१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

छायाँ चित्रमा 'बुद्ध र भिखारी'

पपेट्रीकै शैली पछ्याउँदा नेपालका कठपुतलीहरूको प्रयोग गरिएको भए यो नाटक अझ बलियो देखिने थियो कि ? जे होस्, पपेटको माध्यबाट एउटा सुन्दर संसारको परिकल्पना गर्दै भनिएको 'बुद्ध र भिखारी' रंगप्रेमीहरूका लागि नौलो स्वाद हुनसक्छ ।
रीना मोक्तान

काठमाडौँ — स्टेजको बीचमा छ, सेतो पर्दा । निस्पट्ट अँध्यारो । पर्दामा प्रकाश परेसँगै दर्शकका आँखा र कान चनाखा बन्छन् । पर्दामा मुसाहरु जो दगुर्दैछन् । यी मुसा चानचुने होइनन्, बोल्न सक्नेहरु हुन् । बोल्ने मात्रै कहाँ ? कथा सुनाउन पनि सक्छन् । आफ्नो भावना व्यक्त गर्छन् ।

छायाँ चित्रमा 'बुद्ध र भिखारी'

यहाँ बादल होस् या कछुवा, मान्छे होस् या मुसा सबै बोल्न सक्छन् । पपेट्री थिएटरको शैली यही कारणले त रोचक बन्ने हो । यो शैलीमा पपेट (कठपुतली)को माध्यमबाट कथा भनिन्छ । रंगमञ्चको यो परम्परागत शैलीमा पपेट नै कथाका पात्र । त्यसलाई चलाउने व्यक्ति (पपेटियर)ले पपेटलाई जीवन्त र विश्वसनीय बनाउँछन् । मण्डलामा सुरु भएको नाटक 'बुद्ध र भिखारी' पपेटियरको मिहिनेत मिसिएको प्रस्तुति, प्रप्सको कलात्मक प्रयोग र सुन्दर कथाले जीवन्त बनेको छ ।

पपेट भन्नेबित्तिकै बालबालिका लक्षित कथा ? भन्ने लाग्ला । तर, निर्देशक अनिल सुब्बाले नाटकमा यस्तो संसार निर्माण गरिदिन्छन् जहाँ बालक होस् या वृद्धा सबैको ध्यान तानिन्छ । स्याडो पपेट्रीको शैलीमा भनिएको कथाले सबै उमेर समूहलाई बाँधेर राख्छ । प्रकाशमाथिको नियन्त्रण, पपेट सञ्चालन र कोरसहरूले गर्ने कथा वाचनले 'बुद्ध र भिखारी'ले अभ्यास गरेको यो शैलीलाई मजबुत बनाइदिन्छ । प्रप्सहरूको कलात्मक प्रयोग अनि पूर्वेली लवजको संवादले मनोरञ्जनात्मक पनि बनेको छ । कोरसले हरेक निर्जीव कुरामा भरिदिएको प्राणले दर्शकलाई नाटक हेरिरहँदा पपेट सो हेरेझैं कतै लाग्दैन । 'बुद्ध र भिखारी'मा एउटा दृश्य छ, जहाँ भिखारीले खुट्टा मज्जाले तन्काउँछन् । त्यतिबेला भिखारीले गरेको हाउभाउले उनी पपेटझैं लाग्दैनन् । लोककथामा आधारित 'बुद्ध र भिखारी'मा एउटा यस्तो भिखारीको यात्रा देखाइएको छ, जो बुद्ध भेट्न हिँडेको छ ।

एकदिन भिखारीले आफूले जम्मा गरेको चामल मुसाले चोर्दै गरेको भेट्याउँछ । भिखारीले मुसालाई झपार्छ अनि धनी मानिसको घरमा चोरेर खान सुझाउँछ । तर, भिखारीको कुरा सुन्नेबित्तिकै मुसाले भन्छ,'हेर् तेरो भाग्यमा जे छ नि तैंले त्यही खान पाउँछस् । र, मेरो भाग्यमा जे छ मैले त्यही खान पाउने हो ।' आफ्नो कुरा विश्वास नलागे बुद्धलाई सोध्न भिखारीलाई उल्टै सल्लाह दिन्छ । त्यसपछि भिखारी बुद्ध भेट्ने यात्रामा अगाडि बढ्छ । अनि पृष्ठभूमिमा गुञ्जन्छ:

म त हेरिरहे छु, मैले टेक्ने बाटो

कति आफ्नो भाग हो, कति अरुको

रित्तिएर नि फेरि भरिने हो…

बुद्धबाट भिखारीले आफ्नो प्रश्नको उत्तर पाउलान् ? नाटक त्यो उत्तर पाउन भिखारीले गर्ने यात्रा देखाइएको छ । भिखारीको यो यात्रालाई पर्दामा रोचक ढंगमा प्रस्तुत गरिएको छ । जब-जब दिन ढल्दै जान्छ, घाम पर्दाको वल्लो छेउदेखि पल्लोछेउ सर्दै जान्छ । पपेटलाई हिँड्दै गरेको देखाउन जंगल, घरलगायतका प्रप्सलाई जसरी चलायमान बनाइन्छ त्यसले यो शैलीमा टिमले गरेको मिहिनेत झल्किन्छ । रातको समयलाई देखाउन प्रयोग गरिएको प्रप्स र त्यसको प्रस्तुति शैली कलात्मक देखिन्छ । कथा वाचनमा प्रप्सको महत्त्व र भूमिका कस्तो हुन्छ ? रातको यो एउटै दृश्यले बोल्छ । नाटक झट्ट हेर्दा निस्वार्थ भावले सहयोग गर्दा मिल्ने शान्ती र लाभका विषयमा छ । तर, भिखारीको यात्रालाई हेर्ने हो बुद्धको ज्ञानसँग सम्बन्धित देखिन्छ ।

भिखारी बुद्धभन्दा अगाडि तीन कुरासँग ठोक्किन्छन् । सुरुमा भेट्छ, जादुगर । जादुगर स्वर्ग जान चाहन्छन् । तर, कसरी जाने ? जादुगरले त्यो प्रश्न पनि बुद्धलाई सोधिदिन भिखारीलाई आग्रह गर्छ । त्यसपछि भेट्छ, यस्तो दम्पती जसको छोरी बोल्न नसक्ने छ । उनी कसरी बोल्न सक्छिन् ? त्यो प्रश्नको जवाफ सोधिदिन पनि भिखारीलाई नै भनिन्छ । त्यसपछि कछुवासँग भिखारीको भेट हुन्छ । कछुवालाई उड्नु छ ? र उड्न सक्ने उपाय पनि बुद्धबाट पाउन चाहन्छ । भिखारीले भेटेको यी तीन पात्र र त्यसमा पाउने जवाफ बुद्धको ज्ञानमा आधारित देखिन्छ । त्यसैले, ‍झट्ट हेर्दा सरल र मनोरञ्जनात्मक लागे पनि नाटक बुद्धको गहिरो ज्ञानमा आधारित छ । त्यतिमात्रै नभई मुसामार्फत आदिवासी जनजातिहरू आफ्नै भूमिबाट कसरी लखेटिए भन्ने खालका व्यंग्य पनि केही दृश्यमा मिसाइएको छ ।

चहकिलो प्रकाशलाई पृष्ठमूमिपारि बनेको सिल्वेट(कालो आकृति) दृश्यले मिहीन कुराहरूलाई प्रस्तुत मात्र होइन पपेटका भावनालाई व्यक्त गरिदिन्छ । पर्दामा देखिने सिल्वेटका सुन्दर आकृतिले दर्शकको मनै लोभ्याउँछ । पात्रको भावना बोलिदिने संगीतको प्रयोग नाटकको बलियो पक्ष हो । नाटकमा निर्देशक सुब्बाकै लेखन र संगीत संयोजनमा तयार भएका सुन्दर गीतहरूको प्रयोग छ । यी गीतहरुले नै कथालाई अझ माथि उठाइदिन्छ । कोरस बनेका कलाकारले पपेट सञ्चालनदेखि संवादमा सन्तुलन बनाएका छन् । चेतन आङथुपोको परिकल्पनामा तयार भएको यो नाटकमा कोरसको भूमिकामा बेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, सञ्जीव योगी, मोहन राई, नवीनचन्द्र अर्याल, प्रवीन मगर, सुनिल तामाङ, सौजन सेनेहाङलगायतले गरेको काम प्रशंसनीय छन् ।

नयाँ शैलीको प्रयोग चुनौतीपूर्ण नै हुन्छ । अभिनयमा ‍अब्बल कलाकार अनिल सुब्बाले यो चुनौती मोलेर 'बुद्ध र भिखारी'लाई बेजोड प्रस्तुत गरेका छन् । खासमा माध्यम जस्तो प्रयोग गरे पनि कथा वाचनले अर्थ राख्ने हो । पपेट्रीकै शैली पछ्याउँदा नेपालका कठपुतलीहरूको प्रयोग गरिएको भए यो नाटक अझ बलियो देखिने थियो कि ? जे होस्, पपेटको माध्यबाट एउटा सुन्दर संसारको परिकल्पना गर्दै भनिएको 'बुद्ध र भिखारी' रंगप्रेमीहरूका लागि नौलो स्वाद हुनसक्छ । 'लाइभ एक्सन'को यो जमानामा स्याडो पपेट्रीको रमाइलो अनुभव लिन मण्डला थिएटरमा मञ्चनरत नाटक 'बुद्ध र भिखारी' हेर्नुस् ।

प्रकाशित : जेष्ठ १८, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?