रंगकर्मी भन्छन् : थिएटरमा गुट हाबी भयो

काठमाडौँ — नाट्य क्षेत्रको विकास र विस्तारका लागि उपत्यकासँगै देशका विभिन्न सहरहरूमा थिएटरहरू स्थापना भएका छन् र हुने क्रम जारी छ । ती थिएटरहरूमार्फत बर्सेनि सयौं रंगकर्मीहरू नाट्य क्षेत्रमा आइरहेका छन् । यद्यपि खुलेका सबैजसो थिएटर र रंगकर्मीहरूबीच नै गुट हाबी भएको स्वयं रंगकर्मीहरू नै स्वीकार गर्छन् ।

रंगकर्मी भन्छन् : थिएटरमा गुट हाबी भयो

मण्डला थिएटरले गर्न गइरहेको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ अन्तर्गत नै रहेर बिहीबार अग्रजहरू रंगकर्मीहरू पुष्कर गुरुङ, वीरेन्द्र हमाल र विजय विस्फोटका साथमा सरीता गिरीले रंगमञ्चका अनुभूतिहरू नयाँ पुस्ताका कलाकार तथा नाट्यप्रेमीहरूलाई बाँडिरहँदा उनीहरूले नाट्य क्षेत्रमा थिएटरहरूबीच नै भइरहेको दलीय तथा पक्षपाती स्वभावप्रति असन्तुष्ट भाव व्यक्त गरे ।

बालकृष्ण समले नाट्य क्षेत्रलाई आधुनिक मोडमा ल्याएर उभ्याइदिए । त्यसपछि आएका सर्वनाम, गुरुकुलजस्ता नाट्य संस्थाले नेपाली नाटकलाई आजको समयसम्म ल्याइपुर्‍याएका छन् । यो समयसम्म पनि रंगमञ्च अभावमा बाँचिरहेको रंगकर्मी हमालले बताए । ‘थिएटर नै अभाव हो । यसमा सधैं अभाव नै रहन्छ,’ उनले भने, ‘यो अभावमा नै हामीले सिर्जना गर्न सिकिरहेका छौं । तर, यहाँ थिएटरबीच नै ग्रुपिजम भयो र घरानाजस्तो बन्यो ।’ यसले गर्दा थिएटरले गति लिन नसकेको उनको बुझाइ छ ।

थिएटर भनेकै विश्वास र मानसिक भोगाइको रुपमा स्वीकार्दै थोरैमा राम्रो कल्पना गर्ने थलोका रुपमा लिन उनले आग्रह गरे ।

नाट्य क्षेत्रका गुरुङलगायत पहिलो पुस्ताका रंगकर्मीहरूलाई अहिले नाटकभन्दा बढ्ता फिल्मको पर्दामा देख्न सकिन्छ । कलाकार अभावकै कारण दोस्रो तथा अहिलेका युवापुस्ताहरूले नै बयोवृद्धदेखि युवासम्मको भूमिकामा थिएटरमा आउनुपर्ने बाध्यता रहेको रंगकर्मी गिरीले सुनाउँदै गर्दा गुरुङले यसलाई पुस्ता हस्तान्तरणको रुपमा लिए । फिल्मतिरको व्यस्तताले थिएटरप्रतिको लगाव भए पनि आउन नसकेको उनले सुनाए । उनले जोडे, ‘थिएटर भनेकै क्राइसिस हो । तर नेपाली थिएटरमा हाम्रो पहिचान आउने नाटक हुनुपर्छ । थिएटरमै फर्कन्छु भन्ने मेरो चाहना छ ।’

हमालले ‘एम आर्ट थिएटर’ को सपना र त्यहाँ जन्माइएका कलाकारहरू गुरुकुललाई सुम्पिएर नाट्य क्षेत्रलाई नौलो आयाम दिने बाटो रोजेँ । यसरी स्मरण गर्दै उनी कार्यक्रममै केही भावुकसमेत बने । यसलाई उनले पुस्ता हस्तान्तरणकै रुपमा लिएको धारणा राखे । यसमा भने प्रत्येक पुस्तामा रंगमञ्चकै शैली हस्तान्तरण हुनुपर्ने उनको मत छ । ‘एकले अर्काेको शैलीलाई नजिकबाट नियाल्नु र जान्नु नै हस्तान्तरण हुनु हो । यसमा यो तेरो, मेरो भन्ने भावना कलाकारहरूबीच हुनुहुँदैन । याक्टर सँधै मुक्त र स्वतन्त्र रहनुपर्छ,’ उनले थपे । उनका अनुसार अनुभव, विचार र शैली प्रदान गर्नु नै पुस्ता हस्तान्तरण हो ।

रंगमञ्चले निकै समय पार गरे पनि बालकृष्ण समको बाटोभन्दा अलग्गै धारमा थिएटर जान नसकेको विस्फोटको भनाइ छ । नीतिगत, प्रशासनिक तथा एकेडेमिक रुपमा समपछिको पुस्तालाई कतै नभेटिने उनले ठहर गरे । थिएटर र रंगमञ्चमा कुनै राजनीतिमा जस्तो पुस्ता नहुने धारणा राख्दै सबैले एकबद्ध भई पहिचान खोज्नुपर्ने समय आएको उनले संकेत गरे ।

सहरका विभिन्न स्थान र जुनसुकै स्थानमा थिएटर स्थापना भए पनि नाट्यकर्ममा आफूले जन्माएका कलाकारहरूमा आºनो सिर्जनाको गन्ध आउँदा त्यसैमा सन्तुष्ट मिल्ने हमालले सुनाए । थिएटरप्रतिकै प्रेम दर्साउँदै गुरुङले फिल्मभन्दा थिएटरकै मञ्चमा आनन्द महसुस गर्ने भाव व्यक्त गरे ।

प्रकाशित : मंसिर १, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?