नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : तेस्रो दिन तीन प्रस्तुति

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाका नाटक तथा पर्फमेन्स आर्ट गरी तीन वटा प्रस्तुतिहरु मञ्चन हुने भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : तेस्रो दिन तीन प्रस्तुति

भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्री: वन मोदर’ मध्याह्न १२ र दिउँसो ४ बजे काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुँदैछ । अंग्रेजी भाषामा रहेको उक्त नाटकलाई नीमा बल, क्याटी बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । नाटक निर्माण समूहका अनुसार यो प्रयोगात्मक र एकल नाटक हो । नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास र संस्कृतिबारे बताउँछ । नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो ।

त्यस्तै, दिउँसो २ र साँझ ६ बजे रुसको लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मण्डलामा मञ्चन हुँदैछ । कोन्द्रातोएभा क्रिस्टिनाले लेखेकी यस नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गरेका छन् । सामाजिक दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको यस नाटकले एउटी युवतीको कथा भन्छ । आफ्नो बाबुआमाको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी उनले आफ्नो स्वतन्त्रताका यात्रामा सानो भाइलाई समेत बिर्सिएको प्रसंगलाई नाटकमा उठान गरिएको छ ।

साँझ ७:३० बजे भने नेपालको तर्फबाट कलाकार रसिक राजले पर्फमेन्स आर्ट ‘अवशेष’ प्रस्तुत गर्नेछन् । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको समेत प्रस्तुति रहनेछ ।

शुक्रबारदेखि सुरु भएको महोत्सवमा पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ का साथै साँझ ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साँगीतिक प्रस्तुति भएको थियो । शुक्रबार नै नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ र अनिल सुब्बा निर्देशित नाटक ‘बुद्ध र भिकारी’ समेत मञ्चन गरियो ।

महोत्सवको दोस्रो दिन शनिबार भने दुई नाटकको चार मञ्चन गरिएको थियो । भारतको कथावाचन शैलीको ‘देस्देमोना रुपकम’ र स्पेन/इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ मञ्चन भएको थियो । साँझ ७: ३० बजे भने रंगकर्मी तथा नाट्य प्रेमीहरुमाझ सुप्रसिद्ध अभिनेत्री शबना आजमीको मास्टरक्लास भएको थियो । यस अन्तर्गत उनको कला यात्रा, थिएटर, फिल्मी जीवन, पारिवारिक पृष्ठभूमिदेखि लिएर कलाकारिता यात्राका चुनौती, संघर्ष, सामाजिक अभियानमा उनको संलग्नता र रंगकर्मको उपलब्धिबारे डेढ घण्टाभन्दा बढी कवि विप्लव प्रतीकका साथमा अन्तरक्रिया गरिएको थियो ।

नौ दिनसम्म चल्ने महोत्सवमा रंगकर्म र थिएटरमै आधारित विभिन्न कार्यशालाहरु समेत सञ्चालन भइरहेका छन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

प्रकाशित : मंसिर ११, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?