संघर्ष गर्दै पूर्वेली रंगमञ्च

पर्वत पोर्तेल

झापा — झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँ विकासमा पछौटे छ । सदरमुकामबाट निकै टाढाको यो थलोमा ‘इलामले हेपेको, झापाले नदेखेको’ भन्ने कथन चर्चित छ । 

संघर्ष गर्दै पूर्वेली रंगमञ्च

पूर्वाधार विकासका नजरले विकट मानिने यो गाउँमा नाट्यकलाले भने साख जोगाएकै छ । ‘बरु सडक र पुल बल्ल बन्न थाल्दै छन् । तर, नाट्यकलाले वर्षौं अघिदेखि नै फड्को मारेको हो,’ नाट्यकर्मी चेतन आङ्थुपोले सुनाए, ‘स्थानीय सरकारको अनुदारताबीच पनि नाटकमा संघर्षरत छौं ।’ पूर्वको केही सक्रिय नाट्य समूहमध्ये अग्रपंक्तिमै गनिने चुलाचुली रंगमञ्चसँग आफ्नै थिएटर भवनको भने अभाव छ ।

डेढ दशकदेखि नाट्यकर्ममा दुःखजिलो ढंगले रमाइरहेका चुलाचुलीको जस्तै व्यथा छ, पूर्वका दुई दर्जन जति नाट्य टोली पनि । प्रदेश १ का सुगम र दुर्गमका सबैजसो जिल्लाका कतिपय नाट्य समूह जेनतेन चल्दै छन् । कतिपय निष्क्रिय नै छन् । प्रादेशिक राजधानी विराटनगरमा काठमाडौंकै जस्तो सुविधायुक्त नाटक घर छ, सुशीला कोइराला नाटकघर । मोरङकै झोरहाट थिएटरको पनि आफ्नै संरचना छ । मुक्त रंगमञ्चको नाममा मोरङकै सुन्दर–हरैंचामा अत्याधुनिक थिएटर हल निर्माणाधीन छ । तर, अन्य जिल्लामा भने दुःखजिलो ढंगले रंगमञ्च चलिरहेका छन् । चुलाचुलीजस्ता देहाती रंगमञ्चका दुःखको त कुरा गरिसाध्य छैन । इलामकै सदरमुकाममा सक्रिय चेतना नाट्य समूहको हविगत पनि उस्तै छ । ‘हामी सहरमा त छौं तर एउटा गतिलो नाटकघर हामीसँग छैन,’ चेतनाका अगुवा नाट्यकर्मी सुरेश पोर्तेलले दुःखेसो पोख्छन् ।

नेपाली रंगमञ्चको विकासमा ‘लाहुरेको सहर’ धरानको भूमिकालाई कम आँक्न मिल्दैन । चर्चित सिनेमा ‘नुमाफुङ’ का निर्देशक नवीन सुब्बा नाटककै हुन् । ‘सर्वनाम’ थिएटरका संस्थापक अशेष मल्ल धरानबाटै उदाएका नाट्यकर्मी हुन् । कोभिड भित्रिनुअघि जुर्मुराएझैं गरेको धराने नाट्यकर्म फेरि मुर्झाएको छ । ‘नाटकमा चाहिने कथा, लेखक र निर्देशक हामीसँग पर्याप्त छन्,’ अगुवा नाट्यकर्मी गोपाल देवान सुनाउँछन्, ‘मात्रै नाट्यशालाको अभाव छ ।’

झापामा तीन नाट्य टोली छन् । दमकमा छ, कदम थिएटर । बिर्तामोडमा झापा नाटक घर र सीमान्त सहर काँकडभिट्टामा छ, परिवर्तन थिएटर । कदम र परिवर्तनको आफ्नै थिएटर हल छैन । कदमको त बन्दै छ । तर, परिवर्तन भाडाको कोठामा नाटक गर्दै आएको छ । कदम थिएटरका ‘नाटक घरको जगसम्म बसालिएको छ,’ कदमका नाट्य निर्देशक सिजन दाहाल भन्छन् । करिब डेढ दशकदेखि नाटकमार्फत समाज रूपान्तरण गर्दै आएको परिवर्तन थिएटरको नाटक घर छैन । मेची सामुदायिक भवनको दुई कोठामा यो टोलीले निरन्तर नाटक अभ्यास गर्दै आएको छ ।

पूर्वी पहाडको पाँचथरमा नौलो साहित्यिक बिहान, बेनाम नाट्य जमात, हाम्रो थिएटर, युगीन थिएटर, जागरण युवा क्लबजस्ता नाट्य समूह दर्ता भई कार्यरत छन् । यहाँको पनि अन्य जिल्लाको जस्तै साझा समस्या छ, नाटक घर अभाव । तर, नाट्यघर अभावबारे मोरङको विराट मैथिल नाट्यकला परिषद्का संस्थापक नाट्यकर्मी रामभजन कामतको फरक मत छ । ‘नाटक गर्ने कर्मलाई हल हुनु र नहुनुले कुनै फरक पार्दैन,’ कामत भन्छन्, ‘संरचनामा भन्दा पनि गुणस्तरीय नाटक निर्माणमा ध्यान दिन जरुरी छ ।’ उनका अनुसार पूर्वका कतिपय थिएटरहरूमा काम फिटिक्कै नगर्ने अनि भव्य भवन मात्रै खोज्ने गलत परिपाटी छ, यो कुराको अन्त्य हुन जरुरी छ । कोसीपारिको उदयपुरमा एउटा मात्रै नाट्य समूह छ– थिएटर नेपाल । यसलाई नाट्यकर्मी गोपाल किर्तीले नेतृत्व गरेका छन् । किर्तीका अनुसार यहाँका नाट्यकर्मीहरू धमाधम पलायनको बाटोमा छन् ।

प्रकाशित : माघ १९, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?