सुदूरको सान

लोक सुस्केराको ओज

सुदूरपश्चिमका मौलिक लोकगीतहरूको इतिहास छ । डाँडाकाँडा र गाउँबस्तीसँगै अन्तरकुन्तरमा संस्कारजन्य परम्परा र मनोरञ्जनको सर्वप्रिय जुनकिरी बनेर उज्यालो छरिरहेका छन् यस क्षेत्रका लोकगीतले । लोकजीवनका अनुभव, संस्कार, संस्कृति, मायाप्रेम, विरह, सुखदुःख, सबै–सबै लोकगीतका माध्यमबाट व्यक्त भइरहेका हुन्छन् ।

लोक सुस्केराको ओज

गोठालो जाँदा, खेतीकिसानी, घाँसदाउराको जोहो गर्न जाँदा, चाडपर्व, मेलामहोत्सव, संस्कारकर्म, पूजा अनुष्ठानलगायतका धार्मिक–सांस्कृतिक परम्परा निर्बाह गर्दा यहाँका सुरिला लोकभाकाहरू सदैव गुञ्जिरहन्छन् । यी लोकगीतहरूका मधुरवाणीहरू र सुरिला स्वरहरू नगुञ्जिएसम्म न त संस्कारजन्य कर्महरू र पूजा अनुष्ठानहरू पूर्ण हुन्छन् । न धीत मर्छ न त थकान मेटिन्छ । बालापनको साथी, छोर्‍याट्टा–छोर्‍याट्टीको बैंसको पिरती र बुढेसकालको मंगलाचरण यहाँका लोकगीतहरू नै हुन पुगेका छन् ।

काली–कर्णाली क्षेत्रका लोकगीतहरू शरद ऋतुको जुनेली रात बनेर प्रत्येक महिला पुरुषको मन–मनमा उज्यालो छरिरहेका हुन्छन् । दुःख पीडाले आक्रान्त बनेका यहाँका जनजनका मनहरू न्याउल्या (डेउडा), ठाडीभाका, चैत, चाँचरी, धमारी, होरीलगायतका लोकगीतहरू गाएर नै आनन्दको अनुभूति गर्छन् । पहाडमा गुराँस, प्याउली र प्रत्येक घरका आली र कान्लामा हजारी फूल फुलेझैं प्रत्येक सुदूरपश्चिमवासीका मनमा लोकभाकाका सुवासिला आस्थाका फूलहरू ढकमक्क भएर फुलेर सुवास छरिरहेका हुन्छन् ।

यस प्रदेशको प्राकृतिक सम्पदा, आर्थिक विकास, सामाजिक जागरण, सांस्कृतिक विरासत, राजनीतिक अवस्था, अनि व्यक्तिविशेषको वीरता, पुर्खाको इतिहास, सांस्कृतिक विरासत, धार्मिक विश्वास, नैतिक आचरण, जीवनको सार्थकता, पारिवारिक सम्बन्ध, अभाव, जवानी, मित्र प्रेम, बैगुनीको पीडा, अविश्वासको खाडल, तन्नेरीका पिरती, लोग्नेस्वास्नीको झगडा, जातीय विभेद, सामाजिक उत्पीडन, समयको माग, गाउँघरको विकास, देवदेवस्थलको महिमा जस्ता धेरै विषयवस्तुहरूको दरिलो र भरिलो गुन्टो लोकगीतले बोकेका हुन्छन् ।

परम्परागत मौलिक न्याउल्या (डेउडा), ठाडीभाका, फाग, मागल, ढुस्को, चाँचरी, चैतलगायतका लोकगीतहरूको उपस्थिति भएन भने जुनसुकै कार्यक्रममा वातावरण नै अत्यास लाग्दो हुने गरेको छ । नेपाली भाषाका चलचित्र, सुगम संगीत र लोकदोहोरीमा समेत सुदूरपश्चिम प्रदेशका भाकाको उपस्थितिले यहाँको लोकगीतको धरातल फराकिलो हुँदै गएको पाइन्छ । काठमाडौंको टुँडिखेल र खुलामञ्चदेखि अमेरिका, अस्ट्रेलिया, जापानलगायतका अडिटोरियम हलसम्म यस क्षेत्रका लोक डेउडा र गौराका तथा मागलहरू गुञ्जिनुले सुदूरका लोकगीतका लागि सुखद पक्षको संकेत गरेको छ ।

सुदूरपश्चिमेलीका पुर्खाहरूले निर्माण गरिदिएको सांस्कृतिक धरातलको सर्वप्रिय विधा लोकगीत नै हो । बालकदेखि वृद्धसम्म जनजनको मनमा बस्न सफल लोकसाहित्य र संस्कृतिको सबैभन्दा लोकप्रिय विधा लोकगीत आफ्ना मिठासपूर्ण लयात्मक पाइलाहरू द्रुतगतिमा चाल्दै अनि नयाँपन र उमंगका पँखेटाहरू फिजाउँदै वर्तमान अवस्थासम्म आइपुगेको देखिन्छ । यस प्रदेशको मौलिक लोकसंस्कृतिको परम्परागत मूल्य र मान्यतालाई केही नयाँ पुस्ताले आत्मसात् गर्न नसकेको देखिन थालेको छ । काली, कर्णाली, भेरी, सेती र बूढीगंगाको पवित्र जलझैं हाम्रा लोकसंस्कृतिमा विकृतिका सस्ता झुल्काहरू मिसाएर बिटुलो बनाउने प्रयास हुन थालेका छन् । यो चिन्ताको विषय छ ।

सुदूरपश्चिम प्रदेशको लोकगीत र जनजीवनको सम्बन्ध माछा र पानीझैं छ । आमाले गाएका फाग, मागल र ठाडीभाकामा एकाग्र भएर सुनिरहने बच्चाहरू तन्नेरी भएपछि डेउडा खेल्छन् । आमासँगै घाँसदाउरा र खेतीपातीमा सघाउन जाने केटाकेटीदेखि कपाल सेताम्मे भएका बूढापाका डेउडा भनेपछि हुरुक्कै हुन्छन् । विभिन्न कालखण्डमा अपी र सैपालको हिउँझैं सुवासिलो कञ्चनपनलाई निखार्दै अनि सुमधुर लयहरूलाई मनका आली र कान्लाहरूमा सम्याउँदै लोकडेउडा गीतहरूले लोकजीवनलाई छपक्कै ढाकेको देखिन्छ ।

बहुजातीय, भाषिक, धार्मिक र सांस्कृतिक देश नेपालको राष्ट्रिय भाषाको उद्गमस्थल काली–कर्णाली क्षेत्रलाई नै मानिएको छ । दसौं–एघारौं शताब्दीतिरै खस अपभ्रंशबाट नेपाली भाषाले नव्य आर्यभाषाको रूप धारण गरिसकेपछि हिमाल, पहाड र तराईलाई एकापसमा जोड्दै यहाँको लोकसंस्कृतिको विकास र विस्तारमा भूमिका खेलेको देखिन्छ । सुदूरका श्रुति परम्परामा हुर्किंदै आएका न्याउल्या (डेउडा), देउडा, चैत, चाँचरी, ढुस्को, भोलाउलो, हुड्केली, सगुन, फाग, मागल, चैतलो, होरी, धमारी, भैलो जस्ता लोकगीतहरू नै प्राचीन लोकसाहित्यका सामग्री हुन् । त्यसैले यो क्षेत्र लोक गीतसंगीतमा वैभवशाली ठाउँका रूपमा परिचित हुन पुगेको छ । नागमल्लको धमारी र भैनी, भागेश्वरको ढुस्को, रिपुमल्लको चाँचरी, नरपति शाहीको चैतजस्ता लोकगीतहरूले तेह्रौं–चौधौं शताब्दीको राज्यशासन र तत्कालीन अवस्थाको इतिहास प्रस्ट्याएको पाइन्छ ।

सुदूरपश्चिम प्रदेश मुलुकको विकट क्षेत्र हो । इतिहासका कालखण्डहरूमा धेरै विषम परिस्थितिको सामना गर्नुपर्‍यो यस क्षेत्रले । काठमाडौंबाट दूरदराजमा रहेको प्रदेशले चेतना र शैक्षिकस्तरको पछौटेपनको सामना लामै समयसम्म गरिरहनुपरे पनि प्राचीनकालदेखिका विभिन्न विधाका लोकगीतका सामग्रीहरू भने सुरक्षित रहनु लोक साहित्यका अन्वेषकहरूका लागि सुखद पक्ष हुन पुगेको देखिन्छ ।

प्रकाशित : माघ ९, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?