बाह्रबिसेमा कलाकार लामाको सालिक- कला - कान्तिपुर समाचार

बाह्रबिसेमा कलाकार लामाको सालिक

अनिश तिवारी

सिन्धुपाल्चोक — दिवंगत कलाकार जयनन्द लामाको स्मृतिमा बाह्रबिसे–३ धार्पाको थिङटोलमा सालिक राखिएको छ । १२ फिट अग्लो सालिक जयनन्द लामा स्मृति कोषले ८ लाख बजेटमा निर्माण गर्न लगाएको हो । सालिक परम्परागत पोसाकमा डम्फु लिएर नाच्दै गरेको भावमा छ ।

कोषका सदस्य प्रेम दोङका अनुसार शुक्रवार कलाकार संघका अध्यक्ष भैरवबहादुर थापा र वाग्मती प्रदेश सदस्य मसिना खड्काले लामाकै जन्मभूमिमा सालिक अनावरण गरेका हुन् ।

कार्यक्रममा बाह्रबिसेका नगर प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ, कलाकार बसुन्धरा धिताल, रोज मोक्तान, केशरी थिङ, विश्व दोङ, कृष्ण कँडेललगायतका सहभागी थिए । ‘योजनाअनुसार अब संग्रहालय, कम्पाउण्ड बन्न बाँकी छन् । २५ लाख बराबरको योजना बनाएका छौ,’ लामाका भाई दोङले भने । सालिक निर्माणमा बाह्रबिसे नगरले ४ लाख, नुवाकोटको ककनी गाउँपालिकाले १ लाख र बाँकी आफन्त, दाजुभाइ मिलेर रकम जुटाएको उनले बताए । साहित्यकर्मी रमेश पौडेलले लामा सिन्धुपाल्चोक मात्र नभइ मुलुककै लागि प्रेरक व्यक्तित्व भएको बताए । जयनन्द यस क्षेत्र घुमफिरमा आएर धार्पाका आफन्त र स्थानीयलाई भेटिरहन्थ्ये । उनी गत वर्षको फागुन ११ मा भक्तपुरको मध्यपुर–१ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट मृत फेला परेका थिए । लामाले थुप्रै लोकगीत गाउनुका साथै फिल्म र टेलिशृंखलामा अभिनय गरेका छन् ।

प्रकाशित : फाल्गुन १३, २०७९ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्

नेता खनाल स्वदेश फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बंगलादेशबाट शनिबार स्वदेश फिर्ता भएका छन् ।

बंगलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क हुमेन राइट्स फाउन्डेशनको आयोजनमा ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेर उनी आज राति स्वदेश फर्किएका हुन् । उनी बिहीबार बंगलादेश प्रस्थान गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मानित नेता खनालले बंगलादेश–नेपालबीच अति सुमधुर, बहुआयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको बताए ।

यसैगरी बंगलादेशमा यही वर्षको डिसेम्बरमा हुन गइरहेको निर्वाचनमा विभिन्न मुलुकबाट पर्यवेक्षकहरू आउने र नेपालले पनि उक्त निर्वाचनमा पर्यवेक्षक पठाउने बंगलादेशले अपेक्षा लिएको नेता खनालले जानकारी गराए ।

भ्रमणका क्रममा बंगलादेशको मानवअधिकारका विषयमा जानकारी दिनुका साथै निर्वाचन आयोगमा पनि पुगेको उनले जानकारी दिए । डिसेम्बरमा बंगलादेशमा हुने निर्वाचन निष्पक्ष, धाँधलीरहित तरीकाबाट कसरी गर्ने भन्ने तयारीमा त्यहाँका मानवअधिकारवादी, निर्वाचन आयोग लागि परेको उनले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७९ २१:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×