६ गिलास : मान्छेको इतिहास- दसैं विशेष - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ गिलास : मान्छेको इतिहास

हजारौं वर्षअघि बियर बन्यो, अहिले कोकाकोलाको साम्राज्य छ । बियर अर्थात् जाँड पहिलो रक्सी थियो । यो बनाइएको थिएन, वास्तवमा आविष्कार भएको थियो । बियरदेखि कोकसम्मको इतिहास पढ्नु आफ्नै इतिहास बुझ्नु हो ।
रमेश भुसाल

लमजुङको बाहुनडाँडामा चहकिलो जून लागिरहेछ । दिनभरि घामले सेकिएका हिमाल–पहाड जूनको शीतल तापेर सायद सुत्ने तयारीमा छन् । मर्स्याङ्दी यहाँसम्म बग्दो नै छ । केही तल टनेलमार्फत टर्वाइनले झ्याँको झारपेछि सहर–गाउँ झिलिमिली हुन्छन् ।

त्यो जूनमा मिसिएको छ गाँजाको धूवाँ, कोदोको रक्सी र लेकको भेडा । माथि भीरपुस्तुन गाउँमा पहिलोपटक पुग्न पहाड कोतर्दै गरेको भ्याकु अर्थात् डोजरले लाइट बालेरै भए पनि टिक–टिक–टिक गर्दै ढुंगा फोर्दै छ । पहिला ढिकी–जाता कराउँथे अनि आए मिल, आजकल भ्याकुले सबैलाई उछिनेका छन् । भ्याकु यसरी उकालिँदै छ, मानौँ ऊ जून छुन जाँदै छ । चुचुरोमै पुगे पनि छेउको मनास्लु पुग्ने हो वा अन्नपूर्ण, त्योभन्दा माथि उसको क्षमता छैन ।

जुनेली रातमा मादलको मधुर स्वर नजिकै गुन्जिरहेछ । साथी भीम घलेले भन्यो, ‘रमाइलो गर्न जाम दोस्त ।’ पानैको चौकाले भइयो भेट बेलै र मौकाले भन्ने गीतजस्तो भो । पल्तिर पिलरवाला नयाँ घरको घरपैँचो रे ∕ पिलरवाला घरको धेरै पुरानो इतिहास छैन, यो नयाँ प्रजाति हो । खर वा ढुंगाले छाएको पिँढीवाला घर हराउँदै छ, घुमाउने घर त इतिहास नै हुन लागिसके ।

मर्स्याङ्दी नदीको कथा खोज्न हिँडेका म र नवीन बराल । म कलमले कथा लेख्छु वा कम्प्युटरमा, नवीनचाहिँ क्यामराको लेन्सले । आजकल कलम र लेन्स मिसाएर कम्प्युटरमा हेर्न मिल्ने कथा बनाएपछि मल्टिमेडिया बन्छ । पढ्न, हेर्न, सुन्न सबै पाइने । समाचारमा जमाना यसैको छ । यो समाचारको पिलरवाला घर हो, भर्खरभर्खर आएको, पत्रिका खर र ढुंगाले छाएको घरभन्दा हुन्छ । केही समयपछि पत्रिका घुमाउने घर बन्नेवाला छन् भन्दै छन् ।

७० हजार वर्षअघिदेखि पृथ्वीमा फिँजारिन सुरु भएको मान्छे अर्थात् होमो सेपियन्सको विस्तारित रूप हामी हौँ, अर्को ७० हजार वर्षपछि यो ठाउँ कस्तो होला ? वरिपरिका सेता हिमाल रहिरहलान् ? जून यस्तै होला ? जाबो ७० वर्ष बाँच्ने मानिसले एकबारको जुनीमा अर्बौँ वर्ष पुरानो पृथ्वीलाई कति नै भोग्न पाउँछ र ! गत ५०० वर्षमा विज्ञानको चमत्कारले भ्याकु उकालो लागिरहेछ । हामी बिहान गुडेर साँझ बाहुनडाँडा पुग्ने भएका छौँ । जहाजमा उडेको भए यति नै समयमा बेलायत पुगिन्थ्यो । तर, मानिसको यो चामत्कारिक यात्रा कता जाला ? के थाहा यो चमत्कारले मानव इतिहासको अन्त्य गरेर कुनै बिलकुल फरक कुराको सुरुआत पो गर्छ कि ! हामी पिलरवाला घरमा छिर्छौं । गीत चलिरहेछ :

मेरो हजुर विदेशमा हराउँदा

झल्को आउँछ मिनिबस कराउँदा ।

तारासँगै जून, बिर्स्यो कि मायाले मैले लाको गुन

गिलासमा कोदोको रक्सी आइपुग्छ । घलेको स्वागत रक्सीले, बाहुनको चाहिँ दूधले ! किन बाहुनले रक्सी पारेनन् वा पिउन सकेनन् वा लुकीलुकी पिए ? किन रक्सीले एउटै ठाउँमा बसेका मानिसलाई विभाजन गरिदियो ? कसैले पिउन हुने कसैले नहुने ! पिउने र नपिउनेको जातै फरक !

लेखक टोम स्टान्डेजले मानिसको इतिहास ६ वटा गिलासमा हुन्छ भनेका छन् । आफ्नो किताब ‘अ हिस्ट्री अफ वर्ल्ड इन सिक्स ग्लासेज’ मा उनले बियर, वाइन, ह्विस्की (रम, ब्रान्डीसहित), चिया, कफी र कोकाकोलाबारे लेखेका छन्, जुन अहिले बाहुनडाँडास्थित मेरो झोलामा छ । यसपटक हिमाल र नदीसँगै गिलास पनि पछ्याउँदै छु । हजारौं वर्षअघि बियर बन्यो, अहिले कोकाकोलाको साम्राज्य छ । बियर अर्थात् जाँड पहिलो रक्सी थियो । यो बनाइएको थिएन, वास्तवमा आविष्कार भएको थियो । बियरदेखि कोकसम्मको इतिहास पढ्नु आफ्नै इतिहास बुझ्नु हो ।

मानिसले झन्डै १२ हजार वर्षअघि अन्न उब्जाउन सुरु गर्‍यो । वर्षैभरि पुर्‍याउन भण्डारण गर्नुपर्ने भयो । खाल्डोमा पानी नछिर्ने गरी अन्न भण्डारण गरे पनि कतै रसायो वा चुहियो । जब अन्नमा पानी पस्यो तब पहिलो रक्सी अर्थात् बियरको आविष्कार भयो । टोम स्टान्डेज लेख्छन्, ‘चुहिएको पानी जसै अन्नमा पर्‍यो त्यो उम्रियो । उम्रिएको अन्न गुलियो भयो ।’ त्योबेला मानिसलाई के थाहा– कसरी गुलियो भयो ! तर, अहिले विज्ञानले पत्ता लगायो, वास्तवमा भिजेको अन्नले डाइस्टास नामक इन्जाइम उत्पादन गर्दोरहेछ । यो इन्जाइमले अन्नभित्र रहेको स्टार्चलाई माल्टोस सुगर अर्थात् माल्टमा परिणत गरिदिँदोरहेछ । सबैखाले अन्नले डाइस्टाज इन्जाइम उत्पादन गर्छन् । तर, जौ सबैभन्दा अव्बल छ ।

त्योभन्दा पनि आश्चर्यजनकचाहिँ झोलिलो अन्नलाई केही दिन त्यसै छाडिदिँदा त्यसमा परिवर्तन आयो । त्यो फिँज निस्केको झोल पिउँदा मस्तमगन पो भए हाम्रा पुर्खा । वास्वतमा त्यसरी छाडिदिँदा हावामा भएको ढुसीले झोलमा रहेको चिनीलाई रक्सीमा परिणत गरिदिन्छ । यही झोल अर्थात् बियर पिएर मेसोपोटामिया वा अहिलेको इराकको सेरोफेरोमा मानिस मस्तमगन हुन सुरु गर्‍यो । जाँडको युग वा मातको युगको सुरुआत गर्ने भूभागमा अहिले रक्सी प्रतिबन्धित छ । त्यसको लामो इतिहास छ । रक्सीमा धर्म मिसियो वा धर्ममा रक्सी ! कुनै भगवान्लाई रक्सी नभई नहुने भो अनि कसैलाई छोए पनि पाप लाग्ने ! गीत चलेकै छ । दोहोरोबाट एकोहोरो भाकामा सर्‍यो :

हितको माया नौडाँडापारि

रित्तो भयो पुस्तुनको चौतारी

चाँदी रयाले, घरमा दिल छैन तिम्रो मायाले

कृषियुगको सुरुमा जाँड जंगली मानिसलाई सभ्य बनाउन प्रयोग गरिन्थ्यो । मेसोपोटामियामा जाँड पिउनु मान्छे बन्नु हुन्थ्यो । विश्वकै पहिलो साहित्यिक कृति मानिने ‘इपिक अफ गिलगामेस’ मा बियरका बारेमा उल्लेख छ । जंगली मानिस इन्कुडुलाई सभ्य मानिस बनाउन कृषियुगमा प्रवेश गरिसकेकी युवतीले गोठालाहरूको गाउँमा लान्छिन् । गाउँलेहरूले उसका अगाडि खाना राखे, बियर राखे तर इन्कुडुले रोटी खान वा बियर पिउन जानेको थिएन । युवतीले इन्कुडुलाई भनिन् :

खाना खाऊ इन्कुडु वास्तवमा मानिसहरू यसरी बस्छन्

बियर पिऊ इन्कुडु वास्तवमा यो जमिनको चलन हो ।

इन्कुडुले भुँडीभरि खायो, सात जग बियर पियो, फुल्यो अनि गायो खुसीको गीत । पानी शरीरमा खन्यायो, तेलले मालिस गर्‍यो र आफूलाई मानिस बनायो ।

तपाईं मानिस भइसक्नुभएको छ, कृपया इन्कुडुजस्तो फेरि मानिस बन्ने धेरै प्रयास नगर्नुहोला । एकपछि अर्को गिलास आइरहेछ । कोही त्यहीँ पल्टेर निदाइरहेछन्, कोही थप रक्सीको ऊर्जाले गीत फुराइरहेछन् र नाचिरहेछन् । परापूर्वकालदेखि नै जाँड नियमले पिइन्थ्यो । जति पायो उति दन्काउने होइन । कामदारलाई हिसाब गरेर राशनमा बियर दिइन्थ्यो । मेसोपोटामियाको राशनमा रोटी, बियर, खजुर, प्याज र कहिलेकाहीं मासु र माछा अनि केही तरकारी दिइन्थ्यो । खजुरमा भिटामिन ए, बियरमा भिटामिन बी, प्याजमा भिटामिन सी हुनेरहेछ । अहिले आधुनिक समाजमा एक जनाका लागि ३५०० सयदेखि ४००० क्यालोरी खानु भन्ने कुरालाई दाँजेर हेर्दा मेसोपोटामियाको राशन एकदम सन्तुलित भोजन थियो भन्ने बुझ्न सकिन्छ भन्छन् स्टान्डेज । हाम्रा पुर्खा बाठा थिए क्यार ! जँड्याहा नै भन्ठान्नु भो कि क्या हो ! बाहुनको छोरो देखाएर पिउन्न, लुकाएर पिएको भन्नै भएन, कसो !

साढे चार अर्ब वर्षअघि बनेको भनिएको पृथ्वीमा झन्डै पन्ध्र करोड वर्गकिलोमिटर त जमिन नै छ । पूरै नेपाल टेके पनि बल्ल करिब डेढ लाख वर्गकिलोमिटर पूरा हुन्छ । एक बारको जुनीमा कति नै भूभाग टेक्न सकिएला र ! कसले कति गिलास झ्वाम पारे भन्ने हिसाब म किन गरिराखूँ ! जसले पिलाएको छ, उसैले हिसाब जानोस् । तर, जति पायो उति पिउनु आदिमकालमा पनि राम्रो मानिँदैनथ्यो । बियरपछि मेसोपोटामिया र ग्रीसमा वाइनको दबदबा थियो । पछि रोमनहरूले वाइनको ठूलो व्यापार गरे । ग्रीक कवि युवोलुसको नाटकको कुनै एक भागमा भनिएको छ– असल मानिसका लागि म जम्मा तीन जग वाइन बनाउँछु । पहिलो जग स्वास्थ्यका लागि, दोस्रो प्रेम–आनन्दका लागि र तेस्रो निद्राका लागि । त्यसपछि असल मानिसहरू घर जान्छन् । चौथो मेरा लागि होइन, यो नराम्रो व्यवहारका लागि हो । पाँचौं चिच्याउनका लागि, छैटौं अपमान र रूखोपनाका लागि, सातौं झगडाका लागि, आठौं तोडफोडका लागि, नवौं डिप्रेसनका लागि र दसौं जगचाहिँ पागलपना र अचेतनाका लागि हो । तपाईं कति जगवाला पर्नुभो, आफैँ हिसाब गर्नुस् !

मध्यरातमा छर्लंगै आकाशमा टल्किएको जूनलाई कतिबेला बादलले छोप्यो कुन्नि ! बिहान उठ्दा त झमझम पानी पो परिरहेको छ । डाँडाकाँडामा सेताम्मे हिउँ । यस्तो मौसमलाई जाँडका पारखीले ‘मौसमले च्यालेन्ज गर्‍यो’ भन्ने गरेका छन् । तपाईं त्यसो भन्नुस् भनेर म कसरी भनूँ ?

घरको पिँढीमा मर्स्याङ्दी मर्किंदै बगेको पहाड अनि कुहिरोले छोपिएका हिमालतिर आँखा लगाएर हातमा उही किताब लिएर बसेको मात्र के थिएँ, बाहुनडाँडैमा घर भएका नवीनकी सानीमा दूध चिया लिएर आइपुगिन् । यो चियाले कुनै बेला साम्राज्य खडा गराएको थियो । रक्सीभन्दा यो कुनै पनि तरिकाले कमजोर थिएन । चिनियाँ भनाइ नै छ– चियाबिना एक दिन बस्नुभन्दा बरु खानाबिना तीन दिन बस्नु ठिक । पृथ्वी हल्लाउने चियाको चुस्की मारेर पाना पल्टाउँछु । १७ औं शताब्दीमा आफ्नो राज्यमा घाम अस्ताउँदैन भन्ने बेलायत चिया व्यापारको केन्द्र बन्यो अनि विश्वको पहिलो महाशक्ति । वाष्प इन्जिनले ल्याएको क्रान्तिलाई उसले भरपूर प्रयोग गर्‍यो र बढेबढे फ्याक्ट्री खोल्यो । यसलाई जोडेको थियो– चियाले । चिया विश्वबजारमा पुगेको थिएन । युरोपेलीका लागि त यो नयाँ पेयपदार्थ थियो । इस्ट इन्डिया कम्पनीको ठूलो आयस्रोत चियाको व्यापारबाट भयो । त्यसपछि चिया यो पृथ्वीकै इतिहासमा पानीपछाडि सबैभन्दा बढी पिइने पेयपदार्थ बन्यो ।

चियामा चीन बेलायतभन्दा अगाडि थियो तर उसले विश्वव्यापी गराउनै सकेन । इसापूर्व २७०० तिर चीनमा पहिलो चिया सेन नुंगका पालामा बनाइएको बताइन्छ । पूर्वी हिमालयको भारत–चीन सीमानजिकै क्यामेलिया साइनेन्सिस नामक सधैँ हरियो हुने बिरुवा नै चिया हो । बेलायत वास्तवमा आधुनिक विश्वको चायवाला हो । नरेन्द्र मोदीचाहिँ नयाँ चायवाला । चिया स्वास्थ्यकर पेयपदार्थ नै मानिन्थ्यो, पछि विज्ञानले पत्ता लगायो– चियामा फेनोलिक्स अर्थात् टानिक एसिड हुन्छ, जसले टाइफाइड, झाडापखाला गराउने ब्याक्टेरियालाई समेत मार्न सक्छ ।

बिहान हामी उकालो लागेर भीरपुस्तुन पुग्छौं । बाटोमा भ्याकु अझै ढुंगा फोरिरहेकै छ । हायलकायल परेका भ्याकु चालकले भने, ‘एकदम कडा ढुंगा परेछ दिमाग खराब भो ।’ लाखौं वर्ष लागेर बनेको पहाड फोर्न कहाँ सजिलो हुन्छ र ! भीरपुस्तुनमा हामी घले आमाको घर पस्छौं । ‘जाँड छैन केरे बाबु, कफी खान्छौ ?’ घले आमाले सोधिन् । ज्या कफी पो ! भ्याकु पुगेको छैन तर कफी पुगिसकेछ । उही नेसकफीको गिलास आइपुग्यो । यो त ज्याद्रो कफी हो, जुन सन् १९५३ मा इडमन्ड हिलारी र तेन्जिङ नोर्गेसँग सगरमाथा पुग्यो अनि सन् १९६९ मा यो निल आर्मस्ट्रंगसँग चन्द्रमा पनि । इतिहास हेर्ने हो भने कफीले बडेबडे अध्येता, विचारक अनि वैज्ञानिकलाई जन्माएको थियो । यसलाई विचारकको पेय पनि भनिन्छ । तपाईं धेरै विचारक बन्ने प्रयास नगर्नुस् नि फेरि ! क्याफिन धेरै भयो भने रातभरि निद्रा लाग्दैन ।

१६ औं शताब्दीअघिसम्म मानिस ‘पृथ्वी गोलो छ’ भन्नेसम्म पनि विश्वस्त थिएन । अहिले पो गुगल अर्थ आयो । रकेट चन्द्रमामा पुगे । त्यो कति नै अघिको कुरो हो र 1 पश्चिमाहरूले पुराना कथाभन्दा माथि उठेर नयाँ कुरा सोच्न थाले । एकपछि अर्को आविष्कार गरे । संसार चहार्न हिँडे । हरेक पुराना कुरालाई चुनौती दिने चलन सुरु गरे अनि प्रमाण खोज्न लागे । युरोपमा यो चुनौती दिने युगको सुरुआत गर्न कफीको ठूलो भूमिका थियो भनिन्छ । कफीले दिमागलाई तिखो बनाउँछ र विचारमा स्पष्टता ल्याउँछ भन्ने मान्यता अहिले पनि छ ।

१७ औं शताब्दीसम्म पनि बिहानको खाजामा समेत बियर वा वाइन पिउने युरोपेलीहरूमा ठूलो परिवर्तन आयो । कफीले द्रुत गति लियो । रक्सीमा डुबेको पश्चिम युरोपेली देशहरूका लागि कफी बुटी नै बनेर आयो । झ्याप नभईकन बहस गर्न सकिने । दिमागलाइ ऊर्जा दिने । निद्रा भगाउने । कफीले रक्सीको प्रभावलाई घटाइदिन्छ भन्ने भ्रम पनि थियो तर त्यो सत्य थिएन । वास्तवमा यसले रगतबाट रक्सी हराउने दर झन् घटाइदिन्छ भनेर विज्ञानले भन्छ ।

रक्सी पिउन वर्जित अरबका मुसलमानलाई त कफी नलाग्ने वाइन बनेर आयो । आज कफीमा चर्चित मोका वास्तवमा यमनको मोका सहरबाट आएको हो । १६ औं शताब्दीको सुरुमै यो अरबमा सामाजिक पेय भएको थियो । विवाद बढ्दै गएपछि मुसलमान समुदायमा केही समय प्रतिबन्ध लगाइयो तर त्यसलाई जनताले उल्लंघन गरे । अरबका मुसलमान समुदायमा निकै ठूलो बहस सुरु भयो । कफी मादकपदार्थ हो वा होइन भन्नेमा विवाद चल्यो । तर, कफीले आफ्नो लय भने छाडेन । यो झन्–झन् लोकप्रिय हुँदै गयो । अरब १७ औं शताब्दीको अन्तिमसम्म कफीको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता थियो । तर, कफीमा अरबको एकाधिकार त्यसपछि तोडियो जब डचहरूले अहिलेको इन्डोनेसियाको जाभामा कफी खेती सुरु गरे र सीधै नेदरल्यान्ड्स पुर्‍याउन थाले । अहिले विश्वव्यापी भएको छ ।

जताजता खोला–नदी, उतैउतै टर्वाइन् । मर्स्याङ्दीको शाखा नदी न्यादी शिरतिर पुग्दासम्म पनि टनेल बनिरहेका भेटिन्छन् । धूलो नभए पनि मानिसहरू मास्क लगाएर बसेका । केही चिनियाँ कामदार भर्खर बिदा मनाएर फर्केकाले कोरोना भाइरसको त्रास रहेछ । अजंगका पहाड हेर्दै गर्दा मनमनै भने, ‘अरे यार एक भाइरस् विश्व हल्लाइरहेछ तर मनुवाहरूको घमण्ड कत्रो छ ! १२ हजार वर्षपछि बल्ल हात कसरी धुने भनेर सिकिरहेको मनुवा पृथ्वीमाथि धावा बोल्छ र फुर्तीसाथ भन्छ— पृथ्वीमाथि विजय प्राप्त गर्नु छ !

मर्स्याङ्दीको पुरानो बलौटे माटोमा फैलिएको बेंसीसहरमा दुई हजार घरधुरी नाघिसके । केही मानिस एउटा होटलमा मस्त पिइरहेछन् । दिउँसै भोड्कादेखि ह्विस्कीसम्म । बियरपछि वाइन, त्यसपछि १२ शताब्दीतिर औषधि बनाउने प्रयासमा कडा रक्सी अर्थात् हार्ड ड्रिंक्स बनेको थियो । अहिलेको खोयाबिर्के बनाउने तकनिकी अर्थात् डिस्टिलेसन त्यहाँबाट सुरु भयो । युरोपेलीले ह्विस्की बेचर दाम कमाए अनि राज चलाए । अलि सस्तो रमचाहिँ अमेरिकाले बनायो र तहल्का मच्चायो । रमलाई त अमेरिका बनाउने पेय पदार्थ नै भनिन्छ ।

नदी किनारमा लगेर फोहोर थुपारेका छन् बेंसीसहरेले । त्यसैको छेउमा एक हूल बंगुरपालन । ती रेस्टुराँमा पुग्दा पोर्क बन्छन् । किनारमा फोहोरचुली अनि शिरमा हिलामचुली । मर्स्याङ्दीको कथा एउटै फोटामा कैद गरेपछि हामी दक्षिण हानिन्छौं । कतै सुकेको त कतै ताल परेको मर्स्याङ्दी । फोटो खिच्न पनि नपाइने रे ! कसैले पूरै नदी टनेलमा हालेर बिजुली निकाल्न पाउने, हामीले फोटो पनि खिच्न नपाइने ? पत्रकार साथी चन्द्रकान्तमार्फत सोर्सफोर्स लगाएर मध्य–मर्स्याङ्दी ड्यामको फोटो खिच्यौं । सेनाको लामो सोधपुछ र प्राधिकरणका हाकिमले भन्दिएपछि सो अवसर मिलेको थियो । ‘पहिला बुंगै पौडेको यही नदीमा आज फोटो खिच्न पनि सीडीओको तोक आदेश अनि सेनाको अनुमति चाहिने भो यार !’ चन्द्र जिस्किए । कोरोनाको त्रासले होलीको रङ खुइल्याइदिएकाले मानिसहरू खासै जमेका छैनन् । तर, बाटाबाटामा रक्सी, बियरले आफ्नो ड्युटीचाहिँ राम्रैसँग गरिरहेका छन् । त्यसै जाँडले संसार कहाँ हल्लाएको हो र !

हामी पनि के कम ! मलेखुमा उही मेसोपोटामियाको त नभनौं, युरोपको बियर पिउँदै गर्दा चालक भाइले भने— म त कोक खान्छु ! यो मेरो कथाको अन्तिम गिलास हो । कोकको साम्राज्य अर्थात् चिसो भनेकै कोकाकोला । औद्योगिक क्रान्ति बेलायतबाट सुरु भए पनि यो अमेरिका पुगेपछि वास्तवमा मौलाएको थियो । सन् १९०० तिर बेलायतलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको अमेरिकाको विश्वव्यापीकरणमा कोकाकोलाको निकै ठूलो हात थियो । जसरी बेलायतको साम्राज्य चियाको कपमा देख्न सकिन्छ, त्यसैगरी अमेरिकी साम्राज्य कोकाकोलाको गिलासमा ।

बेलायती वैज्ञानिक जोसेफ प्रिस्लेले १७७२ मा किताब लेखे– ‘पानीमा गर्भ बसाउँदा’ । पानीभित्र कार्बनडाइअक्साइड मिसाएर सोडा–पानी बनाउने तरिका । १९ औं शताब्दीको सुरुमा यल विश्वविद्यालयका प्राध्यापक बेन्जामिन सिलिम्यानको सहयोगमा पहिलोपटक सोडा–पानीको व्यापार अमेरिकामा सुरु भयो भनेर स्टान्डेज लेख्छन् । सोडा–पानीलाई वास्तवमा प्रजातन्त्रसँग दाँजेर अमेरिकीहरू भन्थे— धनीले स्याम्पेन पिउन सक्छ, गरिबले बियर तर दुवैले चाहिँ सोडा पानी पिउँछन् ।’

१८८४ मा अमेरिकी फर्मासिस्ट जोन पेम्बर्टनले दक्षिण अमेरिकामा पाइने कोका अर्थात् कोकिन बन्ने बिरुवा र पश्चिम अफ्रिकाको कोला नामक बिरुवाबाट निकालिएका पदार्थ मिसाएर कोकाकोलाको फर्मुला बनाएका थिए । पछि एसा क्यान्डलरले पेम्बर्टन मरेपछि १८८८ मा कोकाकोला आफ्नो जिम्मामा लिए, जम्मा २३ सय डलरमा । कोक भुसको आगोजसरी संसारमा फैलियो । मलेखुनजिकै त्रिशूली नदी किनारमा त्यो कोकको बोतल यसरी ठडिएको छ, मानौँ ऊ सगरमाथा टेकेर भर्खर झरेको हो र नदी किनारमा डुब्दो घामतिर फर्केर थकाइ मारिरहेछ । जसै अमेरिकाले पुँजीवादको किल्ला विस्तार गर्दै गयो, कोक त्यसको सहयात्रीको रूपमा अगाडि बढ्यो । अनेक प्रयास गर्दा पनि रुस छिर्न नसकेको कोकाकोलाको अझै चम्किला दिनचाहिँ बर्लिनको पर्खाल ढलेपछि आयो । पूर्वी जर्मनहरू पर्खाल फुटाएर जब पश्चिम पसे, उनीहरूलाई कोकाकोलाले स्वागत गरियो । विश्वका कतिपय देशमा अमेरिकाको विरोध गर्दा कोकका बोतलहरू सडकमा खन्याउने गरिन्छ । कोक अमेरिकी पुँजीवादको एउटा सिम्बोल बनेर उभिएको छ ।

‘थानकोट पुग्नू धूवाँ चाख्नू ! पहिला गु गनाए गाउँ आयो भनी बुझ्नू’ भन्थे, अहिले एक सर्को धूलो पिएपछि सहर पुगियो भन्ने बुझ्नुपर्छ । धूवाँ फोक्सो हल्लाइरहेछ तर भीमले छुट्टिने बेला गाएको गीतले चाहिँ मन–मुटु हल्लाइरहेछ :

हिउँद लाग्यो हिमालको शिरबाट

बर्खा लाग्यो खोलीको तीरबाट

हेर्दा राम्रो हिमालको हिउँजस्तो

यो मुटुको टुक्रा नै दिऊँजस्तो

प्रकाशित : कार्तिक १, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

अनि सारंगीले मुद्दा जित्यो

यादव देवकोटा

मेरी हजुरआमा बित्नुभएको थियो, जब हो कि होइन भन्ने स्तरको रमरम सम्झना जम्मा गर्न सक्ने उमेरमा थिएँ म । त्यस्तै झल्कोजस्तो लाग्ने सम्झना छ— हजुरआमाको, हाम्रो भेगका एक जना चर्चित ‘गाइने’ लालबहादुरले घरको आँगनमा बसेर हजुरबाको कर्खा गाएको र हजुरआमा फलैंचामा बसेर हत्केलामाथि चिउँडो राखेर सुकसुकाइरहनुभएको ।

धेरैपछि जब घ्याम्पेसाल बजारमा एक दिन लालबहादुरले फेरि गाए हजुरबाको कर्खा, म फेरि पूर्वस्मृतिमा डुबें । हजुरआमाको त्यही हो कि होइनजस्तो सुँक्क–सुक्क सम्झनालाई मनको रिलले घुमाएर ल्यायो ।

त्यसपछि पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारकालीन चर्चित मणिराम गाइनेका दरसन्तान लालबहादुर समयको एउटा लामो खेलोमा कसरी गोर्खाको पाखोबाट उठेर रेडियो नेपाल आइपुगे, राजा महेन्द्रलाई गीत सुनाए र यताको सानसौकत सबै चटक्कै छोडेर मध्यउत्तरी गोर्खाको एउटा टुहुरो पाखोमा अडिन पुगे, रैथाने अवलाहरूको दर्दलाई सारंगीको तार रेट्दै परम्परागत गाइने लयमा आकार दिए भन्ने खोजी गरें । गाउँबाट सहर आउनु, यता स्थापित हुनु, शक्तिशाली पञ्चायती रजगज चलाएर बसेका राजा महेन्द्रसम्म आफ्ना गीत सुनाउन पुग्नु र त्यो सबै चमकधमक छोडेर आजभन्दा ५० वर्षअघि सुटुक्क पूर्णरूपेण ग्रामीण बस्तीमा फर्कनु एउटा दुस्साहसजस्तो थियो ।

त्यसको मोल लालबहादुरले राम्रैसँग चुकाए । यता काठमाडौंमा स्थापित भइसकेका रेडियो नेपालका गायक लालबहादुर बिस्तारै बिर्सिइए । गुमनाम भए, सहरको हल्लीखल्लीबाट । सहरमा हल्लाबाजहरू समक्ष अनुहारको हाजिरी जनाउनुपर्ने, यहाँ बसेर गाउनेलाई मात्र चर्चा दिने परिपाटीको मोल यो सहर छाडेर गाउँ रोज्ने लालबहादुरले चुकाए । आफ्नै भेगमा रमाए । उतैका दमितहरूको वेदनालाई लोकलयमार्फत आवाजको इतिहासमा रेकर्ड गरिदिए । गाउँले अगुवाहरूको कर्मलाई कर्खामार्फत समयको सम्झनाका लागि दर्ता गराइदिए । मेरा हजुरबा रविलाल देवकोटाको कर्खालाई लालबहादुरले त्यही सिलसिलामा सारंगी रेट्दै लय दिएका थिए । उनले आफ्नो भेगका कैयन रविलालहरूको कर्खा फलाकेका थिए । कैयन दुखियाहरूको वेदना भट्याएका थिए ।

तिनको त्यही गुनको पैंचो तिर्न ‘घ्याम्पेसाल–काठमाडौं सेवा समाज’ ले गएको पुस २६ गते काठमाडौंको प्रज्ञा भवनमा ‘लालबहादुर गन्धर्व सारंगी साँझ– २०७६’ आयोजना गरेको थियो । मेरा गुरु नारायण बोहरा र मित्र अर्जुन भट्टले आर्थिक, भौतिक जोहो मिलाउन मिहिनेत गरेको कार्यक्रमको सञ्चालन गर्न मञ्चमा उभिएको मलाई कसैले एउटा जानकारी थमायो, गोर्खा पालुङटार, ठाँटीपोखरीका रामबहादुर गन्धर्वबारे । त्यसयताका नौ महिनामा रामबहादुर गन्धर्वबारे मैले जे जानकारी जम्मा गर्न सकें, त्यही विवरणमा यो लेख केन्द्रित रहनेछ ।

राजा महेन्द्रको देशको आत्मा’

रामबहादुर पनि तिनै गोर्खा भाँवाबारीका पृथ्वीनारायण शाहकालीन मणिराम गाइनेका दरसन्तान थिए । मणिराम गाइने र बिसे नगर्ची गोर्खा दरबारमा मंगल र शोक धुन बजाउने वाद्यवादक थिए । तिनले पृथ्वीनारायण नेतृत्वका अनेक युद्धमा सँगै सहभागिता जनाएका थिए । पृथ्वीनारायणसँगै नुवाकोट भिडन्तमा मणिराम सामेल भएको गोर्खालीहरूको सैनिक इतिहास पुस्तकमा उल्लेख भएको पाइन्छ । बिसे नगर्ची युद्धमा सामेल लडाकुहरूलाई हौसला दिन नगरा बजाउँथे । मणिराम (कतै मनिरम पनि उल्लेख गरेको पाइन्छ) वीरताको कर्खा भट्याएर गोर्खाली लडाकुहरूको हौसला बढाउँथे । लडाइँमा हार भए विरह धुन भट्याउँथे । लडाइँमा मारिएका लडाकुहरूको खबर तिनै मणिराम सारंगी रेट्दै शोक धुन निकालेर परिवारलाई सुनाउँथे ।

तिनै मणिराम र उनका खलक गन्धर्वहरू अहिले गोर्खामा यत्रतत्र छरिएका छन् । उनैका दरसन्तानको एउटा लहरोबाट तन्किएको देखिन्छ— रामबहादुर गन्धर्वको परिवार । ठाँटीपोखरी, धारापानी मगरगाउँमा उनका पुर्खाहरू बसोवास गरिआएका थिए । त्यही धारापानीका टिके गन्धर्वका दुई भाइ छोरा भए, लुरे र रामबहादुर गन्धर्व । टिके गन्धर्वका कान्छा छोराका रूपमा रामबहादुरको जन्म विसं १९९३ जेठमा भएको थियो ।

तिनै रामबहादुर विसं २०२२ मा काठमाडौंमा आयोजित गन्धर्व सम्मेलमा भाग लिन गोर्खा भेगका थप दुई गन्धर्वहरू लालबहादुर र वीरबहादुरसँगै पैदल हिँडेर खोपलाङ–चोरकाटे–निवेल–खान्चोक भन्ज्याङ–पन्ध्रकोसे–चरङ्गेफेदी–मामरी–त्रिशूली–बट्टार–रानीपौवा–धरमथली–डुक्रुनेपानी हुँदै बालाजु उत्रिएका थिए, चार दिनको पैदल यात्राबाट । विसं २०२२ अघि महेन्द्रले देशव्यापी लोकगायनको सम्मेलन आयोजना गरेका थिए । त्यसमा सारंगी बजाउने गन्धर्वहरूको उपस्थिति नदेखेपछि महेन्द्रले सम्मेलन आयोजना गर्न खटाइएका धर्मराज थापालाई सोधेका थिए— सबै बाजा आएको देखें तर देशको आत्मा नै छुटेछ धर्मराज !

त्यसपछि राजा महेन्द्रको शब्दमा ‘देशको आत्मा’ अर्थात् सारंगी बजाउने गन्धर्वहरूको राष्ट्रिय सम्मेलन गर्न कस्सिए धर्मराज महेन्द्रको आदेशमा । त्यही छेकोमा गोर्खाबाट बोलाइएका गन्धर्वमध्येमा परेर काठमाडौं उत्रिएका थिए— रामबहादुर ।

जनसाधारणका इतिहासज्ञ

काठमाडौं भेलापछि तीनमहिने तालिम भयो । त्यसबखत गीत रेकर्ड गर्ने, बजाउने एउटै गोरेटो थियो, जो जताबाट तन्किए पनि टुंगिन्थ्यो रेडियो नेपालमा पुगेर । रामबहादुरले पनि त्यसरी केही गीतहरू गाए । रेडियोमा ती गीतहरू बजे उनको संकलनमा, स्वरमा । कति उनको नाममा रेकर्ड भए, कति उनले संकलन गरेको, गाएको गीत पछि अरूले नै गाए, उनलाई संकलकसम्मको श्रेय पनि नदिई ।

रेडियो नेपाल र काठमाडौं उनको स्थायी मुकाम थिएन । यो चिने–खेलेको भूगोल थिएन उनको । रेडियो नेपालले दिने गीतबापतको सामान्य रकमले जिन्दगी चल्न नसकेपछि उनले काठमाडौंका घरघरमा गएर गीत गाउने काम पनि गरे । गाउँघरमा जस्तो दुःखसुखको गीत गाउँदै हिँड्ने गन्धर्वप्रति काठमाडौंमा उति सम्मोहन र आत्मीयता भेटेनन् उनले ।

जनजाति बहुल पहाडी गाउँघरबाट धेरै तन्नेरीहरू भारतीय र बेलायती गोर्खा सैनिकको ‘लाहुर’ मा गएका हुन्थे । रामबहादुरको भेकबाट गुरुङ, मगर, घले, क्षत्रीहरू त्यसरी मुग्लानको लाहुरमा लगिएका हुन्थे, गएका हुन्थे, गाउँगाउँ पसेर रिक्रुट खोजी हिँड्ने ‘गल्ला’ हरूबाट । त्यसबखत त्यसरी लाहुर गएकाहरू विभिन्न देशमा भएका युद्धमा सामेल गराइन्थे । कोही घरमा वृद्ध बा–आमा, कोही आलो सुत्केरी श्रीमती त कोही नवविवाहिता पत्नी छाडेर लाहुर गएका हुन्थे । परिवारको थाप्लोमाथि बज्रिएको गरिबीको निस्लाम चुटाइको दुःख पखाल्न केही सय भारु तलबका लागि उनीहरू अरूकै खातिर लड्थे, अरूकै खातिर मर्थे । कतिपय अंगभंग भएको घाइते शरीर लिएर फर्कन्थे । त्यसरी मरेकाहरूका पल्टनका पल्टने साथीहरूले पठाएको धागोले बाँधिएका चिठीहरू आइपुग्थे महिनौंपछि गाउँघरको ठेगाना खोज्दै खोज्दै । त्यही चिठी वाचिदिन पनि कुरिबस्नुपर्थ्यो गाउँले शिक्षक या साँवा अक्षर फुटाउन सक्ने गाउँमै मुस्किलले भेटिने साक्षरहरू ।

जब धागोले बाँधिएका चिठीहरू पढिन्थे, गोलो लागेर खबर सुन्न थुप्रिएका गाउँले अवलाहरूको कोलाहलपूर्ण रुवावासी सुरु हुन्थ्यो । गाइने दाइहरू नै थिए, जो त्यो वेदनामा मलम लगाउन सारंगीको तार रेटेर विरहको धुन झिक्थे । दुःख तिम्रो मात्रै होइन, अरूमाथि पनि यस्तै भएको छ भन्दै अन्यत्रका त्यस्तै घटनाहरूको बिलौना भट्याउँथे र शोकमा डुबेका परिवार, समाजलाई ढाडस दिन्थे, सान्त्वना दिन्थे । जिन्दगीमा भैपरि आउने शोकहरूलाई समन गरेर जीवनको नियमिततामा फर्कन उत्प्रेरित गर्थे ।

पुरानो घटना सुनाएर नयाँ दुःखीहरूको घाउमा मलम लगाउने कोसिस गर्थे । अनि नयाँ दुःखीहरूको जीवनमा बज्रिएको शोक र घटनाको विवरणलाई सारंगीको विरही धुनमा मिसाएर गाउँगाउँ डुलेर सुनाई हिँड्थे । देशका नागरिकलाई विदेशी फौजमा बेचेर सत्तामा सवार भई मदमस्त अट्टहास गर्नेहरूको नाममा लेखिने इतिहासमा उल्लेख नहुने तमाम अगणित जीवनको हिसाब तिनै गाइने दाइहरूले दर्ता गरिदिन्थे लोकलयका माध्यमबाट गाउँलेका मनमा । पाखो, पखेरोको जीवन चलायमान बनाउन फोकल्यान्ड या मलायाहरूमा रगत बगाएकाहरूलाई नभुलोस् समय, भूगोलले भनेर । गाइनेहरू सूचनाका संवाहक थिए, दुःखसुखका साथी थिए, आफ्नो समयको कथावाचक इतिहासज्ञहरू थिए ।

त्यही कर्मको, योग्यताको, योगदानको जमिनमा उभिएर सुखम–दुःखम जिन्दगी चलाइआएका ग्रामीण गाइने थिए– रामबहादुर । सहरमा रत्तिन सकेनन् । र, फर्किए सहर आउँदा लिएको सारंगी बोकेर आफ्नै माटोमा । संयोग मिलेको बखत काठमाडौं आउने, गाउने र फेरि गोर्खा फर्कने क्रम चली नै रह्यो । त्यही क्रममा उनले गाएका थिए, ‘माछी छ पियारी गंगाको तालैमा’, ‘हेर माया पानको पात’, ‘यो नानीको शिरैमा’, ‘धानको बाला’, ‘जयदेवी भैरवी’, ‘जाइरित्री झमझम’, ‘कौसीमाथि झ्याल’ जस्ता बोल भएका गीतहरू ।

...

जति गीत गाएका छन् रामबहादुरले, ती हिजोआज प्रचलनमा छैनन् । रेडियो नेपालले ती गीत आफ्नै लाइब्रेरीमा छ भन्ने पनि सायद भुलिसक्यो । उसो त रेडियो नेपालका जागिरेहरूको चाकरी नगर्ने र तीसँग निकटता नहुने आजैका गायकहरूको गीत पनि बजाउँदैन रेडियो नेपालले सितिमिति । रेडियो नेपालको लाइब्रेरीमा भएका र यताका वर्षौंदेखि नसुनिएका गायकबारे सोधीखोजी गर्ने फुर्सद अन्य सञ्चार संस्थासँग पनि नभएको भान हुन्छ ।

अब त झलकमानका गीत नै पनि बजाउन छाडेका छन् सञ्चारमाध्यमले । यसो तिथि, श्राद्धमा सम्झिने, बजाउने कुरा बेग्लै हो । नत्र रामबहादुरका उल्लिखित गीत सदाबहार बजिरहने गीत हुनुनपर्ने कारणै छैन ।

यो माछी छ पियारी गंगाको तालैमा

मारी ल्याइदेऊ पियारी हजुरको जालैमा...

कौसीमाथि झ्याल

कल्ले जान्छ र करिमाको ख्याल...

हेर माया पानको पात

आधी ढिँडो आधी चैं खाउली भात

मर्स्याङ्दी सलल...

यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो

मगमग चल्यो बासना...

गीतमा गोलमाल

रामबहादुर स्थानीय घटनाहरूलाई गीत बनाएर सारंगी बजाउँदै भाका हालेर गाउन खप्पिस थिए । त्यस्ता अनेक यथार्थ घटना प्रचलनमा छ, रामबहादुरको गाउँमा । स्थानीय उपप्रधानपञ्च थिए गोपाल गिरी । तिनले ०२५/०२६ सालतिर पृथ्वी राजमार्ग विस्तारका बेला मलेखुमा कामदार सप्लाई गर्ने काम गर्थे । मलेखु–सल्यानटार–पालुङ्टारको यात्रा क्रममा सल्यानटारकी एक विवाहिता महिलासँग उनको पिरती बस्यो । पछि ती महिलालाई लालाबालासहित बिहे गरेर ल्याए गिरीले । गिरीको पनि पहिल्यै विवाह भइसकेको थियो । त्यसले गिरीको परिवारमा निकै झैझगडा उत्पन्न गरायो र गाउँ नै तरंगित बनायो ।

रामबहादुर गाउँघरका यस्तै घटनालाई गीत बनाएर वरपरका कैयन गाउँमा गाउँदै अन्नपात जम्मा गर्दै हिँड्थे कहिले आफ्ना छोरासँग, कहिले श्रीमतीसँग, कहिले एक्लै । गीत गाउँदै उनी बन्दीपुर, दमौली, रिसिङ, डुम्रे, धरमपानीसम्म पुग्थे । तीन, चार घण्टाको दूरीमा छ तनहुँको रिसिङ उनको गाउँबाट । खेतिपाती सकेपछि उनी रिसिङ भेगमा गीत गाउन जान्थे । आफ्नो गाउँ, स्थानीय ठाउँ, देखे–जानेको त्यही गोपाल गिरीको घटनालाई जोरजाम गरेर उनले गाए एउटा गीत, त्यही रिसिङमा गाउँदै डुल्दै हिँड्ने क्रममा—

‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो

मगमग चल्यो बासना

अंकुसेले तानौं कि झटारोले हानौं कि

यो नानाीको शिरमै मोहनी

हामी पनि रिसिङको तिमी पनि रिसिङको

लाइदिऊँ माया एकै किसिमको

चोली दिउँला मखमली सारी दिउँला फाइवर

मै हुँ कान्छी रेलको डाइवर

अनिदोले हो कि मोहनीले हो कि

यो नानीको शिरै ढल्केको

पालुङटारको गोरुले सल्यान गाउँको बीउ खायो

कान्छी ल्याउँदा जेठी जिल खायो...’

यो गीत रामबहादुरले रेडियो नेपालमा पनि गाएका थिए । रामबहादुरकी पत्नी नमकुमारीका अनुसार, उक्त गीत रेडियो नेपालले ०३२/०३३ सालतिर निकै बजाउँथ्यो । तर, रेडियो नेपालमा भने यो गीतका संकलक र गायकमा रामबहादुरको नाम भेटिँदैन । रेडियो नेपालको संगीत लाइब्रेरीको रेकर्डमा प्रेमध्वज प्रधानको नाममा यो गीत दर्ता भएको देखिन्छ, गायकको रूपमा भने संकलकको नाम खाली देखिन्छ (पंक्तिकारले २०७६ चैत ३ गते रेडियो नेपालको संगीत लाइब्रेरी पुगेर गरेको खोजबिन) ।

रेडियो नेपालको डिजिटल संगीत लाइब्रेरीको विवरणअनुसार, रामबहादुरको नाममा दर्ता भएको गीत ‘धानको बाला’ को लाइब्रेरी नम्बर ६१४, ‘माछी छ पियारी’ को २०९, ‘हेर माया पानको पात’ को २६२५, ‘जयदेवी भैरवी’ को २६२८, ‘बाँचुन्जेल तिम्रै’ को ३७३, ‘जाइरित्री झमझम’ को ३३७, ‘कौसीमाथि झ्याल’ को ७०२ छ ।

०३८/०३९ तिर रामबहादुरले गाउँघरतिर भनेका रहेछन्, ‘प्रेमध्वजले २०० दिए अनि गाउन दिएको ।’ यस प्रकरणबारे जानकार अब एक मात्र पात्र जीवित छन्, सुप्रसिद्ध गायक प्रेमध्वज प्रधान । रामबहादुरको निधन विसं २०५५ सालमा भइसकेको छ भने झलकमानको पनि निधन भइसक्यो ।

पंक्तिकारले प्रधानसँग सो प्रकरण र पारिश्रमिकबारे जिज्ञासा राखेको थियो । उनलाई सोधियो, ‘रामबहादुर गन्धर्वलाई उक्त गीत संकलनबापतको पारिश्रमिक रु. दुई सय दिनुभएको हो ?’ प्रेमध्वज भन्छन्, ‘०४० सालतिर झलकमानसँग लिएर मैले रेकर्ड गराएको हुँ । त्यसरी रामबहादुरलाई पैसा दिएर उहाँले गाएको गीत मैले लिएको होइन होला । त्यस्तो कुरा त मलाई सम्झना छैन । मैले त रामबहादुर गन्धर्वलाई चिनेको जस्तो लाग्दैन । अनुहार देखें भनें चिन्थें कि ! धेरै पहिलेको कुरा भएकाले र उमेरजन्य कारणले पनि मैले सम्झन सकिनँ ।’ ‘तपाईंले पैसा दिएर झलकमानमार्फत रामबहादुरको गीत लिनुभएको हो त ?’ भन्ने प्रश्नमा पनि प्रमेध्वजले ‘यसै हो भनेर सम्झन नसकेको’ जवाफ दिएका छन् (पंक्तिकारले प्रेमध्वज प्रधानसँग २०७६ चैत ५ गते गरेको टेलिफोन कुराकानी) ।

प्रेमध्वजले झलकमान गन्धर्वबाट गीत लिएको भने पनि रेडियो नेपालको रेकर्डमा संकलकको नाम खाली रहनु र परिवारको फरक खालको दाबी हुनुले संशय पैदा गर्छ । प्रेमध्वजले ०४० मा रेकर्ड गराएको गीतलाई पछिल्लो समय विधान श्रेष्ठले रिमेक गरेर गाउनुका साथै भिडियो समेत बनाएको देखिन्छ । विधानले भने उक्त गीतको संकलकका रूपमा झलकमान गन्धर्वको नाम राखेको देखिन्छ । लोकगीतको रचना हुँदैन । यसको रचनाकार पनि हुँदैन । यो लोकको गीत हो र यसका हकाधिकारी पनि लोक हो । लोकगीत प्रेमध्वजले गाउन नपाउने भन्ने पनि हुँदैन, न विधानले नै । तर, जब गायक या संकलकमा प्रेमध्वज या विधानको या अरू कसैको नाम हुन्छ र त्यसरी दर्ता गराइन्छ भने रामबहादुरको नाम छुटाउने सन्दर्भ पनि न्यायोचित हुन सक्दैन, परिवारको दाबी सत्य हो भने । तर, यसको निर्क्योल कसले गरिदिने ? रेडियो नेपालमा रामबहादुरको नाममा उक्त गीत दर्ता छैन । जसको नाममा दर्ता छ गायकको रूपमा, संकलकको नाम खाली छ । पछिबाट रिमेक गर्नेले झलकमानको नाम राखिदिएको छ ।

अदालतमा सारंगीको बहस

खेतीपातीको बेलामा खेती गर्नु र बाँकी समयमा गाउँगाउँ डुलेर सारंगी रेट्दे गीत गाउँदै हिँड्नु रामबहादुरको जीवन पद्धति थियो । त्यही क्रममा उनीहरूको जग्गालाई लिएर रैथाने पञ्च नेता ढुण्डुराज कँडेलले जिल्ला अदालतमा मुद्दा हाले । रामबहादुरले तिरो तिरिराखेको जग्गा हाम्रो गाईवस्तु चराउने सार्वजनिक जग्गा हो भनेर कँडेलले मुद्दा हालेका थिए । त्यहाँ बनेको घर पनि भत्काइदिएका थिए ।

२०३५ सालदेखि सुरु भएको मुद्दा २०४२ सम्म चल्यो । जिल्लाबाट सुरु भएको मुद्दा पुनरावेदनसम्म पुग्यो । त्यही मुद्दाको क्रममा रामबहादुर सुनुवाइको दिनमा जिल्ला अदालत गोरखामा उपस्थित भए । न्यायाधीश रामनाथ मिश्रले उनलाई आफ्नो कुरा राख्न भनेपछि झोलाबाट सारंगी झिकेर रामबहादुरले भने, ‘हजुर म गाइने, आफ्नै तरिकामा दुःख, दर्द कहन पाऊँ !’

न्यायाधीशले उनलाई अनुमति दिएपछि सारंगी रेटेर अलापे–

‘पालुङ्टारको म रामे दुखिया

दुःख दिने ढुण्डुराज मुखिया ...।’

रामबहादुरको त्यो बहस सम्भवतः नेपालको न्यायिक इजलासको इतिहासमा पहिलो र अन्तिम घटना थियो, जहाँ एउटा गाइनेले सारंगी बजाउँदै गीतमार्फत आफ्नो बहस गरेको थियो । एउटा ग्रामीण अनपढ गाइनेले आफ्नो सारंगीलाई वकिल बनाएर अदालतमा उभ्याएको थियो । आफ्नो पुर्ख्यौली गायन शिल्पलाई आफैंमाथि आइपरेको विपत्का विरुद्ध बहस गर्ने सामर्थ्यवान साधनका रूपमा कठघरामा उभिएर लय भरेको थियो । त्यसरी जब जिल्ला अदालतको इजलासमा रामबहादुरले सारंगी लिएर बहस गरे, गीतमार्फत आफ्ना प्रमाणहरू पेस गरे, रामबहादुरले मुद्दा जिते । कँडेल त्यत्तिमै रोकिएनन् । पुनरावेदन गए । पुनरावेदनले रामबहादुरलाई हराइदियो ।

गाउँदै, अलिअलि भएको जमिनमा खेतीपाती गर्दै परिवारको गुजारा चलाउनुपर्ने रामबहादुर अदालतदेखि अदालतसम्मको चक्करले आजित भए । भएको जमिन पनि हरिएपछि उनी सुकुम्बासीमा परिणत हुन लागे । त्यहीबखत राजा वीरेन्द्र पोखरा भ्रमणमा आउन लागेको थाहा पाएपछि (त्यसरी थाहा दिएर राजासँग बिन्ती बिसाउन सल्लाह दिने उनका हितचिन्तक थिए जिल्ला पञ्चायतका नेता जगतबहादुर रोका) उनी सारंगी बोकेर पोखरा हान्निए । त्यसबखत राजा जनताका दुःखसुख त्यस्ता सवारीमा सुन्ने गर्थे । पञ्चहरू लाममा बसेका थिए, राजाको दर्शनभेटका लागि । रामबहादुर रेडियो नेपालबाट चिनिइसकेका गायक थिए । तिनै पञ्चहरूलाई उनले सारंगी बजाएर आफ्नो दुःख सुनाए । तिनैमध्ये कसैले राजाकहाँ गुनासो सुनाउने मेसो मिलाइदिए रामबहादुरलाई ।

राजा वीरेन्द्रका अगाडि आधा घण्टा बढी सारंगी रेट्दै आफ्नो दुःख सुनाएपछि वीरेन्द्रले सँगै रहेका आफ्ना सचिव रञ्जनराज खनाललाई यसअघि जेसुकै फैसला भएको भए पनि सात दिनभित्र रामबहादुर गन्धर्वको नाममा जग्गाको अन्तिम हक कायम हुने व्यवस्था मिलाउन आदेश दिए ।

रञ्जनले नापीका विष्णु खनाललाई खटाए । विष्णुले जिल्ला मालपोतबाट अमृत खनाल, होम ब. भुजेल र कल्याण ब. अधिकारीसमेत लगेर जग्गा कित्ताकाट गरेर हुकुम प्रमांगीअनुसार रामबहादुरकै हुन गएको जानकारी र पुर्जा दिए । त्यसरी रामबहादुरले आफ्नो पुर्ख्यौली सारंगीवादन र गायनको बलमा आफ्नो जमिन जोगाउन सके । रैथाने टाठाबाठाको जालझेल र मुद्दामामिलालाई किनारा लगाउन सके (रामबहादुरकी पत्नी नमकुमारी गान्धारी, छोराहरू डम्बर, कर्णबहादुर, नरबहादुरसँग पटकपटक गरिएको कुराकानीमा आधारित) ।

प्रकाशित : कार्तिक १, २०७७ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×