सबका शव- दसैं विशेष - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबका शव

कविता
कुमार नगरकोटी

केही सम्झनाहरू
रेल चढेर
बिहानै बिदा भए ।
कोठामा सुतिरहेको
सपना ब्युँझियो,
र, गल्ली छिचोल्दै बिलायो ।

थिए मेरा पनि केही सपना

यतिखेर सहपथिक बन्न पुगेका छन्

बटुवाहरूका ।

यौटा मन हुने गर्थ्यो

जो अस्थिसँगै

नदीमा मिसिएर बग्दैबग्दै गयो ।

जिन्दगी,

जो दुई दिनको पाहुना थियो

चिहानमै फर्केर गइसक्यो ।

सबका शव गइसके ।

सोच्दछु,

जाउँ म पनि कुनै स्त्रीको गर्भमा,

फर्केर जाऊँ ।

(विप्लव प्रतीकले अनुवाद गरेको यस कविता कुमार नगरकोटीले हिन्दीमा लेखेका हुन् ।)

प्रकाशित : कार्तिक १, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

‘रिह्याब’, चोटमा साथी

खेल भनेपछि त्यसै पनि चोट जोडिएर आउँछ । एकातर्फ चोटबाट बच्न सावधानी अपनाउनुपर्ने त भयो नै । अर्कोतर्फ चोट लागेपछि खेलाडीको ठीक उपचार उत्तिकै आवश्यक हुन्छ । तर नेपाली खेलकुदमा यो पक्षलाई असाध्यै नराम्रोसँग उपेक्षा गरिएको छ । नेपाली खेलकुद अन्यको दाँजोमा पछाडि छ भन्दा यसका धेरै कारण हुन सक्छन् । यसमध्ये एउटा ठूलो कारण यो पनि हो, चोट र यसको उपचारबारे राम्रो जानकारी नहुनु । 
हिमेश

काठमाडौँ — समिद कतिला खासमा फिजिरोथेरापिस्ट नभएर कलाकार हुनुपर्ने मान्छे हुन् । कलाकार नाटककै सही वा गायक । उनी प्रायः रचनात्मक उपद्रो गरिरहन्छन् । फेरि यिनको नाम पनि सम्झिन गाह्रो । तर एकपल्ट भेटेपछि यिनको नामै बिर्से पनि मान्छे स्वयं भने याद आइरहने खाले छन् । 

सन् २०१४ मा इन्डोनेसियाविरुद्ध मलाङमा भएको मैत्रीपूर्ण फुटबलमा उनी नेपाली राष्ट्रिय टिमका फिजियोथेरापिस्ट थिए । सायद त्यतिबेला कच्चा थिए । उनको मनमा यस्तो गरे कस्तो होला, यस्तो नगरे कस्तो होला भन्ने धेरै प्रश्न हुन्थ्यो ।

इन्डोनेसिया भ्रमणका क्रममा उनीसँग दोस्ती भएको थियो । त्यही बेला उनले एउटा सपना बुनेका थिए, खेलाडीलाई चोट लागेपछि निको हुने क्रममा चाहिने ‘रिह्याब सेन्टर’ खोल्ने । अहिले उनलाई सायद राम्रोसँग याद नहुन सक्छ, त्यो सपना । जेहोस्, अहिले उनी धेरै हदसम्म परिपक्व भइसकेका छन् । कतिलाले खोलेका छन् ‘अर्थोप्लास्ट स्पोर्टस रिह्याबिलिटेसन एन्ड रिकभरी युनिट’ । ज्यादा शब्दको जाल भयो यो त । सिधा सिधाभन्दा खेलाडीलाई चोट लागेपछि ठीक ढंगले निको हुने संयोग गर्ने एकाइ भनौं न ।

समिद कतिला

भर्खर सञ्चालनमा आएको यो एकाइ ग्वार्कोको अर्थोप्लास्ट रिह्याब सेन्टरको हो । यसअघि खेलाडीलाई अरू सबैखाले विरामीसँगै उपचार गरिन्थ्यो, तर यसमा मज्जा थिएन । त्यसैले एउटा ठूलो कोठालाई खाली खेलकुदसँग जोडिएको छ र त्यहाँ प्रवेश गर्दा लाग्छ, यो कुनै रंगशालाको कुना हो । पक्कै यसको सजावट सोच समिदकै हुनुपर्छ । त्यसो त उनी फिजियोथेरापिस्ट त हुन्, तर ठ्याक्कै खेलसँग जोडिएका होइनन् । खेलसँग ठ्याक्कै जोडिएका भने सुरज भुसाल हुन् ।

उनीको नेपाली फुटबलसँग जोडिएको लामो समय भइसकेको छ । मछिन्द्र क्लबले पछिल्लो समय लिग जित्दा उनी त्यस टिमका फिजियोथेरापिस्ट थिए । यसलाई हाम्रो पारामा भन्दा हुने रहेछ, ‘भौतिक चिकित्सक’ । त्यस रिह्याब सेन्टरमा समिद र सुरज ठू–ठूला निर्देशकका पदमा छन् । नेपालमा निजी क्षेत्रमा खेलकुदको रिह्याब सेन्टर खुलेको यो नै पहिलोपल्ट हो । यो अर्थमा उनीहरूले नेपाली खेलकुदमा ठूलै गुन लगाएका छन् । खेलाडीलाई उपचार गर्दा उनीहरू राम्रै छुट दिने दाबी गर्छन् ।

तर यो कथा त्यही रिह्याब सेन्टरको धेरै बखान गर्न होइन । बरू हो त यसले उठाएको जरुरी र सान्दर्भिक मुद्दा । जहाँ खेल, त्यहाँ चोट हुने भयो नै । यसका धेरै पाटा छन् । एक त खेलाडीले आफूलाई कसरी चोट लाग्न सक्छ र यसबाट कसरी बच्ने हो, त्यसबारे राम्रो जानकारी राख्नुपर्‍यो । अनि चोट नै लागेपछि यसको गम्भीरता हेरेर दुई सम्भावित अवस्था हुनसक्छ । चोट सामान्य छ भने रिह्याबमा गए भइहाल्यो, होइन भने शल्यक्रिया चाहियो । त्यस स्थितिमा शल्यक्रियापछि फेरि रिह्याब ।

प्रतिभाको घटना

काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टिमले रजत पदक जित्दा त्यसका नायिका थिइन्, प्रतिभा माली । चारैतर्फ वाहवाही छाएको थियो उनको । हुन पनि यी स्पाइकरको खेल हेर्दा मन खुसी हुने खालको छ । तर उनको आफ्नै खुसी भने त्यो प्रतियोगितापछि लामो समय टिकेन, त्यसको महिना दिनपछि नै चोटग्रस्त भइहाल्यो । त्यो पनि नराम्रोसँग । अझ जटिल खालेभन्दा हुन्छ । तुरुन्त शल्यक्रिया भयो, यसमा संलग्न चिकित्सक थिए, रुपेश वैद्य ।

प्रतिभा माली

चिकित्सकीय भाषामा भन्दा प्रतिभाको लिगामेन्ट च्याटिएको थियो, देब्रे ‘मेनिकस’ गएको थियो । धन्न तुरुन्तै शल्यक्रिया भयो । तर उनी अझै पूर्णतः निको भएकी छैनन्, उनको यही रिह्याब सेन्टर उपचार चलिरहेको छ । लगभग ८ महिना भइसकेको छ, उनको रिह्याब सुरु भएको । उनी निको हुने क्रममा छन्, अहिले सामान्य अभ्याससम्म सुरु गरिसकेकी छैनन् । तर अहिले नै कोर्टमा उत्रने समय भएको छैन । त्यसै पनि प्रतिभा निहुँबिना मुसुक्क हाँसिरहनुपर्ने खेलाडी हुन् ।

तर उपचारका बेला उनको यही मुसुक्क हाँसिरहनुपर्ने अनुहारमा पीडा झल्कन्छ । आठ महिना भयो, दिनहुँ रिह्याबका लागि घरबाट धाएको । खर्च आफ्नै ठाउँमा छ, भनिरहनुपर्दैन, यो महँगै छ । पछिल्लो समय यही कारणले त हो, खेलाडीको चोटमा बिमा गर्नुपर्ने आवाज चर्को उठेको । सबै आफ्नै खर्चले उपचार गर्ने हो भने खेलाडीले खेल त छाड्छ नै, उल्टै खेलकुदलाई पनि सराप्छ । खाली रिह्याबमै मात्र दुई–तीन लाख रुपैयाँ मज्जाले लाग्छ ।

खर्च आफ्नो ठाउँमा छँदै छ, त्यसमाथि चोटग्रस्ट खेलाडी कति धेरै मानसिक दबाबबाट गुज्रिनुपर्ने हो, त्यसको हिसाबकिताब नै छैन । त्यही रिह्याब सेन्टरमा बास्केटबलकी सबिता खड्का पनि भेटिइन् । उनले उपचार सुरु गरेको पनि लामै समय भइसकेको छ । उनले यसक्रममा के कस्तो दुःख पाइन्, त्यसको कथा फेहरिस्त नै छ । जतिबेला नेपालमा खेलाडीलाई चोट लाग्छ नि तिनलाई साथ दिन संघदेखि यसका सबै पदाधिकारी भाग्ने गर्छन् । नपत्याए, सबितालाई सोधे हुन्छ ।

चोटबारे पूर्णतः अज्ञान

खेलाडीलाई चोट खेल हेरेर हुँदोरहेछ । जस्तो फुटबलमा ह्यामट्रिङदेखि घुँडा र कुर्कुंच्चाको चोट लाग्ने सम्भावना हुन्छ । क्रिकेटमा ‘ब्याकपेन’ देखि काँध, कुहिना र घुँडामा चोट हुने सम्भावना बढी हुन्छ । फेरि क्रिकेटमा तीव्र गतिका बलरलाई जस्तो चोटको सम्भानावना बढी हुन्छ, त्यस्तो चोट स्पिनरलाई नहुन सक्छ । ब्याट्सम्यानको चोट त झन अर्कै हुनसक्छ । धन्न नेपाली खेलकुदमा फुटबल र क्रिकेट नै त्यस्ता दुई खेल हुन्, जसका खेलाडीलाई सम्भावित चोटबारे ठीकै जानकारी राख्छन् ।

यी दुई खेल छाडेर अन्य खेलका खेलाडीलाई त केही पनि जानकारी छैनभन्दा हुन्छ, केही अपवादलाई छाडेर । सम्भावित चोट र यसको उपचारबारे अधिकांश नेपाली खेलाडीमा ज्ञान छैनभन्दा फरक पर्दैन । रिह्याब आफैंमा सम्पूर्ण उपचार होइन, यसका लागि चोटग्रस्त खेलाडी कति धैर्यवान छन् र कति दबाबमा आउने गर्दैनन्, त्यसले पनि फरक पार्छ । त्यसो भनेको चोटबाट बच्नु र उपचारबाट गुज्रिनु भनेको शारीरिक मात्र पक्कै होइन, मानसिक पनि हो, मानसिक रूपमा उत्तिकै बलियो हुनुपर्छ ।

चिकित्सकको भूमिका

खेलाडीको सम्भावित चोट र त्यसको उपचारमा खेलकुद विधाकै फिजियोथेरापिस्ट त चाहियो नै । यसमा यही विधाकै चिकित्सकको उत्तिकै भूमिका हुन्छ । अब त नेपालमै पनि ‘अर्थोपेडिक अर्थोस्कोपिक स्पोर्टस सर्जन’ पनि एक दर्जन जति भए । खेलकुदबारे नै अध्ययन गरेका फिजियोथेरापिस्ट बाक्लै संख्यामा उत्पादन भइसकेका छन् । अब प्रश्न के यी प्राविधिक जनशक्तिको ठीक ढंगले नेपाली खेलकुदले उपयोग गर्न सकेको छ त ? पक्कै छैन । छँदै छैनभन्दा पनि हुन्छ ।

बरू सबैभन्दा ठूलो समस्या त के भने नेपालमा प्रशिक्षक वा व्यवस्थापक, नभएर कोही सिनियर खेलाडी नै आफैं चिकित्सक र फिजियोथेरापिस्ट भइदिन्छन् र उपचारमा सहभागी हुन्छन् । यो वास्तवमै अर्को जटिल समस्या भयो । यही विधाका एक चिकित्सक राजीवराज मानन्धर भन्छन्, ‘खेलाडीको चोट कति गहिरो छ, त्यो उपचारमा महत्त्वपूर्ण हुन्छ । त्यसको ठीक समयमा ठीक पहिचान गर्न सक्नुपर्छ । उपचारका क्रममा ठीक सल्लाह अवाश्यक छ । शल्यक्रिया र रिह्याब चोटको उपचारका दुई निर्णायक पाटा हुन् ।’

समिद र सुरज चोटग्रस्त खेलाडीको उपचारमा संलग्न भएको पनि धेरै समय भइसकेको छ । त्यसैले उनीहरूसँग थरीथरीका बहुमूल्य उदाहरण छन् । उनीहरू भन्छन्, नेपाली खेलकुदले यो विधा केही हदसम्म नयाँ हो अनि यसलाई हेपिरहने काम गरिरहेको छ । त्यसैले यसमा जाकरुकता धेरै आवश्यक छ । उनीहरू फुटबलका केही यस्ता पुराना खेलाडीको नाम लिन्छन्, जसले समयमै उपचार र ठीक सल्लाह पाएको भए, उनीहरूको खेलजीवन चाँडै सकिने थिएन ।

अनि जतिबेला ठीक उपचारपछि खेलाडी मैदानमा आउँछन् र राम्रोसँग खेल्छन्, त्यसको मज्जा नै शतप्रतिशत बढी हुने गर्छ । जस्तो फुटबलकै उदाहरण पेस गर्दा थ्रीस्टार क्लबका विक्रम लामा । फुटबलकै अर्को उदाहरण किरण चेम्जोङ पनि छन् । उनी चोटप्रति सजग छन् । दिनहुँ एक्लै भए नि अभ्यास गरिरहन्छन्, बानीबेहोरा ठीक छ । फिजियोथेरापिस्टका लागि किरण ‘आइडियल’ खेलाडी हुन् । बाँकी रह्यो, समिद र सुरजको कुरा । भन्छन्, ‘खेलकुद नै त्यस्तो क्षेत्र हो, एकपल्ट यसमा प्रवेश गरेपछि यसमै जोडिन चाहिरहने इच्छा छ । रिह्याब सेन्टरबाट हामी धेरै अपेक्षा गर्न सक्छौं ।’

प्रकाशित : कार्तिक १, २०७७ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×