३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘सिकल सेल’ छटपटी र चुनावी अजेन्डा 

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा पुरानो भवनको दोस्रो तलामा छ मेडिकल वार्ड । गत शुक्रबार ज्वरोका कारण मेरो छातीमा गम्भीर संक्रमण भएको निष्कर्षअनुसार चिकित्सकले लामो उपचारका लागि मलाई लिफ्टबाट उक्लेर मेरो ह्विल चेयर मेडिकल वार्डको ‘फिमेल वार्ड’ तिर अघि बढाए ∕ तर ‘मेल र फिमेल’ बेग्लाबेग्लै वार्ड लेखिए पनि भर्ना व्यवस्थापन भने दुवैतिर महिला पुरुष मिश्रित रुपमा बसालिएको रहेछ ।

‘सिकल सेल’ छटपटी र चुनावी अजेन्डा 

म त्यस वार्डको निर्धारित बेडमा पुग्दा मध्यरातको १२ बजेको त्यो समय अलगअलग बेडमा रहेका चार जना बिरामीको छटपटीले १६ शय्या रहेको पूरै वार्डमा घण्टौं अघिदेखि असहज स्थिति थियो । पल्लो वार्डमा पनि बिरामीहरूको उस्तै रुवाबासी ।

गहिरो पीडाको छटपटीमा गुज्रिरहेका उनीहरू सबै जना अहिलेसम्म नेपालका थारु समुदायकाहरूलाई मात्र संक्रमण भएको सिकल सेल एनिमिया रोगबाट ग्रस्त बिरामीहरू हुन् । कलिलै उमेर समूहका उनीहरू अधिकांश बिरामीलाई पीडाले शरीरको रुपरंगै बिरानो बनाएको थियो । सेतीमा कार्यरत नर्स र चिकित्सकहरू बिरामीलाई निको पार्ने त के क्षणिक पीडा घटाउन पनि निष्प्रभावी देखिन्थे । अस्पतालमा भर्ना भइरहेकाले केही नहोला भन्ने विश्वासमा उनीहरू बाँचिरहे झैं देखिन्थे ।

त्यस वार्डको मध्यभागमा रहेको ७ नम्बर बेडमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ झलारीकी ३२ वर्षीया राधिका चौधरी उपचाररत थिइन् । त्यस दिन दिउँसो भर्ना भएकी राधिकालाई ६-७ घण्टादेखि कम्मरमुनिदेखि दुवै खुट्टाको भित्री हड्डी र जोर्नी दुखाइको असह्य पीडाले उनको उकुसमुकुस र पीडा नियन्त्रणबाहिर थियो । सहन नसकेर उनी रोइकराइ गर्दै थिइन् । स्याहारमा खटिएका श्रीमान् गौरीराम रानाले उनलाई थाम्नै सकिरहेका थिएनन् । लगातार तीन वर्षदेखि राधिकाले बेलाबेला यस्तै कष्ट सहन विवश रहिछन् । यतिबेला सबैभन्दा लामो पीडा बेहोर्नुपरेको उनको भनाइ थियो । ती बिरामीहरूको पीडा र छटपटी देखेर म आफ्नो पीडा भुलिरहेको थिएँ ।

त्यसैको वल्लो बेडमा कञ्चनपुरकै बेलौरी- ३ का २३ वर्षीय राजेशराज चौधरीको खुट्टाको जोर्नीमा भइरहेको पीडालाई उनका वृद्धावस्थाका बुबा भोलाप्रसादले मुसारेर शान्त्वना दिने प्रयास गर्दै थिए तर राजेशराजको पीडा भने झन् झन् तीव्र भइरहेको थियो । कुमदेखि घुँडासम्मका जोर्नीहरूमा भइरहेको दुखाइकै उनी बेडमा सुतिरहेका थिए ।

१२ नम्बर बेड रहेको पल्लो कुनामा विनिता चौधरीलाई भर्ना गरिएको थियो । उनको हालत नाजुक छ । कृष्णपुर नगरपालिका ८ कञ्चनपुरबाट उपचार गर्न आएकी उनको पिठ्युँको भाग दुखिरहेको थियो । दुई छोराले मालिस गरिदिएर आमाको पीडालाई केही शान्त गराउन प्रयास गरिरहेका थिए । तर‚ उनको पीडा पनि घट्नुको सट्टा बढेको बढ्यै थियो । यस्तै, दक्षिणी कुनामा बेड नम्बर १५ छ । त्यो बेडमा धनगढी- १६ भादा गाउँका २८ वर्षीय जनकलाल चौधरी भर्ना थिए । उनको छटपटी पनि उस्तै । नर्सिङ स्टाफहरूका अनुसार अर्को वार्डमा पनि ७ जना त्यस्तै रोगबाट ग्रस्त बिरामी भर्नारत छन् ।

चिकित्सकका अनुसार सिकल सेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जिन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आएमा सिकल सेल एनिमिया हुन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ । तर आमा अथवा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ । सिकल सेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हासियाको रूप लिने हुनाले यसलाई सिकल सेल एनिमिया भनिन्छ ।

राधिकाको पीडा सबैभन्दा धेरै देखिन्थ्यो । कम्मरदेखि घुँडासम्मको भागमा भइरहेको दुखाइको छटपटीले मध्यरातको समयमा पनि सबैलाई स्तब्ध गराइरहेको थियो । केही मिनेटको पीडा थिएन त्यो, २४ घण्टा भइसकेको रहेछ त्यसरी एकोहोरो दुखाइ सुरु भएको । अझै कतिसम्म दुख्ने हो‚ कुनै यकिन थिएन । त्यसैले धीरतापूर्वक श्रीमतीलाई सान्त्वना दिनुको गंगारामसँग विकल्प थिएन । उनको प्रयास निरन्तर थियो । बुधबार उनी अस्पताल भर्ना भएको ६ दिन भयो । दुखाइको स्तर अझै निको भएको छैन ।

कहिलेसम्म कम हुने र कहिले डिस्चार्ज हुने भन्ने गंगारामलाई अझै यकिन छैन । ‘अरु बिरामीको अवस्था पनि उस्तै हो,’ वार्डमा खटिएकी एक स्टाफ नर्सले भनिन्‚ ‘हामीले त केही गर्नै सक्दैनौं ।’ उपचारमा संलग्न डा. निराजनदत्त शर्मा पौडेलले मौसम परिवर्तनका बेला कामको स्वरुप परिवर्तनका बेला र खानापानमा सुख्खापन आएका बेला यस्ता बिरामीहरूलाई केही बढी चाप्ने गरेको पाइएको बताए । ‘दुखाइको औषधि दिएर केही पीडा घटाउनुको विकल्प छैन तर पछिल्लो समय दुखाइ कम गराउने औषधिको अत्यधिक सेवनका कारण बिरामीहरूलाई अन्यत्र पनि असर परिरहेको देखिन्छ,’ डा. पौडेललले भने ।

सेती प्रादेशिक अस्पतालका अनुसार सिकल सेल एनिमियाका बिरामीहरूको निःशुल्क जाँच तथा उपचार हुने गरेको छ । स्वास्थ्य बिमा बोर्डबाट सरकारले एक लाखसम्मको निःशुल्क उपचार पाउने व्यवस्था छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा कैलालीका ५५० जना र कञ्चनपुरका २११ गरी ७६१ जनाले उपचार सेवा लिएका छन् ।

सिकल सेलका बिरामीहरू तिनै बेडहरूमा पीडा घटाएर घर फर्किने अपेक्षामा दिनरात गुजारिरहेका छन् । भित्र उनीहरूको छटपटी चल्दै गर्दा बाहिरको माहोल भनेर राजनीतिक गर्मागर्मीको छ । अझ, सुदूरपश्चिमको तराइमा त थारु समुदायले आफ्नो समुदायको उत्पीडन तथा उत्पीडनबाट छुटकाराको नारा दिएर विभिन्न दलबाट उम्मेदवारहरू मत माग्न घरदैलो गर्दै छन् । तर‚ आफ्नै समुदायका सिकल सेलका बिरामीहरूको पीडाको अजेन्डा भने उनीहरूको वास्तामा छैन । कैलाली- ५ बाट एमाले उम्मेदवार नारदमुनी राना भन्छन्‚ ‘सिकलसेलको सवाल मेरोमा छुट्यो होला, अब प्रदेश सांसदको घोषणापत्रमा समेट्नुपर्छ ।’ प्रदेश सांसदका उम्मेदवार नेपालु चौधरीले पनि त्यस विषयमा समेट्नुपर्ने बताए ।

सिकल सेल एनिमियाबाट पीडित बिरामीहरू भने सरकारले आफ्नो समुदायकालाई मात्र हुने यस रोगको निदान तथा उपचारमा सरकारले विशेष महत्त्व दिनुपर्ने बताउँछन् । ‘भ्याक्सिन दिनुपर्‍यो र बेग्लै विशिष्टीकृत अस्पताल बनाउनुपर्छ,’ बिरामीका आफन्त गंगारामले भने, ‘हामी महिनामा हरेकपटक यस्तै मरेजस्तै पीडा भोग्न बाध्य छौं । सबैले हाम्रा पीडा समाधान गर्न पहल गरिदिनुपर्‍यो ।’

प्रकाशित : कार्तिक १८, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?