१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

यत्तिकै हात परेको होइन क्रिकेटको सफलता

२२ यार्डको क्रिकेट पिचको २७ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाली क्रिकेटले हरेक दशकमा एकपछि अर्को उपलब्धि प्राप्त गर्दै आइरहेको देखिन्छ ।
जगदीश्वर पाण्डे

काठमाडौँ — एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै एसिया कपको लागि छनोट भयो । जहाँ नेपालले टेस्ट मान्यता प्राप्त क्रिकेटका बलिया शक्ति राष्ट्रहरू भारत र पाकिस्तानसँग खेल्ने छ । योसँगै भारतलगायत अन्य अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि नेपालको क्रिकेटको उपलब्धिका बारेमा प्रशंसायुक्त समाचार आउन थालेका छन् ।

यत्तिकै हात परेको होइन क्रिकेटको सफलता

अब नेपाली क्रिकेट खेलाडीका लागि भारतका विराट कोहली र पाकिस्तानका बाबर आजमसँग आमने–सामन्ने गर्ने अवसर पनि जुरेको छ । उक्त भीडन्त हेर्न हाम्रा लागि उत्तिकै रोचक हुनेछ । एसीसी प्रिमियर कपमा च्याम्पियन बनेसँगै नेपाली क्रिकेटले अर्को फड्को मारेको छ । तर यो फड्को छोटो समयमा सहजै प्राप्त भने भएको होइन ।यसको पछाडि नेपाली क्रिकेटको लामो इतिहास रहेको छ ।

तत्कालीन ब्रिटिस इन्डिया (अहिलेको भारत, पाकिस्तान र बांग्लादेश) बाट नेपालको राणा परिवार हुँदै क्रिकेट खेल नेपाल छिरेको हो । नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा भने सन् १९९६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) को सदस्यता प्राप्त गरेपछि थालेको हो । नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल मलेसिया यात्राबाट थालनी गर्‍यो ।

सन् १९९० को दशकको अन्त्यतिर अन्तर्राष्ट्रिय यात्रा थालेको नेपाली क्रिकेटले सन् २००० को दशकमा उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्‍यो । यू–१९ वर्ल्ड कपमा पटक–पटक छनोट भएर नेपाली खेलाडीहरूले भारत, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्डलगायत मुलुकका खेलाडीहरूसँग प्रतिस्पर्धा गरे । उमेर समूहमा लोभलाग्दो प्रदर्शन गरे पनि नेपाली सिनियर पुरुष टिमले अपेक्षित सफलता हात पार्न सकेको थिएन ।

सन् २००१ मा राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा श्रीलंकाली प्रशिक्षक रोय लुक डायसले नेपाली क्रिकेटरलाई ‘क्लासिकल क्रिकेट’ सिकाउन नेपाल आए । उनले खेलाडीलाई ब्याट उठाउने भन्दा पनि ‘ग्राउन्ड सट’ खेल्नेको लागि जोड दिन्थे । डायसको कार्यकालमा नेपालमा आन्तरिक रूपमा खेलाडी अघि आए तर ‘एक्सपोजर’ को कमीका कारण अन्तर्राष्ट्रिय खेलमा चाहेअनुसारको नतिजा निकाल्न सकेनन् । डायसले सन् २०१० मा बिदाइ लिए । त्यसपछि प्रशिक्षकका रूपमा क्यानडाबाट आएका श्रीलंकाका पूर्वखेलाडी पुबुदु दासानायकेले नेपाली टोलीको कमान्ड सम्हाले । उनी आएलगत्तै पहिलो पटक नेपाली खेलाडीहरूलाई ब्याट उठाएर मज्जाले खेल्न स्वतन्त्रता दिए ।

नेपाली खेलाडीलाई आफूले चिने जानेको संयन्त्रहरू प्रयोग गरेर क्यानडालगायत अन्य स्थानमा खेल्नसमेत पठाउने काम गरे । जति विदेशमा गएर नेपाली खेलाडीले खेल्ने र सिक्ने अवसर पाए, प्रतियोगिताहरूमा टोलीले उत्तिकै राम्रो नजिता ल्याउन थाल्यो । सन् २०१० को दशकमा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–५ बाट जितको सुरुवात गरेको नेपालले त्यसपछि डिभिजन–४, डिभिजन–३ जित्दै वर्ल्ड मान्यता प्राप्त पाउन सफल रह्यो । सन् २०१८ को नेपालले पहिलो पटक वान–डे मान्यता प्राप्त गरेको थियो ।

साथै, सोही दशकमा नेपालले सन् २०१४ मा बांग्लादेशमा भएको ट्वान्टी–२० वर्ल्ड कपमा सहभागिता पनि जनायो । उक्त प्रतियोजनाको समूह चरणबाट बाहिरिए पनि नेपाली क्रिकेटको लोभलाग्दो प्रदर्शनले समर्थकको मन जित्न सफल रह्यो ।

सन् २०१० को दशकमा पुबुदु दासानायकेको प्रशिक्षण र कप्तान पारस खड्काको नेतृत्वले नेपाली क्रिकेटलाई अघि बढाउन काम गरे । उक्त अवधिमा शक्ति गौचन, बसन्त रेग्मी जस्ता खेलाडी टोलीका मुख्य खम्बाका रूपमा रहे । सन् २००० को दशकमा उमेर समूहमा निकाल्ने नतिजाभन्दा राम्रो सन् २०१० को दशकमा नेपाली सिनियर टोलीले पाउन सफल रह्यो । साथै, सोही अवधिमा दायाँ हाते ‘लेग स्पिनर’ सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिगलगायतका संसारका अन्य चर्चित लिगहरू खेलेर नेपाली क्रिकेटलाई ‘ग्लोबल’ स्तरमा पुर्‍याउन सफल भए ।

सन् २०२० को दशकमा आउँदा नेपाली क्रिकेटले फेरि अर्को फड्को मारेको छ । लगातार १३ खेल जित्यो । आईसीसी वर्ल्ड क्रिकेट लिग–२ मा लगातार १२ खेलमा ११ खेल जित्यो । भर्खरै सम्पन्न एसीसी प्रिमियर कपमा लगातार ५ खेल जित्यो । कुनै पनि खेल नहारेर प्रतियोगिताको च्याम्पियन बन्न नेपाल सफल रह्यो । यी नतिजाको पछि नेपालका नयाँ भारतीय प्रशिक्षक मोन्टी देसाईको महत्त्वपूर्ण भूमिका रहेको छ ।

झन्डै १० वर्ष अघि ट्वान्टी–२० वर्ल्ड कप क्रिकेट खेलेको नेपाल यस पटक वान–डे वर्ल्ड कप छनोट खेल्नको लागि छनोट भएको छ । उक्त छनोटमा सफलता हासिल गरे नेपालले पहिलो पटक यही नोभेम्बर–अक्टोबरमा भारतमा हुने वान–डे वर्ल्डकप खेल्ने छ । जुन नेपाली क्रिकेटको अर्को कोशेढुंगा बन्न सक्छ । युवा खेलाडी रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली क्रिकेट टिमले यो दशक यही गतिमा उत्कृष्ट प्रदर्शन गरेमा नेपाली खेलकुद र मुलुककै लागि सुखद हुनेछ ।

नेपाली टोली, नेपालका क्रिकेटप्रेमी र नेपाल क्रिकेट संघको मुख्य लक्ष्य नेपाललाई अन्त्यमा टेस्ट मान्यता प्राप्त टोली बनेको हेर्ने पनि हो । २२ यार्डको क्रिकेट पिचको २७ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाली क्रिकेटले पाएको सफलता हरेक दशकमा एकपछि अर्को उपलब्धि प्राप्त गर्दै आइरहेको देखिन्छ ।

चाहे ५ दिनभित्रमा नतिजा आओस्/नआओस्, यही दशकको अन्त्यमा वा सन् २०३० दशकको सुरुआतमा नेपाली क्रिकेट टोलीले भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्डलगायतका क्रिकेटका बलिया टोलीहरुसँग काठमाडौंको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टेस्ट क्रिकेट खेलेको हेर्न हामी आतुर छौं ।

प्रकाशित : वैशाख २०, २०८० १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?