बिदामा विदेश

कञ्चन अधिकारी

दसैंतिहारमा विदेश घुम्न निस्कने नेपालीको संख्या बढ्दो छ । धेरैजसो थाइल्यान्ड, दुबई, बाली र सिंगापुर जाने गरेका छन् । सस्तो र सजिलै भिसा पाइने भएकाले यी गन्तव्य रोजाइमा परेका हुन् ।

काठमाडौं न्युरोडका रोमी बज्राचार्यको दसैं विशेष हुन्छ । ३० वर्षीया युवा उद्यमी बज्राचार्य ५ वर्षदेखि दसैंको टीका लगाएपछि परिवारसहित विदेश निस्किन्थिन् । यसपालि जहाज टिकेटिङको समय नमिल्दा बालबच्चा, श्रीमान् र ससुरालाई मात्रै दसैंमा विदेश सयर गर्न पठाउने भएकी छन् ।‘अरू बेला विदेश गएर रमाइलो गरिन्थ्यो, यसपालि यहीँ हुँदा पनि विशेष हुन्छ, जसरी पनि विशेष,’ भन्छिन्, ‘५/६ वर्ष भयो परिवार जम्मै टीका लगाएर विदेश जान्थ्यौं, यसपालि फूलपातीकै दिन हिँड्नुपर्ने भएर अलि समय मिलेन ।’
बैंकक, सिंगापुर, मलेसिया, दुबई र भारत गइसकेको उनको परिवार यसपालि बाली जाँदै छ । विदेश घुम्ने रहर सानैदेखिको भए पनि पाँच वर्षयता पूरा भएको छ । भन्छिन्, ‘पहिला सानी छेस् भनेर जान दिनुहुँदैनथ्यो । अलि ठूली भएँ, व्यस्तताले जान पाइएन । ५ वर्षयता दसैंमा बिदा मिलाएर घुम्न गइरहेका छौं ।’
उनीजस्ता धेरै नेपाली पछिल्लो दशक विदेश (आउटबाउन्ड) भ्रमणमा गएर जान र समय बिताउन थालेका छन् । घुम्ने भनेको विदेशीले मात्रै हो भन्ने सोचमा परिवर्तन आएको छ । कुनै बेला कसैले ‘विदेश घुम्न जाने’ भन्दा पत्याइन्थ्यो । अहिले यसरी जानेहरू धेरै भेटिन्छन् । आउटबाउन्डको टुर प्याकेज बेच्ने अग्रणी कम्पनी एस इन्टरनेसनल होलिडेका प्रबन्धक अनिल धरेल भन्छन्, ‘कुनै बेला नेपाली पनि विदेश घुम्छन् र भन्ने चलन थियो । अहिले कहाँ जान सक्दैनन् नेपाली भन्न थालिएको छ ।’
अरूबेला बिदा नमिल्ने, बिदा नपाइने तर दसैंतिहारमा कार्यालय बन्द भएर लामो बिदा पाइने भएकाले चाडबाडमा विदेश सयर गर्ने बढेका हुन् । चाडबाडको मौका भएकाले पनि विदेश घुमेर रमाउने संस्कृति बढिरहेको सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यमबहादुर खड्का बताउँछन् । उनका अनुसार परिवारसहित र साथीभाइ मिलेर घुम्न जाने चलन बढ्दो छ । ‘विदेशमा आफन्त हुने पनि दसैंतिहारको मौका छोपेर छुट्टी मनाउन जाने गरेका छन्,’ उनले भने । ३० वर्षीया रोमीका अनुसार जमाना परिवर्तन भएसँगै विदेश घुम्न जाने चलन बढेको हो । सहरमा बालबच्चा लिएर परिवारै घुम्ने ठाउँ नहुनु, पारिवारिक भ्रमणका लागि उपयुक्त गन्तव्य नहुनु, परिवारसँग समय बिताउनका लागि प्रशस्त समय नहुनु, सबै आआफ्नो काममा व्यस्त हुनुजस्ता कारणले दसैंतिहारमा विदेश घुम्न जाने चलन बढेको उनको बुझाइ छ ।
‘नेपालमा परिवार लिएर घुम्न जाने ठाउँ नै छैन, रेस्टुरेन्टमा गएर एकै परिकार कति खानु ?’ उनी भन्छिन्, ‘त्यसमाथि बच्चाहरूलाई अभिभावकले समय दिन भ्याएका हुँदैनन् । सबैको बिदा हुने भएकाले क्वालिटी समय स्पेन्ड गर्ने बेला यही हो ।’ नेपालीहरू थाइल्यान्ड, दुबई, बाली, मलेसिया, चीन, युरोपेली मुलुक, रसिया, अजरबैजान, इजिप्टलगायत देशमा घुम्न जाने गरेका छन् । धरेलका अनुसार थाइल्यान्ड, दुबई, बाली र सिंगापुर जाने धेरै हुन्छन् । सस्तो र सजिलै भिसा पाइने भएकाले पहिलो रोजाइमा यी गन्तव्य परेको उनको अनुभव छ ।
४५ हजारदेखि ५ लाख रुपैयाँका प्याकेज ट्राभल कम्पनीले बेच्दै आएका छन् । ३ रात ४ दिनदेखि ९ रात १० दिनसम्मका प्याकेज बिक्री भइरहेको छ । धरेल भन्छन्, ‘एसियाली मुलुक सस्तैमा जान पाइन्छ । युरोप, अमेरिका जाने हो भने अलि महँगो पर्छ ।’ नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीका अनुसार नेपालबाट विदेश जानेमा मध्यम र उच्च वर्गका नेपाली छन् । केही उद्यम गरेका, इलम गरेका, व्यवसायी आउटबाउन्डमा जाने गरेका छन् । उनी भन्छन्, ‘मध्यमवर्गका थाइल्यान्ड, मलेसिया, बाली जान्छन् भने उच्च घरानाका युरोप र अमेरिका घुम्छन् ।’
ट्राभल कम्पनीहरूले दसैंतिहार प्याकेज बनाएका छन् । ती प्याकेज लगभग बुकिङ भइसकेका छन् । एस ट्राभल्सका धरेल भन्छन्, ‘करिब ९० प्रतिशत बुकिङ भइसकेको छ । केही प्याकेज मात्रै बाँकी छ ।’ धरेलका अनुसार वर्षभरि करिब ८ देखि १० हजार हाराहारी नेपाली विदेश घुम्छन् । तीमध्ये करिब एक तिहाइले दसैं र तिहारमै भ्रमण गर्छन् । बाँकी दुई भागले अरू ११ महिना घुम्न निस्कन्छन् । उनले भने, ‘दसैंतिहारमा बिदा लामो हुने र बिदा मिलाउन पनि सजिलो हुने भएकाले यही सिजनमा धेरै जना घुम्न निस्कन्छन् ।’ यो घुम्नका लागि उपयुक्त मौसम पनि हो ।
‘नेपाली पनि विदेश घुम्न जान्छन् ?’ धेरैको मनमा उब्जिने प्रश्न हो यो । रोमीले पनि यस्ता प्रश्नको सामना गर्नुपर्‍यो । उनीले घुमेका गन्तव्यमा भेटिएका नेपालीले नै यस्ता प्रश्न सोध्ने गरेको उनले सुनाइन् । ‘हामीले घुमेका धेरै ठाउँमा नेपाली दाजुभाइ–दिदीबहिनी भेट्यौं,’ उनले भनिन्, ‘सबैले नेपालबाट घुम्न आएको भनेर आश्चर्य जनाए ।’ नेपालीहरू घुम्न जाँदा त्यहाँ भएका नेपालीलाई उत्प्रेरणाको काम गर्ने उनको बुझाइ छ । उनका अनुसार नेपालमै कमाएर विदेश घुम्न जान सकिँदो रहेछ भन्ने सोच उनीहरूमा पलाउने गरेको छ ।
आउट बाउन्ड पर्यटनले रमाइलो मात्रै गराउँदैन, नयाँ–नयाँ कुरा पनि सिकाउँछ । धेरैजसो व्यापार–व्यवसायमा लागेकाहरू यसरी घुम्न जाने भएकाले उनीहरूले नयाँ–नयाँ प्रविधि र आइडिया पनि सिकेर–देखेर आउँछन् । ‘हामीलाई त एक पन्थ दो काज भनेजस्तै भएको छ,’ रोमी भन्छिन्, ‘विदेशमा घुम्न र आफूसँग सम्बन्धित व्यापार–व्यवसायको क्षेत्रका कुरा पनि हेर्न–किन्न पाइन्छ ।’
कामको चाप व्यवस्थापन गरेर निस्कन सकेको अवस्थामा यो समयले बाहिरी देशबारे धेरै कुरा सिक्ने अवसर दिन्छ । विभिन्न कारणले दसैं नमनाउने, टीकाटालो नभएका, आफन्त बाहिर भएका तथा विशुद्ध घुमघामकै उद्देश्यले बाहिरिने नेपाली दसैंमा बढी हुन्छन् । नेपालीको विदेश घुम्न सक्ने क्षमता बन्दै गएकाले हरेक वर्ष प्याकेज टुरको दायरा फैलन थालेको छ । पहिला ४–५ वटा देशमा मात्रै घुम्न जाने चलन थियो । अहिले जुनसुकै देशमा पनि नेपाली जान सक्ने भएका छन् ।
के छ भिसाको प्रावधान ?
फ्रि भिसा तथा अनअराइभल भिसा उपलब्ध गराउने गन्तव्यमा नेपालीले जतिबेला पनि घुम्न सक्छन् । नेपालीलाई घुम्न समस्या हुने पहिलो कारण भिसा हो । जहाँ सहज हुन्छ, त्यहाँ घुम्न गइहाल्ने रुचि नेपालीको छ । केही मुलुक घुमिसकेपछि नेपालीलाई कडाइ गर्ने मुलुकमा पनि प्रयास गरिरहेका पाइन्छन् । टुर प्याकेज बनाएका र ग्राहकको रोजाइमा रहेका सबै गन्तव्यका लागि एजेन्सीले भिसामा सहजीकरण गर्ने गर्छ । ट्राभल एजेन्सीबाट टुर प्याकेज लिएर गएपछि अतिरिक्त खर्च नियन्त्रण गर्न र खर्चको अनुमानित हिसाब गर्न सहज हुन्छ ।
विश्वका करिब २१० मुलुकमध्ये १४ वटाले फ्रि भिसा दिने गरेका छन् । ३३ वटा मुलुकले अनअराइभल र १५१ मुलुकले अनिवार्य भिसा लिएर मात्रै जानुपर्ने व्यवस्था गरेका छन् । नेपालीलाई भिसा फ्रि गर्ने मुलुकमा भारत, डोमिनिया, गाम्बिया, हाइटी, इन्डोनेसिया, माइक्रोनिया, पाकिस्तान, प्यालेस्टाइन, फिलिपिन्स, सेनेगल, सिंगापुर र सेन्ट विन्सेन्ट छन् ।
नेपालीलाई अनअराइभल भिसा दिनेमा बंगलादेश, बोलिभिया, केप भर्डी, इजिप्ट, गुनिया, लाओस, मदागस्कार, माल्दिभ्स, मौरिटानिया, मौरिसस, मोजाम्बिक, पलाउ, रुवान्डा, सेसेल्स, सोमालिया, श्रीलंका, तान्जानिया, टिमोर लेस्ते, टोगो, तुवालु, युगान्डालगायत देश छन् ।
यस्तै नेपालीले सम्बन्धित देशले तोकिएको प्रक्रिया पुर्‍याएर अनलाइमार्फत आवदेन दिएर ई–भिसा दिने मुलुकमा अजरबैजान, कम्बोडिया, इथियोपिया, गावन, केन्या, लेसोथो, मलेसिया, म्यानमार र कतार छन् । अन्य सबै मुलुकले भने आवश्यक प्रक्रिया पुर्‍याएर दूतावासमार्फत मात्रै भिसा दिने गरेका छन् । आउटबाउन्डको टुर प्याकेज बेच्ने अग्रणी कम्पनी एसले मात्रै विभिन्न ३२ वटा मुलुकका लागि प्याकेज घोषणा गरेर धमाधम बिक्री गरिरहेको छ । यो ट्राभलले बिक्री गर्ने टुर प्याकेजमा करिब ६० प्रतिशत ग्राहक दोहोर्‍याएर आउने गरेका छन् भने ४० प्रतिशत नयाँ आउँछन् ।

प्रकाशित : आश्विन १४, २०७६ १२:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विपद्ले उकासेको व्यापार

२०७३, ०७४ र ०७५ को मध्यसम्म निर्माण सामग्रीको माग उच्च थियो । उद्योगी–व्यवसायीलाई आपूर्ति गर्न भ्याइनभ्याइ हुन्थ्यो । भाउ पनि अकासिएको थियो ।
कञ्चन अधिकारी

धादिङ सिद्धलेक–२ का युवराज अर्याललाई दुई वर्षअघि दुइटा टिपरले निर्माण सामग्री ओसार्न भ्याइनभ्याई थियो  ।

उत्तरी धादिङदेखि काठमाडौंसम्मबाट इँटा, बालुवा, गिट्टी, रोडा, फलामे छड, सिमेन्टको अर्डर आउँथ्यो । सामान पुर्‍याउँदा पुर्‍याउँदै खाना खानसमेत भ्याउँदैन थिए उनी । ‘तर, अहिले परिस्थिति बदलिएको छ । गएको चैतदेखि उनको टिपरले मुस्किलले दिनको एक ट्रिप मात्रै निर्माण सामग्री बोक्छ । काम पाउन छाडेपछि एउटा टिपर बेचिसके । उनी भन्छन््, ‘भूकम्प गएको करिब १० महिनापछि गत वर्षसम्म निर्माण सामग्रीको माग उच्च थियो । अहिले त काम पाउनै मुस्किल छ ।’


२०७२ वैशख १२ गतेको महाभूकम्पपछि प्रभावित जिल्लामा घर पुनर्निर्माण गर्ने क्रम बढेपछि गिट्टी, बालुवा, रड, सिमेन्ट, रङलगायतका निर्माण सामग्रीको माग ह्वात्तै बढेको थियो । धेरैजसो घर बनिसकेपछि भने निर्माण सामग्रीको कारोबार घटेको छ । नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका अध्यक्ष साहिल अग्रवालका अनुसार भूकम्पपछिका २ वर्षमा पीडित आफैंले पनि घर बनाउने र दातृ निकायले पनि भवन निर्माण गरिदिनाले निर्माण सामग्रीको माग बढेको थियो । ‘त्यतिबेला हामीले आपूर्ति गर्न पनि सकेनौं,’ उनले भने । सामान्य अवस्थामा सिमेन्ट र इँटा आयातको दर कम भए पनि त्यो बेला भारतबाट समेत झिकाउनुपरेको उनले सुनाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले ३२ जिल्लामा करिब १० लाख ३६ हजार ५ सय ६८ घर भत्किएका थिए । त्यसमा पनि १४ जिल्लाका बढी प्रभावित भएका थिए । भदौ अन्तिम सातासम्ममा ४ लाख ४० हजार ५ सय ६० घर बनिसकेका छन् । २ लाख ९ सय ९ सय ९६ घर पुनर्निर्माणका क्रममा छन् ।


अग्रवालका अनुसार २०७२ को चैतसम्म निर्माण सामग्रीको खासै माग भएन तर २०७३, ०७४ र ०७५ को मध्यसम्म अत्यधिक माग भयो । उनले भने, ‘भूकम्प गएको ५ महिनासम्म परकम्प जाने क्रम जारी थियो । त्यो बेला घर बनाउन सबै डराए । त्यसपछि भारतले नाकाबन्दी लगाइदियो र माग भए पनि सामग्री पाउन सकेनन् ।’ नाकाबन्दीको समयमा माग भए पनि सामग्रीको अभावले चाहेजति आपूर्ति गर्न नसकिएको उनले बताए ।
नाकाबन्दी खुल्नुका साथै परकम्प पनि कम भयो, भूकम्प प्रभावित भवन सञ्चालन प्रस्ताव स्वीकृति निर्देशिका आयो र अन्तर्राष्ट्र्रिय दातृ निकायले पनि सहयोग घोषणा गरे । सँगै सरकारले भूकम्पपीडितलाई अनुदान रकम दियो । त्यसपछि भवन निर्माणको काम तीव्र भयो । निर्माण सामग्रीको माग ह्वात्तै बढेपछि निर्माण उत्पादकले मूल्यसमेत बढाए । यी दुई वर्षलाई निर्माण सामग्री उत्पादनको सुनौलो युगका रूपमा उद्योगी–व्यवसायीले परिभाषित गरेका थिए ।


टिपरधनी अर्यालले निर्माण सामग्रीको माग उच्च भएका बेला कतिपय ग्रामीण क्षेत्रमा साना ट्रकहरू विस्थापितसमेत भएको सुनाए । उनले भने, ‘व्यापारीले एकैपटक धेरै सामान बोकेर जाने ठूला ट्रक गाउँगाउँ लैजान थाले । यसका लागि सडकहरूसमेत चौडा पारिए । गाउँमा साना ट्रकहरू बिस्तारै विस्थापित भए ।’ अर्यालका अनुसार ढुंगा माटोबाटै पनि भूकम्प प्रतिरोधात्मक घर बनाउन सकिने भए पनि भूकम्पपीडितले आधुनिक डिजाइनका घरहरू बनाउँदा पनि निर्माण सामग्रीको माग उच्च रहेको थियो । उनले भने, ‘गाउँमै प्राप्त साधनस्रोतबाट पनि घर बनाउन सकिन्थ्यो । तर सरकारले भवन निर्माण निर्देशिकामार्फत स्थानीय निर्माण सामग्रीलाई भन्दा पनि गिट्टी, बालुवा र रडबाट घर बनाउन प्रेरित गर्ने किसिमले संहिता ल्यायो ।’


भाउ दोब्बर
माग अत्यधिक भएपछि व्यवसायीले २०७३ सालपछि सबै निर्माण सामग्रीको भाउ ह्वात्तै बढाए । धादिङमा गिट्टीको कारोबार गर्ने समीर श्रेष्ठका अनुसार केही निर्माण सामग्रीमा शतप्रतिशत भाउ बढाइएको थियो । उनका अनुसार भूकम्पअघि एक टिपर बालुवाको १५ दखि १७ हजार रुपैयाँसम्म पर्थ्यो । भूकम्पपछि त्यही एक टिपर बालुवाको ३३ हजारसम्म पुग्यो । ‘अहिले भाउ केही घटेर २७ देखि २९ हजार रुपैयाँ छ,’ उनले भने ।


अग्रवालले त्यतिबेला स्टिल, रडको भाउ पनि अकासिएको बताए । उनका अनुसार उच्च माग हुँदा होलसेलमा एक किलो फलामको ८५ रुपैयाँसम्म पुगेको थियो । उपभोक्तासम्म पुग्दा यो मूल्य ९५ रुपैयाँसम्म पुग्थ्यो । ‘चैतयता भने समग्र निर्माण सामग्रीको व्यापार खस्किएको छ,’ उनले भने, ‘अहिले फलाम, स्टिलको होलसेल मूल्य ७३ देखि ७५ रुपैयाँमा झरेको छ ।’ ठूला परियोजना नबन्नु, नयाँ परियोजना नथालिनुजस्ता कारणले मूल्य घटेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘सरकारले ठूला परियोजना नबनाउँदा हामीलाई समेत असर परेको छ,’ उनले भने ।


पुनर्निर्माणको काम पनि सकिन लागेको र नयाँ पूर्वाधार नबनेको हुनाले निर्माण सामग्री उत्पादक तथा व्यवसायीमा चिन्ता थपिएको मुरारका बताउँछन् । उनी भन्छन्, ‘दुई वर्ष हामी उत्साही भएका थियौं । फेरि बिस्तारै बजार खस्किन थालेपछि चिन्तित बनाउन थालेको छ ।’
चालु आर्थिक वर्ष २०७६/७७ का दुई महिनाको व्यवसाय निराशाजनक रहेको मुरारका बताउँछन् । उनी भन्छन्, ‘दुई महिनाले यो वर्ष राम्रो हुने लक्षण देखाएको छैन । सरकारले परियोजना ल्याएको पनि छैन । यस्तै अवस्था रहे धेरै व्यवसायीलाई बजारमा टिक्न गाह्रो हुन्छ ।’

रङमा परेन प्रभाव
रङ व्यवसायीलाई भने भूकम्पपछि त्यति धेरै उत्साही नबनाएको पेन्ट्स एसोसिएसनका अध्यक्ष विश्व साख बताउँछन् । भूकम्पपीडितले घर बलियो बनाउनुपर्छ भनेर इँटा, बालुवा, गिट्टी, रोडा, फलामे छड, सिमेन्टमा खर्च गरेका उनको बुझाइ छ । ‘रङ लगाएर घर राम्रो र टिकाउ बनाउन सकिन्छ भन्नेमा ध्यान गएको देखिन्न,’ उनले भने, ‘बरु रेमिट्यान्स धेरै भित्रिने गाउँ र सहरमा रङको माग बढेको छ ।’ विदेशका घरमा देखेर फर्किएका र पैसा भएका सहरियाहरू रङप्रति बढी सजग रहेको उनको भनाइ छ । उनले भने, ‘भूकम्पपछि बनेका घरहरूमा रङ लगाउनेचाहिँ कम नै छन् ।’ सरकारले दिएको अनुदान भवन निर्माणमै सकिएर मानिसले रङ किन्न नसकेको हुन सक्ने उनले बताए । ‘कतिले कामचलाउवाला कमसल रङ प्रयोग गरेका छन्,’ उनले भने । साखले नेपालमा डिस्टेम्पर र इमल्सन रङको माग बढी रहेको बताए । उनका अनुसार २० किलो डिस्टेम्पर रङको १५ सयदेखि २५ सय र इमल्सनको ६ देखि २५ हजार रुपैयाँसम्म पर्छ । नेपालमा करिब १७ वटा रङ उत्पादन गर्ने कम्पनी छन् । ३ वटा बहुराष्ट्रिय कम्पनीले नेपालमा प्लान्ट राखेर उत्पादन गर्दै आएका छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ १२:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT