कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘मानवताको लागि संगीत’ अभियान विराटनगरबाट सुरु

विराटनगर — ‘मानवताको लागि संगीत’ भन्ने मूल नाराका साथ नेपथ्य ब्यान्डले विराटनगरबाट संगीत अभियान थालनी गरेको छ । सडकमा आश्रित मानिसहरूलाई ओत र खाना दिएर पुण्य कमाइरहेको मानवसेवा आश्रमको अभियानलाई नेपथ्यले साथ दिएको हो ।

‘मानवताको लागि संगीत’ अभियान विराटनगरबाट सुरु

अभियानअन्तर्गत नेपथ्यले यस वर्ष आफ्नो सांगीतिक कार्यक्रमको मूल शीर्षक नै ‘मानवताको लागि संगीत’ राखेको छ ।

नेपथ्यले अभियानको पहिलो ध्वनी शुक्रबार बेलुकी विराटनगरस्थित हाटखोला मैदानमा हजारौं दर्शकहरूको माझमा सुनाएको थियो ।

अघिल्ला कन्सर्टहरूभन्दा बेग्लै रुपमा नेपथ्यले पहिलो गीत ‘भेँडाको ऊनजस्तो’ गीत प्रस्तुतिबाट सुरु गरेको थियो । त्यसपछि ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, र त्यसपछि पनि ‘चरि मर्‍यो’ र ‘जोमसोमे बजारमा’ लगायत गीतहरू प्रस्तुत भएका थिए ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले बारम्बार मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ब्यान्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरूको तस्बिरसहितका दृश्यहरूबाट प्रस्तुत गरिएको थियो । उनले भने, ‘अर्काे जुनी छ कि छैन थाहा छैन । पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं ।’

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । संगीतका साथै मानवता प्रवर्द्धनका लागि नेपथ्यको यो कन्सर्ट विराटनगरमा सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद व्यक्त गरे ।

विराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली वीरगन्जतर्फ प्रस्थान गरेको छ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँ आदर्शनगर रंगशालामा नेपथ्यको सांगीतिक कार्यक्रम मंसिर १९ गते सोमबार प्रस्तुत हुँदै छ ।

प्रकाशित : मंसिर १८, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?