निटफेस्ट

‘खुवालुङ’ र ‘इम्ब्रिओनिक’ प्रस्तुत गरिने

काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को चौथो दिन सोमबार ‘खुवालुङ’ र ‘इम्ब्रिओनिक’ प्रस्तुति हुँदै छन् ।

‘खुवालुङ’ र ‘इम्ब्रिओनिक’ प्रस्तुत गरिने

केही महिनाअघि मण्डलामा मञ्चन भएको नेपाली नाटक ‘खुवालुङ’ लाई दर्शकले निकै रुचाएका थिए । महोत्सवका सञ्चार संयोजक रंगकर्मी केदार श्रेष्ठका अनुसार यस नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुने समय तालिका रहेको छ ।

उनका अनुसार साँझ ६ बजे भने नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । त्यस्तै दिउँसो २ बजे मण्डला स्टुडियोमा ‘कला तथा रंगमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला हुनेछ भने साँझ ७:३० बजे ‘काठमाडौंबाहिर नेपाली रंगमञ्चको चुनौती विषयमा प्यानल डिस्कसन हुनेछ ।

महोत्सवको तेस्रो दिन अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्री: वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन गरिएको थियो ।

नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडद्वारा लिखित ‘थ्री कन्ट्री: वन मोदर’ अंग्रेजी भाषाको नाटकलाई क्याटी बेकले निर्देशन गरेका हुन् । सन् १९९० देखि २००० को बचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास दर्शाउने सत्यघटनामा आधारित कथा प्रस्तुत गरिएको छ ।

कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावकहरु आफ्ना छोराछोरीका साथ नाटक हेर्न नाटकघरसम्म आइपुगेका थिए । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो ।

आइतबार साँझ नै नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत गरिएको थियो । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीले समेत प्रस्तुति दिएका थिए ।

मंसिर १७ सम्म जारी हुने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।

प्रकाशित : मंसिर १२, २०७९ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?