शैली थिएटरले १४ औं राष्ट्रिय बाल नाटक महोत्सव गर्दै

काठमाडौँ — शैली थिएटरको आयोजनामा १४ औं राष्ट्रिय बाल नाटक महोत्सव हुने भएको छ । नाट्य क्षेत्रमार्फत् बालबालिकाको सर्वांगिण विकासका लागि थिएटरले १३ वर्षदेखि राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आएको छ ।

कोरोना महामारीका कारण दुई वर्ष भर्चुअल रुपमा बाल नाटक महोत्सव सम्पन्न गरेको शैलीले यस वर्ष भने भौतिक उपस्थितिमै महोत्सव गर्न लागेको महोत्सव संयोजक तथा रंगकर्मी सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार रातोपुलस्थित शैली थिएटर र कमलपोखरीस्थित रुसी सदनमा महोत्सव माघको अन्तिम हप्तामा वा फागुन महिनाको दोस्रो हप्तामा सुरु भएर १० दिनसम्म जारी रहनेछ ।
शैलीले महोत्सवमा सहभागिता जनाउन व्यक्ति, संस्था, नाट्य समूह तथा विद्यालयलाई पुस २५ गतेसम्मका नाटकको आलेख(स्कृप्ट) बुझाउन आह्वान गरेको छ । सहभागिताका लागि भौतिक रुपमा शैली थिएटर र रुसी सदनमा तथा शैलीको आधिकारिक इमेलमा वा अनलाइन माध्यमबाट नाटकको आलेख पठाउन सकिने बताइएको छ । यसका लागि दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ ।
संयोजक न्यौपानेले महोत्सवमा सहभागिता जनाउन प्रतियोगी र अप्रतियोगी दुई किसिमले सहभागी हुन सक्ने बताए । उनका अनुसार बालबालिकाको विषयमा समेटिएको र यसभन्दा अघि मञ्चन वा प्रकाशित भएका नाटकसमेत महोत्सवमा समावेश गराइनेछ । जुनसुकै उमेर समूहले अभिनय गर्नसक्ने नाटक एकल वा समूहगत रुपमा कम्तीमा ३० मिनेट र बढीमा ७० मिनेट समयावधिको हुनुपर्नेछ । एउटा नाटकमा पर्दा अगाडि र पछाडि गरी बढीमा १५ जना सम्मको समूह मात्र सहभागी हुन पाइने छ । त्यस्तै नाटकको आलेख जुनसुकै भाषामा दर्ता गर्न सकिए पनि नेपालभित्र बोलिने मातृभाषामा भएका नाटकका आलेख छनोटमा प्राथमिकतामा राखिनेछ । भाषाविहीन नाट्य प्रस्तुतिको हकमा भने पूर्ण विवरण सहितको कथासारलाई आलेखको रुपमा दर्ता गराउन सकिनेछ ।
थिएटरका अनुसार राष्ट्रिय अखण्डतामा आँच पुर्याउने तथा राज्यको नीति नियम विपरीतको आलेख महोत्सवका लागि स्वीकार्य नहुने बताइएको छ । नाटकमा सहभागी समूह तथा कलाकारहरुले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न पाउने छैनन् ।
शैलीको छनोट समितिले अन्तिम मितिसम्म प्राप्त भएका नाटकका आलेखहरु प्रतियोगी र अप्रतियोगी गरी विभाजन गररे ५ देखि १० दिन भित्रमा सार्वजनिक गर्नेछ । छनोट भएका नाटकका मञ्चनका लागि आवश्यक मञ्च, ध्वनि उपकरण, प्रकाश तथा आयोजकसँग उपलब्ध नाट्य सामग्रीहरू निःशुल्क उपलब्ध गराइनेछ ।
महोत्सव समापनसँगै उत्कृष्ट नाटक, उत्कृष्ट अभिनेता (महिला, पुरुष), उत्कृष्ट निर्देशक, प्रोत्साहन पुरस्कार, पब्लिक च्वाइस पुरस्कार गरी क्रमशः १०, ७ र ५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिनेछ ।
प्रकाशित : पुस १७, २०७९ १६:२५