मिस नेपालका दुई विधा पोखरामा- कला - कान्तिपुर समाचार

मिस नेपालका दुई विधा पोखरामा

कान्तिपुर संवाददाता

गण्डकी — मिस नेपाल २०२३ का दुई वटा विधाअन्तर्गतका फाइनल पोखरामा हुने भएको छ । यसअघिका प्रतियोगिता काठमाडौं केन्द्रित भएको आरोप लागेको भन्दै आयोजक हिडन ट्रेजरले दुई प्रमुख विधाका फाइनल पोखरामै गर्ने जनाएको हो । 

ट्रेजरका निर्देशक प्रमोद कंसाकारले वैशाख १५ गते पोखरामा दुई विधाका फाइनल गराइने जनाएका छन् । ‘अन्तिम २४ प्रतिस्पर्धीलाई पोखरा ल्याएर फाइनल गराउने सोच छ । योसँगै हामी पहिलो पटक काठमाडौं बाहिर मिस नेपालको इभेन्ट गर्नेछौं,’ उनले भने । पोखरामा पहिलो पटक हुन लागेको अडिसनबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रमका क्रममा कंसाकारले त्यसको तयारीका लागि मिस नेपालको ताज पोखरा ल्याइएको पनि जनाए ।

बुधबार हुने पोखरा अडिसनका लागि आयोजकले मंगलबार अभिमुखीकरण गर्दै छ । ‘प्रतियोगिता साँघुरो भएको, काठमाडौंमा मात्रै केन्द्रित भयो भन्ने आरोप लाग्ने गरेको छ । यसकारण क्षेत्रीय अडिसन गर्न लागेका हौं,’ हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षत्रीले भने । हिडन ट्रेजरले मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिसकेको छ । चैत १ सम्म आवेदन खुला रहने बताइएको छ । मिस नेपालमा ५ फिट ३ इन्च उचाइका १८ वर्षदेखि २७ वर्षसम्मका अविवाहित युवतीले आवेदन दिन सक्छन् । यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी ३ मुख्य विधा राखिएको छ । मिस नेपाल २०२३ को फाइनल भने ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा गरिँदै छ ।

प्रकाशित : फाल्गुन ९, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

इकोनोमिक्स ओलम्पियाडका लागि ५ विद्यार्थी छानिए

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिने पाँच विद्यार्थीको टुंगो लागेको छ । ललितपुरमा आइतबार सम्पन्न नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो) मा गोल्ड मेडल जित्ने ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् । 

बूढानीलकण्ठ स्कुलका भार्गभ चटौत र भिक्टर हमाल, लिटिल एन्जल्सका द्रयुश यादव, ट्रिनिटीका मयंक शंकर झा र सेन्ट जेभियरका अनुभव ढुंगाना ओलम्पियाडका लागि छानिएका नियोले जनाएको छ । प्लस टु तहमा व्यवस्थापन संकाय अध्ययनरत ८० मध्येबाट ओलम्पियाडका लागि ५ विद्यार्थी छानिएका हुन् । क्षेत्रीय प्रतिस्पर्धामा भने देशभरका १६२ कलेजका एक हजारभन्दा बढी विद्यार्थीहरू सहभागी थिए । तीमध्येबाट उत्कृष्ट ७५ जना र सिधै छनोटमा परेका ५ जनाले राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धा गरेका थिए ।

नियोले प्रतिस्पर्धामा सहभागी विद्यार्थीलाई बिजनेस केस एनलाइसिस, सिमुलेसन र अर्थशास्त्र विषयसँग सम्बन्धित प्रश्न समेटिएको ३ घण्टाको लिखित परीक्षा लिएर उत्कृष्ट ५ जना छनोट गरेको हो । यसअघिका ओलम्पियाडमा नेपाली विद्यार्थीले तेस्रो स्थान हासिल गरेका थिए । तर यसपालि गोल्ड मेडल जित्ने लक्ष्य राखेको नियोका साझेदारी निर्देशक दीपक भण्डारीले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७९ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×