२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

माटो र प्रकृतिको माया

सुशीला तामा‌ङ

काठमाडौँ — गाउँबाट मानिसहरू विभिन्न अवसरको खोजीमा सहरतिर बसाइँ सर्ने क्रम जारी छ । सहरबाट फेरि परदेसिने लहर उस्तै छ । गाउँ रित्तिँदै छन् । जमिनहरूमा खेती हुन छोड्यो । बाँझा जमिनहरू बेच्दै सहरमा मानिसहरू आना र कित्तामा सीमित बन्न थाले । यी नै दृश्यहरूका साक्षी हुन् कलाकार विद्यमान तामाङ । 

माटो र प्रकृतिको माया

रामेछापमा जन्मिएका विद्यमानले पनि ८/९ वर्षकै उमेरमा परिवारसँगै गाउँ छाडे । गाउँको मायाले भने उनलाई छाडेन । गाउँ र सहर आउनेजाने क्रम चलिरह्यो । यही क्रममै झन्डै दुई दशकमा उनले उनको गाउँ र सहरको माटोमा निकै परिवर्तनहरू देखे । जमिन बाँझो भएपछि गाउँको माटोमा उब्जने अन्न, त्यहाँ देखिने किराका प्रजातिहरू बिस्तारै हराउँदै गए । यता सहरमा जमिनहरू आना र कित्तामा छुट्टिए । सहर कंक्रिट संरचनामा परिणत भए । यसले उनको युवा मस्तिष्कमा निकै बिझायो । फलस्वरुप उनले कला सिरिज तयार गर्त थाले, ‘माटोका मेरा सम्झनाहरू’ । तिनै सिरिजका उनका कलाकृतिहरू अहिले बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘माई मेमोरिज अफ द सोयल’ शीर्षकमा प्रदर्शनरत छन् ।

दुई दर्जनभन्दा बढी कलाकृतिहरूमा विद्यमानले गाउँसँग जोडिएका सम्झनाहरू, जमिन मासिएर टुक्रिँदै गएका दृश्यहरू, जीवहरू मासिँदै गएको कारुणिक अवस्थालाई चित्रण गरेका छन् । जहाँ प्रिन्ट, मिक्स मिडिया माध्यमका कलाहरू समावेश छन् । ग्यालरी छिर्ने बित्तिकै लहरै देखिएका दुई दर्जनभन्दा बढी काठे फ्रेममा काला रङमा सुनौला रेखाहरूले कोरिएका कुनै घडेरीको आकृतिजस्तै वर्गाकार कलाकृतिहरूले दर्शकको नजर तानिन्छ । प्रत्येक वर्गाकार आकृतिभित्र कोदो, फापर, तिल, धानलगायतका अन्नहरू उनले प्रतिस्थापन गरेका छन् र बिचको गोकाकार प्वालमा कुनै न कुनै किरा देख्न सकिन्छ । ती सबै आकृतिहरू हेर्दै जाँदा अन्तिम कलाकृतिको बीचको प्वाल खाली जहाँ हामीले स्वयं आफैँको तस्बिर देख्न सक्छौं । ‘यो प्रकृति, यो माटो र यहाँका प्राणीहरू नासिनुमा हामी मानव नै जिम्मेवार छैनौं र ?’ उनका कलाकृतिहरूले प्रश्न गर्छन् । माटोप्रति हामी संवेदनशील, जिम्मेवार बनौं र माटोलाई माया गरौं भन्ने सन्देश नै विद्यमानका यी सिर्जनाहरूले दिएका छन् । ‘माटो नै हामी सबै प्राणीका लागि जीवन हो । माटो नै रहेन भने हामी कहाँ रहौंला र हाम्रो अस्तित्व के होला’ उनी भविष्यपति चिन्तित हुन्छन् ।

व्यवस्थापन संकायतिर प्लस टुको अध्ययनपछि नै उनी सन् २०१३ देखि ललितकला अध्ययनतिर लागे । कला अध्ययनकै क्रममा बिस्तारै उनी माटो, प्रकृति र सम्पूर्ण जीवित प्राणीको अस्तित्व अध्ययन र खोजीतिर लागे । ‘म काठमाडौंबाट गाउँमा पनि गइरहन्थेँ । उता माम(हजुरआमा)को कुरा र उहाँका अनुभवहरूले नै मलाई माटोतिर बढी नजिक बनायो’, उनले आफ्नो अनुभव सुनाए । उनका अनुसार उनको गाउँमा अहिले जमिनहरू प्राय: बाँझै छन् । खेतीपाती हुन छाडेपछि पहिला–पहिला पाउने किरा-फट्याङ्ग्राहरू पनि त्यता पाउन छोडे । मकै, कोदो, फापर, जौ, गहुँलगायत अन्न उत्पादन कमै हुन्छन् । गाउँमा कृषि प्रणाली नै परिवर्तन भएका छन् । गाउँमा कृषि प्रणालीमा प्रयोग हुने हँसियाहरू, त्यसै वरिपरी घुम्ने मुसा, भ्यागुता, घरका भित्ताहरूमा झुन्डिने लसुन र मकैका झुत्ताहरू, हजुरआमाले गाईबाख्राहरू बान्ने किलाहरूलाई उनले कलामा उतारेका छन् । यी सबै दृश्यहरूले आफ्नो बाल्यकालको सम्झनाहरूलाई प्रतिनिधित्व गर्ने विद्यमानको भनाइ छ ।

जमिन मासिँदै जाँदा सम्पूर्ण मानिस मात्र होइन‚ सम्पूर्ण जीवजीवाणुहरूको अस्तित्व कसरी संकटमा पर्दै गएको छ भनेर उनले कलामार्फत प्रतिकात्मक रुपमा इंगित गरेका छन् । उनका कलाकृतिहरूले कीरा, वन्यजन्तु, बाली र खेतबारीको आकृति र तिनैसँग जोडिएको उनको स्मरणले नोस्टाल्जिया मात्र होइन पर्यावरणमा बिग्रिँदै गरेको इकोसिस्टम प्रणालीप्रति मानव जगत्‌लाई सचेत गराएको पाइन्छ ।

हामी आफ्नो स्वार्थका लागि सम्पूर्ण जीवहरूको बासस्थान विस्थापनतिर लागिरहेका छौं । जंगल फँडानीले चराचुरुङ्गीहरू हराउँदै गएका छन् । आधुनिक कृषि प्रणाली तथा सहरीकरणले किराहरू नासिने क्रम जारी छ । माटो आफैं विषादी बन्दै छ । अब मान्छे माटोप्रति सजग र सचेत बन्नैपर्छ भन्ने विद्यमानको कलामार्फत आग्रह छ । उनी फेरि भन्छन्, ‘भूमि र प्रकृति हाम्रा लागि बाँच्ने आधार हुन् ।’

उनका सिर्जनाहरूमा समकालीन समयको कठोर यथार्थ चित्रण भेटिने ग्यालरीका निर्देशक संगीता थापाको बुझाइ छ । उनका अनुसार गाउँ र व्यावसायिक रुपमा कंक्रिट बन्दै गएका सहरी चित्रले आमदर्शकलाई भावनात्मक पक्षतिर गहन रुपमा डोर्‍याउँछ । विद्यमानले चित्रमार्फत नै मरेको भँगेरालाई समेत देखाएका छन् । हामीले अब भँगेराजस्ता चराचुरुङ्गीहरूको अस्तित्वलाई समेत जगाउन आवश्यक देखिएको उनको ठम्याइ छ ।

उनको कला प्रदर्शनी यही आइतबारसम्म जारी रहनेछ ।

प्रकाशित : मंसिर २१, २०७९ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?