मौलिकतासँगै आधुनिकता- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फेसन फ्युजन

मौलिकतासँगै आधुनिकता

खासगरी औद्योगिक क्रान्तिपछि सबैजसो क्षेत्रमा आएको व्यापक परिवर्तनसँगै मानिसको पहिरन, यसको उत्पादन र तयारीमा पनि प्रभाव पर्न थालेको हो । तर पछिल्लो समय भने युवाहरुले आधुनिक फेसनभित्र पनि मौलिकता र परम्परा खोज्न थालेका छन् । त्यसैको नतिजा हो, फ्युजन ड्रेस ।
सुशीला तामा‌ङ

काठमाडौँ — शरीरको सुरक्षा र न्यानोपनका लागि कपडा लगाउनुपर्ने परम्परागत मान्यता पछिल्लो समय युवापुस्ताका कारण फेरिँदै गएको छ । अर्थात्, आजकल पहिरनले शरीर ढाक्ने मात्र होइन, व्यक्तित्वसमेत झल्काउनुपर्छ भन्ने मान्यता स्थापित भएको छ, युवापुस्तामा ।



जसका कारण व्यक्तित्व झल्काउने, फेसनेवल र आधुनिक डिजाइनअनुसार तयार पारिएका पहिरनहरू नै अहिले युवापुस्ताको रोजाइमा पर्न थालेका छन् । आधुनिक समय र फेसनको दुनियाँलाई अँगाल्ने युवा जमातमा अनौठो पक्ष त के छ भने उनीहरू समयानुकूलको फेसन ट्रेनड पछ्याइरहेका बेला पनि आफ्नो मौलिक पोसाक तथा पहिरनप्रति उत्तिकै सजक र सचेत छन् । तामाङ, राई, मगर, गुरुङ, नेवार, थारूलगायतका समुदायले आफ्ना परम्परागत पहिरनसँगै चलेका पहिरन मिलाएर फ्युजन ड्रेसको प्रयोग गर्न थालेका छन् । खासगरी, पछिल्लो समय जुन पहिरनले आधुनिक फेसन र डिजाइन अँगाल्दै त्यसैमा मौलिकता झल्कने बनाइएका छन्, त्यस्ता पहिरनमा युवापुस्ताको क्रेज ह्वात्तै बढेको देखिन्छ ।

समयअनुसार जस्तोसुकै डिजाइन र पहिरनको माग भए पनि आफूले लगाउने कपडामा युवापुस्ताले आफ्नै संस्कृति, परम्परा र मौलिकतालाई ल्याउन खोज्नु सकारात्मक भएको मोडल तथा मौलिक पहिरन डिजाइनरहरूको भनाइ छ । मोडलिङसँगै युवापुस्ताको मागअनुसार आधुनिक शैलीका मौलिक पहिरनहरू तयारीमा लागिरहेकी सीता राई त्यसैमध्येकी एक हुन् । इमाडोलस्थित ‘लिब्जु कलेक्सन’ मा उनले खासगरी किराती समुदायसँगै तामाङ, मगर, गुरुङ समुदायका आधुनिक डिजाइनका पहिरनहरू तयार पार्छिन् । मानव समुदाय जति नै आधुनिकतातिर दौडिए पनि आफ्नो पुर्खा र संस्कृतिको प्रेम उनीहरूमा सदैव समाहित हुने उनको बुझाइ छ । ‘समयअनुसार म परिवर्तन भए पनि मलाई मेरो संस्कृति र पुर्खाको माया छ,’ उनले भनिन्, ‘मेरो पुर्खाले जे गरे मैले पनि त्यही गर्नुपर्छ भन्ने ठान्दिनँ म । समय फेरिइसक्यो, त्यसैले आफूलाई सहज हुने गरी आफ्नो समुदाय र संस्कृति झल्काउने पहिरन लगाउँदा केही बिग्रँदैन जस्तो लाग्छ ।’

पुस्ता अलग–अलग छन् । मानवका रुचि फरक छन् । हिजो र आजको समय ठ्याक्कै उस्तै छैनन् । भोलि अझ फरक हुन सक्ला । प्रत्येक समय र पुस्तालाई आफ्नोपना, संस्कृति, परम्पराप्रति सजक बनाउने हो भने उनीहरूको मागअनुसार चल्नुपर्ने राईको ठम्याइ छ । ‘कसैलाई फरिया, कसैलाई गुन्युँचोली मनपर्ला । कसैलाई अर्कै पहिरन मनपर्ला । उनीहरू सबैलाई हुने गरी हामीले फ्युजनमा हाम्रो संस्कृतिका ड्रेसहरू बनायौं भने युवापुस्तालाई मौलिकताको पक्ष बुझाउन पनि सकिन्छ,’ उनले जोडिन् ।

राई मात्र नभएर आफ्नो रोजाइको डिजाइन र पहिरनले आत्मविश्वास र आत्मबल बढाउने काभ्रे भकुन्डेबेंसीकी संगीता तामाङले सुनाइन् । प्रत्येक वर्ष ल्होछारमा सामान्य लुंगी र चोली लगाउँदै आए पनि यस वर्ष उनले बजारमा चलेको लेहेङ्गा डिजाइनको मौलिकता झल्कने नीलो पहिरन लगाइन् । ल्होछारमा मात्र नभएर अन्य उत्सवहरूमा समेत आफ्नो जातिको मौलिक पहिरन लगाउँदा अरूभन्दा फरक र सुन्दर देखिने उनको अनुभव रहेको छ ।

मानव समाजमा जतिबेला पहिरनको अवधारणा आयो, त्यतिबेला शरीर ढाक्ने आवरण, सुरक्षा र लाजलाई छोप्ने माध्यम मात्र थियो । बिस्तारै सियोसँगै सिलाइको सीपले निरन्तरता पायो । सँग–सँगै सिलाइ मेसिनहरू बने । विशेष त दोस्रो विश्व युद्धपछि भएको औद्योगिक क्रान्तिपछि सबैजसो क्षेत्रमा आएको व्यापक परिवर्तनसँगै मानिसको पहिरन, यसको उत्पादन र तयारीमा पनि प्रभाव परेको नमुना कलेज अफ फेसन टेक्नोलोजीअन्तर्गत विगत दुई दशकदेखि फेसन डिजाइनको विषयलाई प्राध्यापन गरिरहेकी प्राध्यापक कुश्मा श्रेष्ठले बताइन् ।

जसरी समयअनुसार गीतसंगीत, खानपान हरेक क्षेत्रमा परिवर्तन आएको छ, त्यसरी नै पहिरनमा पनि फेरबदल आएको उनको बुझाइ छ । जहाँसम्म विभिन्न जातजातिका फ्युजन पहिरनको सवाल छ, त्यसमा परम्परागत ज्ञानप्रति सचेतचाहिँ हुनुपर्ने उनको सुझाव छ । ‘पहिरनले मान्छेको व्यक्तित्वसँगै पहिचानसमेत दिन्छ । युवापुस्तामा फेसनसँगै आफ्नो संस्कृति, इतिहास र आफ्नोपना आउनु त राम्रै कुरा हो,’ उनले भनिन् । अहिलेको पुस्तामा पुराना समयका पहिरनहरू चलनचल्तीमा आइरहेको सुनाउँदै प्राध्यापक श्रेष्ठले कलेज अध्यापनका क्रममा पनि विद्यार्थीहरूलाई सांस्कृतिक तथा मौलिकताको ज्ञान दिँदै पूर्वीय र पश्चिमा शैलीका फ्युजन पहिरनहरूबारे पढाइँदै आएको बताइन् ।

मानिस आफैंमा सिर्जनामा रमाउने जातिमा पर्छन् । समयअनुसारका पहिरन र विभिन्न सिर्जनाहरू मानवका सिर्जनात्मक पक्षमा पर्ने मानवशास्त्री मुक्त सिं तामाङको धारणा छ । संसारमा विभिन्न जातजाति र तिनका आ–आफ्नै सांस्कृतिक समूहहरू छन् । प्रत्येक जातिले आफ्नो इतिहास, परम्परा र संस्कृति अनुसरण गर्दै मौलिक पहिरन बनाएको उनले सुनाए । ‘मानिसको आफ्नै समुदाय र सांस्कृतिक समूह छ । त्यही समुदाय र समूहले कस्तो लुगा लगाउने, कहिले लगाउने, कसरी लगाउने भनेर निश्चित रूपमा परिभाषित गर्छ । यसलाई मानव सिर्जनात्मक पक्षका रूपमा बुझ्न सकिन्छ,’ उनले भने । उनका अनुसार सूचना प्रविधिको युगमा विश्व नै एकै ठाउँमा आउँदा पहिरनमा फ्युजन देखिनु स्वाभाविक प्रक्रिया नै हो । सूचनाको पहुँचसँगै मानिसहरूबीच बढेको अन्तर्क्रिया, एकआपसमा सांस्कृतिक सवालका पक्षहरू आदानप्रदान र ग्रहण गर्ने प्रक्रियासमेत तीव्र रूपमा विस्तार भएको उनको भनाइ छ ।

पहिरन, फेसन र डिजाइन भन्नेबित्तिकै यतिबेला मानिसको पहिचान, स्तर, पेसा, स्वभाव र नैतिकतासँग प्रत्यक्ष जोडिन्छन् । अझै फराकिलो रूपमा हेर्दा यसले भूगोल र मानिसको जातिलाई समेत इंगित गर्दछ । मानिसलाई आफू बसेको समाजमा सम्मानपूर्वक बाँच्नसमेत पहिरनले निर्धारण गर्ने अवस्था बनेको विज्ञहरूको अनुभव छ । विशेषतः युवापुस्तालाई प्रत्येक पार्टी, कार्यक्रम तथा उत्सवहरूमा अरूभन्दा फरक र नौलो रूपमा प्रस्तुत हुने आकांक्षा हुन्छ । प्रत्येक उत्सवहरूमा महँगा र आधुनिक पहिरन लगाउने सबैको हैसियत हुँदैन । यसैलाई मध्यनजर गर्दै सहरका थुप्रै ठाउँमा भाडाका कपडा पाइने स्थानहरूसमेत सञ्चालनमा छन् । युवापुस्ताको माग र समस्यालाई प्राथमिकतामा राखेर ६ वर्षदेखि फेसन डिजाइनर राधिका ध्वजुले ‘क्लासिक कर्भ’ सञ्चालन गरिरहेकी छन् ।

युवापुस्तामा आफैंमा केही नौलो काम गर्ने र अरूभन्दा फरक हुने चाहना राख्ने उनको अनुभवले बताउँछ । विशेषगरी आधुनिक डिजाइनका विवाह, व्रतबन्ध जस्ता उत्सवका लागि उपयुक्त हुने कपडाहरू भाडामा दिने व्यवस्था गर्दै आएको उनले मागअनुसारको फ्युजन मौलिक पहिरनहरू पनि तयार गर्दै आएको बताइन् । आफ्नो समयमा स्वतन्त्रता खोज्ने युवापुस्ताले आफ्नै संस्कृतिका पहिरनलाई खोज्नु उनी सकारात्मक रूपमै लिन्छिन् । परिवर्तन र फ्युजन भन्नेबित्तिकै संस्कृति र मौलिक कुरालाई अपाच्य हुने भन्ने होइन । केही फरक गरेर युवालाई पनि आकर्षण गर्न र आफ्नो पहिचानलाई देशमा मात्र होइन अन्तर्राष्ट्रियस्तरमै पहिरनमार्फत चिनाउन सकेमा देशलाई राम्रै हुने डिजाइनर ध्वजुकै शैलीमा मोडल तथा डिजाइनर राईको मत छ ।

युवापुस्ता जुनसुकै समयमा पुगे पनि उसलाई आफ्नो समाज, संस्कृतिको सही प्रयोगले छुने मानवशास्त्री सिंको तर्क छ । मानिसमा हुने परिवर्तनशील चाहनाले उसलाई अरूको संस्कृतिप्रति आकर्षित गर्छ । जसका कारण पनि फ्युजन ड्रेसको ट्रेन्ड बढेको उनको बुझाइ छ । ‘मानिसलाई मेरोभन्दा उसको राम्रो रहेछ भन्ने हुन्छ र त्यसलाई पछ्याउन चाहन्छ,’ उनले भने, ‘त्यसैले पनि पछिल्लो समय युवामा यसप्रति क्रेज ह्वात्तै बढेको हो ।’

प्रकाशित : माघ १५, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्

अर्नेस्टोको नेपाल प्रेम

सुशीला तामा‌ङ

काठमाडौँ — कला सिर्जनाकै सिलसिलामा क्यानडाबाट रेजिडेन्सी कलाकारका रुपमा नेपालसम्म आइपुगेका कलाकार अर्नेस्टो डुयन्सको नेपाल बसाइ भर्खरै पाँच महिना पुग्दै छ । यद्यपि उनका लागि यो बसाइले दिएको प्रेम, सद्भाव र आममानिसको जिउने जीवनशैली जीवनकै स्मरणयोग्य पक्षमध्येका एक हुन् । 

बितेका पाँच महिनाको अवधिमा उनले नेपालको कला, संस्कृति, परम्परा, यहाँको रहनसहन र नेपालीहरूबारे थोरबहुत नजिकैबाट नियाल्ने जमर्को गरे । यसबीचमा अर्नेस्टोले आफ्नै संस्कृति र संस्कारमा रमाइरहेका आममानिस, श्रम, पसिना र मेहनतमा बाँचेका भुइँमान्छेदेखि सिर्जनाका क्षेत्र, यहाँको माहोल तथा आमकलाकारहरूको अवस्थालाई बुझिरहँदा उनलाई सबैप्रति औधी मोह बस्यो । यहाँको प्रत्येक चिजविज र मान्छेहरूसँग भेटघाट एवं अध्ययन, अनुसन्धानकै क्रममा उनले थुप्रै मान्छेहरूसँग भेटे तर प्रत्यक्ष कुराकानी गर्न उनी असमर्थ भए । किनभने उनले भेटेका मान्छेहरू र उनको भाषा फरक थियो । भाषाकै कारण यहाँका मानिस र तिनका संस्कृतिप्रति जागेको प्रेमलाई उनले उनीहरूकै सामु दर्साउन सकेनन् । यही प्रेमलाई अहिले उनले कलामार्फत अभिव्यक्त गरेका छन् ।

‘इनभिजिबल इन्टर्‍याक्सन्स’ शीर्षकमा पाटनढोका चाकुपाटस्थित ग्यालरी एम क्युबमा जारी अर्नेस्टोको एकल कला प्रदर्शनीमा उनले झन्डै तीन दर्जन संख्यामा प्रदर्शनरत कलाकृति र तस्बिरहरूमा उनको नेपाल प्रेम देख्न सकिन्छ । उनको कलाकृतिहरूमा मुस्कुराइरहेका आमनेपाली मानिसहरूको मुहार चित्र र तस्बिरहरू, बाटोमा कपडा सिलाएर बसेका आम मानिस, आफ्नै परिवेश तथा घरायसी काममा अभ्यस्त महिला, रीतिरिवाज र संस्कारमा रमाइरहेका नेपालीका खुसीका रङहरू प्रतिविम्बित छन् । नेपालको यिनै संस्कृति, परम्परामा रमाउने नेपालका मानिसहरूको स्वभावले आफु निकै प्रभावित भएको अर्नेस्टोले बताए । ‘मलाई नेपालका मानिसहरू एकदमै राम्रो लाग्यो’, उनले भने,‘यहाँ मानिसहरू आपसमा कुराकानी र सबै कुरा आदानप्रदान गर्ने स्वभाव निकै राम्रो लाग्यो । यहाँ प्रत्येक मान्छे र समुदायमा नयाँ-नयाँ कुरा थाहा पाउन सकिन्छ, त्यो झनै मनपर्‍यो ।’

अर्नेस्टो मेक्सिकोमा जन्मेका हुन् । खासमा उनी आर्किटेक्ट इन्जिनियर हुन् । आफ्नो स्नातकोत्तर अध्ययन पूरा भएपछि उनी जागिरकै क्रममा क्यानडा पुगे । क्यानडामा काम गर्दै गर्दा उनले मानिसका लागि खुसी हुन चाहिने सबै आर्थिक तथा भौतिक कुराहरू पाए । त्यसै क्रममा उनले आफ्नो जीवनको खुसी र आफूले चाहेका सबै कुराहरूको लेखाजोखा गर्न थाले । जहाँ उनले आफूले चाहेको कुरा पाउन सकेनन् । त्यसपछि भने उनी ती सबै छाडेर कला अध्ययनकै लागि बार्सिलोनातिर लागे । त्यहाँ उनले आफूभन्दा साना कलाका विद्यार्थीहरूसँग बसेर कला अध्ययनलाई जारी राखे । उनका लागि कला भनेकै मानव जीवनको सुन्दर र अभिन्न अंग हो । जहाँ उनी मानवता, खुसी र यथार्थतालाई भेट्टाउन सक्छन् । यो अनुभूति नेपाल बसाइका क्रममा अझ धेरै महसुस भएको उनले सुनाए ।

उनी कलामा ती मानिसहरूको आवाज र पहिचानलाई बुलन्द गर्न चाहन्छन्; जो असहाय, पहिचानविहीन र सहाराको खोजीमा छन् । आफ्नो जन्मभूमि मेक्सिको होस् या क्यानडा बसाइमा उनले त्यस्ता महिलाहरू तथा अन्य मानिसहरू थुप्रै देखे । ती दृश्य र विषयले छोएपछि आफ्नो सिर्जनाको मूल मुद्दालाई यसैतर्फ केन्द्रित गरेको उनको भनाइ छ । समाज र आम मानव समुदायले नदेखेका तिनै मानिसहरूको कथालाई समेट्दै नेपालमा पनि यसैलाई उनले निरन्तरता दिएका छन् । विशेषतः उनलाई समकालीन कलाप्रति झुकाव छ । यसले मानव समुदायलाई यथार्थ रुपमा प्रस्तुत गर्न सघाउने उनको मत छ ।

नेपालको कला र कला सिर्जनामा रमाउने नेपाली कलाकारहरूको जीवनशैली देखेर उनलाई निकै खुसी लाग्यो । तर कलामा आममानिसको कम पहुँच र यसमा सरकारी पक्षले दिएको न्यून प्राथमिकताले भने उनको ध्यान खिच्यो । यसमा नेपालको सिर्जना र नेपाली कलाकारहरूको भविष्य नै जटिल रहेको उनको बुझाइ छ । यसले गर्दा कलाकारहरूले आफ्नो सिर्जनाको मूल्य आममानिसको पहुँचभन्दा माथि तोकेर राख्नुपर्ने बाध्यता रहेको समेत उनले महसुस गरे । यस्तो अवस्थालाई मध्यनजर गर्दै उनको सन्देश छ, ‘कला सिर्जना देशको सुन्दर पक्ष हुन् । यसमा सबै कलाकारले आपसमा सहयोग र सद्भाव राख्नुपर्छ । सरकारी तहबाट कला क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रवर्द्धन गर्नुपर्छ ।’ नेपाल बसाइ सकिनै लागे पनि उनलाई फेरि पनि नेपाल आउने मन छ । भने, ‘म नेपालीहरूलाई माया गर्छु । फेरि पनि नेपालमा फर्केर आउँछु ।’

उनको कला प्रदर्शनी माघ १८ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : माघ १३, २०७९ १६:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×