२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

२८ वर्षदेखि प्रस्तरमूर्तिकला साधनामा

कलाकार चन्द्रश्याम डंगोल भन्छन् : ‘अहिलेसम्म ढुंगालाई मूर्तिको स्वरूप दिएरै जीवन चलेको छ । कुनै पनि काममा मान्छेमा धैर्यता र इमान्दारी हुनुपर्छ । तब मात्र सोचेको काम पूरा गर्न सकिन्छ ।’
सुशीला तामा‌ङ

काठमाडौँ — शाश्वत भगवान् कहाँ छन्, यी विषय त कलाकार चन्द्रश्याम डंगोलका लागि अलौकिक संसारका विषय हुन् । आफ्नो सिर्जना कर्ममा निरन्तर तल्लीन उनी ढुंगाका आकारप्रकारहरूमा भने भगवान्का अनेक रूप देख्छन् ।

२८ वर्षदेखि प्रस्तरमूर्तिकला साधनामा

हतौडा र छिनोको सहारामा विविध आकारका ढुंगामै उनले कुँदेका भगवान् बुद्ध, गणेश, भैरवजस्ता देवदेवीका रूप नै उनलाई शाश्वत भगवान् झैं लाग्छ । यसैमा उनको सिर्जना, सपना, पसिना, जीवनको आधा हिस्सासँगै आफ्नो धर्म, संस्कृति, सभ्यता, इतिहास र कलाप्रतिको मोह समाहित भएका छन् ।

कलाप्रतिको अविच्छिन्न मोहका कारण नै उनी विगत २८ वर्षदेखि निरन्तर रुपमा मूर्तिकलाको साधनामा तल्लीन छन् । विशेषगरी परम्परागत शैलीका प्रस्तर(ढुंगा)मूर्तिमा दखल भएका डंगोलले मूर्ति निर्माण मात्र गर्दैनन्, बेला–बेलामा कलाप्रेमी र युवापुस्तामाझ नेपाली मूर्तिकलाको विकास, नेपाली सभ्यता, सांस्कृतिक तथा धार्मिक पक्षमाथि बोध गराउन सार्वजनिक स्थलमा ल्याएर अवलोकनका लागि अवसर समेत प्रदान गर्छन् ।

नेवारी संस्कृति, हिन्दु तथा बौद्ध धर्मलाई दर्शाउने डंगोलका एक दर्जनभन्दा बढी प्रस्तरमूर्तिहरु अहिले उनले आम मानिसका लागि बाहिर ल्याएका छन् । अघिल्लो साताको बिहीबारदेखि ठमेलस्थित दलाई–ला आर्ट स्पेशमा जारी प्रदर्शनीमा बौद्ध तथा हिन्दु धर्मलाई दर्शाउने बौद्ध स्तूपा, बुद्ध जीवनी, गणेश, कुवेर, विभिन्न गजुरका आकृतिहरु, चन्द्र, सूर्य, मण्डलालगायतका प्रस्तर मूर्ति प्रदर्शनरत छन् । डंगोलले मूर्तिकलाको सुरुवाति प्रक्रियालाई देखाउन बन्दै गरेका कलाकृतिलाई समेत प्रदर्शनीमा राखेका छन् ।

मानव सभ्यतामा कला विकासको क्रम हेर्दा मूर्तिकलालाई सबैभन्दा पुरानो विधाका रूपमा हेरिन्छ । मानिसले ढुंगा, काठ, माटो तथा विभिन्न धातुहरूबाट मूर्तिकलालाई अगाडि बढाएको पाइन्छ । खोकनामा जन्मिएका डंगोलले सानैदेखि आफ्नो वरपर मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा र कलालाई नजिकैबाट नियाल्ने मौका पाए ।

अधिकांश कृषिमा निर्भर रहने तत्कालीन खोकनामा उनका बाबु भने धातुका मूर्ति तयार गर्थे । घरका अन्य सदस्य खेतबारीमा व्यस्त हुँदा आफू भने मूर्तिकला कामकै लागि दैनिक पाटन ललितपुर आउजाउ गर्न त्यति सहज भएन । उनका बाबु पुन: कृषितिर फर्किए । आफूमा जागै रहेको कलाप्रेम भने डंगोलका बाबुले छोरालाई गर्न अभिप्रेरित गरे । बाबुकै कारण उनीमा कलाको महत्त्व र अस्तित्व बोध भयो । फलत: उनले मूर्तिकलामा नै अध्ययन सुरु गरे । यसैमा पीएचडी अध्ययन पूरा गर्ने सुरुमा अझै पनि उनी अध्ययनकै क्रममा छन् ।

कला विधामा प्रस्तर कला उनका लागि एउटा सपना हो । कला सिर्जना मात्र होइन यसलाई सैद्धान्तिक रुपमै पाठ्यक्रममा अध्ययन गर्न पाउने व्यवस्था हुनुपर्छ भन्ने पक्षमा उनी छन् । ‘हाम्रोमा परम्परागत सीपकै आधारमा मूर्तिकलामा लाग्ने धेरै कलाकार हुनुहुन्छ’, उनले भने, ‘तर उहाँहरूलाई मानिसले कलाकार होइन कालिगढका रूपमा लिन्छन् ।’

बाबु, बाजेले सिकेको सीपमै टेकेर काम अगाडि बढाएकाले उनीहरुमा सैद्धान्तिक ज्ञानको अभाव रहेको उनको भनाइ छ । त्यसैले ढुंगा, काठ, माटो, धातु जुनसुकै माध्यममा काम गरिरहेकाहरूले आफूलाई कलाकारका रुपमा उभ्याउन नसकिरहेको उनको बुझाइ छ । उनका लागि नेपालको जुनसुकै कला कलाकारको सिर्जना मात्र होइन यसलाई उनी देशको पहिचानका रूपमा लिन्छन् । नेपालको प्रस्तरकला र कलाकारको चिनारी अरनिको समयदेखि नै विश्वमा प्रख्यात छ । आफ्नै मुलुकमा भने कलाकारलाई हेय दृष्टिले हेर्ने परिपाटीप्रति भने उनलाई दु:ख लाग्छ ।

नेपालमा कला र कलाकारलाई बुझ्ने सरकार र माहोल एक दिन आउनेछ भन्ने आशा बोकेरै उनी निरन्तर सिर्जनामा लागिरहेका छन् । भन्छन्,‘अहिलेसम्म ढुंगालाई मूर्तिको स्वरूप दिएरै जीवन चलेको छ । कुनै पनि काममा मान्छेमा धैर्यता र इमान्दारी हुनुपर्छ । तब मात्र सोचेको काम पूरा गर्न सकिन्छ ।’

उनको २८ वर्षको सिर्जना यात्रामा उनले ३३ फिट सम्मको मूर्ति निर्माण गरेका छन् । कीर्तिपुर ६ स्थित चोभारमा ३३ फिटको मञ्जुश्रीको मूर्ति उनकै नेतृत्वमा निर्माण भएको हो । यस मूर्ति निर्माणमा उनले ७ वर्ष पूरा समय खर्च गरेका थिए । त्यस्तै उनकै नेतृत्वमा बारास्थित १८ फिटको मैत्रीय बुद्ध, काठमाडौं बूढानीलकण्ठस्थित चुनदेवी मन्दिरमा शिखर शैलीको ३३ फिटको मूर्ति निर्माण गरेका छन् ।

सिर्जनालाई निरन्तरता दिनै सास्ती

प्रस्तरमूर्ति गर्ने कलाकारहरुलाई अहिले मुख्य चुनौती भनेकै ढुंगाको हो । भनेकै र सोचेको जस्तो वर्षौं टिकाउ हुने मूर्ति बनाउन कलाकारहरुलाई ढुंगा पाउनै अत्यन्तै गाह्रो छ । कसैको व्यक्तिगत जमीनबाट ढुंगा ल्याउन जग्गाधनीकै मुल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको डंगोल सुनाउँछन् । सार्वजनिक जमीनमा वनमन्त्रालयको नीतिनियमका कारण ढुंगा उत्खनन गर्न मनाही छ । देशकै पहिचानका लागि विभिन्न स्थानमा मूर्तिकला बनाउने क्रममा उनले अनेकौं सास्ती खेपेका छन् ।

चोभारकै मञ्जुश्रीको मूर्ति प्रतिस्थापन गर्ने क्रममा ढुंगा अपुग भएपछि दक्षिणकाली खार्पा भन्ने ठाउँबाट ल्याउने वन मन्त्रालयसँग सहमति भयो । सहमति अनुसार ढुंगा ल्याएपनि फर्पिङमै विभिन्न दलका स्थानिय जनप्रतिनिधिहरुले अवरोध गरे । हालसम्म ती ढुंगाहरु फर्पिङ चउरमै यत्रतत्र छन् । पछि कंक्रिटकै संरचनामा मूर्ति स्थापना गरिएको डंगोलले सुनाए । कलाकारहरु राजनीति, सत्ता र शक्तिभन्दा टाढा भएकोले यसैमा दिगो रहन कठिन नै रहेको उनको अनुभवले बताउँछ । चाहिने जस्तो ढुंगा, काठ तथा माटोको अभावले गर्दा मूर्तिकला नै ओझेलमा पर्ने हो कि भन्ने कलाकारहरुमा चिन्ता थपिएको उनको ठम्याइ छ ।

अर्कोतिर मूर्ति बनाउने कलाकारलाई सामान्य काम गर्ने व्यक्तिसरहको व्यवहार गर्ने परिपाटीले भने उनी दिग्दार छन् । ‘धेरैजसोले हाम्रो कलाकारितालाई कला होइन अन्य काम गर्ने कामदारकै रुपमा लिन्छन् । धेरैमध्येमा थोरै हुनुहुन्छ, जसले कलाको कदर गरेर त्यही अनुसारको मुल्य दिनुहुन्छ । त्यसैमा हाम्रो कला र हामी कलाकार बाँच्न सकेका छौं’, उनले दु:खेसो गरे ।

बजारको तुलना गरी मूर्तिकला निर्माण गर्ने थुप्रै कारखानाहरुले गर्दा वास्तविक कलाकारहरु मारमा परिरहेको उनले सुनाए । आफ्नो देशको गौरवमय कलालाई युवा पिँढीलाई भने पुस्तान्तरण गर्नुपर्ने उनको राय छ । उनले जोडे, ‘हामीलाई गाह्रो भएपनि हाम्रो कामहरू देखेर युवा पुस्ताले कलासँगै हाम्रो, धर्म, संस्कृति, सभ्यता र इतिहासबारे जान्न पाउँछन् । हाम्रै सिको गरेर काम गरेमा अझै राम्रो हुन्छ । हामीले धैर्यता राखेर हाम्रो दायित्वलाई पूरा गर्नुपर्छ ।’

उनको कला प्रदर्शनी मंसिर १२ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : मंसिर ३, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?