कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कलामा समकालीन व्यवस्थामाथि व्यंग्य

सुशीला तामा‌ङ

काठमाडौँ — बुट्टेदार गलैँचाहरू, त्यसैमाथि सानदार सुनौला कुर्सीहरूमा आ–आफ्नै रवाफ शैलीमा विराजमान गधाहरू । हरियो रङको गधा चिन्तित मुद्रामा छन् । नीलो रङको गधा सोचमग्न छ भने गुलाबी रङको गधाको मुहारमा प्रफुल्लता र पूर्णता छ ।

कलामा समकालीन व्यवस्थामाथि व्यंग्य

तीनैवटा गधाका कुर्सीको पछाडितिर ठडिएका चन्द्र, सूर्य अंकित झण्डा र चित्रका पृष्ठभूमिमा अँध्यारो रङमा कोरिएका संकेतहरूलाई नियाल्दै गर्दै आम कलाप्रेमीहरूमा त्यसमा रुमलिरहेका वर्तमान राजनीति, सत्ता र शक्तिहरू आफ्नो परिदृश्यमा आउन सक्छन् ।

मुलुकमा पटक–पटक चुनाव हुन्छ, जनप्रतिनिधि चुनिन्छ, सत्ता र शक्ति बाँडफाँटको खेल चल्छ र सरकार बन्छ । व्यवस्था फेरिरहन्छ तर जनताको अवस्था फेरिँदैन । विकासको नाममा विनाश चल्छ, प्रकृति दोहनमा निरन्तर हुन्छ । यही क्रम हिजो चल्यो, आज चल्दै छ र भोलि पनि चल्न सक्छ भन्ने इंगित गर्दै चित्रकार सुरेश बस्नेतले बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा जारी ‘गल्पः एपिसोड्स इन माई लाइफ’ शीर्षक एकल चित्रकला प्रदर्शनी मार्फत समकालीन व्यवस्थालाई व्यंग्यात्मक रुपमा सचेत गराएका छन् ।

३२ वर्षीय चित्रकार बस्नेतले ढेड दशक लामो आफ्नो कलाकारिता यात्रामा सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक, न्यायिकजस्ता विविध क्षेत्रमा देखेका विसंगति, विकृति र अराजकतालाई सिर्जनामा अभिव्यक्त गर्दै आएका छन् । गल्पको अर्थ खुट्याउने हो भने कहानी, विचारप्रधान वा भावपूर्ण घटनात्मक स–साना छोटा कथाहरू भन्ने अर्थ लाग्छ । बस्नेतका अनुसार कला अनुभूतिको बिम्व हो । मानिस सामाजिक प्राणी भएकाले समाजमा घटित स–साना प्रत्यक्ष तथा अप्रत्यक्ष घटनाहरूले प्रभाव पारिरहेको हुन्छ । आफूले देखे, भोगेका तिनै विविध खालको घटनाहरू, अनुभव तथा भोगाइलाई नै कलामार्फत प्रस्फुटन गरेको उनको भनाइ छ । आफ्नो कला यात्रामा राजनीतिक घटनाक्रम र राजनीतिक दलको प्रवृत्तिले बढी प्रभाव पारेको उनले बताए । ‘हामीले हाम्रो राजनीति र नेताहरूबाट जे आशा राखेका थियौं, त्यो कहिल्यै भएन’, उनले भने,‘नेतृत्वमा बस्नेहरूको मात्र जीवन परिवर्तन भयो । हामी जनता र देशको अवस्था कहिल्यै माथि आएन ।’

बस्नेतले कुर्सीमात्र होइन, रेल, डुंगाजस्ता बिम्वहरूलाई प्रयोग गर्दै अर्धचेत रहेका सत्ता र शक्तिलाई प्रतिकात्मक रुपमा चोटिलो रुपमा प्रहार गरेका छन् । उनको एउटा चित्रमा एक जना निदाएको वृद्ध मानिसको टाउकोमा रेल देखाइएको छ । अर्कोमा भने दौरा सुरुवाल र टोपीमा सजिएको अर्का मानिस बाढी आएको स्थानमा कुर्सीमै निदाइरहेका छन् भने जनताहरू हार गुहार मागिरहेका छन् । मुलुकमा शक्तिको केन्द्रमा रहेका मानिसहरूप्रति सचेतना जगाउन व्यंग्यात्मक रुपमा कला मार्फत नै देखाइएको बस्नेतले सुनाए । उनले थपे, ‘बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप तथा विपद्का घटनाहरू वर्षेनी भइरहन्छन् । तर जुन बेला भयो त्यतिबेला मात्र जिम्मेवार पक्ष सचेत बन्छ । यो प्रवृत्ति र क्रम चलि नै रहेको छ ।’ कछुवालाई बिम्व बनाएर उनले सरकार र जिम्मेवार निकायको कार्यक्रम तर्जुमा तथा कार्यान्वयनलाई ढिलासुस्तिको संकेत गरेका छन् । जिम्मेवार निकाय तथा व्यक्तिहरूले अध्ययन र अनुसन्धान बिना नै तय गर्ने कार्ययोजनाहरूले मुलुकमा पारिरहेको नकरात्मक असरबारे आफ्नो कलाकृतिहरूबाट सन्देशमूलक ज्ञान प्रवाह होस् भन्ने उनको चाह छ । देशका विभिन्न स्थानमा सडक मार्ग तथा विमानस्थल निर्माणका नाममा गरिरहेको वनजंगल फँडानीले त्यसमा आश्रित रहेका वन्यजन्तुको अस्तित्व संकटमा परिहेको छ । तलतिर डोजर र माथितिर हवाईजहाजमाथि हात्ती, गैंडा, बाघ जस्ता जीवजनावर चित्रित उनका चित्रले वनभित्र रहेका ती जीव र जनावरलाई कहाँ लगेर जोगाउने भन्ने प्रश्न चिन्ह खडा गर्छ ।

प्राकृतिक पक्षलाई विनाश गर्दै खुल्ला ठाउँमा रहने रुखविरुवा, जीवजनावरलाई मानिसले सोखका रुपमा घरभित्र राख्ने प्रवृत्तिलाई समेत उनले व्यंग्य गर्दै चित्रमै समेटेका छन् । प्रकृति र प्राकृतिक पक्षलाई जहाँ छ, त्यही अवस्थामा रहन दिउँ भन्ने उनको कला मार्फत आग्रह हो । अर्कोतिर उनले कलाबाट नै प्रविधिमाथि निर्भर रहने पुस्तालाई समेत चित्रण गरेका छन् । मोबाइल आम मानिसको दैनिकी बनिसक्यो । स–साना बालबालिकालाई खेलौनाका सट्टा मोबाइल दिने प्रवृत्ति बढ्दो छ । यसले पार्ने नकरात्मक असरप्रति उनले सजक हुने सन्देश दिएका छन् । हाम्रा कतिपय नकरात्मक र दुःखका कुराहरू हामीद्वारा नै सिर्जित भइरहेको हुन्छ भन्ने उनको बुझाई छ । उनका अनुसार आफ्ना मनमा लागेका जतिपनि विचार र भावहरू समग्रलाई चित्रमार्फत उठान गरेका छन् । जसले समकालीन समय र विषयलाई सान्दर्भिक रुपमा जोड दिएको उनको मत छ । राजनीतिक विषयलाई उठान गर्न भने केही चुनौती महसुस गर्ने उनको अनुभव छ ।

यदि सकरात्मक परिवर्तन हुन्छ भने उनी सबैले आ–आफ्नो ठाउँबाट आवाज उठान गर्नुपर्ने धारणा राख्छन् । ‘यदि हामी सचेत छौं र परिवर्तन चाहन्छौं भने जहाँ छौं, जसरी सकिन्छ, त्यसरी नै जुटेनुपर्छ । तपाईहरू लेखेर उठ्नुहुन्छ भने मसँग रङ र कला सिर्जना छ । म यसैबाट सकरात्मक सन्देश दिन चाहन्छु’ उनले अझै प्रस्ट्याए ।

उनको कला प्रदर्शनी माघ ३ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : पुस २१, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?