ललितकलाको नयाँ नेतृत्वद्वारा ३६ बुँदे कार्ययोजना सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वले नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । प्राथमिकताका आधारमा अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रणनीति बनाउँदै प्रतिष्ठानले ३६ बुँदे रणनीति सार्वजनिक गरेको हो ।

राष्ट्रिय ललितकला प्रदर्शनी - २०८० सहित, देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण, सगरमाथा-काठमाडौं कन्टेम्पोररी आर्टसमिट, नेपाली कला र दिग्गज कलाकारको वृत्तचित्र निर्माण, हस्तकला-लोककला परम्परागत कला महोत्सनदेखि कलाकार कल्याण कोषलगायतका कार्ययोजना सार्वजनिक गरिएको हो ।

संस्थाले नेपाली कला प्रवर्द्धन, संवर्द्धन, संरक्षण तथा विकासका काम गर्ने लक्ष्य लिएको नवनियुक्त कुलपति नारदमणि हार्तम्छालीले बताएका छन् ।

प्रकाशित : चैत्र १२, २०७९ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्

पीडितलाई न्याय नदिई शान्ति प्रक्रिया टुंग्याए अन्तर्राष्ट्रिय समुदायले स्वीकार्दैन : गिरी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले शान्ति प्रक्रियाका बाँकी काम द्वन्द्वकालका घटनामा पीडित भएकालाई न्याय दिएर मात्रै टुंगो लगाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले स्वीकार्ने गरी मात्रै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने उनको भनाइ थियो । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले भने, 'पीडितहरूलाई न्याय दिएर मात्रै शान्तिप्रक्रिया टुंग्याउनुपर्छ । होइन भने अन्तर्राष्ट्रिय समुदायले त्यो कुरा स्वीकार्न सक्दैन । अन्तर्राष्ट्रिय मानवअधिकार कानुनविपरीत हुन जान्छ ।'

गिरीले द्वन्द्वकालका पीडितको पक्षमा अहिले पनि बोल्ने अवस्था नरहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने धारणा राखे । 'पीडितको पक्षमा कोही बोल्यो भने जिब्रो तान्ने हो कि भनेको जस्तो आजको दिनमा पनि परिस्थिति छ । यो कुरा कदापी हुन सक्दैन,' उनले पीडितलाई न्याय दिएर शान्ति प्रक्रिया टुंग्याउन एमालेले सहयोग गर्ने बताए ।

विधेयक सदनमा ल्याउने क्रममा प्रतिपक्षीसँग छलफल नगरिएको पनि प्रमुख सचेतक गिरीले बताए । उनले भने, 'शान्ति प्रक्रियासँग जोडिएको यति महत्वपूर्ण विषयमा आज प्रमुख प्रतिपक्षी दलसँग न्यूनतम सल्लाह, सहमति नगरी जसरी विधेयक पेस गरिँदैछ यसले के देखिँदैछ भने यसले प्रतिपक्षी दललाई बाइपास गरेर भएपनि शान्ति प्रक्रिया टुंग्याउन सक्छौं । त्यो क्षमता हामी राख्छौं भनेर त्यो आडम्बर देखिएको हो कि भन्ने अनुभूति गरिरहेका छौं । यस पक्षमा सत्तापक्षले गम्भीरताका साथ बलिनुपर्छ ।'

द्वन्द्वको नेतृत्व गरेका व्यक्तित्वहरू पटकपटक सत्तामा पुग्दा पनि शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्न नसक्नु र त्यसप्रति संवेदनशिलता नदेखिनु गम्भीर विषय भएको उनको भनाइ थियो ।

प्रकाशित : चैत्र १२, २०७९ २०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×