कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ढुंगामा सौन्दर्य भर्ने दाजुभाइ

अनिश भट्टराई

गण्डकी — ढुंगा अनेक भावना बोकेर बसेका छन् । भोक, तिर्खा, प्रेम, वात्सल्य, जवानी, बुढ्यौली ढुंगाले देखाएका छन् । ढुंगाका आकृतिले गीत गाएझैं गरेका छन्, गितार बजाएझैं उभिएका छन् ।

ढुंगामा सौन्दर्य भर्ने दाजुभाइ

ढुंगाले सजाइएको संसारमा पत्थरकै मुटुमा प्रेमको चित्रण गरिएको छ । क्षितिजको अस्ताउँदो सूर्य हेर्दै ढुंगाको जोडीले आफ्नो उदाउँदो भविष्यको कल्पना गरिबसेका छन् ।

पोखरा न्युरोडका दाजुभाइ जीवन जीसी र रिजन जीसीले पत्थरकलामार्फत ढुंगालाई जीवन दिएका छन् । उनीहरूको ग्यालरीमा उबडखाबड ढुंगाले सास पाएका छन् । त्यहीँ नाचेका छन्, त्यहीँ गाएका पनि । जीवन र रिजन अक्सर खोलाहरू धाइरहन्छन् । कहिले सेती त कहिले कालीखोलाका बगरैबगर हिँड्छन् । ढुंगा खोज्छन्, बोरामा हाल्छन् । बगरमा भावविहीन बसेका ढुंगा घर लगेर सौन्दर्य भरिदिन्छन्, भावनाको प्रतीक बनाउन थाल्छन् । बगरमा बग्रेल्ती पल्टेका ढुंगालाई प्रेमको चिनो बनाएर बेच्छन् । ‘अरूका लागि ढुंगा हुन सक्छ । हामी ती ढुंगामा आकृति देख्छौं, कला देख्छौं । तिनै लुकेका आकृतिमा भावना भरेका मात्र हौं,’ रिजन भन्छन् ।

जीसी दाजुभाइले पत्थरकला सुरु गरेको एक दशक पुग्नै आँट्यो । त्यसअघि उनीहरू चित्रकला गर्थे । उनीहरू दुवैले चित्रकला गर्दा विदेशका कलाकारले ढुंगामा आकृति बनाएको देख्थे । नेपालमा भने अरूले त्यसो गरेको पाएका थिएनन् । त्यसमै लागे खास गर्न सकिन्छ भन्ने विश्वासले उनीहरूलाई यहाँसम्म ल्याएको हो । आफूहरूको कला अरूले पनि सिको गरेका जीसी दाजुभाइको दाबी छ । ‘हामीले व्यापारीकरण गर्दासम्म अरूले गरेका थिएनन् । अहिले कतिले हाम्रै सिको पनि गरिरहनुभएको छ,’ जीवनले भने । ढुंगामार्फत नेपाली मौलिक संस्कृतिलाई उनीहरूले चित्रण गरिएका कारण पनि विदेश जानेहरूले चिनोका लागि किन्ने गरेका छन् । ‘हामी त घरमै राख्थ्यौं । बेच्ने भन्ने नै थिएन । पछि साथीहरूले पसल नै खोलेर राख्ने सुझाव दिएपछि खोलेको हो,’ जीवनले सुनाए । एउटा पत्थरकलाको उनीहरूले एक हजारदेखि ३० हजारसम्मको मूल्य राखेका छन् ।

पत्थरकला मात्र होइन, जीसी दाजुभाइले कोक, फेन्टाजस्ता पेय पदार्थका बोतलमा पनि आकृति भर्छन् । भाँचिएका रूखका स–साना हाँगालाई पनि नयाँ रूप दिन्छन् । मोटरबाइकका फालिएका पार्टपुर्जालाई एक ठाउँ ल्याएर मान्छेजस्तै आकृति बनाउँछन् । फालिएका तारलाई रूख बनाउँछन् । वाटर फाउन्टेनहरू पनि बनाउँछन् । यसरी विभिन्न वस्तुमा आकृति दिनु उनीहरूको रुचि हो । त्यसैलाई उनीहरूले आर्थिक पक्षसँग जोडेका छन् । त्यसैबाट जीवन चल्ने बाटो खोजेका छन् । ‘हामीले फोहोरलाई मोहोर बनाउन सक्छौं भनेर थालेका हौं । फालिएका हरेक चीजलाई कलामा ढाल्ने हो भने भावना पैदा हुन्छ, आकृति बन्दो रहेछ,’ रिजनले भने ।

उनीहरूले केराका सुप्लोलाई पनि मान्छेको आकृति दिएका छन् । ग्यालरीको भित्तामा सुप्लोमा बनाइएको चार्ली चाप्लिनको हँसिलो मुहार छ । चार्लीको छेउमा चे ग्वेभेरा केराकै पातमा आरामले बसिरहेका छन् । अर्को छेउमा नेपथ्यका अमृत गुरुङ माइक समाएर उभिएका देखिन्छन् । जीसी दाजुभाइको भित्तामा कला छन् । विभिन्न आकृति बाँचेका छन् । ‘कलाकर्म हाम्रो रुचि हो, यसैलाई मात्र पछ्याइरहेका छौं,’ जीवनले भने ।

प्रकाशित : फाल्गुन १५, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?