नाटक ‘देउराली डाँडी’ : महिलाले धानेको एउटा गाउँको कथा- कला - कान्तिपुर समाचार

नाटक ‘देउराली डाँडी’ : महिलाले धानेको एउटा गाउँको कथा

खेत बाँझै छन् । उजाड गाउँमा पानीको मुहान सुक्दै जान्छ । परदेसिएकाहरू वर्षौंसम्म नफर्केपछि कुरिबसेकाहरूको अवस्था महिला पात्रमा देखिन्छ ।
सुशीला तामा‌ङ

काठमाडौँ — गाउँ आफ्नै रफ्तारमा चलिरहेको छ । उकाली, ओराली र देउरालीहरूमा सुखदुःखले गाउँलाई चलाउने जिम्मेवारी महिलाले बहन गरिरहेका छन् । पुरुषजति परदेश छन् । कोही श्रीमान्लाई पर्खिरहेका छन्, कोही छोरालाई । कथा, व्यथा उस्तै लाग्ने यो सबै नेपालीको साझा समस्या जस्तो ठ्याक्कै देखिए पनि प्रस्तुत परिवेश भने नाटक ‘देउराली डाँडी’को हो । 

काठमाडौं पिंगलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटरमा पुस २९ गतेदेखि नियमित मञ्चनमा आएको नाटकमा ‘देउराली डाँडी’ गाउँको महामारीले उजाडिएको कथालाई प्रस्तुत गरिएको छ ।

रंगकर्मी सहलेशको लेखन तथा अमेरिकी रंगकर्मी रोज स्वाइट्जको निर्देशन रहेको नाटकमा गरिबीले थिचिएको एउटा गाउँको परिवेशमा महामारीले भित्र्याएको पीडादायी अवस्था देख्न सकिन्छ । जहाँ पुरुषविहीन गाउँमा महिला नै हरेक कार्यको अग्रपंक्तिमा उभिएका छन् । महामारीले निर्जन र शून्य बनाएको गाउँमा पुनः त्यही महामारी दोहोरिएपछि त्यसबाट उम्किन तिनै महिलाले देखाएको साहस र भोलिका लागि उनीहरुले राखेको आशा नाटकमा देख्न सकिन्छ । उनीहरूले गरेको संघर्षसँगै अन्तिम चरणमा महिलाले घाटु नाचको कथा, देवीहरूको शक्तिमा गाउँको पुरानो जीवनशैली र अस्तित्वलाई रक्षा गरेको मूल सार नै नाटकको कथा हो ।

महामारीलाई नाटकले सांस्कृतिक पाटोलाई जोड्दै निकै विम्बात्मक रूपमा बुझाउने प्रयास गरेको छ । जसमा बालुवा मुख्य विम्बका रूपमा प्रयुक्त गरिएको छ । गाउँको महामारीका कारण सारा पुरुषहरू परदेश गएका हुन्छन् । त्यही महामारी पुनः फर्किएर महिलाहरूमा देखा पर्छ । माइली हुँदै क्रमशः गाउँका अन्य महिलाहरु खोक्दा मुखबाट बालुवा निस्कन्छ । अन्त्यमा महिलाहरुको शरीर, लुगा जताजतै बालुवा नै बालुवा यत्रतत्र छरिन्छ । अनि सुरु हुन्छ, गाउँमा महिलाहरूको संघर्ष र साहसको कथा । जसले रोजगारीका निम्ति विदेसिन बाध्य हजारौँ नेपाली र शून्य बन्दै गएको गाउँबस्तीलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरेको छ ।

त्यसैमा देखिएको घाटु नाचको दृश्य, राजा पश्रामु, रानी यम्बावतीको कथा प्रसंगले ‘देउराली डाँडी गाउँ’ले गुरुङ समुदायसँगै सिंगो मुलुकको अवस्थालाई इंगित गर्दछ । युद्धमा राजाको मृत्यु हुनु र रानी सती गएको प्रसंगलाई समेत नाटकले उठान गरेको छ । गुरुङ समुदायमा प्रचलित घाटु नाच, पश्रामु र यम्बावतीको मिथकलाई जोडेर समकालीन समयलाई सान्दर्भिक रूपमा सशक्त विम्बमा उतार्नु नै नाटकको सबल पक्ष मान्न सकिन्छ । जहाँ घाटु नाचको प्रचलित कथाअनुसार राजा मरेपछि काखे छोरालाई च्यापेर सती जान बाध्य भएकी रानीको पीडालाई भन्दा पनि महामारीले ग्रस्त गाउँको पीडालाई नाटकले मूल विषयमा रूपमा केन्द्रित गरेको छ ।

गाउँमा तारा(पशुपति राई), सुनिता(दिया मास्के), सिरु(मेनुका प्रधान), माइली(रञ्जना भट्टराई), फुल्सरा(विनिता थापा मगर) र घाटु कथाकी रहस्यमयी प्राचीन थारु रानी यम्बावती(सरस्वती चौधरी) भूमिकामा नाटक केन्द्रित हुँदै अगाडि बढ्छ ।

खेत बाँझै छन् । उजाड गाउँमा पानीको मुहान सुक्दै जान्छ ।परदेसिएकाहरू वर्षौंसम्म नफर्केपछि कुरिबसेकाहरूको अवस्था महिला पात्रमा देखिन्छ । मन भुलाउन र जीवनलाई समानान्तर गतिमा लैजान सुनिता मोबाइल फोन जस्ता प्रविधिको सहारा लिन पुग्छिन् । सिरु गाउँ नै छोडेर सुखको दिन देख्ने सपनामा तल्लीन छिन् ।

गाउँमा महामारी फर्किएपछि माइली र काखे नानी च्यापेर बसेकी फुल्सराको दयनीय अवस्थाले खाडीलगायत विभिन्न मुलुकमा रोजगारीकै लागि पुरुष परदेशिएपछि घर कुरी बसेका महिलाहरूको पीडालाई चित्रण गरेको छ । अर्कोतिर त्यही विपत्तिमा तारा र सुनिताले गाउँलाई हराभरा पार्न बाँझो खेत र डाँडाहरूलाई हराभरा पार्न गरेको सघर्षले घर धानिबसेका लाखौं आम नेपाली महिलाहरूलाई प्रतिनिधित्व गरेको छ ।

अन्तिम अवस्थामा घाटु नाच नाच्दै रानी यम्बावतीलाई पुकार्दै उनीहरू र देउराली डाँडीगाउँले पाएको पुनर्जीवनले हाम्रा सम्पूर्ण गाउँबस्तीलाई पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने सन्देश नाटकले दिएको छ । नाटक समापन हुँदै गर्दा यसमा दर्शकको मनमा घाटु नाचको शक्ति हो या रानी यम्बावतीको महिमा भन्न खोजिएको हो भन्ने द्विविधा उत्पन्न हुन सक्छ । यद्यपि प्रविधि र विज्ञानको युगमा घाटु नाचको सांस्कृतिक पाटोमार्फत मानव समुदायलाई मौलिकतातिर नै फर्कन प्रतिकात्मक रूपमा इंगित गरेको आग्रहलाई बेजोड मान्न सकिन्छ । महिलाहरूको साहसमा घाटु नाचको शक्तिलाई जोडिएको हुनाले यसलाई गुरुङ समुदायकै कथाकै परिवेशमा ढालेर हेर्दा उपयुक्त होला । जहाँ रानी यम्बावतीको कथालाई किंवदन्तीकै रूपमा लिइन्छ ।

सबै महिला पात्र, त्यसमा रानी यम्बावतीलाई समेत जोडेर नाटकमा महिलाको शक्तिलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । घाटु नाचअनुसारको पहिरन र नृत्यले दर्शकलाई त्यही सांस्कृतिक परिवेशतिर पुर्‍याउँछ । घाटु नाचको किंवदन्तीअनुसार राजा पश्रामु लमजुङका गुरुङ समुदायको राजा भए पनि रानी यम्बावती टाढा सिकार खेल्न जाँदा भेटिएकी मधेसकी थिइन् । नाटकमा रानीकी भूमिका देखिएकी कलाकार चौधरीलाई थारु समुदायकै भेषभूषामा निकै सुन्दर रूपमा प्रस्तुत गरिएको छ ।

नाचका बेला पहिरिने धानको लावा र फूलको जस्तै देखिने मुकुट पात्रहरूले शिरमा लगाएका छन् । यसलाई सुन्दर प्रप्सका रुपमा प्रयोग गरिएका छन् । सेतो रंग र प्रकाशमा देखाइएको देउराली डाँडीको स्वरूप निकै सुन्दर लाग्छ । प्रकृतिको सुन्दर छटा खोला, बतास महसुस गराउन प्रयोग गरिएको प्रत्येक्ष संगीतका धुन, महामारीको विकराल अवस्थालाई जताउन प्रयुक्त उराठ धुन र प्रकाशका रङ उत्तिकै सशक्त छन् । रंगमञ्चसँगै सिने क्षेत्रमा समेत भिजेका कलाकारहरूको अभिनय उत्तिकै उम्दा छन् ।

एक्टर्स स्टुडियो र वान वर्ल्ड थिएटरको सहकार्यमा फुल ब्राइट नेपाल यूएसईएफको सहयोगमा प्रस्तुत गरेको नाटक माघ १५ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : माघ ९, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्

तामाङ समुदायले मनाए सोनाम ल्होछार पर्व

सुशीला तामा‌ङ

काठमाडौं — काभ्रे नगरकोट घर भई हाल काठमाडौंमा बस्दै आएका पूर्णिमा  तामाङको परिवारले यो वर्ष सोनाम ल्होछार पर्व परिवार र आफन्तजनका साथ निकै रौनकका साथ मनाए । बिहानै ढल्कुस्थित दिदीको घरमा भेला भई सबैले दिदीको हातबाट टीका र आशिर्वाद ग्रहणपछि खानपिन गरी दिनभरि सबै जनाले टुँडिखेलमा नाचगानसहित निकै रमाइलो गरे ।  

उनका अनुसार विगतका दुई वर्ष कोरोना महामारीका कारण सबैले आ-आफ्नो घरमा सामान्य रुपमा ल्होछार पर्व मनाएका थिए । ‘दुई वर्ष त रोगको महामारीले ल्होछार खासै राम्ररी मनाएका थिएनौं । बच्चाहरूलाई हुलमुलमा ल्याउन डर नै थियो’, टुँडिखेलमा तीन बच्चा र परिवारसहित आएकी उनले भनिन्,‘यसपालि त सबै जनासँग भेटेरै ल्होछार मनाउन पाइयो । निकै रमाइलो नै भयो ।’

पूर्णिमाको परिवारले मात्र होइन यस वर्ष मुलुकभित्र र बाहिर विभिन्न स्थानमा रहेका तामाङ समुदायले आ–आफ्नो स्थानबाट हर्षोल्लासका साथ सोनाम ल्होछार पर्व मनाएका छन् । ताक ल्हो (बाघ वर्ष)को बिदाइ गर्दै मञ्जुश्री संवत् २८५९ औं ह्योअी तावार ल्हो(बिरालो वर्ष)लाई स्वागत गर्दै समुदायले आइतबार ल्होछार पर्व मनाएका हुन् ।

तामाङ जातिको उत्पत्ति, प्रकृति, दर्शन, सभ्यता, सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार पर्वको विशिष्ट स्थान रहेको छ । विज्ञहरूका अनुसार यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अंग हो । ‘ल्हो’ को अर्थ साल, वर्ष, सम्वत्, ‘छार’को अर्थ नयाँ अर्थात् नयाँ वर्ष हो । विभिन्न पशुपंक्षीको नामबाट १२ वटा ल्हो हुन्छन् । १२ ‘ल्हो’ मध्ये प्रत्येक वर्ष एक– एक वटा ‘ल्हो’ फेरिन्छ । यही ‘ल्हो’ फेरिने दिनलाई ल्हो पोबा, ल्हो दोबा वा ल्होछार भनिन्छ । तामाङहरूले मान्ने ल्होछार चन्द्र पात्राको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ल्होछार पर्व चीन, मङ्गोलिया, जापान, भियतनाम, ताइवानलगायतका मुलुकहरूमा चन्द्रमासमा आधारित नयाँ वर्षका रुपमा मनाइन्छ । नेपालमा भने ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो तामाङ, थकाली, जिरेल, खाममगर तथा शेर्पा समुदायले यस पर्वलाई मनाउने गरेका छन् ।

ल्होछार पर्वकै छेकोमा तामाङहरूको घर–घरमा पूजा गरी दर्ज्यू गाड्ने, प्रसादहरू लिने, चेलीबेटी, इष्टमित्र तथा आफन्तजनहरू भेटघाट गरी मान्यजनबाट आशिर्वाद, टीका ग्रहण गर्ने, मिष्ठान्न परम्परागत भोजनसहित सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्छन् । पत्रकार, लेखक एवं मातृभाषा अभियन्ता प्रतिक ङेसुर तामाङले आफ्नो परिवारमा ल्होछारलाई म्हेनिङ(दशैं) जस्तै मान्यजनबाट टीकाटालो, दक्षिणा र आशिर्वाद लिएर मनाउने गरेको बताए । उनका अनुसार यस वर्ष पनि बिहानै उनको निवासमा परिवार तथा आफन्तजन भेटघाट गरी कोम्हेन्दो(टोटलाको फूल) सहित टीकाटालो गरे र आशिर्वाद ग्रहण गरे । ‘हामीले त ल्होछार दशैं जस्तै मान्यजनबाट टीकाटालो गरेरै मनाउने गर्छौं । खानामा विशेष गरी संक्रान्तिमा जस्तै तरुल, कन्दमूल, आलुम(पानीरोटी), खाप्से पाक्छ । आज सबैजना मेरो घरमै जम्मा भएर ल्होछारकै मनाउने क्रममै छौं’, उनले कान्तिपुरसँगको कुराकानीमा भने ।

पर्वकै अवसरमा टुँडिखेलमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ–संस्थाहरू सहभागिता भएको ल्होछार मूल समारोह समितिले शुक्रबारदेखि आइतबारसम्म समुदायको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, राजनीतिक, सामाजिक तथा मूल आदिम सभ्यताका विषयहरू उठान गर्दै तीन दिवसीय ल्होछार महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्‍यो । सांस्कृतिक उपसमितिले शुक्रबार चर्चित कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

शनिबार भने लामा, ताम्बा र बोन्बोहरूले विशेष पूजापाठ गरी गायक राजु लामा (मङ्गोलियन हर्ट) र डिजे तेन्जिङले सांगीतिक प्रस्तुति दिएका थिए । सहभागीहरूले बिरालो वर्षलाई स्वागत गर्दै दीप प्रज्ज्वलनसमेत गरेका थिए । अन्तिम दिन शनिबार पनि लामा, ताम्बा र बोन्बो गुरुहरूबाट विशेष पूजा, सहित झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्य, म्होन्दोमाया गीत, डम्फू सेलो प्रस्तुतिहरू भएका थिए । तामाङ समुदायसँग सम्बन्धित रहेका परम्परागत खाना, पुस्तक तथा वस्तुहरूलाई प्रदर्शन गरिएका थिए ।

ल्होछार समारोहमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालले तामाङ भाषामै ‘ल्होछारला ज्याबाडान्बा’ भनेर शुभकामना दिँदै यो पर्व तामाङको मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वका रुपमा रहेको बताए । बहुजातिय, बहुसांस्कृतिक, बहुधार्मिक नै नेपालको गौरव रहेको सुनाउँदै उनले यसको एकत्रित स्वरुप नै मुलुकको संस्कृति तथा सम्पत्ति रहेको जिकीर गरे । ल्होछार पर्व मानव सभ्यता, दर्शन, इतिहास, विज्ञान र कृषि युगको सभ्यता र पहिचालाई समेत प्रतिनिधित्व गरेको उनले उल्लेख गरे । उनले भने, ‘विगतमा अधिनायकवाद सामन्ती राज्यले एउटा संस्कृतिलाई काखा र अर्कोलाई पाखा लगाउँदा ल्होछारजस्ता सांस्कृतिक पर्वहरू लोप भएर जाँदै छन् । अनि पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापित गर्दै छ ।’

ल्होछारकै अवसरमा आइतबार सरकारले सार्वजनिक बिदासमेत दिइएको थियो ।

प्रकाशित : माघ ९, २०७९ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×