कांग्रेस नेतृत्वमा मधेसको प्रतिनिधित्व वीपीकाल जस्तै- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेतृत्वमा मधेसको प्रतिनिधित्व वीपीकाल जस्तै

मतदाता र कार्यकर्ता बढे, नेता बढेनन्
राजेश मिश्र

काठमाडौं — कांग्रेसका संस्थापक नेता वीपी कोइराला कालमा पार्टीको नेतृत्व पंक्तिमा तराई-मधेसका मधेसी, थारुको जस्तो प्रतिनिधित्व थियो, पार्टीले ७ दशकपछि १३ औं महाधिवेशन गरिरहँदा पनि प्रतिनिधित्व उस्तै छ ।

पछिल्लो दश वर्षमा समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल चर्को गरि उठिरहेका बेला मुलुककै जेठो राजनीतिक दल कांग्रेसभित्र पनि त्यो स्वर नउठेको होइन । तर, पार्टीको आन्तरिक जीवन जति समावेशी हुनुपर्ने हो, त्यति हुन सकेको देखिन्न ।

अझै कांग्रेस र मधेसको सम्बन्धलाई सधैं फरक र उच्च दृष्टिकोणले व्याख्या गर्ने गरिएपनि पार्टीको नेतृत्व पंक्तिमा मधेसको उपस्थिति सधैं न्यून नै छ । राणा शासन, निरकुंश राजतन्त्रको अन्त्य हुँदै गणतन्त्र स्थापनासम्मको संघर्षको अगुवाई गरेको कांग्रेस मार्फत मधेसी जनताले पनि राष्ट्रका लागि योगदान गरेको जनकपुरका प्राध्यापक डा.सुरेन्द्र लाभ भन्छन् । 'कांग्रेस र मधेसको सम्बन्ध पूरानो छ, त्यसमा कुनै शंका छैन । तर, लगानी अनुसारको प्रतिफल मधेसले पार्टीबाट पाउन सकेको छैन', लाभ भन्छन् ।  

वि.स. २००३ मा कलकत्तामा पहिलो अधिवेशन गरी स्थापना भएको कांग्रेसमा सुरुवाती कालदेखिनै मधेसी नेताहरुको संलग्नता र सक्रियता थियो । वि.स.२००९ मा जनकपुरमा भएको पाँचौ महाधिवेशनपछि मात्र वीपी कोइरालाको नेतृत्वमा गठित १६ सदस्यीय कांग्रेस कार्यसमितिमा रामनारायण मिश्र, राधाकृष्ण थारु र परशुनारायण चौधरीको पहिलोपटक प्रवेश भएको देखिन्छ ।

१२ औं महाधिवेशनपछिको ८५ सदस्यीय कार्यसमितिमा १३ जना मधेसी, थारु र मुस्लिम छन् ।  प्रतिशतमा हेर्ने हो भने वीपीकालभन्दा पनि कार्यसमितिमा मधेसीको कम प्रतिनिधित्व छ, पार्टीका एक मधेसी नेताले बताए । नेतृत्वले मधेसीलाई अवसर नदिनु र विश्वास नगर्नुको परिणामका रूपमा अथ्र्याउँछन् उनले । मधेसबाट मतदाता र कार्यकर्ता बढेपनि पार्टीले नेता बढाउन नसकेको उनले गुनासो पोखे ।

कांग्रेसले मधेसीलाई मौका नदिएको कुरालाई नेता आनन्द ढुंगाना अस्विकार गर्छन ।  २००७ सालमा राणा, राजा र कांग्रेस सहितको मोहनशमशेरको नेतृत्वमा बनेको अन्तरिम सरकारमा पार्टीले भद्रकाली मिश्रलाई यातायात मन्त्री बनाउनुदेखि गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा मधेसकै रामवरण यादवलाई चुन्नुले मधेसीलाई पार्टीले विश्वास गर्दैन भन्ने कुराको खण्डन हो ढुंगाना भन्छन् ।

पार्टीको स्थापनाको सुरुवाती कालमा महेन्द्रनारायण निधि, परशुनारायण चौधरी, रामनारायण मिश्र, भद्रकाली मिश्र, देवनाथ यादव, सुर्यनाथ यादव, बेनीमाधव सिंह लगायतका नेताहरुको योगदानलाई सम्झन्छन ढुंगाना । कांग्रेसको अभियानमा लागेर जनकपुरमा राजा महेन्द्रमाथि बम हानेर दुर्गानन्द झा पार्टीका लागि फाँसीमै चढेका छन् ।

'कांग्रेसको संगठनको मूल आधार क्षेत्र नै मधेस हो,' ढुंगानले भने 'पार्टी जब जब मधेसमा बलियो हुन्छ सत्ता पाउँछ । मधेसमा कमजोर भएका बेला पार्टी हार्छ । पार्टीमा मधेसको ठूलो लगानी छ ।'
डा. लाभ कांग्रेसले मधेसलाई बुझ्न नखोज्दा नै पार्टी भित्र असन्तुष्टिको स्वर उठेर सुरुमा तराई कांग्रेस, नेपाल सदभावना पार्टीदेखि अहिलेका कतिपय मधेसी दलको जन्म भएको बताउँछन् । 'कांग्रेसले आफूलाई समावेशी देखाउन एकाध व्यक्तिलाई चुनेर राख्नु बाहेक वास्तविक समावेशी चरित्र कहिल्यै स्विकार्न सकेन,' लाभले भने 'पार्टीको आन्तिरिक जीवन र सत्तामा सहभागिताका बखतपनि त्यस्तै देखियो ।'

मधेसमा कांग्रेस कमजोर देखिनु वा पार्टीप्रति मधेसमा असन्तुष्टि बढ्नुमा पार्टीका पूराना नेता रामहरि जोशी नेतृत्व पंक्तिको अदुरदर्शिता र संकिर्ण सोंचाइलाई दोष दिन्छन् । 'वीपीले तराईलाई ठूलो शक्ति देखेको र बुझेका थिए । उनको दुरदर्शी हेराई थियो,' जोशी भन्छन 'वीपीले भन्थे मधेसीमा देखिने राष्ट्रियता बहुतै कममा देख्छु ।' वीपी पछाडिका नेताहरुमा दुरदर्शीताको अभाव रहेको भन्दै जोशी अहिले पहिलो पुस्ताका नेताहरुको निधनपछि पार्टीमा मधेस र मधेसीलाई बुझ्ने समस्या झन थपिएको बताए ।   

कांग्रेसको राजनीतिलाई मधेससँग जोडेर हेर्दा शेख इद्रिस, महन्थ ठाकुर, विजय गच्छदार, रामवरण यादव र जयप्रकाश गुप्ता सम्मको नाम आउँछ । इद्रिसको निधन, ठाकुर, गच्छदार र गुप्ताको पार्टीबाट बर्हिगमन र राष्ट्रपति भएपछि सक्रिय राजनीतिक जीवनबाट यादवको अवकाशले पनि पार्टीमा मधेसी नेतृत्वको अभाव देखिएको हो । '०४६ साल पछाडि राष्ट्रिय जीवनमा चिनिन सफल मधेसी नेताहरु आज हामीसँग हुनुहुन्न,' ढुंगाना भन्छन् 'ठाकुर अहिले पार्टीमा रहिरहेका भए सभापतिको दावेदार हुन्थे ।' ठाकुर पार्टीको दशौं महाधिवेशनपछि नै पार्टीको कोषाध्यक्ष थिए ।

मधेस आन्दोलनका समयमा कांग्रेस वा अन्य राष्ट्रिय पार्टीमा आवद्ध जिल्ला नेताहरुले पार्टी समावेशी चरित्रको नभएको भन्दै बिरोधीबाट चर्को आरोपको सामना खेप्नु परेको हुन्छ । पछिल्लो मधेस आन्दोलनमा तराईका जिल्ला नेता र कार्यकर्ताको भावना बुझेर फर्किएका कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माको टोलीले शीर्ष नेतृत्वलाई बुझाएको ज्ञापनमा पार्टीको संरचनालाई समानुपातिक समावशी चरित्रमा ढाल्नुपर्ने सुझाव नै दिएका छन् ।

आफूसँगैका वा जुनियरहरु मधेसवादी दलका अध्यक्ष वा केन्द्रीय पदाधिकारी साथै मन्त्री भइरहँदा कांग्रेसमा टिकेका मधेसी नेताहरू अगाडि बढ्ने मौकाबट बञ्चित छन् । 'पार्टीको नेतृत्वमा जति संख्यामा मधेसीको प्रतिनिधित्व बढ्नुपर्ने हो, त्यो अनुपातमा नभएकै हो,' ढुंगाना भन्छन 'पार्टी भित्र खुट्टा तान्ने प्रवृतिले पनि पार्टीमा लगानी भएकाहरुले पनि स्थान पाएका छैनन् ।'

०५६ सालमा सांसद निर्वाचित र ०५८ को शेरबहादुर देउवा सरकारमा कानुन सहायक मन्त्री रहिसकेका नागेन्द्रकुमार राय यसपटक पार्टीमा सर्लाहीको सभापति निर्वाचित भएका छन् । 'लोभ लालचमा परेको भए मपनि कुनै मधेसवादी दलको ठूलो नेता भइसक्थे,' राय भन्छन 'म भन्दा जुनियर मानिस मधेसवादी पार्टी मार्फत ठूलो पदमा पुगेका बेला म बल्ल जिल्ला सभापति भएको छु । तर, हरेस खाएको छैन । कुनै खिन्नता छैन ।' पार्टीमा धैर्यता, लगनशिलता र विश्वसनियता चहिने भन्दै उनले नेताले नगरेपनि समय आएपछि कार्यकर्ताबाटै आफू जस्ताको मूल्यांकन हुने विश्वास व्यक्त गर्छन ।

पार्टीले मधेसलाई हेर्ने दृष्टिकोण फराकिलो नबनाउँदा आफूहरुले उठाउनपर्ने मुद्दा मधेसी दलले लगेको भन्दै महाधिवेशनमा पार्टीको आन्तरिक र राष्ट्रिय जीवन समावेशी चरित्रको हुनुपर्ने, मधेसका सवालहरुमा पार्टीले ठोस धारणा बनाउनुपर्ने लगायतका सवालहरु मधेसबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले बलियो गरी उठाउने तयारी गरेका छन् ।

'०६३ को मधेस आन्दोलनपछि पार्टीमा मधेसका ठूला नेताहरुको बहिर्गमनको पहिरो नै गयो,' मधेसका एक नेताले भने 'अब पनि नेतृत्व पंक्तिको सोंचमा सुधार नआए  कार्यकर्तास्तरमा पहिरो जाने ठूलो खतरा र सम्भावना छ ।'
मधेसबाट पार्टीमा रहेका प्रभावशाली नेता बिमलेन्द्र निधि कांग्रेस जेल जाने र आन्दोलन गर्नेहरुको ठूलो संख्या र सबै उमेर समूहका नेताहरू रहेको पार्टी भएकाले पनि एकैचोटी मधेसी, दलित वा जनजातिका नाममा टिपेर नेतृत्वमा ल्याउन नसकिने बताउँछन् । पार्टीले विगतमै कणर्ाली, दलित, महिला, जनजाति र मधेसी-कदमजम) को सिद्धान्त लागू गरेको भन्दै समावेशी हुन नसकेको आरोपलाई अस्विकार गर्छन ।

'जति मधेसी जनता नेपाली कांग्रेसमा सहभागी हुन्छन् त्यसै अनुसार प्रतिनिधित्व बढै जाने कुरा हो ।  त्यसभन्दा अर्को उयाय छैन,' निधिले भने 'मधेसी, दलित, जनजाति छु त्यसकारणले मात्र पार्टीको उच्च तहमा स्थान देउ भन्न मिल्दैन । आरक्षणको जहाँ प्रबन्ध हुनुपर्ने हो त्यहाँ त्यसको व्यवस्थापन गरिएको छ । तर, राष्ट्रिय राजनीतिको शीर्ष तहमा आउनका लागि त्यही रुपको लगानी चाहिन्छ ।'

५० को दशक अगाडि पार्टीको महामन्त्रीमा महेन्द्रनारायण निधि र परशुनारायण चौधरी भएका छन् भने ५० पछाडि पार्टीको नेतृत्व पंक्तिमा महन्थ ठाकुर कोषाध्यक्ष, त्यसपछि रामवरण र बिमलेन्द्र केही समय महामन्त्री समेत भएका छन् । अहिले चित्रलेखा यादव कोषाध्यक्ष छिन् ।
'वीपी कोइरालाले मलाई नेविसंघको सभापति बनाउनु भयो । त्यो एक चरणको सहयोग र अवसरले आज म मधेसको भएरपनि राष्ट्रिय राजनीतिमा आएको छु,' निधि भन्छन् 'नेताहरुले मधेसी युवालाई त्यस्तो अवसर दिनुपर्दछ । तर, त्यो एकहोरो हुन्न । अवसर पाएकाले पनि त्यसलाई सदुपयोग गर्न सक्नुपर्दछ ।'

'कांग्रेसमा मधेसीको ठूलो लगानी भएरपनि अहिले टाढा टाढासम्म पार्टी सभापति र प्रधानमन्त्रीका रुपमा कोही मधेसी नेतृत्वलाई अगाडि ल्याइएको छैन,' प्राध्यापक लाभ भन्छन 'पार्टीभित्र पनि नेताहरुले आवाज उठाउनुपर्छ ।' महाधिवेशनको पूर्व सन्ध्यमा डा.लाभ कांग्रेसलाई समानुपातिक समावशी चरित्रलाई वैधानिक र व्यावहारिक रुपमा अंगालेर उदाहरण पेस गर्न सुझाव दिन्छन् ।  

 

प्रकाशित : फाल्गुन २०, २०७२ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्

नोबलको सहरमा नेपाली सान

कान्तिपुर संवाददाता

काठमाडौं — साहित्य र अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने संसारकै महान् व्यक्तित्वहरूलाई नोबल पुरस्कार वितरण गरिने स्विडेनको राजधानीमा पहिलोपटक नेपाली साहित्य, संस्कृति र रंगमञ्च एकसाथ प्रबद्र्धन भएको छ ।

विभिन्न ख्यातिप्राप्त नेपाली स्रष्टाहरूको तस्बिर प्रदर्शनी, नाटक मञ्चनदेखि कविता वाचनसमेतलाई समेटी नेपाल मण्डप (नेपाल कल्चरल एसोसिएसन अफ स्विडेन) ले स्टकहोल्म नेपाली कविता महोत्सव गरेको हो । नेपाल मण्डपका अध्यक्ष तथा रंगकर्मी सुवास अधिकारीका अनुसार महोत्सव सोचेभन्दा उत्साहबद्र्धक माहोलबीच सम्पन्न भएको थियो । 


रोचक के भने, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले काठमाडौंबाट स्काइपमार्फत् प्रत्यक्ष कविता र सम्बोधन प्रस्तुत गरेर महोत्सवको उद्घाटन गरिएको थियो । ‘यो निकै रोचक र खुसीको कुरा हो कि आधुनिक प्रविधिको ढाड चढेर नेपाली साहित्य र संस्कृतिले विश्वयात्रा गरिरहेको छ,’ महोत्सव उद्घाटनपछि दिनेशले कान्तिपुरसँग खुसी साटे, ‘र, यसलाई जोड्ने र संयोजन गर्ने काम नेपाली डायस्पोराले गरिरहेको छ ।’ संसारभर फैलिन अहिले प्रविधिले निकै सहज बनाएको दाबी गर्दै यस्तै गतिविधिले नेपाली पहिचान संसारभर प्रबद्र्धन हुन सक्ने उनले दाबी गरे ।

स्काइपमार्फत् उद्घाटनलगत्तै पर्दामा देखिएका थिए कुमार नगरकोटी, श्यामल, विप्लप प्रतीक, विमला तुम्खेवा, मनु मञ्जिल, हेमन यात्री, सुदीप पाख्रिन, फूलमान वल, देवान किराँती, प्रदीप मेन्याङ्बो, राजेश विद्रोही, सन्तोष थेवे लगायतका कविहरू । नेपालमै भिडियो रेकर्ड गरेर ती कविता स्विडेन पुगेका थिए । अध्यक्ष सुवासका अनुसार यो सिलसिलालाई, अमेरिकाबाट दीपा राई पुन, इजरायलबाट भगवती बस्नेत, साउदी अरबबाट महेश श्रेष्ठ, नाइजेरियाबाट हिक्मत बस्नेत, बेलायतबाट गोपी सापकोटा र कृष्ण बजगाईंले जोडे । उनीहरूले पनि भिडियोमार्फत् नै कविता सुनाएका थिए । स्विडेनका नेपाली समुदायको प्रतिनिधित्व गर्दै भने शैलेश उपाध्याय, शिवकुमार चौंलागाईं, ब्रिजेश मैनाली र हेम रोकायले प्रत्यक्ष कविता सुनाए ।

‘महोत्सवको अर्को रोचक पक्ष नाटक थियो,’ सुवासले भने । नेपाली रंगमञ्चमा डेढ दशकदेखि क्रियाशील रहेर हाल स्विडेन बस्दै आएका सुवास स्वयंले कवि विप्लप ढकालको ‘म अज्ञात सहिद आएको छु’ कवितालाई नाट्य रूपमा मञ्चनमा उतारेका हुन् । समसामयिक नेपाली राजनीति र समाजलाई उतारिएको कवितालाई काव्य नाटकको रूपमा प्रस्तुत गर्दा स्विडेनका नेपाली मात्रै नभई विदेशी दर्शकका लागि पनि रोचक बनेको निर्देशक सुवासले दाबी गरे । नाटकमा भने उचित सिग्देल, ज्ञानु भण्डारी, दीप शर्मा, सोमा थापा अधिकारी, केशव प्याकुरेल, सुजाता चिमोरिया संग्रौला लगायतले अभिनय गरेका थिए । महोत्सवको नेपाल संयोजन शिल्पी थिएटरका घिमिरे युवराज र धरानका रंगकर्मी नवीन मेन्याङ्बोले गरेका थिए । 

प्रकाशित : फाल्गुन २०, २०७२ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×