२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आधुनिक समयको आँखाबाट आत्माको खोजी

सुशीला तामा‌ङ

काठमाडौँ — समय गतिशील छ । समय र आवश्यकता अनुसार परिवर्तन हुनु मानिसका लागि जरुरी पनि छ । दैनिक हुने उत्तरचढावमा मानिस आत्माकै खोजीका लागि भौंतारिरहेको कलाकार प्रियम प्रधानको धारणा छ । जहाँ प्रत्येक पलमा मान्छेले दिमागको सदुपयोग गर्दै आफ्नो सोच, विचार र धारणाहरू बनाउँछ र आफैंलाई त्यसमा समर्पित गर्ने प्रधान बताउँछन् ।

आधुनिक समयको आँखाबाट आत्माको खोजी

उनका निजी धारणा, सोच र निष्कर्षमार्फत आधुनिक समाज, समय र मानिसलाई उनले कलामार्फत प्रस्फुटन गरेका छन् ।

बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘द माइण्ड अफ द मेकर’ शीर्षकमा जारी एकल कला प्रदर्शनीमा एक्रेलिक, तेल, पानी रङ, मिक्स मिडिया लगायतका माध्यममा प्रधानले सिर्जना गरेका ढेड दर्जनभन्दा बढी कलाकृतिहरूमा उनी स्वयंको भावना र अनुभवहरू इंगित भए पनि ती सबैले समकालीन युवा पुस्ताको समय, पुस्तालाई प्रतिनिधित्व गरेका छन् ।

मूर्त तथा अमूर्त शैलीका कलाकृतिहरूमा विशेषतः प्रधान युवा मन र मस्तिष्कमा ज्ञान र उज्यालो संसार नियाल्छन् । यसअघि उनले गरेको ‘कल्की’ शीर्षक पहिलो एकल प्रदर्शनीमा हिन्दु धर्मशास्त्रअनुसार कल्की अवतारलाई लिएर समाजलाई ज्ञानको सञ्चार गराउने प्रयत्न गरेका थिए । यसपटक भने उनी आफ्नै अनुभूतिहरूलाई आधार मान्दै आत्माको खोजीमा छन् ।

‘मैले सबै मेरा आर्टमा मेरै अनुभवहरूलाई लिएर आधुनिक समाज देखाएको छु,’ उनले भने, ‘मेरो कलाको मतलब समाजलाई बदलाब ल्याउँछु भन्ने पक्कै होइन । यदि मेरो कला हेरेर कसैमा राम्रो परिर्वतन आउँछ भने झनै राम्रो कुरा हुने भयो ।’

‘मोडर्न म्यानइन सर्च अफ सोल’ शीर्षकको चित्रमा उनले आफ्नै अनुभवहरू केन्द्रित भएको सुनाए । मानिसले संगीत, नाटक, सपना, कला विभिन्न कुराहरूबाट सोचाइ निर्माण गर्छन् । जहाँ मान्छेको दिमाग नै एउटा खेल जस्तै कहिले रोमाञ्चित त कहिले निरश बनेर चलिरहन्छ । त्यो समयमा पनि आफू कहाँ र कस्तो अवस्थामा छु भनेर मान्छेले आफूलाई खोजिरहेको हुने उनको भनाइ छ ।

मान्छेले खोज्ने दुनियाँ, जगत् र उज्यालोमा कैयौं ठाउँमा आउने चुनौतीहरूलाई रङकै सहायताले बादलको रुपमा उनले प्रस्तुत गरेका छन् । उनका कलाकृतिहरूमा प्रयुक्त सेतो, कालो, रातो, नीलो, पहेँलोजस्ता रङका संयोजनमा उनले आजको समयको अँध्यारो र उज्यालो पक्षलाई खुट्याउने जमर्को गर्दै सकारात्मक ऊर्जाको सन्देश छोडेका छन् ।

काठमाडौं निवासी २७वर्षीया प्रधान खासमा व्यावसायिक ट्याटु आर्टिस्ट हुन् । आधा दशकदेखि उनी व्यावसायिक रुपमा ट्याटु कलामा लागेका छन् । ठमेलमा अन्य ट्याटु आर्टिस्टहरूसँगै उनले ‘ट्याटु पसल’ सञ्चालन गरिरहेका छन् । ट्याटु कलामा विषयवस्तुको सीमितता हुने भएकाले सिर्जनात्मक अन्य कलातिर आएको उनले सुनाए । ट्याटु कला पनि युवाको मनको भावना पोख्ने माध्यम बन्न सक्ने सुनाउँदै अझै सिर्जनात्मक बन्न क्यानभास कलाले फराकिलो आयाम थप्ने उनको मत छ ।

उनका सिर्जनाहरूमा देखिने भगवान, मानवरुपी महिला फिगरहरूमा उनले स्वयं आफूलाई नियाल्दै सकारात्मक पक्षको वकालत गरेका छन् । रातो पहिरनमा सजिएकी महिला रातै रङमा सजिएका पाइलाहरू, महिलाको गर्भबाट उत्पत्ति भएको गणेश र पहेँलो रङमा उज्यालोतिरको यात्राले एक असल सन्तान, मानवको परिकल्पना उनले गरेका छन् । प्रत्येक मानिस सोचाइ र हेराइमा फरक पर्ने उनको बुझाइ छ । सच्चा मानिसको सोचाइ सकारात्मक हुने सुनाउँदै उनी त्यसैमा आनन्द र सुमखयको अनुभूति हुने विश्वास राख्छन् ।

मानिसले आफ्नो दिमागमा कहिलेकाहीँ पूरा नहुने, अमूर्त तथा सपनाको संसारको परिकल्पना र यात्रा गर्छन् । ती सपनाको सारलाई उनले अमूर्त समाजको शीर्षक दिँदै त्यसलाई पनि खोजकै विषयको रुपमा लिएका छन् । आधुनिक समाजमा मान्छे अनेकौं तरंगहरूमा यात्रा गरिरहेका हुन्छन् । आध्यात्मिक मात्र होइन अत्याधुनिक प्रविधि र सिकाइले मानिस फराकिलो बन्दै छन् । यीनै फराकिलो आयाममा पनि यसको एउटै खोजाइ आत्मा नै हुने प्रधानका सिर्जनाहरूका निचोड हुन् । जुन कुरा उनका अनुभवहरूले बताउँछन् । जहाँ मान्छेका दुःख, सुख, माया, मुक्ति र मोक्षका पक्षहरू समावेश हुन्छन् । आधुनिक समाजमा मान्छेले आत्माको खोजी गर्नुपर्ने उनको तर्क छ । संसारलाई फन्को मारिरहँदा हामी आफैंले आफैंलाई बिर्सन हुन्न भन्ने उनको कलाको ध्येय हो । मान्छेले जुन बाटो हिँडे पनि, जे कर्म गरे पनि आफैंलाई भेटाउनु नै अन्तिम सत्य भएको उनी ठान्छन् । सिर्जनामार्फत् आममानिसलाई आत्माको खोजी गर्दै सकरात्मक र उज्यालो बाटोमा हिँडाउनु आफ्नो कलाको मर्म रहेको उनी बताउँछन् । यी विविध पक्षहरूलाई उनले विभिन्न रङ र आकृतिहरू मार्फत् बिम्वात्मक रुपमा बुझाउने प्रयास गरेका छन् । प्रधानको कला प्रदर्शनी पुस २८ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : पुस १७, २०७९ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?