रङ भर्न प्रेरित गर्ने रागिनी

मेनेन्जाइटिसको समस्याले १९ वर्षको उमेरमै ज्यान गुमाएकी छोरी शिवाताको सम्झनामा कलाकार रागिनी उपाध्यायले आर्थिक अवस्था कमजोर भएका युवतीहरूलाई छात्रवृत्ति दिँदै आएकी छन्
मधु शाही

ललितपुर — ‘ऊ यहीं कतै छ, तिमीहरू माझ 
तिमीले कोरेका चित्रहरूमा
चित्रभित्र फैलिएका रङहरूमा
शिवाता यहीं छ,
मेरी छोरी तिम्रै प्रतिबिम्बमा छ’
केही गम्भीर भाव । हल्का आशा र अनुभूति बाँड्न रुचाउने चित्रकार हुन् रागिनी उपाध्याय । युवा पुस्तासँगै रमाउन चाहने उनी छिनमै हाँस्छिन्, अनि छिनमै भावुक हुन्छिन् । किशोरकिशोरीहरूमा असल चित्रकारको गुण पहिचान गर्न सक्ने उनले अल्पायुमै जीवन गुमाएकी छोरीको मुहार सम्झिन्छिन् ।

‘मैले एउटी छोरी गुमाएँ, बदलामा यति धेरै छोरीहरू पाएँ,’ उनी आफूले आफैंलाई सम्हाल्दै भन्छिन्, ‘उनीहरूले कोरेका चित्रमा छोरीले छाडेर गएका अपूरा सपना पूरा भएको देख्छु ।’

मेनेन्जाइटिसको समस्याले १९ वर्षको कलिलो उमेरमै ज्यान गुमाएकी छोरी शिवाताको सम्झनामा रागिनीले आर्थिक अवस्था कमजोर भएका युवतीहरूलाई कला शिक्षा प्रदान गर्न छात्रवृत्ति दिँदै आएकी छन् । शिवाता लभ फाउन्डेसन स्थापना गरी अहिलेसम्म २८ जना युवतीले पढिसकेका छन् । प्रत्येक वर्षझैं यो वर्ष पनि फाउन्डेसनबाट छात्रवृत्ति पाएका विद्यार्थीका चित्र प्रदर्शनमा राखिएको छ । उनीहरूलाई हौसला प्रदान गर्न ललितपुरको चाकुपाटस्थित एमक्युब ग्यालरीमा जारी प्रदर्शनीमा पाका चित्रकार जयकृष्ण अग्रवाल, एरिना ताम्राकार, एससी सुमनका सिर्जना पनि राखिएका छन् ।

भर्खरका छोरीहरू आशा र उत्साह बोकेर जब उनका छेउछाउ आउँछन्, चित्रकार रागिनी आँखा प्रेमले भरिन्छन् । उनी ती छोरीहरूमा आफूले अल्पायुमै गुमाउनुपरेकी छोरी शिवाता उपाध्यायको मुहार झलझली सम्झिन्छिन् । ‘भर्खरका नानीहरू देखे भने उसैलाई सम्झिन्छु,’ उनी भन्छिन्, ‘उसलाई भुलाउनु छैन । बरु ऊ जस्तै नानीहरूलाई हौसला दिन्छु ।’ उनकी छोरी पनि चित्रकार थिइन् । कला र कलाकारिताप्रति उनका थुप्रै युवा सपना थिए । जुन पूरा हुन समयले दिएन । तर, आमा रागिनी भने छोरीका अपूरा सपना पूरा गर्न थुप्रै छोरीहरूलाई साथ दिइरहेकी छन् । चित्रकला कोर्न चाहने निम्न आर्थिक अवस्था भएका युवाका सपनामा सकार पार्न सारथी बनेकी छन् ।

युवा अवस्थामा कसैको थोरै सहयोगले पनि कति ठूलो अर्थ राख्छ भन्ने कुरा उनले आफ्नै विगत स्मरण गर्छिन् । सन्, १९७९ मा रागिनीले पहिलो चित्रकला प्रदर्शन गर्ने अवसर पाएकी थिइन् । तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति लैङ्सिह वाङ्देलले उनको चित्र वीरेन्द्र आर्ट ग्यालरी (हाल ललितकला प्रज्ञा प्रतिष्ठान) मा उद्घाटन गरेका थिए । त्यतिबेला साहित्यकार बालकृष्ण सम र बीपी कोइराला उनका चित्र नियाल्न ग्यालरीसम्म आएका उनी सम्झिन्छिन् । उनका अनुसार बीपी कोइराला चाबहिलबाट पैदल हिँडेर चित्र हेर्न नक्साल पुगेको क्षण रागिनीका लागि ठूलो प्रोत्साहन बन्यो । ‘बीपीजस्तो कलाप्रेमी नेता अहिलेसम्म भेटेकी छैन,’ उनी भन्छिन्, ‘केही गुण केपी ओलीमा छ, नत्र भने सबै नेता सुक्खा लाग्छ । जसलाई कलाको स्वाद चाख्न आउँदैन ।’

बीपीले चित्र हेरेको दिन रागिनीमा बेग्लै उत्साह थपिएको बताउँछिन् । त्यस्तै उत्साह अहिले उनले छात्रवृत्ति दिएर कला पस्किएका युवतीमा देखिन्छ । शिवाता लभ फाउन्डेसनको छात्रवृत्तिले आफूले पुनर्जीवन पाएको बताउँछिन्, २३ वर्षीया अन्जली तामाङ । धादिङ घर भएकी उनी पारिवारिक स्थिति कमजोर हुँदा मानसिक विचलनमा परिन् । पढ्नका लागि आर्थिक अवस्था कमजोर थियो । चित्रकार बनेर नाम र दाम दुवै कमाउने उनको रहर अपूरै हुने अवस्था आइसकेको थियो । तर, रागिनीको सम्पर्कमा आएपछि भने उनले छात्रवृत्ति पाएर पढाइलाई निरन्तरता दिएको बताइन् । अहिले उनी ललितकला चौथो वर्षकी विद्यार्थी हुन् । ‘छात्रवृत्तिले पढाइ मात्रै होइन, पुनर्जीवन पाएकी छु,’ उनी भन्छिन् । चित्रकलामा आत्मनिर्भर बन्न सकिने प्रेरणा आफूले रागिनीबाटै पाएको बताउँछिन् उनी ।

त्यस्तै, चित्रकार बन्ने सपना बोकेर काठमाडौं आएकी रौतहतकी २९ वर्षीया रमवती चौधरीको कथा मन छुने छ । दुई छोराकी आमा । श्रीमान् बेरोजगार । अभावमा चित्रकार बन्नु भनेको असम्भव जस्तै थियो । रमवती एक वर्ष कलेज भर्ना त भइन्, तर आर्थिक अभावले गर्दा बीचैमा छोड्नुपर्ने अवस्था आयो । उनको इच्छा र अभावको संघर्ष देखेर रागिनीले छात्रवृत्ति दिइन् । चौथो वर्ष अध्ययनरत रमवती भन्छिन्, ‘अब त चित्र बेचेर नि पेट पाल्ने हिम्मत जुटाएकी छु ।’

ग्यालरीमा उनका दुई चित्र प्रदर्शनीमा छन् । जसमा ग्रामीण भेगको थारू संस्कृति केन्द्रित आकृति क्यानभासमा उतारेकी छन् । पोखराकी मधु अधिकारीको चित्रले सम्बन्धको महत्त्व दर्शाउँछ । ‘खरानी मुकुट’ शीर्षकको चित्रमा उनले दुवै मुहार धागोले सिलाएर बन्द गरिदिएकी छन् । सम्बन्धमा जति मौन हुन सक्यो उति दीर्घायु हुने भाव चित्रमा देखाउन खोजिएको मधुले बताइन् । ‘कतिपय ठाउँमा नबोलेरै सम्बन्ध सुध्रिन्छ,’ उनी भन्छिन्, ‘मेरो चित्रले सम्बन्ध सुधारमा जोड दिन्छ ।’ जब विद्यार्थीले चित्रमार्फत आफ्ना भावना प्रदर्शन गर्न सक्षम देख्छिन्, तब छात्रवृत्तिको सही सदुपयोग भएको महसुस गर्छिन् रागिनी । प्रत्येक वर्ष अझै अर्को वर्षका लागि पाँच जना कला पढ्न रुचि राख्ने विद्यार्थी फाउन्डेसनको सम्पर्कमा आइसकेको उनले बताइन् । ‘अर्को वर्ष छात्रवृत्तिसँगै कला पुरस्कार विधा पनि थप्ने सोचेकी छु,’ रागिनी बताउँछिन् ।

प्रकाशित : वैशाख ११, २०८० ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

पहाडलाई पहाडकै भर

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूबाट हिमाचल प्रदेशको पहाडी सहर सिमलामा श्रम गर्न पुगेका नेपालीले गाउँघरमा पठाउँछन् दिनको करिब एक करोड रुपैयाँ
राजेश मिश्र

सिमला, हिमाचल — नेपालको पहाडी क्षेत्रकै जस्तो मौसम र भौगोलिक बनोट छ– भारतको उत्तर–पश्चिमको हिमाचल प्रदेशको । प्राकृतिक सुन्दरतामा जस्तो समानता छ, भौगोलिक विकटता पनि उस्तै छ । 

तर, रोजगारी तथा अवसर सिर्जना गर्ने मामिलामा नेपालको पहाडभन्दा हिमाचल धेरै अगाडि छ । यहाँका केही प्रमुख स्थानहरू सिमला, मनाली, कुलु, किनोर, रामपुर, रुरु, कनाघाट र सोलनले लाखौं नेपालीलाई रोजगारी दिएका छन् । कृषि, होटल, निर्माण आदि सबै पेसा व्यवसायमा नेपालीको संलग्नता छ । यस प्रदेशबाट दिनको एक करोड भारतीय रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपालका पहाडी जिल्लाहरूमा पुग्छ ।

हिमाचल प्रदेशको राजधानी हो, सिमला । ‘पहाडको रानी’ भनेर चिनिने यो ठाउँ भारतमा अंग्रेजहरूको शासनका समयमा ग्रीष्मकालीन राजधानी पनि थियो । प्रदेशको राजधानी भने पनि सानो पहाडी सहर हो । यहाँबाट मात्रै दिनकै ५० देखि ६० लाख भारु रेमिट्यान्स नेपाल जान्छ । सिमलाको सब्जीमण्डीमा रहेको प्रभु मनी ट्रान्सफरबाट मात्रै प्रतिदिन सरदर १० लाख हाराहारीमा रेमिट्यान्स जान्छ । आफूजस्तै आधा दर्जन मनी ट्रान्सफरका एजेन्ट सिमलामा रहेको प्रभु मनी ट्रान्सफरका प्रतिनिधि युवक चलाउने बताउँछन् । ‘ती सबैको जोड्दा दिनमै आधा करोडभन्दा बढी भारतीय रुपैयाँ नेपाल जान्छ,’ उनले भने, ‘स्याउ टिप्ने सिजन र नेपालमा चाडबाड पर्दा यस्तो रकम बढ्छ ।’

हिमाचल प्रदेशबाट सबैभन्दा बढी पैसा नेपाल पठाउनेमा आईएमई रेमिट्यान्स कम्पनी मानिन्छ । उक्त कम्पनीबाट मात्रै वार्षिक २ अर्ब भारु रेमिट्यान्स नेपाल जाने रहेछ । हिमाचलका विभिन्न स्थानबाट ‘पिक सिजन’ मा महिनाको १५ देखि १७ हजार र सामान्य समयमा ७ देखि ८ हजार नेपाली नागरिकले आफ्नो कम्पनीका माध्यमबाट नेपालमा पैसा पठाउने गरेको कम्पनीका भारत सेल्स प्रमुख हिमांशु लेखक बताउँछन् । प्रतिमहिना १५ देखि २० करोड भारु आफ्नो कम्पनीका माध्यमबाट रेमिट्यान्स नेपाल पठाउने गरेको उनले जनाए । यात्रा गर्दा २५ हजार रुपैयाँभन्दा बढी भारु नगद बोकेर हिड्न पाइदैन । धेरैपटक घर जाँदा सीमामा पैसा बढी बोकेकाले सुरक्षाकर्मीको केरकारमा परेकाहरूले अहिले नगद बोक्दैनन्, मनी ट्रान्सफरहरूबाट घरमा पठाउँछन् । नगद धेरै बोक्दा चोरी हुने र लुटिने डर पनि उत्तिकै हुन्छ । त्यसैले काम गरेकै ठाउँबाट पठाउन पाउँदा नेपाली कामदारलाई पनि सजिलो भएको छ ।

आईएमईपछि प्रभु मनी ट्रान्सफरले मासिक १० देखि १५ करोड भारु रेमिट्यान्स पठाउने गरेको छ । हिमाचलबाट मार्चमा साढे १३ करोड र फेब्रुअरीमा १० करोड भारु रेमिट्यान्स गएको प्रभु मनी ट्रान्सफरका भारत प्रमुख सुनील मिश्रले बताए । प्रभुमार्फत औसतमा वार्षिक डेढ अर्ब हाराहारी भारु नेपाल जाने गरेको उनको भनाइ छ ।

आईएमई र प्रभुबाहेक पञ्जाव नेसनल बैंक, एसबीआई, ग्लोबल बैंकलगायत अन्य बैंकिङ च्यानलबाट पनि रेमिट्यान्सको पैसा नेपाल जान्छ । आईएमई र प्रभु दुईबाट वार्षिक साढे ३ अर्ब र बाँकी सबैबाट कम्तीमा डेढ अर्ब मान्दा पनि वार्षिक रूपमा ५ अर्ब भारु हिमाचलबाट नेपाल जाने गरेको आईएमईका लेखक बताउँछन् । घर फर्किंदा साथमै लिएर, साथीभाइमार्फत तथा अन्य उपायबाट पनि यही अनुपातमा रेमिट्यान्स नेपाल जाने गरेको पनि जनाइएको छ । सिमलामा सल्यानबाट आएका नेपाली धेरै छन् । त्यसपछि दैलेख, रुकुम, रोल्पा र दाङबाट आइपुगेकालाई पनि यहाँ भेटिन्छन् । सिमलामा स्याउ खेती हुन्छ । टिप्ने बेलामा बगानहरूमा धेरै कामदारको माग हुन्छ । त्यसैले मौसमी रोजगारीका लागि कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट पुग्नेको लर्को लाग्छ । उनीहरूले काम गर्दा पाउने पैसा पनि सोहीअनुसार घर पठाउने गरेका छन् । मनी ट्रान्सफरहरूका अनुसार सबैभन्दा बढी पैसा सल्यान जिल्लामा जाने गरेको छ । त्यसपछि सुदूरपश्चिमका जिल्लामा पैसा पठाउनेहरू छन् । हिमाचलका विभिन्न स्थानमा पुगेका नेपालीमध्ये अधिकांश मौसमी रोजगारीमा हुन्छन् ।

सिमलाको बजार क्षेत्रदेखि डाँडाकाँडा नेपाली भेटिन्छन् । खेतीपाती, सामान ढुवानी, निर्माण क्षेत्र, रेस्टुराँ आदि क्षेत्रमा नेपाली भेटिने गरेका छन् । हिमाचलकै मनालीपछि सबैभन्दा बढी नेपाली यहाँ छन् । यहाँको पर्यटन र कृषि क्षेत्र, सडक, कुलो, भवन निर्माण, होटल र बजार क्षेत्रमा श्रम गर्ने नेपाली छन् । स्थानीयका स्याउ बगान वा तरकारी फार्म सबैतिर नेपाली भेटिने गरेका छन् ।

नियमित यतै बस्ने र सिजनमा आउजाउ गर्नेलाई समेत जोड्दा हिमाचलमा कम्तीमा ५ लाख नेपालीले रोजगारी पाएको अखिल भारत नेपाली एकता मञ्चका हिमाचल इन्चार्ज तीर्थ भण्डारीको भनाइ छ । परिवारको आर्थिक स्थितिका कारण बीचमै पढाइ छाडेर मजदुरीका लागि आएकाहरू पनि यहाँ धेरै छन् । किशोरहरू परिवारका ठुला मान्छेको साथ लागेर आइपुग्ने गरेका छन् । एकपटक आएर राम्रो काम पाएकाहरूले गाउँका अरुलाई पनि समूह बनाएर ल्याउने गरेका छन् ।

श्रमिकहरूबाहेक पेसा व्यवसाय र स्वरोजगारबाट जमेका नेपाली पनि यहाँ प्रशस्त भेटिन्छन् । सिमलाको बसपार्कमै डोल्पाको मुड्केचुलाका गणेश बुढाको मोबाइल पसल छ । उनी मोबाइल र यससँग सम्बद्ध सामग्री बेच्ने र मर्मतको काम गर्छन् । दाङ तुलसीपुरका गोपाल पोखरेलले चाइनिज फास्ट फुड पसल खोलेका छन् ।

निर्माण क्षेत्रमा काम गर्नेहरू पनि यहाँ छन् । ‘पेटी कन्ट्र्याक्टर’ मा पनि प्रशस्तै नेपाली जमेका छन् । सल्यानको बागचौर–७ का जोखीराम केसी राम्रै ठेकेदारका रूपमा चिनिन्छन् । सन् २००० तिर यहाँ आएका उनले सुरुमा कुल्ली र मजदुरीको काम गरेका थिए । स्कुलको अनुभव छैन उनलाई । तर, यति बेला चार करोड भारुको निर्माण ठेक्का उनले पाएका छन् । उनले निर्माण गरिरहेको सडक योजनामा ४० भन्दा बढी नेपाली मजदुरले काम पाएका छन् । ‘सिमलामा मैले धेरै संघर्ष गरेको छु, गिट्टी, बालुवा बोक्नेदेखि सब्जीमण्डीमा कुल्लीको कामसमेत गरेको छु,’ केसीले भने, ‘त्यही संघर्षबाट सिक्दै बढ्दै आएको हुँ ।’ सन् २००८ बाट ठेक्कापट्टामा लागेका उनले सिमलाबाट तुलसीपुर र दिल्लीबाट तुलसीपुर चल्ने यात्रु बसमा समेत लगानी गरेका छन् ।

सल्यानकै शारदा–७ का भोला केसीको परिचय पनि ठेकेदारकै बनेको छ । उनी पनि लेबर र मिस्त्रीको काम गर्दागर्दै आफैंले कामको जिम्मा लिएर अघि बढेका हुन् । र, यसबाट आफ्नो आर्थिक हैसियत सुधार्न सफल भएका छन् ।

परदेसमा आइपुगेका नेपालीबीच यहाँ एकता र परस्पर सहयोग देखिन्छ । धेरैले श्रमिक चाहिएको ठाउँ थाहा पाउँदा आफूजसरी नै काम खोजीरहेकाहरूलाई खबर गर्छन् । काम गरेर भएको कमाइको बचत घर पठाउन सिकाउँछन् ।

प्रकाशित : वैशाख ११, २०८० ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×