कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कुकुर तिहार : 'बक्सर' सँग विछोडिएको दिन

भनिन्छ मानिस  भगवानको उत्कृष्टतम् सृजना हो । तर कामको आधारमा यसको उल्टो भन्न सकिन्छ । मानिसले महान् कर्म गरेका  छन्, बेइमानी पनि मान्छेले नै गर्छ । प्रकृति लगायत अन्य प्राणीले बेइमानी गर्न सक्दैनन् । 
दिवाकर बागचन्द

काठमाडौँ — मलाई सानैदेखि मानिसभन्दा जनावर मन पर्छ । त्यसमा पनि कुकुर मेरो प्रिय । कुकुरको मानव प्रेम, स्वामी भक्ति, इमान्दारीबारे थाहा नहुने सायदै कोही होलान् ।  

कुकुर तिहार : 'बक्सर' सँग विछोडिएको दिन

केही दिन अगाडिको कुरा हो, अस्ट्रेलियामा रहेको मेरो कान्छो भाइको एउटा लामो इमेल पाएँ । उनले इमेलको सब्जेक्टमा लेखेका थिए-'बक्सरनामा'। मलाई थाहा थियो बक्सर मेरो भाइले पालेको कुकुरको नाम हो । बक्सरनामा भन्ने शब्दले कौतुहलता पैदा गर्‍यो । बक्सरनामा भनेर मलाई किन मेल गरेछ ? म अलि अन्योलमा परेँ। मेल क्लिक गरें । सुरुआती केही हरफ नै हृदयस्पर्शी थिए ।


'दाजु म पेसाले इन्जिनियर, शब्दसँग खेल्न जान्दिनँ। कतिपयले मलाई टेक्निकल सोच्छन्, भावना र मनका कुरा बुझ्दैन भन्छन् । यसमा मेरो भन्नु केही छैन । भन्नेको के नै जान्छ र ? म त्यसको जवाफ दिन चाहन्न । तर मनको उकुसमुकुस हजुरसामु राख्न चाहन्छु । किनकि हजुरले भन्दै आउनुभएको छ, मेरो जीवन नै मेरो पढाइ हो। मलाई लाग्छ मेरो जीवनको एउटा यस्तो पाटो जो मैले सबैबाट छुपाएर राखेको थिएँ, हजुरले पढेर प्रतिक्रिया दिनुहुनेछ ।'


मेरो उत्सुकता झनै बढ्दै गयो, म पढ्दै गएँ। बक्सरलाई मैले जर्मन सेफर्डको बच्चा सोंचेको थिएँ, एक लावारिस कुकुरको सन्तान पो रहेछ। म चाहिँ अचम्मित भएँ । मेरो भाइले इमेलमा यसको कथा खोलेको रहेछ ।


लेखेको थियो, 'म लामो बेलायत बसाईपछि परिवारसहित नेपाल फर्केको थिएँ । नेपालमा बसेर देशका लागि केही गर्छु भन्ने जोशका साथ हामी फर्केका थियौं। म नोकरीको खोजीमा थिएँ । बेलायतमा कमाएको पैसाले किनेको घरबाहेक हामीसँग केही थिएन । दिनभरि नोकरीका लागि चाकडीचाप्लुसी बिन्ती अनुनयविनयको भद्दा नाटक गरेर म थकित भएर घर फर्कंदै थिएँ। बालकुमारी पुलबाट भित्र जाने गल्लीमा एउटा कुकुर आफ्ना पाँच छाउराका साथ हिँडिरहेकी थिइ। धुलाम्मे गल्लीमा अन्य कुकुर उसलाई देखेर भुक्दै थिए। ठेलावाला र पसलेहरु छिःछि र दुरदुर गर्दै थिए। मलाई के भो कुन्नी, आँखाबाट आँसु धारा बग्न थाले। आफ्नो दुई जनाको परिवार पालन धौ-धौ भएको बेला ५ छाउरा र आमालाई घर लगेर पाल्ने ल्यागत ममा थिएन। भगवानसँग माफी मागे एउटा बच्चालाई उसकी आमाबाट टाढा गर्नु परेकोमा । ५ मध्येको सबैभन्दा दुब्लो र पातलो छाउरा लिएर म घरतर्फ लागें। '


'नोकरी खोज्न गएको पति एउटा लिखुरे छाउरा लिएर आएपछि, मेरी अर्धाङ्गिनीको आँखामा विस्मय देखिनु स्वाभाविक थियो । तर त्यो छाउरा साथीकोबाट ल्याएको भनेपछि विस्मय मुस्कानमा परिणत हुन समय लागेन । म चाहन्थे उसलाई कसैले हेयको दृस्टीले नहेरोस् । दुवै जनाले उसको नामकरण पनि त्यतिखेरै गर्‍यौं। नाम राख्यौं "बक्सर" । नामकरणसँगै अन्नप्राशन पनि गर्‍यौं, मासु भात दिएर । चिसो हुन्छ कि भनेर आफ्नो टि-सर्ट उसलाई लगाइदिए । उसलाई पौष्टिक आहार दिन थाल्यौं । कुखुराको टाउको खुट्टा उसको मन पर्ने नियमित आहार बन्यो । खसीको मासुमा उसले रुचि देखाएन । लगतै भेटनरी डाक्टरलाई देखायौं । खोप इत्यादि लगायौं । नामझैँ बक्सर तगडा हुँदै गयो । उसको भुकाइमा बाघको गर्जन थियो । घरमा आउने आफन्तलाई अंकमाल गर्न जान्थ्यो, यति बेगमा जान्थ्यो कि कतिपय त लड्थे । अलि चकचके पनि थियो, चप्पल टोपी लिएर भाग्थ्यो । मैले लट्ठी देखाएपछि मात्र डराउँथ्यो ।'


'केही समयपछि श्रीमती पढाइ गर्न थालिन् । मैले पनि करारमा नोकरी पाएँ । बिहानै बक्सरलाई ख्वाईवरी हामी आ-आफ्नो काममा निक्लँथ्यौं । साँझपख घर पुग्थ्यौं । उ हाम्रो प्रतिक्षामा व्यग्रताका साथ गेटमा हुन्थ्यो । बक्सर दिनभर घरमा एक्लै हुन थाल्यो । मर्निङ्गवाकमा लैजान सुरु गरेँ । उ अरु कुकुरप्रति आक्रामक हुन थाल्यो । वाकमा जाँदा मलाई नै तान्थ्यो । घरमै खुसी देखेपछि मैले उसलाई मर्निङ्गवाक लग्न बन्द गरेँ । उ एउटा कमिलालाई पनि घरभित्र छिर्न दिन्थेन । केही दिनपछि एउटा गिटार किनेँ, आँगनमा बसेर म गिटार बजाउँदा बक्सर नजिक आएर बस्थ्यो । मेरो बेसुरा आवाज मन पराउने सायद एउटा उ मात्र थियो. . जब म "फूलैफूल मात्र पनि होइन रहेछ जीवन भन्ने गीत गाउँथे उ मेरो आँखामा हेर्थ्यो । मलाई थाहा थिएन उ यसो किन गर्थ्यो तर उसको यो हर्कतले मेरो ईश्वरप्रतिको आस्था प्रगाढ हुँदै गयो । बक्सर घर र घरको पर्खालभित्र नै रमाउन थाल्यो। यो नै उसको दुनियाँ थियो ।'


'एक पटक काकाको घरमा पाटी थियो बक्सरलाई लिएर गएका थियौं, राति उतै बस्नेगरी । तर बक्सरले उता बस्न मानेन, उसलाई घरमा छोडेर पुन: काकाको घरमा फर्क्यौं । घर पुग्दा उसको आँखामा जुन चमक थियो त्यसलाई शब्द या चित्रमा बयान गर्न सकिन्न । केवल महसुस गर्न सकिन्थ्यो । वास्तवमा त्यो घर बक्सरको थियो ।'


'नेपालमा बसेर देशको सानै रुपमा भए पनि सेवा गर्छु भन्ने जुन अठोटका साथ हामी आएका थियौं, त्यो घडीको सुइसँगै कम्जोर हुँदै गइरहेको थियो । जुन माटोलाई म माया गर्थें त्यहाँ बाँच्ने कला या तिकडम हामीमा थिएन । मेरो अठोटमा कुनै दम थिएन । अठोट टुटेर हार्नुभन्दा पहिले हामी दुइ श्रीमान्/श्रीमतीले देश छोड्ने निर्णय गर्यौं। तर बक्सरबाट टाढा हुन चाहन्न थियौं । साथमा लगेर जाने सम्भवना पनि थिएन। मन भत्भती पोल्यो। बाध्यता थियो नोकरी कहिले जाने हो ठेगान थिएन । नेपालमा बसेर बक्सरलाई उचित आहार पनि दिन सक्ने अवस्था पनि नहुन सक्थ्यो । त्यसैले बक्सरलाई ठुलो दाजु र भाउजुको जिम्मा लगाएर हामीले बिदेशिने तयारी गर्‍यौं । म अलि 'प्रग्म्याटिक” (pragmatic) भएर होला ममा भावना छैन भनेको ।


'दाजु हजुरले मैले नेपाल छोड्दा बक्सरलाई अंकमाल गरेको फोटो फेसबुकमा हाल्नु भएको रहेछ । म आज भन्छु , मैले त्यति बेला रोएर भनेको थिएँ, बक्सर मेरो भाइ मलाई माफ गर्नु, तँलाई छोडेर जाने मलाई एकरत्ति मन छैन । तलाई थाहा छ, अरुलाई कुल्चेर हिँड्ने यो देशमा म तेरो पनि हेरचाह ठीकसँग गर्न सक्ने छैन । म तँलाई भेट्न बारबार आउनेछु मेरो भाइ । यो देशमा मैले भेटेको एउटा मात्र सच्चा साथी तँ मात्र होस् मेरा लागि । बक्सरलाई अंकमाल गरेपछि म पछाडि फर्केनँ, म उसको आँखामा आँसु देख्न सक्दैनथे। सिधै एयरपोर्ट लागेँ ।”


'दुई वर्ष बितिसकेको छ, मैले बक्सरलाई भेटेको छैन । आँखिर मान्छे जो हुँ म । ठूलो दाजु भाउजुसँग इस्कैपमा कुरा गर्दा बक्सर कान ठाडो पारेर मलाई सुन्छ र हेर्छ, अनि रिसाएझैँ गरी बाहिर जान्छ । केही महिना पहिले मम्मीसँग बक्सरका लागि ज्याकेट र खाने कुरा पठाएको थिए । दाजुले भनेअनुसार बक्सरले केही दिन त मैले पठाएको सामान हेरीमात्र रह्यो, आँखाभरि आँसु लिएर । म छिट्टै बक्सरलाई भेट्न नेपाल जाँदैछु । अंकमाल गर्ने छु । दाजु म इन्जिनियर जरुर हुँ, तर त्यो भन्दा माथि, "बेजुबान" हरु को भाषा बुझ्ने एउटा मन भएको मान्छे हुँ ।'


मेरो भाइको इमेल अंग्रेजीमा थियो, पढ्न र बुझ्न मलाई केही समय लाग्यो । मैले तुरुन्त नेपालमा दाजुलाई फोन गरेँ । बक्सरको हालचाल सोधेँ । दाजुले के भन्नु त्यो झन् अप्रत्यासित र अद्भूत थियो । "बक्सर इज मै चाइल्ड । हि इज अ जेन्टल म्यान उहाँ ले भन्नुभो" मेरी छोरीले आँखा घोची दिँदा पनि केही गर्दैन, छोरीले बक्क भनेर बोलाउँदा खुरक्क आउँछ । मलाई बिसन्चो भए, मेरो खाटको छेउमा धर्ना दिन्छ। '


'केही समय पहिले एउटा भाइको जिम्मा लगाएर हामी सपरिवार १० दिनका लागि मुम्बई गएका थियौं । ती दस दिनमा उसले खाना त के पानी पनि पिएन रे । गेटमा बसेर आँसु झारिरहन्थ्यो छिमेकी आन्टीले भावुक हुँदै हामीलाई सुनाउनुभो। यी सब कुरा सुनेपछि हामीले बक्सरलाई छोडेर कहीं नजाने निधो गर्यौं। '


'बक्सर कुकुर होइन तपस्वी हो । जो हाम्रो यादमा अन्न, जल सब त्याग छ, जो हामीलाई देखेपछि सजातिए कुकुरको साथ पनि खोज्दैन, जो ब्रह्मचर्यको पालन गर्छ, जसको लागि यो घर मन्दिर हो, त्यो तपस्वी नभई के हो ?' दाजुले भन्नु भो ।


म केही बोलिनँ । फोन राखेँ र दाजुका शब्द दोहर्‍याएँ । 'बक्सर कुकुर होइन तपस्वी हो ।'

प्रकाशित : कार्तिक १०, २०७६ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?