अनि बस्यो सिर्जनाको लत- कला - कान्तिपुर समाचार

अनि बस्यो सिर्जनाको लत

करिब तीन दशकदेखि निरन्तर संगीत साधनामा तल्लीन तिलकसिंह पेला बजार, पद, पुरस्कार र सम्मानबाट निकै दूर छन् । उनी शास्त्रीय संगीतको धुन भर्छन्, आफैं गाउँछन् अनि महसुस गर्दै आनन्द लिन्छन् । संख्या थप्नैका लागि बर्सेनि गीत ल्याउने रहरमा छैनन् उनी ।
सुशीला तामा‌ङ

काठमाडौँ — के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ 

साथी रहेछ दुःख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्टै हतार हुन्छ

पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ ?

खोला नदी समुद्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ

गजलकार प्रदीपकुमार मैनालीको रचना, गायक तथा संगीतकार तिलकसिंह पेलाको संगीत र स्वर रहेको गजलको केही दिनयता सांगीतिक फाँटमा चर्चा चुलिएको छ । गजललाई सात दिनअघि मात्र पेलाकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संगीतका हस्तीहरू मात्र होइन, युवा पुस्ताका संगीतप्रेमीले समेत यसलाई निकै रुचाएका छन् । गजल ‘मुजारे मुसम्मन अखरब’ बहर र ‘दिक्पाल’ छन्दमा रचना गरिएको छ । त्यसैमा संगीतकार पेलाले मालकौंस रागको ध्वनि भरेका हुन् ।

पछिल्लो समय नेपाली गीतसंगीतको अवस्था अलिक अलग भएको छ । अर्थात्, सुन्ने भन्दा पनि हेर्ने विषयवस्तु बनेका छन् गीतसंगीत । श्रोताहरू दर्शकमा परिणत भएपछि स्रष्टाहरू लाखौं खर्च गरेर चल्तीका मोडलसहित बडो तामझामले गीत सार्वजनिक गर्ने होडबाजीमा छन् । तर बजारमा चलेकाभन्दा फरक गीत निकालेर पेलाले साहस गरेका छन् । र, त्यही साहसले अहिले सांगीतिक बजारमा चर्चा बटुलेको छ ।

‘सिर्जनाले बजार होइन, बजारले सिर्जना खोज्दै आइपुग्छ,’ भन्ने भनाइ उनको संगीत साधनाको मर्मले सार्थक बनाइदिएको छ । आफ्नो पछिल्लो सिर्जना मन पराउने श्रोताको जमात बढेसँगै उनलाई भान भएको छ, ‘संगीत बुझ्ने मानिसहरू राम्रो गीतसंगीतको पर्खाइमा रहेछन् । हुन सक्छ, बजारका गीतले श्रोता/दर्शकहरूको भाव छुन सकेन ।’

२०५३ सालदेखि निरन्तर संगीत साधनामा तल्लीन साधक पेला भने बजार, पद, पुरस्कार र सम्मानबाट निकै दूर छन् । उनी शास्त्रीय संगीतको धुन भर्छन्, आफैं गाउँछन् अनि महसुस गर्दै त्यसैमा भावविह्वल भएर आनन्द लिन्छन् । ‘संगीतप्रति मेरो सम्मान त छँदै छ तर गाउँदै हिँड्ने, गीत बजारमा ल्याउने र संख्या मात्र थप्ने मेरो रहर पटक्कै होइन,’ आफ्नो पछिल्लो गीतबारे प्रतिक्रिया दिँदै उनी भन्छन्, ‘बजारका रूपमा हेर्दा यसमा मलाई त्यति धेरै खुसी र उत्साह त छैन । यद्यपि संगीतप्रेमीलाई हृदयमा छोएर तृप्त पार्ने सिर्जना बन्यो । उहाँहरूलाई आनन्दित पार्न सकियो । यस मानेमा म निकै खुसी छु ।’

तस्बिरहरू : पेलाको फेसबुकबाट

सांगीतिक क्षेत्रमा आम श्रोताले रुचाएका पेलाको सिर्जना यो पहिलो भने पक्कै होइन । ०५३ सालमा नै उनको ‘आँसु’ एल्बममा समाहित भएको गीत ‘लुकाउन खोज्दा पनि’ गीत निकै लोकप्रिय बनेको थियो । यसै सांगीतिक कोसेलीमार्फत बैतडीबाट पहिलो आधुनिक गायकका रूपमा उनको उदय भयो । त्यसपश्चात् भने सांगीतिक बजारभन्दा पर अलग्गै रहेर उनी निरन्तर संगीत साधनामै अभ्यस्त थिए । तीन वर्षअघि मात्र उनी २३ वर्षपछि ‘निर्जन किनार आँसु भाग ३’ लिएर बाहिर निस्केका थिए । फेरि उसैगरी उनी संगीत साधनासँगै गुपचुपमै थिए ।

झन्डै १८ वर्षदेखि श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा नयाँ साधकलाई संगीतको मर्म र बाटो देखाउनु नै उनले आफ्नो जिम्मेवारीका रूपमा ग्रहण गरिरहेका छन् । उनकै शब्दमा ‘म त आफूलाई संगीतको जोगी नै मान्छु । तर सबै संगीत सर्जकलाई म जस्तै गरी बस्न सम्भव छैन । जो असली रूपमा बाहिर आउनुभएको छ, उहाँहरूको मूल्यांकन संगीत बजारमा हुनुपर्छ भन्ने मलाई लागिरहन्छ ।’

यसरी सिर्जना भयो ‘के लत बस्यो’

संगीतप्रेमीहरूलाई संगीत प्रशिक्षणभन्दा बाहेक हार्मोनियम र तबलामा संगीत धुन निकाल्दै त्यसैमा लय हालेर गुनगुनाउनु पेलाको दैनिक नै थियो । त्यही दैनिकी कोरोना महामारीको समयमा एक्लोपनको सहारा बन्यो । गजलकार विक्रम तिमल्सिनाको गजल ‘माया मात्र कस्तो–कस्तो अलिअलि चोट देऊ’ मा उनले धुन भरेको लयलाई अर्का गजलकार मैनालीले भेट्टाए । गजल तथा साहित्यिक फाँटमा एक दशकभन्दा लामो समयदेखि सक्रिय मैनाली पनि पेलाबारे अनभिज्ञ नै थिए ।

पेलाले गाएको गजलको सेर र धुनले उनी निकै प्रभावित भएर अर्का गजलकार रवि प्राञ्जलमार्फत उनले पेलालाई भेटे । आफ्नो गजललाई सांगीतिक रूपमा लैजाने प्रयासमा उनले लामो समय दौडधुप गरेको बताउँछन् । संगीतको धुन र लयप्रति चित्त नबुझेर धेरै स्रष्टाहरूसँग सम्झौता भएको रकमसमेत फिर्ता लिए । कतिसँग त त्यतिकै छोडिदिए । प्राञ्जलमार्फत पेलाको सांगीतिक स्वभावलाई बुझेका मैनालीले गजल गायनको प्रस्तावभन्दा पनि मित्रतालाई पहिलो प्राथमिकतामा राखे । ‘उहाँलाई सुरुमै मेरो गजलमा संगीत भरेर गाउनुस् भन्न सम्भव नै थिएन । निकै पटक भेटघाट र मित्रता भएपछि बल्ल मैले आफ्नो प्रस्ताव राखें,’ उनले स्मरण गरे । पेलालाई राजी गराउन उनलाई दुई वर्ष लाग्यो ।

संगीत बजारमा गीतका रूपमा आएका गजलहरू देखेर विरक्तिएका मैनालीलाई गजल गायनको अनुपम सिर्जना गर्ने ठूलो सपना थियो । गीत, गजल र कवितालाई एउटै परिवेशमा बुझ्ने माहोलमा उनी वास्तविक गजलको स्वाद चखाउन चाहन्थे । यसैमा उनले गजलको सांगीतिक प्रस्तुतिको योजना बुने । त्यस्तो सिर्जना पेलाबाट सम्भव हुने बाटो देखेपछि उनी निरन्तर यसैमा लागिरहे । अन्ततः पेला आफ्नो नाम र अनुपस्थितिमा काम गर्न राजी भए ।

गजलहरूको मर्म बुझेर धुन, लय, ताल र रागहरू खोज्न मात्र डेढ महिनाभन्दा बढी समय लागेको पेला सम्झन्छन् । ‘अहिलेको गजलका लागि दुई/तीन वटा रागमा धुन भर्दै चित्त नबुझेपछि फेरि अर्को खोज्ने काम भइरह्यो । आफूलाई चित्त बुझेपछि फेरि प्रदीप सरलाई सुनाएँ र उहाँलाई पनि धुन खुब मन पर्‍यो,’ उनले भने । फलस्वरूप मोतीराम भट्टको १५७ औं जन्मजयन्तीको अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा राष्ट्रिय नाचघर जमलमा गरिएको ‘सांगीतिक गजल मुसायरा तथा स्रष्टा सम्मान’ कार्यक्रम सम्पन्न भयो । जहाँ पेलाको संगीत तथा निर्देशनमा अहिलेको गजलसहित ८ वटा गजलमा आवाज शर्मा, अञ्जान यात्री, भोजराज घिमिरेलगायतका गजलकारहरूले सांगीतिक प्रस्तुति दिए ।

पेलाकै आग्रहमा पछिल्लो लोकप्रिय गजल भने उनका चेला कमल विष्टले गाएका थिए । ‘प्रदीप सरजस्तो स्रष्टाको आग्रह नकार्न नसकेपछि म र मेरो चेला कमलले कार्यक्रमका लागि भनेर गजलहरूमा धुन भरेका थियौं । यो गजल कमलले गाउँदा उपस्थित सबैले निकै मन पराउनुभयो ।’ त्यसपछि भने यो गजल रेकर्ड गर्नुपर्छ भन्दै पेलालाई सबैतिरबाट अनुरोध आउन थाल्यो ।

त्यतिबेला उनले चेला कमललाई नै अघि सारे पनि रचनाकार मैनालीले पेलालाई गाउन आग्रह गरे । अधिकांश भिडियो फुटेजहरू पनि मोबाइलबाट नै लिएर आफैंले भिडियो तयार पारेको स्मरण गर्छन्, गजलका संगीत एरेन्जर संगीतकार रिदम कँडेल । अहिलेको संगीत बजारमा व्यस्त कँडेल पेलाकै चेला हुन् । ‘हामीले गजल रेकर्ड गर्दागर्दै भिडियोका लागि अफरहरू आएका थिए । तर गुरुको इच्छाअनुसार हाम्रो फोकस अडियोमै थियो । अहिले देखिएको भिडियो यसलाई बाहिर ल्याउने बाध्यकारी माध्यम मात्र हो भनेर हामीले लिएका छौं,’ उनले प्रस्ट्याए ।

भिडियो बनाउनै पर्ने बाध्यकारी अवस्था, अडियोभन्दा भिडियोमा बढी मिहिनेत, ओझेलमा परेका वाद्यवादक, रचनाकार, गीत सार्वजनिक गर्न मात्र चल्तीका युट्युब च्यानलमा गर्नुपर्ने अत्यधिक खर्चजस्ता प्रवृत्तिलाई यसले सोच्न बाध्य बनाएको पेला, मैनाली र कँडेल बताउँछन् । संगीत सिर्जना र बजारमा नैराश्यता ल्याएको समयमा पछिल्लो गजलले एक हजार मान्छेको मन मात्र छोए पनि ठूलो उपलब्धि हुन्छ भनेर सम्पूर्ण टिमको सोचाइ थियो । पेला भन्छन्, ‘यति धेरै माया पाइन्छ भनेर त सोचेका थिएनौं । गजललाई पढ्दा मेरो मन छोएको थियो । त्यसपछि धुन भरेर गाउँदै गर्दा धेरै वटा सेरमा मैले रुँदै गाएको छु । मेरो मनलाई छोएर मैले आनन्द लिएँ र मेरा लागि यही संगीत हो ।’

सांगीतिक बजारमा गाउने र बजाउनेको कमी छैन । तर वास्तविक सिर्जनाका लागि संगीतप्रेमीहरू निकै लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । जुन कुरा संगीत क्षेत्रले दिन सकिरहेको छैन भन्ने उनको अनुमान सही साबित भयो । संगीतका सर्जकहरूले यसैलाई प्राथमिकतामा राखेर सिर्जना जारी राखे कुनै न कुनै दिन त्यस्ता सिर्जनाको मूल्यांकन हुनेमा उनी ढुक्क छन् ।

प्रकाशित : माघ ५, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

ललितकलामा नाम र दाम

‍पछिल्लो समय नेपालको कला क्षेत्र रोजगारी र उत्पादनसँग जोडिएपछि चित्रकार, मूर्तिकार, डिजाइनरलगायतका प्रयोगात्मक सीप र सिर्जनामार्फत नामसँगै दाम कमाउन चाहने युवापुस्ताको आकर्षण बढेको हो
सुशीला तामा‌ङ

काठमाडौँ — कहिलेकाहीँ एक्लै हुँदा उनी त्यही एक्लोपनालाई सिर्जनाले भरिदिन्छन् । कहिले मनमा उत्साह, कहिले दुःख ती सबै पललाई भुलाउने र त्यसैलाई सिर्जनाको आकार दिएरै २८ वर्षीय कलाकार विद्यमान तामाङको दिनचर्या बित्छ । रामेछाप पुर्ख्यौली घर भएका तामाङ गाउँ छोडेर बाल्यकालमै परिवारसँगै काठमाडौं पसे ।


सानैदेखि चित्रकलामा रुचि भएका उनी स्कुले जीवनपछि भने व्यवस्थापन संकायमा भर्ना भए । १२ कक्षासम्मको अध्ययनपछि भने उनी २०७० सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत ‘ललितकला क्याम्पस’ भर्ना भए ।

ललितकलामा नै स्नातकोत्तर पूरा गरेर हाल उनी कला सिर्जनासँगै काठमाडौं विश्वविद्यालयमा कला विषय प्राध्यापनमा समेत लागेका छन् । कलामा सानैदेखि रुचि भएर पनि परिवारलाई उनले कला विषय नै अध्ययन गर्छु भनेर भन्न नसकेको उनी बताउँछन् । कलाको औपचारिक अध्ययन हुने कलेज र विश्वविद्यालयबारे पनि उनी अनभिज्ञ थिए । ‘म सानोमा स्कुलमा पनि सर, म्यामले पढाइरहँदा पछाडि बसेर चित्र कोर्थें,’ उनले भने, ‘कलेजमा आर्ट नै पढ्छु भनेर कसैलाई भन्न नसक्दा दुई वर्ष व्यवस्थापनमा बिताएँ ।’ चित्र कोर्ने, मानविकी संकायमा पढ्ने विद्यार्थीलाई कमसल, नपढ्ने विद्यार्थीको दर्जामा राख्ने समाज र परिवारको मानसिकता भएकोले नै सुरुमै आफ्नो मनपर्ने विषय पढ्ने अवसर नपाएको उनले बताए । पछि उनले ललितकला अध्ययन गर्ने कलेज हुन्छ भन्ने पत्तो पाएपछि मात्र कला अध्ययनतिर लागे । कला अध्ययनपछि मात्र उनको मनले शान्ति, अनौठो खुसी तथा उत्साहको महसुस गर्‍यो ।

‘मैले सानैदेखि चाहेको चित्रबारे पढ्न पाउँदा मनमा एक किसिमको रिलिफ फिल भयो । कला भनेको चित्र कोर्नु मात्र होइन । आफ्नै जीवन, समाज, देश, इतिहास, विज्ञान, भूगोल, प्रकृति तथा सम्पूर्ण जीवको अध्ययनसँगै त्यसलाई नजिकबाट बुझ्नु पनि रहेछ भन्ने कुरा मैले बुझें,’ उनले भने । विशेषतः प्रिन्ट माध्यममा चित्र सिर्जना गर्ने उनले कलामा नै प्रकृति, जीव तथा बाल्यकालका स्मरणलाई अभिव्यक्त गर्दै आएका छन् । सहरीकरणसँगै खण्डीकरणमा परिणत कृषियोग्य भूमिलाई उनले चित्र तथा प्रतिस्थापन कलामार्फत हालै सम्पन्न एकल कला प्रदर्शनीमा प्रस्तुत गरेका थिए । उनी सन् २०२० को अस्ट्रेलियन हिमालयन अवार्ड विजेता पनि हुन् । उनका अनुसार आधुनिक कलाकृति सिर्जनामात्र नभई समकालीन समय र परिवेशको दस्ताबेज पनि हो । त्यसका लागि एउटा कलाकार प्रत्येक समय र पलसँग सचेत भइरहनुपर्ने उनको अनुभव छ ।

तामाङ मात्र होइन, पछिल्ला केही वर्षयता ललितकला अध्ययनमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको देखिन्छ । ललितकला विषय अध्यापन गर्ने स्कुल, कलेज तथा विश्वविद्यालयको संख्यामा वृद्धि र यसअन्तर्गत पनि विभिन्न विधा थपिएपछि युवा पुस्ता आकर्षित भएका कलाकार, कला लेखक तथा लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्ट्सका पूर्वप्रधानाध्यापक मदन चित्रकार बताउँछन् । कला अध्ययन गर्न अहिले सहज वातावरण उपलब्ध हुनु र कला नै समाजमा रोजगारी तथा उद्योगका रुपमा विकसित हुँदै गएकाले पनि युवा पुस्तामा आकर्षण बढेको उनको भनाइ छ ।

युवा पुस्तालाई अहिले कला स्वतन्त्र रूपमा मनको अभिव्यक्ति दिने माध्यम बनेको स्वयं कलाकारहरू नै स्विकार्छन् । ‘हामीले देखेको र भोगेको कुरा नै कलामा आउने हो । कसरी यसलाई अवधारणा बनाउने र नौलो रूपमा प्रस्तुत गर्ने भनेर हामी जुनसुकै बेला पनि रिसर्च र सोचाइमा रहेका हुन्छौं,’ कलाकार तामाङ भन्छन् । नयाँ कलाको अवधारणाले समाज र देशलाई दिने सन्देश र सचेतनाले आफैंलाई गर्व लाग्ने उनको भनाइ छ ।

तामाङको जस्तै अनुभव कलाकार रसिक राईको छ । झापाका राईले परिवारकै करमा कम्प्युटर इन्जिनियरिङमा स्नातक तह पूरा गरे । उनलाई भने चित्रकार बन्ने सपना थियो । ललितकला पढ्ने अध्ययनकै खोजीमा उनी सिर्जना कलेज पुगे । हाल स्नातक तह अन्तिम वर्षमा अध्ययनरत राई निकै खुसी र सन्तुष्ट छन् । उनी मन छोएको विषय र आफ्नै भोगाइलाई स्वतन्त्र रूपमा रङ लिएर क्यानभासमा भरिदिन्छन् । ‘मलाई मन पर्ने विषय बल्ल पढ्न पाएको छु । यसैमा म आफूलाई फ्रिडम फिल गर्छु । सिक्दै छु तर केही काम पनि भइरहेको छ ।’ हाम्रो संस्कार र परम्परा अझै पनि सन्तानको भन्दा अभिभावकको रहरमा पढाउने प्रचलन हाबी छ । अझ आफ्नो सन्तान डाक्टर वा इन्जिनियर नै बनोस् भन्ने चाहना राख्ने अभिभावकलाई राईको सुझाव छ, ‘आफ्नो बच्चालाई जेमा भित्री इच्छा छ, त्यही पढाउँदा राम्रो हुन्छ ।’ कलामा स्वतन्त्र र आनन्द मात्र होइन, गर्न चाहने हो भने रोजगारीको अवसर पनि निकै राम्रो रहेकाले आफूले यो क्षेत्र नछाड्ने सोचमा छन् उनी ।

कला स्कुल र औपचारिक कला अध्ययनको इतिहास हेर्ने हो भने नेपालमा १९९१ सालमा ‘नेपाल आर्ट स्कुल’ को स्थापना भएको थियो । पछि १९९५ मा यसैलाई जुद्धकला पाठशालाका रूपमा नामकरण गरिएको कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीले ‘कला शिक्षाको भूमिका’ शीर्षक लेखमा उल्लेख गरेका छन् । सानैदेखि बाबु तेजबहादुर चित्रकारको सिर्जना हेरेर प्रेरणा पाएका कलाकार तथा कला लेखक चित्रकारले जुद्धकलामा नै औपचारिक कला शिक्षा लिए । उनको समयमा कला अध्ययन गर्ने वातावरण र यसलाई पेसाका रूपमा समाजले स्विकार्ने अवस्था थिएन । नेपालमा स्नातक तहमा कला पढ्ने वातावरण नभएपछि उनी सन् १९६३ तिर बम्बईमा गएर ५ वर्ष कला अध्ययन गरेर स्वदेश फर्के । ‘त्यतिखेर कला अध्ययन प्राथमिकतामा पर्दैनथे । पढ्नलाई पनि कलेजहरू थिएनन् । पढ्न चाहनेले बम्बई, कलकत्ताजस्ता ठाउँमा गएर पढ्नुपर्थ्यो,’ उनले सुनाए । लेखक थुम्केलीका अनुसार २०२४ सालमा जुद्धकला नै ललितकला महाविद्यालयका रूपमा परिणत भयो । २०३० सालमा भने त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक संकायमा राखेर आईए, आईएफए (प्रवीणता प्रमाणपत्र) तह अध्ययन गराउने ललितकला क्याम्पसको सुरुवात भयो । यसैमा २०३३ सालमा स्नातक तह र २०६६ सालदेखि त्रिवि केन्द्रीय विभाग नै खोलेर ललितकला स्नातकोत्तर अध्ययन/अध्यापन हुन लागेको हो । विभागअन्तर्गत हाल भने विद्यावारिधिसम्म अध्ययन गर्न सकिन्छ ।


मूर्ति बनाउादै अनमारी तामाङ

क्रमिक रूपमा ५० को दशकपछि सिर्जना कलेज अफ फाइन आर्ट्स (त्रिवि) सँगै काठमाडौं विश्वविद्यालयले सेन्टर फर आर्ट एन्ड डिजाइन डिपार्ट नै स्थापना गरेर स्नातक तहको अध्ययन सुरुवात गर्‍यो । कला डिपार्टले हाल स्नातकोत्तर अध्ययनसमेत सुरु गरेर अहिले दोस्रो सेमेस्टर चालु भइरहेको कलाकार तथा प्राध्यापक सागर मानन्धरले बताए । उनका अनुसार हाल कलेजमा ललितकलामा मात्र तीन सयको हारहारीमा विद्यार्थी अध्ययनरत छन् । कलेजले कला सिर्जना मात्र नभएर कलासँग सम्बन्धित रहेका कला क्युरेट, स्टुडियो आर्ट, ग्राफिक डिजाइनजस्ता युवा पुस्तको सीप र आधुनिक समय तथा प्रविधिलाई सुहाउँदो अध्ययनलाई जोड दिइरहेको उनले बताए । ‘कला सिर्जना, युवा पुस्ताको सीपलाई उपयोगी हुने गरी हामीले फाइन आर्टमै क्राफ्ट एन्ड डिजाइन पनि पढाउन थालेका छौं,’ उनले भने । कलाले युवा पुस्तालाई परिवार, समाज र राष्ट्रप्रति अनुशासित, जिम्मेवार मात्र नभएर सीपमूलक र जीवन उपयोगी ज्ञान दिने भएकोले अहिले युवा पुस्तासँगै अभिभावकमा कला विधाप्रति सकारात्मक सोच आएको उनको भनाई छ । हालै मात्र काठमाडौं विश्वविद्यालयमा आर्ट एन्ड डिजाइन डिपार्टअन्तर्गत नै स्टुडियो आर्टमा स्नातक (बीएफए) पूरा गरेकी शैली मल्लले कला अध्ययन युवा पुस्तालाई सक्रिय र रोजगारीका हिसाबले पनि सीपमूलक बनाउन निकै उपयोगी रहेको सुनाइन् । मल्लले हालै साथीहरूको सहकार्यमा नक्सालस्थित ‘स्टुडियो दुरान्तर’ सञ्चालन गरेकी छन् । ललितकला अध्ययनपछि र यही क्रममा कलासँगै सम्बन्धित इलस्ट्रेसन, भिडियोलगायतका सिर्जनात्मक कामसँगै युवा पुस्ताले आम्दानी गर्न सक्ने उनी बताउँछिन् ।

सिर्जनाका प्रधानाध्यापक बालकृष्ण रञ्जितका अनुसार अहिले विद्यार्थीहरूले उच्च मावि र स्नातक तहमा चित्र, मूर्ति, ग्राफिक कम्युनिकेसन, संगीत र नृत्य विषय अध्ययन गर्न पाउँछन् । ललितकला फाँटमा मात्र हाल कलेजमा ४ सय १९ जना विद्यार्थी अध्ययनरत रहेका रञ्जितले सुनाए । तीमध्ये अधिकांशले ग्राफिक कम्युनिकेसन अध्ययन गरिरहेका छन् । त्यसपछि भने चित्र र मूर्तिकला विद्यार्थीको रोजाइमा पर्छन् । मूर्ति, संगीत तथा नृत्यमा भने विद्यार्थी संख्या न्यून रहेको उनले बताए । ‘ग्राफिक कम्युनिकेसन पढेपछि विद्यार्थीलाई जुनसुकै क्षेत्रको डिजाइन, इलस्ट्रेसन जस्ता काममा उपयोगी हुने रहेछ । त्यसैले यसमा विद्यार्थी बढी छन्,’ उनले भने ।

मूर्तिकलामा स्रोत, साधनको कमी, चुनौती र बजारमा अन्य विधाभन्दा न्यून मागकै कारण यसमा आउने युवा पुस्ताका कलाकारहरू कमै रहे पनि बूढानीलकण्ठकी अनमारी तामाङ भने यसैमा साधनारत छिन् । मूर्तिकलामै ललितकला क्याम्पसमा हालै स्नातकोत्तर अध्ययन पूरा गरेकी उनलाई यसैमा भविष्य बनाउने बताउँछिन् । ‘ए लेभल’ अध्ययन गरेकी उनी मूर्तिकार बन्ने सपना बोकेर सिर्जनामा स्नातक तह अध्ययन गर्न पुगेकी थिइन् । ‘सिर्जनामा मूर्तिकला पढ्ने म मात्र थिएँ । मलाई जहिले पनि अरूले भन्दा फरक काम गर्न मनपर्ने भएकाले झन् खुसी भएँ,’ उनले भनिन् । विशेष गरी ढुंगाका मूर्तिहरू सिर्जना गरे पनि केही महिना अघि मात्र फ्रान्समा चार महिना इन्टर्नसिपअन्तर्गत नै अन्तर्राष्ट्रिय सेरामिक तालिममा सहभागी भएकी उनले त्यतै एकल प्रदर्शनीसमेत गरिन् । ढुंगासँगै माटोको मूर्तिकलामा आधुनिक समय र कालखण्डलाई उतारेर थोरै कलाकार रहेको जमातमा धेरै सिर्जना गर्ने उनको ध्येय छ ।

हाल उपत्यकाभित्र नै निजी तथा सामुदायिक कलेज र अधिकांश विद्यालयमा कला शिक्षालाई प्रारम्भ गरिएको पाइन्छ । स्वयम्भूस्थित बिजेश्वरी मावि, भक्तपुरस्थित जय बागेश्वरी मावि, लगनखेलस्थित एम्स कलेज, ललितपुरस्थित ब्लुबर्ड कलेज, मैतीदेवीस्थित युनिभर्सल/न्यु समिट कलेजलगायतले प्लस टु तहमा कला शिक्षा अध्यापन गरिरहेका छन् । त्यस्तै बौद्ध लुम्बिनी विश्वविद्यालयअन्तर्गत पुल्चोकस्थित अक्षेश्वर विहारले स्नातक तहमा परम्परागत कला अध्ययनको सुरुवात गरेको छ । उपत्यका बाहिर भने पोखरास्थित हिल प्वाइन्ट मावि र पथरी मोरङस्थित पञ्चायत माविमा कला शिक्षा अध्ययन सुरु गरिएको छ । कलालाई सिर्जना मात्र नभई अहिले उत्पादनसँगै युवा पुस्ताले चित्रकार, मूर्तिकार, डिजाइनरजस्ता दैनिक रूपमा प्रयोगमा आउने प्रयोगात्मक सीप छान्न पाउने अवसर रहेकाले युवा पुस्ताको आकर्षण बढेको कला लेखक थुम्केलीको ठम्याई छ । यसैमा युवा पुस्ताले रोजगारीसँगै नाम र दाममा करियर बनाउन सक्ने उनले बताए ।

प्रकाशित : माघ ३, २०७९ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×