महोत्सवहरू ‘मजाक’ मात्रै हुन् ?

महोत्सव स्थानीय संस्कार, संस्कृति उजागर र जगेर्ना गर्ने थलो हो, मौलिकता प्रस्तुतिको अवसर पनि हो । महत्त्वपूर्ण यस्ता विषय उद्घाटनका क्रममा यदाकदा देखिन्छन् । रैथाने कला– संस्कृतिलाई बढावा दिन नयाँ कोणबाट नसोच्दा महोत्सवमा भीड लगाउन कामुक प्रस्तुति दिने कलाकार खोज्ने परम्परा बनिसक्यो ।
राजेन्द्र मानन्धर

म ठान्छु, यही फागुन, १९ गतेदेखि हुने दोलखा महोत्सव फगत ‘मजाक’ मात्र नहोस् ।अघिल्ला महोत्सवहरूमा मजाक बढी भए,  उपलब्धि सारै कम । केही अहिले पनि दोहरिने निश्चित छ । महोत्सवलाई रमझम बनाउन केही उपलब्धिहीन मजाकलाई प्राथमिकतामा राख्न अहिले पनि आयोजक बाध्य हुने नै छन् । देशभरका कतिपय महोत्सवहरु मजाकमै सुरु हुन्छन र मजाकमै सम्पन्न हुन्छन् ।

महोत्सवहरू ‘मजाक’ मात्रै हुन् ?

यसअघि दोलखामा आयोजित महोत्सवको अवसरमा चरिकोटको उत्तरीडाँडो देउराली मैदानेबाट प्याराग्लाइडिङ परीक्षण भयो । केही दोलखाली प्यारासुटमा उड्यौं पनि । भुरूरू उडेर चरिकोट बजार फेर मार्दा कृतिम पखेटा हालेको चराजस्तै अनुभूति गरियो । महोत्सवकै पेरीफेरीमा उडान सुरू गर्नसक्ने ठाउँहरू पनि खोजियो ।

महोत्सव सकिएपछि प्यराग्लाइडिङबाट उड्ने सपना पनि हरायो । परीक्षणम रकम खर्च भयो, व्यावसायिक प्रयत्नमा कसैले समय र बुद्धि खर्च गरिएन । आखिर प्याराग्लाइडिङबाट पर्यटन प्रवर्द्धनका कुरा मजाक मात्र भयो ।

देउरालीतिरबाट स्वीस नागरिकहरू लामोसाँघु जिरी सडक निर्माण गर्न आएका बेला प्यारासुटमा उड्थे । हामी केटाकेटी अचम्म मानेर आकाशतिर हेर्‍थ्यौं । एकपटक उड्दै आएको अचम्म लाग्ने वस्तु मामाघर भन्दा केहीमाथिको चिलाउनेको रूखमा पर्‍यो । हाँगा अल्झिएको प्यारासुट र व्यक्तिलाई वरपरका मान्छेले झिके । सामन्य चोटपटक लागेको स्वीस नागरिकले खुसी हुँदै पैसा दिएको हल्ला पछिसम्म चल्यो ।

महोत्सवकै क्रममा गरिएको तामाकोसी नदीको सिंगटीदेखि नयाँ पुलसम्म र्‍याफ्टिङ परीक्षणको पहिलो यात्री हुन म पनि अघि सरेँ । निकै कठिनसाथ त्यो यात्रा पार गरियो । सहासिक जलयात्राको अब्बल नदी भनियो । रोमाञ्चक जलयात्राका लागि संघीय बजेटमा सम्बोधन गर्न लविङ भयो । कार्यक्रमहरू परे । प्रदेश सरकारले पनि बजेट छुट्यायो । यदाकदा तामाकोसी नदीमा हेलिईरहेको र्‍याफ्टिङकाो फोटोसुट देखिन्छ । दुवै सरकारले बजेटमा सम्बोधन गरेको तामाकोसीमा र्‍याफ्टिङ व्यवसायिक जलयात्राका कुरा मजाकमै सीमित छन् ।

महोत्सवकै बीचमा हिमाली दृष्यहरू अवलोकन सेवा सुरू भयो । हेलिकप्टरलाई जनही सातहजार तिरेर पनि उडियो । संसारकै सबैभन्दा अग्लोस्थानको खतराको सूचिमा राखिएको च्छोरोल्पा तालमाथि उड्दै दुधकुण्डको किनारमा ओर्लिनु स्वर्गमा पाइला टोकेको मानियो ।

रोल्वालिङ हिमशृङ्खला कुमारी गौरीशंकर छोउँला झै गरी उड्ने हेलिसेवा उदुमले चल्छ भन्यौं । चल्थ्यो पनि होला, तर महोत्सवको महौलमा मात्र उडान भयो । केही दिन उडान गरेर हेलिकप्टर काठमाडौंतिरको आकाशमा हरायो, दोलखामा माउन्टेन फ्लाइटको कुरा पनि हरायो ।

महोत्सवमा मजाकको रूपमा केही घोडाहरू ल्याइयो । घोडा चढ्दै चरिकोटसँग कुम जोडेको खुला चिडियाखाना दर्फेसम्म पुगियो । भ्युटावर हुँदै कालिञ्चोकसम्म घोडसवारको सपना वाँडियो । महोत्सव सकिनेबित्तिकै घोडा हरायो । घोडचढी पर्यटन योजना एउटा मजाकमै रह्यो । केही युवाले सुन्द्रावती खोलामा क्यानोनिङ परीक्षण गरे । गज्जब भयो भन्दै महोत्सवको मञ्चबाट उद्घोष गरियो । मञ्चसँगै क्यानोनिङ पनि उखेलियो ।

कालिञ्चोक र शैलुङ डाँडामा हिउँ पर्ने मौसममा केही युवाले स्की सुरु गरे । रोल्वालिङ क्षेत्रमा पनि स्की प्रतियोगिता गराए । युवाको पहल र लगानीमा भएको स्कीका समाचार र तस्बिरहरु बाहिर आए । सक्रिय पत्रकारिता गर्दा मैले लेखेको र खिचेका तस्बिरहरुका प्रकाशित प्रति सुरक्षित छन् तर स्की अभियान सुरक्षित हुन सकेन । केहीदिनअघि दोलखा बजार भन्दामुनिको सोक्लामा रक क्लाइम्बिङ भईरहेको तस्बिर देख्दा खुसी लाग्यो । स्थानीय युवाको प्रयत्नमा भएको रक क्लाइम्बिङले व्यावसायिक रुप लिनेमा शंका छ । महोत्सवको क्रममा ध्यान दिन जरुरी छ कि, विविध संभावना बोकेको दोलखामा पर्यटन प्रवर्द्धनका व्यावसायिक रुपान्तरण जरुरी छ ।

महोत्सव हुँदै भन्ने सुनेपछि अनेक प्रस्तावका थाक आउँछन, पैसा पोको पारेर फर्कन्छन् । त्यसले पर्यटन, विकास, ठाउF र समाजको पुँजी र उद्यम संस्कृतिको उपलब्धिमा के अदलबदल हुन्छ भन्ने हेक्का राख्न जरुरी छ । राखिएन भने यसअघि प्रायः सबै महोत्सवले ऋणको भारी बोकाएको छ । पुँजीको विकास, व्यापार प्रवर्द्धन, उद्यम संस्कृति र पर्यटनमा टेवा पुग्ने कुरा मजाकका लागि गरिने विषय मात्रै बन्ने गरेको छ ।

महोत्सव स्थानीय संस्कार, संस्कृति उजागर र जगेर्ना गर्ने थलो हो । मौलिकता प्रस्तुतिको अवसर पनि हो । महत्त्वपूर्ण यस्ता विषयहरू उद्घाटनका झल्याकझुलुक मात्र हुन्छन् । प्राथमिकता त पश्चिमा शैलीका उत्तेजक संस्कार र सांस्कृतिक साम्राज्यवादले पाउँछ । रैथाने कला र संस्कृतिलाई बढवा दिन नयाँ कोणबाट नसोच्दा महोत्सवमा भिड लगाउन कामुक प्रस्तुति दिने कलाकारहरु खोज्ने महोत्सवहरुको परम्परा बनिसक्यो ।

टिकटमा फाइदा निकाल्न भिड खोज्ने की दीर्घकालका लागि उपलब्धि खोज्ने भन्नेतर्फ आयोजकमा गहन छलफल हुँदैन । खर्चपर्चको बन्दोबस्त गर्न कुदाकुद गर्न महोत्सवको तयारी ठानिन्छ ।

पहिलो दोलखा महोत्सव २०५८ सालमा भएको थियो । आयोजक समितिमा कोषाध्यक्ष भई कार्य सम्पन्न गर्दा फोकटका बिल भुक्तान गरेको स्मरण छ । बाह्य कला, शैली र संस्कारका प्रस्तुति भित्र्याउन लाखौं भुक्तानी गरिन्छ । जो समाजका लागि परनिर्भरमुखी बनाउने लागुओैषध हो । महोत्सव त्यस्ता मन्दविषको लत बसाउने प्लेटफर्म भैरहेका छन् । चाउचाउ, पेय पदार्थ र विभिन्न थरीका प्याकेटमा बेरिएर आएका जंकफुड खरिदमा गाउँवस्तीका पैसा बाहिर गईरहेको छ ।

सांगीतिक कलाहरु प्रस्तुतीका नाममा बाहिरिया सेलिब्रिटीहरुले ठूलो मोलमोलाइमा पैसा लान्छन् । महोत्सवमा बढवा दिनुपर्ने पञ्चेबाजा, लाखे, धामीझाँक्री, मारुनी, बोम्बो, आदिको समूहलाई खर्च गर्न असाध्यै कन्जुस्याइँ गरिन्छ । खर्च अभावले राम्रो व्यवस्थापन नहुदाँ ती प्रस्तुतिहरु फितलो हुन्छन् । जसका लागि प्राथमिकता दिनुपर्ने हो त्यसमा ध्यान दिइन्न ।

महोत्सवको प्रचार सुन्नेबित्तिकै केही समूहले सम्पर्क बढाउँछ । पहिलो दोलखा महोत्सवमा स्थल तयारी र स्टलहरू नि:शुल्क बनाइदिने गरिदिने आकर्षक एउटा प्रस्तावसँग सम्झौता गर्यौ । खेल, चिठ्ठा, चटक आदिबाट आउने कमाई उसैले लान पाउनेमा राजी भयौं ।

आखिर हाम्रा वरपरका उत्पादनका स्टलमा भन्दा उसैकोमा भिड लग्यो । पिङ, रेल, डुंगा, भूतघर, मौतका कुवा, तीर, चटक, चिठ्ठा जस्ता खर्चालु मनोरञ्जनमा हाम्रा भाइबहिनी, दाजुभाइ र बाआमा बढी लोभिए । उहाँहरूले गोजी टक्टक्याउँदै मजाक गरेको पैसा बटुलेर सर्कसवालाहरू आफ्नो झोलितुम्बा लिएर हिडें । हामी भने दशतिर सहयोग र चन्दा उठाउँदै ऋणमुक्त भयौं ।

त्यो महोत्सवमा जातजातिका मौलिक र स्थानीय खानाको स्टलले जंकफुड र बाहिरबाट भित्रिएको खानाको स्टलले बढी व्यापार गर्‍यो । हामीले जंकफुडहरू नियन्त्रण गर्न सकिन्थ्यो कि भनेर सोचेनौं । पछिल्लो महत्सवहरूमा पनि यस्तै विकृति कायम रहृयो । अखिर हामीले हाम्रो बहुराष्ट्रिय उत्पादनका खानाका लागि ठूलो पैसा बाहिर पठाउन महोत्सव गरिरहेको झैं मान्यौ ।

जिरीको याक चीज, चंखुको सिस्नुको पिठो, शैलुङको आलु, हिमाली जडिबुटी, नेपाली कागजको सामाग्री, मादल, फलामे ओैजार, काठका कला यस्तैयस्तै दोलखाका कोसेली हुन् । ति समाग्री उत्पादनमा बढवा, बजारको निर्धकता र सहुलियत पनि महोत्सवको बहसका विषय हुन् । त्यसमा सरकारहरूले अनुदान बढाउने दबाबका रुपमा महोत्सव केन्द्रित गराउनुपर्छ ।

मौलिक खानाको स्वाद, स्वस्थकर र शुद्धतामा बढी ध्यान दिनुपर्छ ।आकर्षक र र सजिलो लाग्ने प्याकेट, पकाउने विधि र सत्कारपूर्वक टक्रयाउने कुरामा ध्यान दिनुपर्छ । हाम्रो मौलिकतामा भएका कमजोरीहरु सुधारेर बाहिरी खानाहरुसँग टक्कर दिनसक्ने अवस्थामा सिर्जना गर्न ध्यान जानुपर्छ ।

महोत्सवमा जनशक्ति, स्रोतसाधन र पुँजीको ठूलो सामार्थ्य खर्च हुन्छ । तयारीका सम्पूर्ण बस्तुहरु बाहिरबाट भाडामा झिकाउँदा पैसा जति बाहिर नै जान्छ । के का लागि महोत्सव गर्दैछौं भन्ने स्पष्ट उद्देश्य भएन भने अर्काको प्रस्तावको लाग्नुपर्ने हुन्छ । जे प्रस्ताव आयो त्यही राम्रो लाग्छ । अरुको प्रस्तावसँग सम्झौता गर्दै पैसा बुझाइन्छ । स्थानीयसँग तालमेल नहुने प्रस्तावहरुमा काम गर्दा महोत्सव एउटा मजाकमा परिणत हुन्छ । हात लाग्यो शून्य मात्र हुन्छ ।

(लेखक नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन्)

प्रकाशित : फाल्गुन ८, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?