्रिन्टका नीरज भारी सुनाउँछन्, ‘सानो देश भनेर हो कि कपीराइट माग्दा विदेशी प्रकाशकहरूले त्यति रेस्पोन्स गर्दैनन् ।’ अर्को प्रकाशक मञ्जरीले आचार्य चतुरसेनको श्रेष्ठ उपन्यास ‘वैशालीकी नगरवधू’ दसैं बोनस दिएको छ । तत्कालीन लिच्छवि संघको राजधानी वैशालीकी पुरावधू आम्रपालीको चरित्रचित्रण गरिएको यस ऐतिहासिक आख्यानलाई चतुरसेनले आफ्नो एक मात्र रचना बताएका थिए ।

इन्डिगो इन्कले मारिया मन्टेसरीको ‘सेक्रेट अफ चाइल्डहुड’ सागर चन्दको अनुवादमा ‘बाल्यकालका संघर्ष’ ल्याउँदै छ । यसैगरी सिल्भिया एन्टन वर्नरको प्रसिद्ध पुस्तक ‘द टिचर’ लाई वन्दना ढकालले ‘शिक्षक’ तयार गरेकी छन् ।

बुक हिलले अबको पालोमा योङे मिङ्ग्युर रिन्पोछे र एरिक स्वानसनको पुस्तक ‘द जोय अफ लिभिङ’ को सरोज धितालकृत अनुवाद ‘जिउनुको मज्जा’ र काफ्काकृत ‘मेटामफोर्सिस’ को रामचन्द्र केसी अनूदित ‘कायान्तरण’ लाई राखेको छ । साँच्चै भन्ने हो भने नेपालमा व्यवस्थित अनुवाद परम्परा सय वर्ष लामो पनि छैन । भानुभक्त आचार्यले बाल्मीकिकृत संस्कृत महाकाव्य ‘रामायण’ को भावानुवाद गरी यसको जग बसाए पनि संस्थागत प्रयास भने विसं १९९७ मा मात्र हुन सक्यो । विश्व साहित्य आदानप्रदानका लागि ‘भाषानुवाद परिषद्’ बन्नुअघि पुष्करशमशेरले दुई खण्डमा ‘अंग्रेजी नेपाली कोष’ छापेका थिए ।

यहाँनेर सम्झनुपर्ने हुन्छ, भाषानुवाद परिषद्कै जागिरे महाकवि लक्ष्मीप्रसाद देवकोटालाई । उनले ‘इन्द्रेणी’ पत्रिकामा थुप्रै नेपाली कविका कविता अनुवाद गरी छापेनन् मात्र, पूर्वीय र पाश्चात्य साहित्यका ‘शाकुन्तल’ देखि ‘प्रमिथस’ सम्मको अनुवाद र अनुकूलन गरेर नेपाली साहित्यमा भण्डारण गरिदिए ।

अनुवादको पहिलो विद्यावारिधि समालोचक गोविन्दराज भट्टराईका अनुसार, नेपाली साहित्यले रूपरङ नै नपाएका बेला भाषानुवाद परिषद्बाट विश्वसाहित्यका २४ क्लासिक किताब अनुवादको परियोजना ल्याइएको थियो । देवकोटाले तासकन्द कार्यपत्रमा समेत नेपाली साहित्य पछि पर्नुको मुख्य कारण अनुवाद नहुनु औंल्याएका थिए ।

समयक्रममा ऋद्धिबहादुर मल्ल, खड्गमान सिंह, शान्तदास मानन्धर, टीकाराम पन्थी आदिले स्वान्त सुखायः कै लागि भए पनि मौलिक स्वाद र सौन्दर्य कायमै राखेर भाषानुवाद, छायानुवाद र शब्दानुवादको सीप देखाए ।

निश्चित भूगोलमा खुम्चिएको साहित्यले अनुवादकै कारण सर्वव्यापी हुन पाउँछ । यसले भाषा र समय मात्र नभएर इतिहास र संस्कृतिलाई पनि जोड्छ । कुनै लेखकले भनेका छन्, ‘अनुवादबिना म आफ्नै देशको सीमाभित्र हुन्छु, अनुवादकले नै मलाई संसार चिनाउँछ ।’

जापानका हारुकी मुराकामी हुन् कि ब्राजिलका पाउलो कोहेलो, कोरियाका हाङ काङ हुन् कि रुसका तोल्सतोय अनुवादमै चम्किएका हुन् । नोबेल पुरस्कार पाउने झन्डै ८० प्रतिशत लेखक अनुवादककै शिल्प र क्षमतामा उभिएका छन् । कल्पना गरौं, अनुवाद नभए गीता, महाभारत वा रामायण नेपालीको घरघरै हुन्थ्यो होला ?

एकताका नेपालमा चिनियाँ र रुसी साहित्यको अनुवाद निकै फस्टाए । चिनियाँ साहित्यलाई निरञ्जन गोविन्द वैद्यले फैलाए भने रादुगा (इन्द्रेणी) र प्रोग्रेस (प्रगति) प्रकाशनमार्फत आन्तोन चेखव, लियो टल्सटाय, म्याक्सिम गोर्की, मिखाइल सोलोखोभ, निकोलाई गोगोललगायतका ४९ कृतिले नेपाली औतार पाए । भाषानुवाद परिषद्पछि नेपाल प्रज्ञाप्रतिष्ठानले सयको हाराहारीमा अन्य भाषाका कृति अनुवाद गरेको छ । १० वर्षअघि छुट्टै अनुवाद विभाग गठनपछि ‘रूपान्तरण’ चौमासिक अनुवाद पत्रिका र अनुवादक परिचय कोश छापिएका छन् । प्रज्ञाप्रतिष्ठानले दुई लाख राशिको अनुवाद पुरस्कार स्थापना गरेको छ ।

नेपालबाट देशबाहिर लाने, देशबाहिरबाट ल्याउने, मातृभाषाबाट नेपालीमा, नेपालीबाट मातृभाषामा लैजाने आदि थुप्रै काम छन् । तर, अनुवाद विभाग छ, बजेट छैन । अनुवादक परिचय कोशमा ७ सय ३० अनुवादक समेटिएका छन् । तिनले तीन हजारको हाराहारीमा कृति अनुवाद गरेका देखिन्छन् । त्यसमा महिला अनुवादक भने दुर्लभ छन् ।

भट्टराईका अनुसार, यसबीचमा त्रिभुवन विश्वविद्यालयले अनुवादको पाठ्यक्रम तयार गरेको छ भने पाँच जनाले त्यसमै विद्यावारिधि लिँदै छन् । ‘अनुवादमा पैसा छ भन्ने बुझेपछि एकथरी पेसेवर अनुवादक देखापरेका छन्, सङ्लो परिवेश, क्वारेन्टाइन र जाँचपास गर्ने अड्डा छैनन्,’ भट्टराई भन्छन्, ‘त्यसैले अनुवादमा हुने नैतिक र कानुनीलगायत आदि सबैखाले त्रुटि हामीकहाँ भेटिन्छन् ।’

खुला सिमानाका कारण भारतको हिन्दी बाटो हुँदै बिल क्लिन्टनदेखि नेल्सन मन्डेला, द होली बाइबलदेखि दास क्यापिटल, सिमोन बोउभारदेखि तसलिमा नसरिनसम्म कपीराइटबिनै हुर्दुराउँदै आइपुग्छन् । त्यो हेर्दा लाग्छ, अनुवाद नभएको केही छैन तर त्यस्तो गजब भएको पनि केही छैन । सुन्दर कृति, झुर अनुवाद, उफ् !ती अनुवाद कति कमसल छन् भने तीभन्दा नोटरी पब्लिक र गुगल मेसिनले राम्रो काम गर्छन् । भट्टराई कुशल अनुवाद नभए पनि ज्ञान विस्तार भएकामा सन्तोष मान्नुपर्ने स्थिति रहेको सुनाउँछन् ।

विडम्बना के भने गतिला अनुवादकले ज्यालादारीमै चित्त बुझाउनुपर्ने अवस्था छ । तिनले मौलिक लेखकसरह प्रोत्साहन पनि पाएका छैनन् । स्तरीय कृति अनुवादका निम्ति न्यूनतम लगानीकर्तासमेत भेटिँदैनन् । अनुवादकले एकमुष्ट रकम लिने कि रोयल्टीमा गर्ने विकल्प पनि खुला भइसकेका छैनन् । अनूदित सामग्रीको स्तरवृद्धिका लागि ‘पियर रिभ्यू’ र मूल कृतिसँग रुजु गराउने चलन पनि छैन ।

यहाँनेर सन् २०१६ को म्यान बुकर प्राइज विजेता दक्षिण कोरियाली लेखक हाङ काङको ‘द भेजेटेरियन’ का ब्रिटिस अनुवादक डेब्रा स्मिथले पुरस्कारको ५० प्रतिशत हिस्सा लिएको दृष्टान्त स्मरणीय छ । ‘मौलिक रचना गर्न सक्ने लेखकले अनुवाद गर्नु भनेको महादेवले हलाहल विष पिएजस्तै हो,’ अनुवादक मैनाली भन्छन्, ‘अनूदित किताबको कपीराइट बाँकी नै छ भने रोयल्टी मूल लेखकले पाउँछ, सकिएको भए प्रकाशकले आफैँसँग राख्छ । अनुवादकले पाउने सुरुको ज्याला मात्रै हो ।’ अलि पहिले अनुवादक मञ्जुश्री थापाले सुनाएकी थिइन्, विदेशतिर जीविका चलाउने हिसाबले अनुवादमा लाग्छन् भने नेपालमा अनुवादबाट जीविका चल्दैन भनेर अन्यत्र लाग्छन् ।

विश्व चेतना, व्यावहारिक ज्ञान र साहित्यको विस्तारका निम्ति अनुवाद अपरिहार्य छ । साहित्य लेख्न भाषा चाहिन्छ तर साहित्य, कला, सौन्दर्य, विचार भाषातीत हुन्छन् । नेपालमा अनुवादको ‘डाउनलोड’ र ‘अपलोड’ को अनुपात पनि मिलेको छैन ।

टिठलाग्दो अवस्था छ, नेपाली भाषाबाट अंग्रेजीमा पठाएका पुस्तकको । पाका अनुवादक अभि सुवेदीले नेपाली पुस्तकका कतिपय अंग्रेजी अनुवाद ‘सहिदको सूची’ मा चढेको टिप्पणी गर्दै आएका छन् ।

प्रश्न उठेको छ, आखिर अनुवाद कसका लागि ? अनुवादको लाभ बढीमा विदेशमा बसेका नेपाली पाठकले मात्रै लिएका छन् । ‘अनुवाद हुँदैमा सबै कृति राम्रा हुन् भन्न सकिँदैन,’ सगुना शाह भन्छिन्, ‘अनुवादको कर्ममा कृतिको मर्म हरायो भने बेमज्जा पो हुन्छ त ।’

प्रकाशित : कार्तिक ३, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

खरानीमाथि ठडिँदै दानबहादुरको नयाँ संसार

चितवन निकुञ्जका कर्मचारीहरुले हात्तीसहित आएर छाप्रोमा आगो लगाइदिए, बाली मासिदिए । कसुमखोला छोड्न चेतावनीसमेत दिए । तर अन्यत्र गएर बस्ने विकल्प नभेटेका पीडित दानबहादुरले खरानी र अँगार पन्छाएर त्यही ठाउँमा नयाँ छाप्रो बनाए । यहीं दुलही पनि भित्र्याए । उनले खरानीमाथि नै नयाँ संसार खडा गरेका हुन् ।
रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जले निषेध गरेको ठाउँमा बसोबास गरेको भन्दै तीन महिनाअघि कुसुमखोलाका घर र छाप्रामा आगजनी भयो । अन्यत्र बसोबासको विकल्प नभएका पीडित १० घरपरिवार अझै त्यहीं छन् । त्यसबेला तत्काल सुरक्षित ठाउँमा घर बनाएर उनीहरूलाई सार्ने प्रतिबद्धता धेरैले गरे । तर गाउँमा कोदो रोप्ने सुरसार हुँदै गर्दा भएको आगजनीको घटनापछि वाचा गर्नेहरूले अहिले तोरी उम्रँदै गर्दासम्म वाचा भुल्न थालेका छन् ।

निकुञ्जका कर्मचारीहरूले हात्तीसहित आएर छाप्रोमा आगो लगाउँदा दानबहादुर चेपाङको १० हजार रुपैयाँ र नागरिकता पनि जल्यो । उनी काजीमान चेपाङका छोरा हुन् । काजीमानले छाप्रो नजलाउन गरेको अनुरोध कर्मचारीले सुनेनन् । खरानी पन्छाएर त्यही ठाउँमा अहिले नयाँ छाप्रो तयार भएको छ । यहीं उनले नवदुलही गीतामाया प्रजा चेपाङलाई समेत भित्र्याए । दानबहादुरले खरानीमाथि नै नयाँ संसार खडा गरे ।

वर्षायाम सकिएका कारण रिउ खोलामा पानी खासै छैन । भरतपुरबाट गाडीमा दुई घण्टामा माडीको पूर्वी बस्ती बगई पुगिन्छ । बगईबाट दक्षिण लाग्नुपर्छ कुसुमखोला जान । मोटरसाइकलहरू प्याउलीसम्म पुग्छन् । त्यहाँ पनि कुसुमखोलाबाटै झरेकाहरूको नयाँ बस्ती छ । बस्तीदेखि केही पर जंगल छिरेपछि मोटरसाइकल गुड्ने बाटो सकिन्छ । खोलामा पानी नभए पनि कुसुमखोलासम्म कुनै पनि सवारी साधन पुग्न सक्दैनन् । पैदल झन्डै डेढ घण्टा हिँडेपछि रिउ खोला छाडेर सानो पाखो उक्लनुपर्छ । लगत्तै सुकेको ठूलो सालको रुख भेटियो । फेँद काटेका कारण रुख सुक्दै गएर अग्राख बनेको छ । यहाँ यस्ता रुख प्रशस्तै देखिन्छन् । रुखमा एउटा फलामे हलो, खेत जोतेपछि सम्याउने र झार निकाल्ने दाँते, अनि जुवा अड्याइएको थियो । नयाँ खेतीको तयारी सुरु भएको छनक यसैले दिन्थ्यो ।

यो त्यही ठाउँ हो, जहाँ गएको साउन ३ मा निषेधित क्षेत्रमा घर बनाएर बसेको र खेती पनि गरेको भनेर कारबाही गर्न निकुञ्जका कर्मचारी र सेना हात्ती चढेर गएका थिए । भाँच्न तयार भएको मकै हात्ती लगाएर नोक्सान गरे । १० घर बस्दै आएको ठाउँमा दुई वटा छाप्रामा आगो पनि लगाए । हलो जुवा अड्याएको रुखभन्दा केही तल त्यो बेला आगोले खाएको दीपबहादुर चेपाङको घर छ ।

त्यसबेला पोलिएको खाँबोमा नै दीपबहादुरले बलो, डाँडा, भाटा जोडेर छाप्रो बनाएका छन् । छानो भने हरियो त्रिपालको छ, जुन मक्किन थालेको छ । चुलो उही पुरानै छ, जहाँ खरानी भसक्कै थुप्रिएको देखिन्छ । पहेंलो भएर छिप्पिएका ससाना चारवटा फर्सी आडैमा छन् । बारबेर सामान्य छ । मान्छे बस्न मिल्ने बाँसको सानो टाँड बनाएका छन् । तर त्यो टाँडमा मान्छे बसेकोझैं लाग्दैन ।

आडैमा नयाँ छाप्रो बनेको छ, जहाँ अग्लो टाँड छ । त्यहाँ झुल, सामान्य खालका बिस्तारा र ओढ्ने थिए । घरमा कोही भेटिएनन् । त्यहाँ उभिएर हेर्दा जमिन धेरै ठाउँ जोतेको देखिन्थ्यो । केही पर छ काजीमानको घर । उनको घरको आडको बारी पनि जोतिएको छ । त्यहाँ तोरी भरर उम्रेको छ । सुंगुरका तीन वटा पाठा बारीमा देखिन्छन् । अल्लि पर कोदो पहेंलै भएको छ । हिउँदे मकै सग्लाएको छैन तर घोगा लागेको छ ।

साउन ३ मा जलेको खाँबोमा दीपबहादुरले जस्तै काजीमानले पनि डाँडा–भाटा जोडे । खरले राम्रोसँग छाए । अग्लो टाँड बनाए । छोरा दानबहादुरले दुलही ल्याउँदै थिए । त्यसैले अलि बस्न मिल्ने छाप्रो बनाउनु थियो । अरू पाखो ह्वाङ्गै छ । दक्षिणी पाखो भने सामान्य बारबेर गरेका छन् । धेरै बस्न पाइने होइन, कहिले जानुपर्ने हो । त्यसैले किन बलियो बनाउने भन्ने सोचले कामचलाउ छाप्रामै उनका छोरा बुहारी बस्न थालेका हुन् ।

तर बर्खा सकियो । खर्च जुटाउन भन्दै दानबहादुर काम गर्न मुग्लिन गएका छन् । त्यो कमजोर छाप्रामा भर्खर बिहे गरेर भित्रिएकी गीतामाया बस्छिन् । त्यो बेला नजलेको अर्को छाप्रामा ससुरा काजीमान, उनकी श्रीमती र छोरी सुत्छन् । यस्तो एकान्तमा एक्लै बस्दा डर नलाग्ने होइन । ‘उहाँले भन्नुभएको छ, ससुराले पनि भन्नुहुन्छ, हामीलाई सरकारले चाँडै तल नयाँ घर दिन्छ रे,’ गीतामायाको आशावादी स्वर सुनियो ।

उम्रियो तोरी, फाल्न आउलान् कि फेरि ?

गीतामायासँगै थिइन्, कविता चेपाङ । गाउँका पाँच जनाबाहेक सबै राहत लिन भन्दै बजार झरेको उनले बताइन् । साउनमा घटना भएको सार्वजनिक भएपछि उनीहरूले राहत धमाधम बुझे । ‘साउनभरि राहत आयो,’ कविता भन्छिन् । १० बोरा अर्थात् तीन क्विन्टल चामल पाएको उनले बताइन् । तर साउनपछि एकैचोटि कात्तिकमा राहत आएको छ । ‘राहत त सधैं आउँदैन । त्यसैले खेती लगायौं,’ कविताले भनिन् । साउनमा पाकेको मकैमा हात्ती चराउँदै, घर जलाउँदै गर्दा निकुञ्जका कर्मचारीहरूले हप्ता–१० दिनभित्र बस्ती खाली गर्न चेतावनी दिएको उनले भुलेकी छैनन् । तर उनीहरूको बस्ने प्रबन्ध नै हुन सकेन । कविता प्रश्न गर्छिन्, ‘अनि कसरी तल झर्ने ?’ यसअघि कोदो लगाए, अहिले तोरी छरेका छन् । निकुञ्जबाट आएर फाले फालिहाल्लान्, नभए खान पाइएला भन्ने आश छ उनलाई ।

बन्यो छाप्रो : निकुञ्जले साउन ३ मा जलाएको छाप्रो काजीमान चेपाङले फेरि बनाएका छन् ।

राहत बुझेर फर्कंदै गर्दा प्याउलीमा भेटिए दीपबहादुर । ‘उता नयाँ ठाउँमा हामी बस्न पाएका छैनौं । अनि पुरानो ठाउँमा बसेर मात्रै त भएन । रोपेपछि फल्यो भने खान देलान् भनेर रोपेका हौं,’ उनले भने । कविताका अनुसार खेती लगाए पहिलाको झैं हात्ती लगाएर मासिदिने चेतावनी गाउँलेले पटक–पटक पाएका छन् । त्यसैले पुरानै घटना दोहोरिने हो कि भन्ने त्रासमा छन् गाउँले ।

किन बनेनन् घर ?

आगजनीको चर्को विरोध भयो । निकुञ्जले सुरुमा कुनै आगजनी नभएको बतायो । पछि वनमन्त्री शक्ति बस्नेतले घरमा नभई गोठ र बाँदर कुर्ने मचान जलेको बताए । निकुञ्जले पनि मन्त्रीको बोलीसँग मिल्ने फोटोहरू सार्वजनिक गर्‍यो । तर बस्दै आएको घरमै निकुञ्जको टोलीले आगो लगाएको काजीमान र दीपबहादुरले बताउँदै आए । यो घटनापछि निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत नै सरुवा भए ।

कुसुमखोला निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भए पनि झन्डै २० वर्षअघि त्यहाँ मकवानपुर, तनहुँ र चितवनको पहाडी क्षेत्रबाट भूमिहीनहरू गएर बस्न थालेका थिए । खोला आडमा बाढी र अन्यत्र जंगली जनावरको दुःख भोग्नुपरेपछि माडी नगरपालिकाले उनीहरूलाई अन्यत्रै सार्न थालेको थियो । तर परोई खोला र राईडाँडा उनीहरूका लागि बस्ती बसाउँदै गर्दा विरोध सुरु भयो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा मान्यता प्राप्त निकायको निर्णय र स्वीकृतिबेगर सालका रुख काटेर अवैधानिक काम गरेको भन्दै माडी नगरपालिका, चितवन निकुञ्ज र निकुञ्जमा तैनाथ सेनाविरुद्ध उजुरी परेपछि घर बनाउने काम रोकियो । कुसुम खोलामा १६० घरपरिवार थिए । अन्यले नयाँ ठाउँमा बस्ने घर पाए । तर उजुरीपछि घर बन्न नपाउँदा १० घरपरिवार अलपत्र जस्तै परे । उनीहरू कुसुम खोला फर्के । निकुञ्जले पनि उनीहरूकै छाप्रामा आगो लगायो ।

आगो लगाएपछि अनेक टोलीहरू पुगे । संसद् सदस्य र सरकारी समितिहरूले कुसुम खोलावासीलाई भेटेका थिए । ‘खै मैले अरू त चिनिनँ, रेनुका दाहाल (भरतपुर महानगर प्रमुख रेनु दाहाल) र माडीका मेयर ठाकुर ढकाल आएका हुन् । उहाँहरूले तत्कालै घर बनाएर तपाईंहरूलाई सार्छौं भन्नु भएको हो । तर अहिलेसम्म नयाँ घरको अत्तोपत्तो छैन,’ काजीमानले त्यसबेला गरिएको वाचा सम्झिए ।

कुसुम खोलाको बस्ती सार्ने काममा माडी नगरपालिका नै अग्रसर भएको थियो । नगर प्रमुख ढकाल बाँकी रहेका घरलाई पनि सुरक्षित ठाउँमा ल्याएर व्यवस्थित रूपमा नै राख्ने बताउँछन् । ‘६० वटा घर बनाउन प्रदेश सरकारले ३ करोड रुपैयाँ दिएको छ । छिमेक विकास बैंक र माडी नगरपालिकाको साझेदारीमा ८० घर बन्नेछन् । घर त बन्छन् । बजेटको समेत व्यवस्था छ,’ ढकालले भने ।

साउन १९ मै बाँकी घर बनाउने काम सुरु गर्ने उनले घोषणा गरेका थिए । तर अहिलेसम्म त्यसको सुरसार छैन । नगरपालिकाले घर बनाउन थालेको ठाउँको वैधानिकतामाथि नै प्रश्न खडा भएपछि काम अगाडि बढ्न नसकेको हो । ‘मैले निकुञ्ज विभागका महानिर्देशकसँग कुरा गरें, वनमन्त्री र पार्टी अध्यक्ष तथा यस क्षेत्रका सांसद पुष्पकमल दाहालसँग पनि कुरा गरें । केही निकास चाँडै आउँछ,’ उनले भने ।

दसैंपछि नगरपालिका, चितवन निकुञ्ज कार्यालय, मध्यवर्ती समिति र राजनीतिक दलका प्रतिनिधि बसेर सहमतिमा एउटा खाका बनाउने उनले योजना सुनाए ।

प्रकाशित : कार्तिक ३, २०७७ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×