‘ब्युटी क्विन’ काठमाडौं र काला ख्याकहरू- दसैं विशेष - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ब्युटी क्विन’ काठमाडौं र काला ख्याकहरू

वसन्त थापा

पूरा तीन दिन लाग्थ्यो सतह मार्ग भएर धरानबाट काठमाडौं आइपुग्नलाई । मुलुकको सबै भागबाट अलगथलग रहेको यस्तो टापु थियो काठमाडौं, जहाँ आइपुग्नलाई भारतीय भूमिको समुद्रमा हेलिएर आउनुपर्थ्यो रेलमा । त्यसैले काठमाडौं आउन धरानबाट पहिले विराटनगर भएर नजिकको जोगबनी पुग्नुपुर्थ्यो रेल चढ्नलाई र कटिहारमा रेल फेरेर समस्तिपुर, मुजफ्फरपुर, मोतीहारी हुँदै रक्सौल स्टेसनमा आइपुगिन्थ्यो ।

त्यहाँबाट एउटा घोडाले तान्ने एक्का वा टाँगामा वीरगन्ज पुग्दासम्म पूरा दुई दिन बितिसकेको हुन्थ्यो । वीरगन्जबाट काठमाडौं जाने बस बिहान मात्र चल्थ्यो, त्यो पनि थोरै । केही गरी टिकट नपाए वीरगन्जकै बास पनि हुन्थ्यो र त्यसले यात्राकाल एक दिनले अरू थपिन्थ्यो ।

नाम चलेको बस कम्पनी थियो लोकभक्त ट्रान्सपोर्ट उसबेलाको । त्यसका बसहरूको चौडाइ कम र लम्बाइ छोटो हुन्थ्यो, पुच्छर काटिएका माउसुलीजस्ता ठुटे र बुच्चे । ‘बाइरोड’ भनिने त्रिभुवन राजपथको चक्करदार सडकका कारण ती बस त्यस आकारका बनाइएका थिए । ट्रकहरू पनि त्यस्तै हुन्थे, छोटा डालाका । बाटो लामो र खतरनाक घुम्तीयुक्त भएको हुँदा बिहान सबैरै वीरगन्ज नछाडे काठमाडौं उसै दिन पुग्न सकिँदैन भन्ने मान्यता थियो । चालकहरू प्रायशः पगडीवाल सरदारजी हुन्थे । उनीहरू हिम्मतदार र यस्तो सडकमा गाडी चलाउन खप्पिस मानिन्थे । हामी चढेको बसको चालक भने पगडीवाल थिएन, हिन्दुस्तानी थियो । बाइरोडको सात घुम्तीको ख्याति वा कुख्याति निकै फैलेको थियो, ज्यानमारा घुम्ती भनेर । दुर्घटना निम्त्याउने थलो मानिन्थ्यो सात घुम्ती । हाम्रो बसको चालक भने सिमभञ्ज्याङको उकालो चढ्दैमा असिनपसिन भएर रुमालले बारबार मुख पुछिरहेको थियो मानों बाइस–चौबीस जनाको सवारी पिठ्युँमा बोकेर ऊ आफैं उकालो चढिराखेको होस् ।

चन्द्रागिरि डाँडाको चुचुरोबाट उपत्यका हेरेर पृथ्वीनारायणले जुँगामा ताउ दिएका थिए रे । अनि राणाकालमा नेपाल आउन इजाजत पाएर जति पनि विदेशीहरू यहाँ आए, त्यहाँबाट काठमाडौं उपत्यकाको विछट्टको दृश्य देख्दा उल्लासित हुन्थे जसरी सन् १९५० को अक्टोबरमा नेपाल आउने स्विस भूगर्भविद् टोनी हागन भएका थिए । नेपाल खाल्डोको प्राकृतिक छटाको पहिलो दर्शनबाट आफू विमुग्ध भएको कुरा उनले आफ्नो यात्रा विवरणमा लेखेका छन् । इन्डियन आर्मीले हतारहतार आफ्नो मतलबले अतिशय लामो र घुमाउरो भए पनि त्रिभुवन राजपथ बनाइसकेको हुनाले मैले भने काठमाडौं आउनलाई चन्द्रागिरिको उकालो चढिरहन परेन र त्यहाँबाट नेपाल खाल्डोको मनमुग्धकारी दृश्य हेरेर रमाउन पनि पाइनँ । रिमरिम साँझको बेला लोकभक्त ट्रान्सपोर्टको ठुटे बसमा नागढुंगाबाट म लुसुक्क छिरेको थिएँ । बसले हामीलाई काठमाडौंको सुन्धारामा ओराल्दा काठमाडौंलाई साँझको अँध्यारोले छोपिसकेको थियो ।

हामीले एउटा रिक्सा लियौं र लाग्यौं डिल्लीबजारतिर । डिल्लीबजार त उकालोमा रहेछ । रिक्सावालले कसरी हामीलाई तानेर डिल्लीबजारको उकालो तार्‍यो र मैतीदेवी पुर्‍यायो रातिको बेला त्यो म सम्झन्नँ । मैतीदेवी मेरी कान्छी छ्यामा बस्ने ठाउँ थियो र हाम्रो गन्तव्य । हामी भनेको म र मलाई काठमाडौं लिएर आउने मेरा पथप्रदर्शक साना बा जसलाई म काका भन्थें । चरिकोट मूल घर भएका ती काका जवानीमा प्रहरीको जागिरमा धनकुटा पुगेका थिए र उनले मेरी छ्यामासित बिहा गरेर उतै घरजम गरेका थिए । हवल्दारसम्म भएका उनी चरिकोट मूलघर जाँदै थिए र म उनैको फेरो समातेर आएको थिएँ ।

एक दिनको बसाइपछि काकाजी त लागिहाले चरिकोटको बाटो । अब म फिट्टो थिएँ काठमाडौंमा रल्लिनलाई र काठमाडौंको नौलो संसारको खोजयात्रा गर्नलाई । कुनै योजना बाँधेर आएको थिइनँ म काठमाडौं । बीएको परीक्षा सकेर के गरौं कसो गरौं भइरहेको बेला ती काकाले काठमाडौं डुल्न जाने हो भने हिँड, मलाई साथी पनि हुन्छ भने । नयाँ ठाउँ घुम्न जाने भनेपछि जहिल्यै पनि एउटा खुट्टा उचालिराख्ने मेरा लागि त्यो अफर बाँदरका लागि लिस्नो भएको थियो र म उनको साथ लागेर काठमाडौं आइपुगेको थिएँ । आफ्नो मुलुकको राजधानी घुम्नुबाहेक मेरो अर्को निश्चित उद्देश्य थिएन । विशुद्ध पर्यटकीय थियो मेरो मकसद ।

मैतीदेवीलाई आधारशिविर बनाएर म सक्नेजति ठाउँमा गएँ । पिताजीबाट भेट्नू भन्ने आदेश भएको उहाँका मित्रहरूलाई भेट्ने र भलाकुसारीको सन्देश दिने काम गरें । मेरो घुमघाममा मलाई त्यतिखेर सजिलो भयो, जतिखेर न्युरोडमा बस्ने गरेका धरानकै एक सहहृदयी दाइ माधव शर्माले आफूकहाँ आई बस्न निम्त्याए । साता–दस दिनको मैतीदेवी बसाइपछि झोलातुम्बा लिएर न्युरोड सरें । काठमाडौंको मुटु न्युरोडमा बस्न पाएपछि मलाई धेरै कुराको पायक पर्‍यो । बस समात्नलाई रत्नपार्क वा सहिदगेट । साइकल भाडामा लिनलाई प्युखाटोल । सिनेमा हेर्नलाई रञ्जना । किनमेलका लागि असन र इन्द्रचोक । लाइब्रेरी जान मन लागे सामुन्ने नै अमेरिकी लाइब्रेरी थियो र वसन्तपुरमा लस्करै थिए भारतीय, चिनियाँ र सोभियत मैत्री पुस्तकालय ।

धरानका एक झुन्ड साथीहरू ठमेलमा बस्थे, कोही इन्डियन एम्बेसीले चलाएको सैनिक होस्टेलमा र कोही त्यतै बाहिरतिर । उनीहरूलाई भेट्न र उनीहरूसित गफिन वा मिलेर कतै घुम्न जान म प्रायःजसो ठमेल गइरहन्थें । साँझमा न्युरोड फर्कंदा म जहिल्यै नयाँ रुटबाट फर्कन्थें । त्यो जानेर नभई बाटो बिराएर हुने गर्थ्यो । ठहिटीबाट कहिले क्षेत्रपाटी छिर्दो रहेछु र थाहै नपाई रक्तकाली, नरदेवी हुँदै वसन्तपुर निस्किरहेको हुन्थें । कहिले त्यौडतिर लागेर असन अनि महाबौद्ध पुग्दोरहेछु र भोसिको हुँदै न्युरोड गेट निस्किरहेको हुन्थें । कहिले भने बांगेमुढा, भेंडासीं हुँदै इन्द्रचोक निस्केर होटेल क्रिस्टल पुग्थें । साँघुरा सडकहरूको यो भूलभुलैयालाई साँझको अँध्यारोले झनै जटिल बनाउँथ्यो । यो गुत्थी सुल्झाउन मलाई निकै समय लाग्यो ।

त्यसबखत काठमाडौं सहरका मुख्यमुख्य ठाउँहरू सिँगारिने क्रममा थिए । वातावरणमा चहलपहल बढेको थियो र मानिसमा उत्सुकताको भाव । अनेक देशबाट विशिष्ट अतिथिहरू काठमाडौं धमाधम आइरहेका थिए या आउनेवाला थिए । तिनमा राजनेता, राष्ट्रप्रमुख, राज्यप्रमुख, मन्त्री, कूटनीतिज्ञ र विशिष्ट व्यक्तित्वहरू थिए । किनभने गद्दीनसीन राजा महेन्द्रका ज्येष्ठ पुत्र युवराज वीरेन्द्रको विवाह सम्पन्न हुन लागेको थियो र ती विशिष्ट पाहुनाहरू राजाका निम्तामा आइरहेका थिए । संयोग, म पनि यसै बेला काठमाडौं आइपुगेको थिएँ, तर शाही आतिथेयलाई कुनै व्ययभार नपर्ने गरी आफ्नै खर्चमा ।

५५–६० देशका प्रतिनिधिहरू विवाह समारोहमा सरिक हुन आएको कुरा पछि अखबारमा छापिएको थियो । अतिथिहरूको यस लामो सूचीमा म अहिले केवल दुई जनालाई सम्झन्छु— बेलायतका युवराज चार्ल्स र भारतीय फिल्म अभिनेता देव आनन्द, जो राजा महेन्द्रका विशेष निम्तामा आएका थिए । आफ्नो चासोका यी दुवै जनाको दर्शन तस्बिरमा बाहेक साक्षात भने हुन सकेन । देव आनन्दले आफ्नो आत्मकथामा लेखेअनुसार त्यही विवाह समारोहमा अतिथि बनेर आएको बेला एक जर्मन फिल्ममेकरसित काठमाडौंका हिप्पी अड्डाहरूमा गएपछि हिप्पी संस्कृतिमा आधारित फिल्म ‘हरेराम हरेकृष्ण’ बनाउने आइडिया उनलाई फुरेको । उनले राजा महेन्द्रसित फिल्मको नेपालमा सुटिङ गर्न पाउने इजाजत पनि उसै बखत मागेको उल्लेख गरेका छन् ।

हुन पनि त्यो हिप्पी युगको उत्कर्ष समय थियो र काठमाडौं हिप्पीहरूका लागि संसारकै प्रमुख अखाडामध्येको थियो । युरोपका लन्डन, पेरिस, आम्स्टरड्याम, बर्लिन, म्युनिख, रोम आदि र अन्य सहरदेखि बस र मिनीबस हाँकेर युवा हिप्पीहरू काठमाडौं ओइरिन्थे । पश्चिम एसिया अहिलेजस्तो गञ्जागोल स्थितिमा थिएन । इरान र अफगानिस्तानमा शान्ति थियो अनि तिनै देश हुँदै युरोपबाट हिप्पीहरू ‘ओभरल्यान्ड’ नेपाल आउँथे । कतिपयले गाडी यतै बेचबिखन गर्थे । उनीहरूले ल्याएका मर्सेडिज बेन्ज मिनीबसहरू भक्तपुर रुटमा धेरै पछिसम्म चल्थे ।

काठमाडौंका पसलहरूमा चरेस खुला रूपमा त्यसरी नै बिक्री हुन्थ्यो जसरी असनटोलमा जिरा–मरीच । मुस्ताङ र जुम्लाको स्याउ भनेजसरी उत्पत्तिस्थल र स्वादअनुसार चरेसको मोल राखिएको हुन्थ्यो । ठमेल अस्तित्वमा आइसकेको थिएन र झोछें, वसन्तपुर, मरु तथा स्वयम्भू हिप्पीहरू झुम्मिने मुख्य अखाडाहरू थिए । हिप्पीहरूकै कारण झोछेंले ‘फ्रिक स्ट्रिट’ र मरुटोलले ‘पिग एली’ भन्ने नाम पाएको थियो । झोछेंको इडेन होटलले चरेस व्यापारकै कारण नाम र दाम कमाएको थियो भनेपछि त्यसको मालिक डीडी शर्माले कुख्याति पनि कमाउनुपरेको थियो ।

राजा महेन्द्रले आफ्ना उत्तराधिकारीको विवाह धूमधामसित गरेर दुनियाँलाई देखाउन कुनै कसर बाँकी राखेका थिएनन्, यस्तो देखिन्थ्यो । हात्तीमा सवार भएर लावालस्करसहित गएको युवराज वीरेन्द्रको जन्ती र दुलही लिएर फर्कंदाको रमिता हेर्नलाई रत्नपार्कदेखि महाकाल मन्दिर र सहिदगेटसम्मको पूरै सडक दर्शकको भीडले छोपेको थियो । त्यतैपट्टिको टुँडिखेल छेउका रूखहरूमा समेत चढेर मानिसले शाही विवाहको उत्सव हेरेका थिए । पछि डायमनशमशेरको ‘सेतो बाघ’ पढ्दा त्यहाँ गरिएको जितजंगको वरियातीको चित्रणबाट युवराज वीरेन्द्रको त्यो शाही जन्तीलाई मैले झलझली सम्झिएँ ।

विश्व मिडियामै त्यस विवाहको चर्चा भएको थियो । त्यसका साथै त्यस शाही तामझामको आलोचना गर्नेहरू पनि थिए । बम्बईबाट निस्कने अंग्रेजी साप्ताहिक पत्रिका ‘ब्लिट्ज’ ले गरिब प्रजा अघिल्तिर शाही सानसौकत भन्ने बेहोराको रेपोर्ताज झुत्रेझाम्रे लुगा लगाएका मानिसहरूको तस्बिरसहित छापेको थियो । फलतः त्यो पत्रिका नेपालमा प्रतिबन्धित हुन गयो ।

चक्रपथ बनेको थिएन, न त माइतीघर भएर भक्तपुर जाने सडक र ट्रलीबस नै आएको थियो । भक्तपुर जाने पुरानो सडक सिनामंगलको ढिस्को काटेर बनाइएको गल्छेडोबाट अहिले विमानस्थलको रनवेलाई छिचोलेर सानो ठिमी हुँदै जान्थ्यो । भक्तपुर, फर्पिङ र केही हदसम्म गोदावरी नै पनि जान–आउनलाई लगभग दिनभरि खर्चिन पर्थ्यो । बूढानीलकण्ठ पनि कम टाढा लाग्दैन थियो । कच्ची सडक धान खेतको बीचबाट जान्थ्यो । उसैबेला ‘वाइल्ड वेस्ट’ को छवि बनाएको बौद्ध पनि टाढै लाग्थ्यो भने गोकर्ण त कता हो कता दूरदराज प्रदेश ।

खुला, विस्तृत र तरेली परेका फाँट । हरियो पहाडको पर्खाल अनि त्यसपछाडि झल्झलाकार हिमालको धवल लहर । यति नजिकबाट हिमालयको दर्शन गर्न सकिने मध्यपहाडको उपत्यकामा पोखरापछि सम्भवतः काठमाडौं नै हो । वाग्मती र विष्णुमतीमा पौडी खेलेको म दाबी गर्न सक्दिनँ । तर मलाई यति थाहा छ त्यहाँ पानी नै बग्थ्यो, अहिलेजस्तो ढल होइन । मनोहरा र धोबीखोलाको हकमा पनि यही कुरा लागू हुन्थ्यो । माटोको उर्वरशीलताको त कुरा गरी साध्ये छैन । बडेमाको काउली, मूला र फस्टाएको तरकारी बाली हुनुमा मानवमल सोझै प्रयोग गर्ने चलनको पनि हात हुन सक्थ्यो । तर कसैको उक्तिलाई दोहोर्‍याएर भन्ने हो भने ‘बाख्राको पुच्छर रोपिदियो भने बाख्रै फल्ने’ माटो थियो यस खाल्डोको ।

ट्याक्सी, बस, निजी कार, मोटरसाइल सबै थिए । होटल, रेस्टुँरा, चियाचमेनाका पसल, दोकानहरू सबै थिए । त्यस्तैगरी कार्यालय र अड्डाहरू पनि । स्वदेशी आगन्तुक र विदेशी टुरिस्टहरू पनि आउँथे । तर सबै सीमित मात्रामा र अति थोरै । एउटा सहरमा हुनुपर्ने अवयवहरू विकसित हुँदै गरेका थिए, तर केही धीमा गतिमा । आधुनिकता र प्राचीनताको संघारमा उभिएको लाग्थ्यो काठमाडौं । ‘स्लो मोसन’ मा चलेको फिल्मजस्तो थियो यहाँको जीवन कुनै हतारो वा भागदौड वा आपाधापीबिनाको ।

मानिसहरू स्वान्तः सुखाय जीवन बिताइरहेका प्रतीत हुन्थ्यो । जे छ त्यसैमा खुसी, त्यसैमा सन्तुष्ट । उनीहरूमा सरलता अझै जीवित थियो, कुटिलताले जरा गाडिसकेको थिएन । काठमाडौंको खाँट्टी भित्री भागमा त नेपाली बोलीले प्रवेश पाइसकेकै थिएन । रैथाने र मजस्ता भर्खर बाहिरबाट आएको मानिस अलग्गै छुट्टिन्थे । रैथानेहरूको दृष्टिमा आफूबाहेक अरू मानिस तीन वर्गमा विभाजित थिए ः भोट प्रदेशतिरबाट आएका मानिस ‘सँयें’, पहाडी प्रदेशबाट आएका नेपाली भाषा बोल्नेहरू ‘खयें’ र तराई प्रदेशबाट आएकाहरू ‘मर्स्या’ । यो भेदबाहेक उनीहरूमा बाहिरियाप्रति वैमनस्यता भाव थिएन, बरु सहिष्णुता नै थियो । नेपाली भाषालाई उनीहरू सामान्यतया पर्वते भनेर बुझ्थे र पर्वते भाषा बोल्नेहरूलाई प्रायः दाइ भनेर सम्बोधन गर्थे । उमेरको लिहाज नगरी आफूभन्दा पाको मानिसले दाइ भन्दा अचम्म लाग्थ्यो । सायद गोर्खालीहरूले काठमाडौं अधीनमा पारेपछि जन्मिएको संस्कारको अवशेष थियो त्यो चलन ।

नेपाली बोल्ने यहाँका बासिन्दाहरूको बोलीमा पनि आफ्नै लय र तान थियो, अन्यत्र बोलिने नेपाली भाषासित नमिल्ने । पूर्व वा पश्चिम नेपाल वा नेपालबाहिर दार्जिलिङजस्तो ठाउँमा बोलिने नेपालीभन्दा छुट्टै, अलग्ग, विशिष्ट र निकै शिष्ट पनि । उनीहरूको अघिल्तिर म र मजस्ता मुलुकको पूर्वी भागबाट आएकाहरूले बोल्ने नेपाली रूखो, खस्रो र ठाडो सुनिन्थ्यो । केही लवजहरू पनि बिलकुल फरक थिए । भन्या, गर्‍या, देख्या, सुन्या, हेर्‍या भन्ने बोली यहाँका बासिन्दाहरूको खासियत थियो ।

हाम्रोतिरको डिम्मालाई यहाँ फुल भनिन्थ्यो (आजभोलि त्यो ‘अण्डा’ हुन गएको छ, त्यो अलग कुरा हो) । हाम्रो ‘फूलकोपी’ यहाँ ‘काउली’ भएको थियो । हाम्रो जलेबी वा जुल्फी यहाँ जेरी कहलिन्थ्यो । ‘भुजा’ ‘भुजा’ भनेको सुन्दा यहाँका मानिस किन चिउरा–भुजाको यति कुरा गर्छन् भन्ने लाग्थ्यो । किनभने मधेसको मुरै वा मुरीलाई हामी भुजा भन्थ्यौं जो प्रायशः चिउरासित जोडिएर आउँथ्यो । जसलाई हामी भुजा भन्थ्यौं त्यो त यहाँ ‘गोलफुकी’ भनेर चिनिथ्यो र भातलाई पो मानिस यहाँ भुजा भन्थे । अझ क्रियापदमा ‘सियो’ जोड्ने नितान्त बेतुका लाग्ने चलन त हाम्रोतिर थिँदै थिएन । ठकुरी, छेत्री, बाहुन जोसुकै हुन् यसरी ‘सियो’ को फुर्का जोडेर बोल्दैन थिए । हिजोआज पूर्व, पश्चिम जतासुकैका हुन् यहाँ आएपछि उनीहरू

आफ्नो जातीय उच्चता प्रदर्शन गर्नलाई यस दरबारिया लवजको सुगारटाइ गर्छन् त्यो फेरि छुट्टै कुरा हो ।

‘हजुर’ हामी आमाबाबुले वा ठूलाबडाले वा शिक्षकले बोलाउँदा प्रत्युत्तरमा भन्थ्यौं । लेखक श्यामप्रसादले ‘तँ, तिमी, तपाईं, हजुर’ भन्ने शीर्षकको किताब लेखेर तहयुक्त सम्बोधनको बयान गर्दा हजुरको प्रयोजन प्रस्ट लागेको थिएन । किनभने तपाईंको खुड्किला नाघेर मानिसलाई ‘हजुर’ भनेर सम्मान गर्नॅपर्छ भन्ने कुराको हेक्का नै थिएन । तर काठमाडौंको सामाजिक परिवेशमा ‘हजुर’ अविभाज्य तवरले गाँसिएको थियो र त्यो सामन्ती अवशेष बिलाउनुको सट्टा अचेल झनै झांगिँदै गएको छ ।

त्यसैगरी ‘काजी’ सम्मानसूचक पदवी हो भन्ने नबुझेको थिएन । तर हाम्रोतिर त्यो केवल छेत्री समुदायका त्यसमा पनि खातापिता र खानदानी व्यक्तिसित जोडिने कुरा थियो । जस्तो बाहुनलाई बाजे, मगरलाई मुखिया, लिम्बूलाई सुब्बा, थारूलाई चौधरी भनेझैं काजी पदवी छेत्रीका लागि सुरक्षित थियो । जस्तो मैले काका भन्ने गरेको टोलका लक्ष्मण बस्नेतलाई मानिसहरू ‘लड्डुकाजी’ भनी पुकार्थे । तर कतिपय घरानियाँ नेवार परिवारका व्यक्ति समेत यहाँ काजी भनेर चिनिएको र पुकारिएको देख्दा म आश्चर्यित भएको थिएँ ।

घरमा आएका पाहुनाहरूलाई सामान्यतया (भान्सामा फुल चल्ने घरमा) तारेको फुल र दूधचियाबाट स्वागत हुन्थ्यो अनि पाहुना हिँड्ने बेलामा आतिथेयले ‘आउनोस् है’ भनेर बिदाइ गर्थे । ‘आउँदै गर्नोस् है’ भन्ने आशयको त्यस अभिव्यक्तिमा निहित शिष्टताको मर्म नबुझेर ठाडे मिजासका हामी भने ‘कहिले आऊँ ?’ भन्थ्यौं ।

‘बिनाबी’ अर्को शब्द थियो नेवार घरपति भएको घरमा र टोलमा अक्सर सुनिने । धन्न यज्ञप्रसाद आचार्यले त्यसै शीर्षकको कथा लेखेर कथासंग्रह नै छपाएको र त्यसलाई धरानमै छँदा पढेको हुनाले त्यस शब्दको आशयबाट कम्तीमा म परिचित थिएँ । त्यो भनेको ‘एस्क्युज मी’ भनेजस्तो हो जो अचेल प्रायः सुनिँदैन । भर्‍याङ उक्लँदा तल वा माथिबाट कोही आइरहेको छ कि वा बाटामा धक्का लाग्ला कि वा छोइएला कि भनेर मानिस त्यसो भन्थे ।

मोमो, थुक्पा र चाउमिन त दार्जीलिङ, कालिम्पोङ अनि लाहुरे कनेक्सनबाट धरानमा आइसकेका थिए, लगभग ब्रिटिस क्याम्पको स्थापनासँगै । तर गोलो फुच्चे ममचा अनि छोयला र कचिलासित चाहिं काठमाडौंमै परिचय भएको हो । धरानमा सुँगुरको मासुको परिकारले अहम् स्थान ओगटेको थियो भने काठमाडौंमा राँगाको मासु वा ‘बफ’ ले । ती परिकारका लागि नामी थियो फसिकेवको आरसी ममचा । खसीको भित्र्याँसलाई धरानतिर सोझै आन्द्राभुँडी भन्ने चलन थियो । विराटनगरमा त ट्राफिक चोक नजिक भुँडी दोकानको लाइनै छ । तर काठमाडौंमा त्यही आन्द्राभुँडी ‘भुटन’ भनेर चिनिन्थ्यो ।

ज्यापू पनि हामी उतातिरबाट आउनेहरूका लागि किञ्चित् नौलो कुरा थियो । हाम्रातिर सबै नै जसो नेवारहरू प्रायः श्रेष्ठ थर लेख्थे । यद्यपि उदास, ताम्राकार, जोशी, शाक्य, प्रधान, अमात्य, मास्के, कायस्थ थरका नेवारहरू पनि नभएका होइनन् । सबै नेवार ज्यापू र सबै ज्यापू नेवार भन्ने आम धारणा थियो हाम्रो, जो सही नभएको यहीं आएर मात्रै थाहा भयो । जम्मा एउटा परिवार मानन्धर पुगेको थियो हाम्रो बेला धरानमा । खसी काटेर मासु बेच्ने अर्को एउटा खड्गी परिवार थियो जसलाई सबै ‘नेपाले’ भन्थे ।

एक महिनाभन्दा कम र तीन हप्ताभन्दा केही बढी दिन धरानको यस टुरिस्टले काठमाडौंमा घुमफिर गर्‍यो, साथीभाइ र चिनजानसित भेटघाट गर्‍यो, उनीहरूका डेरा र घरमा गयो । अनि राजधानी सहरको आफ्नै अनुभव बोकेर ऊ धरान फर्क्यो । काठमाडौं फेरि फर्केर आउँला भन्ने योजना वा चाहना दुवै कुरा उसको मनमा उठेको थिएन ।

धरान फर्केको केही कालपछि बीए जाँचको परीक्षाफल निस्क्यो । एसएलसीको शानदार प्रतिमानलाई कायम राख्दै फेरि उही गान्धी डिभिजनमा म उत्तीर्ण भएँ । केही काकताली र संयोगले गर्दा त्यस सालको तिहार सकेलगत्तै म काठमाडौं आउने भएँ युनिभर्सिटीमा पढ्नलाई र आएँ पनि । यसपटक भने विराटनगरबाट डकोटा विमान चढेर ।

आउनासाथ म गल्कोपाखामा साथीहरूको डेरामा घुस्रिएँ । त्यसपछि भगवानबहाल, ठमेल, झोंछे, चिकंमुगल, ओमबहाल, पाको, प्युखा, कमलपोखरी, ज्ञानेश्वर आदि अनेक ठाउँमा कहिले एक्लै, कहिले साथीहरूसित साझेदारीमा र पछि बिहा गरेपछि परिवारसित डेरा सरिहिँडे । अनि तीन दशकभन्दा केही बढी समयदेखि सामाखुसीमा एउटा सानो ओत बनाएर बस्दै आएको छु । ‘अनेक पापड बेल्दै’ निरन्तर र बिनाकुनै ब्रेक यस खाल्डोमा बस्दै आएको पचास वर्ष पुगेछ ।

सन् १९७० को फेब्रुअरीमा पहिलोपटक काठमाडौं टेक्दा मैले देखेको यो उपत्यका कवि भूपि शेरचनको कविताको हरफजस्तै थियो — शुभ्र, शान्त र स्निग्ध । तर एकताकाको यस अप्रतिम र अद्वितीय उपत्यकाको मुहारमा एसिड छ्यापिएको छ । यसको अस्मिता हरण भएको छ । यसको शौष्ठव लुटिएको छ । यसको सुन्दर काया छियाछिया पारिएको छ । कोही भएनन् यसलाई माया गर्ने । जो आए तीन आने सपना बोकेर आए । यसको हकमा ठूलो सपना देख्ने स्वप्नदर्शी कोही भएन । आकाशबाट हेर्दा ग्रीक मिथकको राकस्नी मेडुसाको केशको सट्टा सर्प उम्रिने टाउको जस्तो देखिन्छ अहिले यो खाल्डो, विद्रुप र कुरूप । त्यसैले धेरै भयो हवाइजहाजमा मैले झ्यालको सिट माग्न छाडेको । तल हेर्दा आँखामा शीतलता मिल्दैन बरु मनमा व्याकुलता थपिन्छ ।

यो देख्दा पिताजीको मुखबाट सुनेको काठमाडौंको किंवदन्तीमा आधारित सेतो र कालो ख्याकको किस्सा सम्झन्छु म । त्यसअनुसार राति काठमाडौंमा सेतो र कालो ख्याक सक्रिय हुन्थे । सेतो ख्याकलाई पुण्यात्माहरूको प्रेत मानिन्थ्यो र कालो ख्याकलाई दुष्टात्माहरूको । सेतो ख्याकसित भेट भए त राम्रै हुन्थ्यो, किनभने उसले उपकार गर्थ्यो र मानिसको फलिफाप पनि हुन सक्थ्यो । तर ऊ सितिमिति भेटिँदैन थियो, उससितको भेट दुर्लभ हुन्थ्यो । एकदम धेरै भेटिइरहने सम्भावना भएको चाहिँ कालो ख्याक थियो जो अत्यन्त अनिष्टकारी र हानिकारक हुन्थ्यो । एकपटक समातेपछि उसले मानिसलाई निचोरिराख्थ्यो र मानिसको ज्यान पनि लिन्थ्यो ।

यस्तो लाग्छ, हिजोआज काठमाडौं खाल्डोमा तिनै काला ख्याकहरू जम्जमाएका छन् । तिनले जताततै विनाशको ताण्डव लीला देखाइरहेछन् । यसको श्वासनली दबाएका छन् । यसको अंगभंग गर्ने उद्योगमा निरन्तर लागेका छन् । अब उनीहरूलाई अन्धकारको आवरण पनि आवश्यक भएन, उज्यालोमा नै उनीहरू यो सब हाक्काहाक्की गरिरहेछन् ।

निस्सहाय, निरूपाय र निरीह म यो सबै हेरिरहन बाध्य छु र गम खान्छु : कहाँ हरायो पचास वर्षअघि मैले देखेको काठमाडौं नामको ‘ब्युटी क्विन’ ?

प्रकाशित : कार्तिक १, २०७७ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्

होम आइसोलेसनमा रहेका भक्तपुरका कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददता

भक्तपुर — भक्तपुर नगरपालिका–७ इनाचोका कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६९ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

दम तथा निमोनियाका बिरामी ती पुरुषको असोज २८ (बुधबार) डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले बताए ।

कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती पुरुषको शनिबार मृत्यु भएको उनले बताए । स्थानीय जनप्रतिनिधि, प्रहरीको रहोवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७७ ११:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×