पुच्छरहीन

विश्‍व सिग्देल

म निस्कँदा घरबाट
छिँडीको कुकुरले यस्तरी पुच्छर हल्लायो
कि हल्लँदै छन् विजय पताका
महान् योद्धाको जितमा

पुच्छरहीन

म सिकन्दर

मुस्कुराएँ

सोचेँ,

यो मेरो रोटीको टुक्रामा बाँच्छ

सक्दो हो त

जसरी हल्लाउँछ सारा घर,

यो हल्लाउँदो हो

गल्ली, टोल र सडक


घरबाहिर

टोलको गल्लीमा

उसैगरी हल्लायो पुच्छर

घरविहीन एउटा कुकुरले

जो यदाकदा

म मातिएर घरमा आउँदा

पाउँथ्यो केही टुक्रा सुँगुरको बोसो,

कुखुराको खुट्टा वा खसीको आन्द्राभुँडी

म चंगेज खान

मुस्कुराएँ

सोचेँ,

यो मेरो रोटीको टुक्राको आशामा बाँच्छ

सक्दो हो त पुच्छरको साटो

यो हल्लाउँदो हो

सहर, देश र समग्र विश्व

पुच्छरको साटो


विरानो ठाउँमा

मेरो ठाँट, रवाफ र अत्तरले लटपटिएर

केही कुकुरहरूले यसरी पुच्छर हल्लाए

कि हल्लाउँदै छन्

पिटिएर समर्थनमा

साराका सारा संसद्का टेबलहरू

म महान् सम्राट् अशोक

मुस्कुराएँ

सोचेँ

यी मेरा रोटीका टुक्राका आशीर्वादका भोका

सक्दा हुन् त

पुच्छरको साटो

यी हल्लाउने थिए निकालेर आफ्नो मगज

जसरी हल्लाइरहेछन् अहिले आफ्ना

विश्वविद्यालयका शैक्षिक प्रमाणपत्रहरू

एक एक इमान, जमान र जिब्रोलाई

राखेर हातमा

यी तैयार देखिएका छन् मोहर राखेर

मेरा खुट्टामा भेटी चढाई ढोग गर्न


म निस्केर गन्तव्यमा पुग्दा

कुकुरको पुच्छर हल्लाउने लामभन्दा लामो लाम

र त्यो लामको पुच्छरमा आफूलाई पाएर

विस्मित छु


सत्यले कुनै सम्बन्ध राख्दैन मेरो विस्मयसँग

सत्य त यो हो

यो हाम्रो युग

पुच्छर नभएका कुकुरको युग भएको छ ?

प्रकाशित : कार्तिक १, २०७७ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?