दसैं विशेष : घर जाने हतारो

विमल खतिवडा

घटस्थापना अगावैदेखि राजधानीका बसपार्कमा चहलपहल सुरु भइसकेको छ । टिकट बुकिङ खुला भएकै समयबाट फाट्टफुट्ट रूपमा यात्रु घर जान थालेका छन् । धेरैले टिकट बुकिङ गरिसकेका छन् । दसैंमा करिब २० लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक छ ।

ZenTravel

जाजरकोटको कुशे गाउँपालिका ४ का २१ वर्षीय नवराज शाही ठकुरी काठमाडौं बस्न थालेको ५ वर्ष भयो । पढाइको सिलसिलामा राजधानी पसेका उनी अघिपछि घर जान पाउँदैनन् । राजधानीबाट घर पुग्न दुई दिन लाग्छ । त्यो पनि कच्ची बाटो छिचोल्दै जानुपर्छ । पानी परे पुग्नै सकस हुन्छ । अघिपछि जे–जस्तो भए पनि दसैंमा घर जान भने छुटाउँदैनन् । बसमा मुडामा बसेर हुन्छ कि बर्नरमा– उनी प्रत्येक वर्ष गएकै छन् । यसपटक १६ गते जाँदै छन् । दसैंमा गएर तिहारपछि मात्र फर्कने उनको योजना छ । ‘वर्षमा एकपटक आउने चाडमा घर नगएर भएन,’ उनी भन्छन्, ‘दसैं भनेको परिवारका सबै भेला हुने चाड पनि हो । एक दिन बसमा सदरमुकामसम्म पुग्छौं । अर्को दिन जिप पाइए त्यसैमा, नपाए मोटरसाइकल चढेर जाने हो ।’

रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा स्नातक तेसो वर्ष अध्ययनरत उनी चाडबाडमा घरको सम्झना बढी आउने बताउँछन् । ‘घरबाट कहिले आउने हो भन्दै फोन आउन थालिसक्यो,’ उनी भन्छन्, ‘टिकट नपाए बसमा उभिएरै भए पनि १६ गते आउँछु भनेको छु ।’

उनी मात्र होइन, पूर्व–पश्चिम सबैतिर घर फर्कनेको लर्को लाग्न थालिसकेको छ । गाडी र टिकट काउन्टरमा यात्रुको भीड छ । केही यात्रु गाडी रिजर्भ गरेर घर हिँड्न थालिसकेका छन् । ‘कहिले १३ गते आउला र घर पुगौंजस्तो भएको छ,’ संखुवासभा तामाखोकी सुमित्रा जिमी भन्छिन्, ‘काठमाडौंको धुलोधुवाँबाट केही दिन भए पनि मुक्ति पाइन्छ ।’ उनीसहित ४ जना दसैंमा गाउँ जाँदै छन् । दसैंले उत्साह थप्ने काम गरेको छ । कीर्तिपुरमा बसेर स्नातकोत्तर पढिरहेकी उनी वर्ष दिनपछि घर जान लागेकी हुन् । काठमाडौंबाट घर पुग्न दुई दिन लाग्छ ।

‘ठूलो बसमा धरानसम्म जान्छौं,’ उनी भन्छिन्, ‘त्यहाँ आफन्त हुनुहुन्छ, एक रात त्यहीँ बसेर उहाँहरूसँगै जिप रिजर्भ गरेर जान्छौं ।’ पढाइकै लागि उनी राजधानी बसकी छन् । सबैजना दसैं आउने दिन गन्दै बाटो हेरेर बसेको उनी सुनाउँछिन् । ‘गाउँमा दसैं रमाइलो हुन्छ, सबैसँग भेट हुन्छ,’ उनी भन्छिन्, ‘घरमै फलेका खानेकुरा खान पाइन्छ, मान्यजनबाट आशीर्वाद थाप्ने अवसर मिल्छ ।’

धेरै मान्छे बाहिरिने भएकाले दसैंमा राजधानी सुनसानजस्तै बन्छ । सडकमा सवारी साधनको संख्या पातलिन्छ । यात्रुको चहलपहल कम हुन्छ ।

करिब २० लाख सर्वसाधारण उपत्यकाबाट दसैं मान्नका लागि बाहिरिने तथ्यांक छ ।







टिकट बुक गर्नेहरू घटस्थापनापछि घर जान थालिसकेका छन् । १६ देखि १९ गतेसम्म घर जाने यात्रुको चाप सबैभन्दा बढी हुन्छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार यी चार दिनमा दैनिक ७ हजारभन्दा बढी गाडी राजधानी भित्रिने र बाहिरिने गर्छन् ।

असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो । टिकट बुकिङ खुला भएकै समयबाट फाट्टफुट्ट रूपमा दसैंका लागि यात्रु घर जान सुरु गरेका हुन् ।

घटस्थापनादेखि दैनिक करिब ५ हजार यात्रु उपत्यकाबाट बाहिरिइरहेको उनले बताए । यातायात व्यवस्था विभागले यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले १२ देखि १९ गतेसम्म सार्वजनिक सवारी साधनका लागि इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । यो समय पूर्वका गाडी पश्चिम, सुदूरपश्चिमसम्म यात्रु बोकेर जान पाउँछन् । काठमाडौं भित्रिने लामा सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ । १८/२० चक्के सवारी साधन सामान लिएर भारतबाट आउँदा मुख्य राजमार्गमा जाम हुने भएकाले त्यहीअनुसारको तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् ।

उपत्यकाका कोटेश्वर, गौशाला, चाबहिल, कलंकी, नयाँ बसपार्कलगायत १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । त्यहाँ ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी र उपभोक्ता समाजका प्रतिनिधि बस्छन् । व्यवसायीले गाडी भाडा बढाएर लिन पाउने छैनन् । अहिले जति भाडादर छ, त्यही दरमा यात्रु गन्तव्यसम्म पुग्छन् । केही गाडी कम्पनीले अनलाइनबाट टिकट बुकिङ गर्ने व्यवस्था मिलाएका छन् । करिब डेढ दर्जन कम्पनीले यो सुविधा दिएका छन् । घरमै बसेर टिकट बुक गर्न सकिने भए पनि यात्रुका लागि यो सेवा प्रभावकारी बन्न सकेको छैन ।

आफूले खोजेको ठाउँको टिकट अनलाइनमा नपाएको गुनासो यात्रुको छ । जसले गर्दा घण्टौं लाइन लागेर टिकट काट्नुको विकल्प छैन । विभागले अर्को वर्ष अनलाइनबाट टिकट बुकिङ सेवालाई प्रभावकारी बनाउने दाबी गरेको छ । ‘टिकट बुकिङ खुलेकै दिन असोज ५ गते ६ घण्टा लाइनमा बसेर टिकट लिएँ,’ बझाङका कमलकुमार थापा भन्छन्, ‘वर्ष दिन भयो घर नगएको, सधैं दसैंमै जाने हो, यही बेला टिकट लिन कष्ट झेल्नुपर्छ ।’ उनले १३ गतेका लागि टिकट लिएका छन् । सबैलाई कहिले घर पुगौं भन्ने हुटहुटी छ । घर जानेले पहिल्यै टिकट लिइसकेका छन् ।
यात्रुलाई ठगिन नदिन सादा पोसाकमा प्रहरी परिचालान गरिएको छ । ‘यात्रुलाई कसैले ठग्न पाउने छैन, सबैले सहज रूपमा सिटमा बसेर घर पुग्न पाउँछन्,’ महानिर्देशक हमाल भन्छन्, ‘कसैले कालोबजारी गरेर टिकट बिक्री गरेको, बढी भाडा लिएको पाइएमा ठाउँको ठाउँ कारबाही हुन्छ ।’ भाडादर बसमा टाँसिएको उनले सुनाए । गाडी र टिकट अभावले यात्रु घरजानबाट वञ्चित नभएको उनी बताउँछन् ।

सबैभन्दा ठूलो समस्या सडकको छ । पानी पर्ने क्रम नरोकिएकाले यसपालि यात्रुलाई घरसम्म पुग्न सकस हुने अवस्था छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवाली सडककै कारण यात्रु नरोकिने दाबी गर्छन् । ‘सडक विभागले मर्मत गराएको छ,’ उनी भन्छन्, ‘त्यसैले सडकले चाडबाडमा असर गर्ने छैन ।’ तर, ढिलो घर जाने तयारीमा रहेका यात्रु चिन्तित छन् । पहिला जस्तो अहिले एक दिन गाडीमा र दुई दिन हिँडेर घर जानुपर्ने अवस्था छैन । गाउँगाउँमा सडक सञ्जाल छ । तीन दिनमा घर पुग्ने समय एक दिनमा छोट्टिएको छ ।

‘कोही आत्तिनुपर्दैन, सबैलाई घर पुर्‍याउने काम हाम्रो भयो,’ महासचिव सिटौला भन्छन्, ‘वर्षाले सडक बिग्रिएका छन्, खाल्डाखुल्डी पुरिएन र समयमै गाडी आइपुगेन भने यसको जिम्मा हामी लिन सक्दैनौं ।’ जहाँ सडक जोखिमयुक्त छ, त्यहीँ सामान बोकेर हुटमा बस्ने यात्रुको भीड हुन्छ । यस्ता दृश्य सडक छेउछाउमा बस्नेका लागि नौला लाग्दैनन् । ट्राफिक प्रहरीले भने सिटमा मात्रै बसेर यात्रा गर्ने वातावरण मिलाइएको दाबी गरेको छ ।

प्रकाशित : आश्विन १७, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१० दिनमा १० लाख यात्रु बाहिरिए

बढी भाडा लिने २ सय ८ जनालाई कारबाही
विमल खतिवडा

काठमाडौँ — टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरिएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन् ।

६ लाख ९१ हजार ६ सय ४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४ सय ६७ सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए । त्यस्तै यात्रुसँग बढी भाडा लिने २०८ जनालाई कारबाही गरिएको छ । ‘यात्रुसँग बढी भाडा लिने केहीलाई ठाउँकाठाउँ जरिवाना गरिएको छ,’ प्रमुख ढकालले भने, ‘केहीलाई थुनामा राखेर समेत कारबाही अगाडि बढाइएको छ ।’ उनका अनुसार उपत्यकाका १४ स्थानमा यात्रुलाई सहजता प्रदान गर्न नागरिक सहायता कक्ष राखिएको छ । जहाँ सबैभन्दा बढी गुनासा टिकट नपाएको आएको छ ।

‘सुरक्षा योजना कार्यान्वयन गरिरहँदा नागरिक सहायता कक्षमा १० वटा गुनासा दर्ता भएका छन्, मौखिक गुनासा धेरै छन्,’ उनले भने, ‘धेरै गुनासा टिकट नपाएको, सिट नम्बर उल्लेख नभएको, बढी भाडा लिएको, टिकट काटेर यात्रु नलिई गएको, गाडी नम्बर फरक परेको भन्ने छ ।’

उनले गुनासासमेत कार्यान्वयन गर्दै आएको बताए । नयाँ बसपार्कबाट बाहिरिने गाडीको अनिवार्य रूपमा यान्त्रिक परीक्षण गर्ने गरिएको छ । यात्रु लिएर हिँडेका गाडीलाई एक/दुई किमिभित्रमा मादक पदार्थ सेवन गरेको छ/छैन भनेर चेकजाँच गर्ने गरिएको छ । गाडीमा अनिवार्य रूपमा भाडादर टाँस्न लगाइएको ट्राफिक प्रहरीको दाबी छ । ‘चाडबाडमा धेरै दुर्घटना हुन्छन्,’ उनले भने, ‘दुर्घटना कम गराउन चेकजाँचमा कडाइ गरेका छौं, उपत्यकामा मात्र ४५ ठाउँमा चेक प्वाइन्ट खडा गरेका छौं ।’

त्यस्तै लामा दूरीका साधनलाई नागढुंगाबाट ट्राफिक कम्युनिकेसन एप्समार्फत चालक परिवर्तन गरे/नगरेको बारे हेर्ने गरिएको छ । नागढुंगाबाट बाहिरिने हरेक गाडी र चालकको फोटो खिच्ने गरिएको छ । ‘लामो दूरीका गाडीलाई एप्समार्फत निगरानी राख्ने गरिएको छ,’ उनले भने, ‘लामो दूरीमा दुईजना चालक राख्न भनिएको छ, चालक परिवर्तन नगर्ने १५ जनालाई कारबाही गरिएको छ ।’

क्षमताभन्दा बढी यात्रु बोक्ने ३८ वटा सवारी साधन कारबाहीमा परेका छन् । नागढुंगा–नौबिसे सडकमा बिग्रिएका ८० वटा सवारी साधनलाई र्‍याकरमार्फत झिकेर सडक सहज बनाइएको छ । सादा पोसाकका प्रहरी बसपार्क क्षेत्रमा परिचालन गरेर कालो बजारी भए/नभएको हेर्ने गरिएको छ ।

‘लाखौं यात्रु बाहिरिँदा अझै जाम किन भन्ने प्रश्न आउने गरेको छ,’ उनले भने, ‘विभिन्न जिल्लाबाट आफन्त लिन निजी सवारी साधन लिएर आउने धेरै छन्, ती बाहिरिने क्रम भइरहेको छ, यता ठाउँठाउँमा आयोजना हुने कार्यक्रमले गर्दा पनि जाम भइरहेको छ ।’ उनले यात्रु बोकेर तीव्र गतिमा सवारी चलाउने १५ जना चालकलाई कारबाही गरिएको छ ।

विभिन्न जिल्लासँग जोडिएका राजमार्गमा पनि प्रहरी परिचालन गरेर कडाइ गरिएको छ । ‘काउन्टरबाट हिँडेपछि बीचबीचमा यात्रु हाल्ने, टिकट काट्ने प्रवृत्तिलाई रोक्न ठाउँठाउँमा प्रहरी परिचालित छन,’ उनले भने, ‘भेटेसम्म प्रहरीले कारबाही गर्ने गरेको छ ।’ यता यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार गुल्मी र अर्घाखाँची जाने यात्रुलाई गाडी नपुगेको गुनासो आएपछि १७ वटा गाडी झिकाइएको छ । गाडी आएपछि समस्या नहुने बताए ।

‘नाकामा कतै पनि जाम छैन, मालवाहक सवारी साधनलाई ठाउँठाउँमा रोकेका छौं,अत्यावश्यक सामान बोकेर आउने साधनलाई भने खुला गरेका छौं,’ उनले भने, ‘नुवाकोट जाने सडकमा समस्या आएको थियो, अहिले गाडी चल्न सक्ने बनाइएको छ, यो खण्डमा पनि निर्माण सामग्री बोक्ने साधनलाई प्रवेशमा रोक लगाएका छौं ।’ १२ देखि १९ गतेसम्म देशभरका गाडीको रुट परमिट खुला गरिएको छ । त्यस्तै मालवाहक सवारी साधनलाई चितवनमै रोकिएको छ ।

प्रकाशित : आश्विन १४, २०७६ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×