तिन्जेका तेन्जिनको डोल्पो यात्रा

काठमाडौँ — भर्खरै क्यानभासमा नाम लेखाउन थालेका नवप्रतिभाका हुलमा भेटिए— परिपक्व तेन्जिन नोर्बु डोल्पो । उपल्लो डोल्पाको तिन्जे गाउँ हुँदै काठमाडौं र बाहिरी विश्वमा नाम बनाइसकेका तेन्जिन यसपाला फेरि आफ्नै डोल्पो चिनाउन आएका थिए, तारागाउँ म्युजियममा ।

तिन्जेका तेन्जिनको डोल्पो यात्रा

‘म संसार घुमिसकें, अमेरिका–युरोप र एसियाका मुलुक गरेर ४० भन्दा बढी पटक मेरो कला प्रदर्शनी भैसकेको छ,’ डोल्पाबाट चोरिएका मूर्ति र सम्पदाबारे जागरण गराउन आयोजित तारागाउँ समारोहमा भेटिएका तेन्जिन नोर्बु डोल्पोले सुनाए—‘मलाई चिन्नेहरु धेरै छन्, तर मेरो डोल्पालाई अझै चिनाउन सकिएला कि भनेर म यसरी प्रदर्शनीहरुमा आइरहन्छु ।’

एरिक भ्यालीको ‘क्याराभान’को अन्तिम दृश्यमा थांका चित्र कोरिरहेका जीवन्त दृश्यमा आउने तेन्जिन नोर्बु क्याराभानको काम र प्रचारपछि भने सन् २००१ यता काठमाडौंमै बस्छन् । तर, बाहिरी विश्वमा कुदाकुद गरेरै उनको समय बित्छ । ‘त्यही क्याराभानमाथि मैले निकालेको चित्रकथा फ्रेन्च भाषामा आएपछि ८० हजार प्रतिपुस्तक फ्रान्समा मात्रै बिक्री भएको थियो,’ तेन्जिनले सुनाए, ‘मलाई डोल्पाले चिनाएको छ, म आफ्नो कामबाट डोल्पा चिनाउन चाहन्छु ।’

कला सिर्जना र विषयमा मात्रै होइन, कलाकृतिको माध्यम पनि ‘मौलिक’ रोज्ने गरेका छन् तेन्जिनले । उनी हेन्ड–मेड क्यानभास चलाउँछन्, आर्केलिक वा वाटर कलरमा खेल्न रुचाउँछन् । उनले क्यानभासमा उतारेको चौंरीको हाँच, हिमाली मार्ग र क्याराभानको लर्को आँखैमा उत्रन्छ, लामो समयसम्म ।

यही अवसरमा तारागाउँस्थित आर्ट ग्यालरीमा डोल्पाली नवोदित कलाकारहरु तेन्जिङ नुडुप लामा, तेन्जिङ नोर्बु, छिरिङ ग्याल्पो गुरुङ र पासाङ डोल्पोको डोल्पाली जीवन, थांका कला र आध्यात्मिक सम्पदा झल्काउने चित्रकला प्रदर्शनीसमेत राखिएको छ । यीमध्ये २३ वर्षीय तेन्जिन नुडुप डोल्पाको से–फोक्सुन्डोस्थित पुङ्मो गाउँमा जन्मे-हुर्केका हुन् । उनले बोन एन्ड तिवेतन थाङ्गा इन्स्टिच्युटबाट आर्टमा ग्रेजुएसन गरेका छन् ।

यस्तै, १६ वर्षसम्म लगातार गुम्बा शिक्षा लिएका छिरिङ ग्याल्पो ‘वुडब्लक प्रिन्टिङ’मा अभ्यस्त छन् । यस्तै, उपल्लो डोल्पाको भिजेरमा जन्मे–हुर्केका ३८ वर्षीय पासाङ डोल्पो युनिभर्सिटी अफ चन्डीगढबाट कलामा स्नातक छन् । उनले डोल्पाली महिलाको कलासिर्जना र अरु उद्यम प्रवर्द्धनमा बौद्धमा आनन्द ट्रि हाउस संचालनमा ल्याएका छन् ।

प्रकाशित : मंसिर २०, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?