कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दसैं विशेष : डोलीमा फूलपाती

हरिराम उप्रेती

काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा गोरखाबाट लगिएको फूलपाती भित्र्याउने चलन छ । पहिला–पहिला बोकेरै लगिन्थ्यो । अहिले गाडीबाट पुर्‍याउन थालिएको छ । द्वन्द्वकालमा मोटरसाइकलमै पनि लगियो । ०६६ यता गोरखाको सतिपिपल चौतारासम्म डोलीमा त्यसपछि बाजागाजासहित गाडीमा पठाइन्छ ।

दसैं विशेष : डोलीमा फूलपाती

शास्त्रीय नाम नवपत्रिका, संस्कृतको पत्रम् शब्दबाट पत्रिका भयो । बोलिचालीको भाषामा फूलपाती पनि भनिन्छ । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन हिन्दु धर्मावलम्बीले घर–घरमा फूलपाती भित्र्याउँछन् । केरा, हलेदो, दारिम, अशोक, जयन्ती, माने, बेल, उखु, धानको बाला वा अन्य नयाँ पालुवासमेत फूलपातीका रूपमा शुभसाइतको प्रतीक मानी दसैंघर वा पूजाकोठामा भित्र्याउने चलन छ ।

परम्परादेखि काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा गोरखाबाट लगिएको फूलपाती भित्र्याइन्छ । यसको महत्त्व र चर्चा पनि बेग्लै छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हासिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखाबाट फूलपाती लैजाने प्रचलन सुरु भएको गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी रामेश्वर कट्टेल बताउँछन् । गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरदेखि हनुमानढोकासम्म काठमाडौंबाट आएका ब्राह्मण जातिका ६ जनाले लाने परम्परा रहेको अग्रजहरू बताउँछन् ।

धादिङको जीवनपुर हुँदै पैदलै पालो गरेर फूलपाती लाने प्रचलन रहेको उनले सुनाए । ‘अग्रजहरूले हिँडेर फूलपाती लैजान्थे भन्ने सुनेका छौँ तर कुन बाटो प्रयोग गर्थे, अहिले खोजीको विषय बनेको छ,’ उनले भने । उच्चपदस्थ अधिकारी, गर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डवाजा, पञ्चेवाजा र सांस्कृतिक नाचगानसहित फूलपाती भित्र्याउने गरिन्छ । ‘राजधानी नसर्दासम्म गोरखा कालिका मन्दिरमा भित्र्याइन्थ्यो, एकीकरणको क्रममा नुवाकोट दरबार हुँदै काठमाडौंमा राजधानी सरेपछि फूलपाती हनुमानढोका लैजान थालियो,’ कट्टेलले भने, ‘हिजो यहाँ गर्ने विधिमध्ये एउटाचाहिँ अझै यथावत् छ ।’

काठमाडौं राजधानी भएपछि हनुमानढोकामा भगवती स्थापित गरेको सुन्दै आएको अग्रज नारायणभक्त अर्याल बताउँछन् । ‘पुर्ख्यौली थलोको कुल देवतामा चढाइने फूलपाती नवस्थापित देवतामा पनि चढाउने मान्यता शाह वंशीय राजाहरूले सुरु गरेका हुन्,’ उनले भने, ‘दरबारमा खटपट सुरु भएपछि सुरेन्द्र, राजेन्द्रको पालामा यो परम्परा अस्तव्यस्त बन्यो, धादिङको जीवनपुरमा पनि पृथ्वीनारायण शाहले भगवतीको शक्ति प्राप्त गरेका थिए, दरबारमा खटपट आएका बेला जीवनपुरबाटै पनि फूलपाती लगिन्थ्यो रे !’

पछि फेरि गोरखा दरबारबाटै फूलपाती लैजाने प्रचलन सुरु भएको उनले बताए । ‘मिति यकिन छैन,’ उनले भने, ‘बीचमा केही समय भने रिले गरेर फूलपाती लाने प्रचलन हटेको भन्ने छ । पछि फेरि गोरखाबाटै लैजान सुरु भयो ।’
यातायात सुविधा थपिएसँगै पालो गरेर लाने प्रचलन लोप भयो । गाडीकै माध्यमबाट फूलपाती पठाउन थालियो । द्वन्द्वको समयमा मोटरसाइकलमार्फत सुटुक्क फूलपाती काठमाडौं लैजाने गरिन्थ्यो । ०६६ सालयता गोरखाको सतिपिपल चौतारासम्म डोलीमा ल्याइएको फूलपाती वाजागाजासहित काठमाडौं पठाउन थालिएको छ ।

शाहवंशीय राजाहरूले इष्टदेवीका रूपमा भगवतीको पूजा गर्थे । राजधानी सरेपछि पनि गोरखकाली र गोरखनाथप्रति उनीहरूको आस्था रहेको पाइन्छ । ‘राजधानी सरे पनि इष्टदेवीका पूजा त गर्नुपर्‍यो,’ गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी भन्छन्, ‘दसैंमा इष्टदेवीलाई गोरखा दरबारमा जुन विधिविधानबाट पुजिन्थ्यो, हनुमान ढोकामा पनि त्यही विधिबाट भगवतीका प्रसाद लगाउने प्रचालन सुरु भयो ।’ हनुमानढोकाको दसैंघरमा जमरा राख्ने, दुर्गा स्थापना पनि गोरखा दरबारको विधिअनुसार भएको अधिकारीले बताए । यसले गोरखा र काठमाडौंबीचको सम्बन्ध स्थापित र सुमधुर गर्न सहज बनाएको उनले बताए । ‘यस विषयमा सूक्ष्म तवरले खोज अनुसन्धान जरुरी छ,’ उनले भने ।
सप्तमीको दिन भित्र्याएको फूलपाती दुर्गा पूजाका बेला महाअष्टमी, नवमी र दशमीमा पूजा गर्ने प्रचलन रहेको उनले बताए । गोरखाबाट लगेको नवपत्रिका भित्राएपछि हनुमानढोकामा पूजा सुरु हुने चलन छ ।

पछिल्लो समय वाजागाजासहित गाडीबाट फूलपाती काठमाडौं पठाउने गरिएको उनले बताए । ‘पर्यटनको पनि विकास होस् भनेर धुमधामसाथ पठाउन थालेका हौं,’ उनले भने । गोरखाबाट फूलपाती गएपछि मात्र हनुमानढोकामा बढाइँ गर्ने प्रचलन रहेको उनले बताए । ‘पृथ्वीनारायणले सुरु गरेको यो प्रचलनलाई प्रताप शाहले अझै व्यवस्थित गरेको पाइन्छ,’ उनले भने, ‘माता दुर्गा शाहहरूको कुलायन हुन्, हनुमानढोकामा कुलायन भएको स्थानबाट फूलपाती नआई अरू चिज चढाउन मिल्दैन ।’

फूलपातीको चलन गोरखा दरबारको भएको नारायणभक्तले बताए । उनका अनुसार द्रव्य शाहले लमजुङबाट कालिका भगवती गोरखा ल्याएका हुन् । ‘भाद्रकृष्ण अष्टमीको राति बत्तीको शक्तिमा लमजुङबाट कालिका भगवती यहाँ ल्याइएको हो,’ उनले भने, ‘त्यो बेला मगर जातिका एक र बोहोरा जातिका एकजना लमजुङ गएका थिए रे, मगर जातिकाले भुस बोकेर आए, बोहोराले बत्ती । राति अँध्यारोमा ल्याउँदा बाटो चिप्लो होला भनेर बाटोमा भुस हाल्दै बत्ती जोगाएर ल्याइएको भन्ने छ, त्यसैले अहिलेसम्म गोरखा दरबारको पुजारी बोहारा थरकै हुने प्रचलन छ ।’

राजसंस्था हुँदासम्म दसैंको बेला हनुमानढोकाबाट पूजाका लागि पुजारीसहितको एक समूह दसैंको समयमा गोरखा दरबार आएर पूजा गर्ने प्रचलन रहे पनि अहिले हटेको गोरखा दरबारका पुजारी भट्टराईले बताए । ‘पुरेत र कल्सिनी हनुमानढोकाबाट आउने प्रचलन ज्ञानेन्द्र शाह राजा हुँदासम्म कायम थियो,’ उनले भने । ०६२ यता भने गोरखा दरबारकै पुजारीहरूले पूजा गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि नै मालश्री गाउने प्रचलन अहिले पनि कायम रहेको उनले सुनाए ।

बलि कटौती भएकामा पनि भट्टराईले असन्तुष्टि जनाए । ०६२ सालयता बलिको संख्यामा कटौती भएको उनको गुनासो छ । ‘पहिले चैते र बडादसैं गरेर ८४ राँगा मात्र बलि दिइन्थ्यो, अहिले १६ भन्दा बढी आउँदैन,’ उनले भने । बलिको संख्या कटौती नहुँदासम्म ९५ बोका काटिँदै आएको उनले बताए । अघिल्लो वर्ष २१ वटा मात्र बोका काटियो । १५ भेंडा र चार सुँगुर र ६ कुखुरा काट्दै आएकामा यो भने यथावत् रहेको उनले सुनाए । ‘बलिको संख्या पुर्‍याउनैपर्छ, अहिले कुभिण्डो काटेर बलिको संख्या पुर्‍याएका छौं,’ उनले भने । राज्यका तर्फबाट आउने बलिको संख्या घट्दा खण्डित पूजा गर्नुपरेको उनले गुनासो गरे ।

प्रकाशित : आश्विन १८, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?