१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'यूएईमा जालीहरु पनि छन्'

मेघराज सापकोटा

यूएई — 'एक जना नेपालीलाई अजमान प्रहरीले पक्राउ गरेको छ, कहाँ राखेको छ थाहा छैन । दूतावासमार्फत सहयोग गरिदिनु पर्‍यो सर !', सुशीलजीले फोनमार्फत सहयोगको लागि अनुरोध गर्नुभयो । मैले घटनाबारे तुरुन्त नेपाली दूतावासमा जानकारी गराएँ । दूतावासमार्फत उनको बारेमा खोजी गरियो । अहिले पनि रिहाईको लागि आवश्यक सहयोग र पहल जारी छ ।  

पक्राउ पर्ने नेपाली थिए, मोरङका चन्द्रमान । चन्द्रमान विगत ७ वर्षदेखि यूएईमा सेल्समेन पदमा कार्यरत थिए । यूएई बस्दै जाँदा धेरै नेपालीहरुसँग चिनजान र भेटघाट भयो । पूर्व झापाको केचनाकबलदेखि पश्चिमको दोधारा-चाँदनीसम्म र पूर्व-उत्तरको ओलाङ्चुङगोलादेखि पश्चिमको धार्चुलासम्मका नेपालीहरु यूएईमा भेटिन्छन् । तराईका मधेसी दाजुभाइदेखि लिएर हिमाल तथा पहाडका बाहुन क्षेत्री तथा जनजाति साथीभाइहरु पनि यूएईमा प्रशस्तै छन् । सबै क्षेत्र, भूगोल र जातजातिका खालखालका नेपालीहरु यहीं भेटिन्छन् ।


नेपालीहरुले क्षेत्र, वर्ण, जात, पहिचान, धर्म, कला साहित्य र राजनीतिक आस्थाका आधारमा फरक फरक 'कम्युनिटी समूह' निर्माण गरेका छन् । उनीहरु संगठित भएका छन् । उनीहरु संगठनको उद्देश्यअनुरुप सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । विश्वकै ठूलो प्रवासी सञ्जाल भएको एनआरएनएदेखि गल्याङकोट र पथरी समाजजस्ता गाउँ नगरस्तरीय समाज पनि यहीं छन् । समस्यामा परेका नेपालीहरुको उद्दार सहयोगदेखि आफू जन्मेको ठाउँको विकासमा थप टेवा पनि पुर्‍याइरहेका छन् । राज्यले गर्नुपर्ने स्वास्थ्य जनचेतना कार्यक्रमदेखि लिएर नेपाली कला, सांस्कृतिको विकासमा इँट्टा थप्ने कार्य गरिनै रहेका छन् । यसको अर्थ के हो भने यूएईमा ईमान्दार, असल, सहयोगी र देशलाई माया गर्ने नेपालीहरु प्रशस्त भेटिन्छन् ।


यही नेपालीहरुको बीचमा हुण्डी गर्ने गराउनेहरु पनि प्रशस्तै छन् । अवैध सुन ओसारपसार गर्नेहरु र कालो धनलाई सेतो बनाउनेहरु पनि तपाईंले भेट्न सक्नुहुनेछ । बैंकले दिने रेटभन्दा १ रुपैयाँ बढी दिने लोभमा तपाईंलाई गलत कार्य गर्न उक्साउने नेपालीहरु तपाईं हामी बीचमै भेट्न सकिन्छ । नेपालमा फटाइँ गरेर भागेका टोले गुण्डादेखि नेपाल सरकारलाई ठग्ने ठूला भ्रस्टाचारीहरु पनि बेला बेला यहीं भेट्न सकिन्छ । अर्थात् जस्तो नेपाल छ उस्तै डाईभर्सिटी यहाँको नेपाली समुदायमा देख्न सकिन्छ । यहाँको समाजमा पनि सबै अशलमात्र नभेटिन सक्छन् र सबै खराबमात्र पनि नहुन सक्छन् । जनसंख्या वृद्धि भएसँगै सबै खाले प्रवृत्ति भएका नेपालीहरु यहाँ हुनु स्वाभाविक हो । अपराधिक क्रियाकलापमा वृद्धि हुनु सामान्य भएको छ ।


समाजको यस्तो आमचरित्रलाई सबैले होसियारीपूर्वक बुझ्न आवश्यक छ । विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरुले आफू गएको मुलुकमा पनि यस किसिमको क्रियाकलापबाट आफू कसरी बच्ने भन्ने ज्ञान कुराको लिन आवश्यक देखिएको छ । वैदेशिक रोजगारीमा जानुपूर्व नै यस किसिमको मनोसामाजिक जनचेतना दिन पनि उत्तिकै जरुरी छ ।


यस्तै कुराको चेतनाको कमी देखियो मोरङका चन्द्रमानलाई । एक दिन उनलाई आफ्नै नजिकैको साथी बर्दियाका किरणले फोन गरेर एउटा सहयोग मागे । आफ्नो बैंक खातामा समस्या आएको भन्दै किरणले चन्द्रमानको बैंक खाता नम्बर मागे । र, चन्द्रमानको खातामा १ लाख दिर्हाम अनलाइन ट्रान्सफर गरे । चन्द्रमानले साथीको पैसा भएकोले ईमान्दारपूर्वक आफ्नो खाताबाट निकालेर किरणलाई दिए ।


भोलिपल्ट चन्द्रमानलाई बैंकबाट फोन आयो । उक्त १ लाख फिर्ता गर्न भनियो । यता किरण भने १ लाख दिर्हाम लिएर गायब भइसकेका थिए । कयौं प्रयास गरे पनि उनलाई भेट्टाउन सकिएन । केही दिनपछि अजमान प्रहरीले फ्रड गरेको भन्दै चन्द्रमानलाई पक्राउ गर्‍यो । जानकारीमा आएअनुसार किरणले अर्को पाकिस्तानी नागरिकसँग मिलेर एक स्थानीय नागरिकको बैंक खाताबाट उक्त पैसा ट्रान्सफर गरेका थिए ।


भन्छन् नि, मानिस ईमान्दार हुनु तर सोझो नहुनु । यही ईमान्दारिता र सोझोपनको फाइदा उठाउँदै उनीहरुले चन्द्रमानलाई फँसाए । कानुनले त चन्द्रमानलाई जान्ने भो किनकि पैसा चन्द्रमानकै खातामा जम्मा भएको छ । अब कानुनअनुसार उक्त पैसा तिर्नु पर्ने पनि चन्द्रमानले नै हो । फ्रड गरेबापतको सजाय पनि उनैले भोग्नु पर्ने हुन सक्छ । तथापि स्थानीय अदालतमा केस चलिरहेको छ । फैसला हुन भने बाँकी छ ।


यूएईमै रहेकी उनकी श्रीमती सहयोगको याचना लिएर कहिले दूतावास पुग्छिन् त कहिले वकिलको खोजीमा । चन्द्रमान यो समस्याबाट कहिले मुक्त हुने र कहिले बाहिर आउने हुन् यसै भन्न सकिने स्थिति छैन । यो त एउटा प्रतिनिधि घटनामात्र हो । वैदेशिक रोजगारीमा जाँदा गएको मुलुकमा आईपर्ने समस्याहरु विभिन्न प्रकृतिका हुन सक्छन् । विभिन्न प्रकृतिका घटनाक्रमलाई आधार मानेर होसियारी अपनाउने हो भने जो कोही पनि यस्ता समस्याबाट बच्न सकिन्छ ।


जनवरी ६ तारिखमा नेपाली दूतावासले सार्वजनिक गरेको विवरणहरुमा १८८ जना पुरुष र १२ जना महिला गरी २०० जना नेपालीहरु यूएईका विभिन्न जेलमा रहेका छन् । क्रेडिट कार्डको पैसा नतिरेको, बैंकबाट ऋण लिएर नतिरेको, चोरी गरेको, चेक बाउन्स गरेको, यौनजन्य क्रियाकलाप तथा दूव्यवहार गरेको, मदिरा सेवन गरी एक आपसमा झगडा गरेको, सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको, मदिरा सेवन गरी गाडी कुदाएको र दुर्घटना गराएको, नक्कली सटिफिकेट तथा कागजात पेस गरेको, लागूऔषध पदार्थ सेवन तथा कारोबार गरेको, हत्या अभियोग र अवैध यौन सम्बन्ध राखेको जस्ता आरोपमा यूएईमा नेपालीहरु जेल पर्ने गरेका छन् ।


५० डिग्री गर्मीको कारण हुन सक्ने स्वास्थ्य समस्याहरुको बारेमा मात्र जनचेतना जगाएर नपुग्ने भयो । गन्तव्य मुलुकमा गर्न हुने र गर्न नहुने कुराहरुको जानकारी प्रदान गर्न पनि उत्तिकै आवश्यक छ । सार्वजनिकस्थल तथा व्यापारिक मलहरुमा जाँदा छोटो कपडा लगाउन बर्जित रहेको छ । कसैको अनुमतिबिना फोटो खिच्न र सामाजिक साजालमा प्रकाशित गर्न पाइन्न । धार्मिक सहिष्णुता कायम गर्नु पर्दछ । मुस्लिम धर्मको मानहानी गर्न हुँदैन । सार्वजनिक स्थानहरुमा मदिरा सेवन गर्न निषेध छ । होहल्ला गरी अरुलाई डिस्टर्ब गर्न पाइन्न । महिला पुरुषहरुलाई सामान्य रुपमा हात समातेर हिँड्न अनुमति भए पनि सार्वजनिक स्थानमा चुम्मन गर्न र 'हग' गर्न अनुमति छैन । रामदान महिनाको बेला दिनमा बाहिर खुला रुपमा केही खान पाइँदैन । विवाह नगरी यौन सम्बन्ध राख्न र बच्चा जन्माउनु गैरकानुनी हुन्छ ।


कसैलाई गाली गर्न, दुर्व्यवहार गर्न, औंला बनाएर देखाउन र खुट्टा देखाएर अपमानित गर्नसमेत पाइन्न । सामाजिक सञ्जाल फेसबुक र वट्स अप आदिमा कसैलाई गाली गरेर म्यासेज पठाउन पाइन्न । रक्सी पिएर मातेर सार्वजनिक रुपमा हिँड्न पाइन्न । सम्बन्धित मुलुकको राज्य व्यवस्थाबारेमा र कानुनको खिलापमा लेख्न, बोल्न वा आलोचना गर्न बर्जित छ ।


त्यसैले वैदेशिक रोजगारीमा जानेहरुलाई प्रदान गरिने अभिमुखीकरण तालिमको दायरा बढाई गन्तव्य मुलुकको कानुनको सामान्य जानकारी प्रदान गर्न जरुरी छ । गन्तव्य मुलुकको कानुनअनुसार कस्तो किसिमको अपराध गरे के सजाय हुनसक्छ भन्ने कुराको समेत जानकारी प्रदान गरेमा जान अन्जानमा हुने यस्ता गल्तीहरुप्रति नेपालीहरुले होसियारी अपनाउन सक्छन् । उनीहरुलाई भविष्यमा आईपर्न सक्ने विविध समस्याको बारेमा उनीहरु सचेत हुन सक्छन् । कामदारहरु पठाउँदा सरकारले अब यस्ता कुरामा पनि ध्यान पुर्‍याउन जरुरी छ ।

प्रकाशित : चैत्र १७, २०७५ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?