बाल साहित्यकार उप्रेतीलाई ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान’- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाल साहित्यकार उप्रेतीलाई ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान’

कान्तिपुर संवाददाता

काठमाडौँ — बाल साहित्यकार लक्ष्मी उप्रेतीलाई यस वर्षको ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान’ प्रदान गरिएको छ । मंगलबार मण्डिखाटारस्थित दि राइजिङ स्टार बोर्डिङ स्कुलमा गरिएको कार्यक्रममा उप्रेतीलाई नेपाल प्रज्ञा प्रतिष्ठान बाल साहित्य विभाग प्रमुख प्रा. देवी नेपाललगायतले दोसल्ला र सम्मानपत्रसहित ४० हजार ४ सय ४४ रुपैयाँ नगद हस्तान्तरण गरे । 


प्राध्यापक डा. नेपालले जयपृथ्वीबहादुर सिंहबारे प्रस्ट पार्दै समग्र बाल साहित्यकारहरूका लागि यो सम्मान एउटा सुनौलो अवसर भएको उल्लेख गरे । उनले भने‚ ‘विद्यालय स्तरबाट गरिएका यस्ता कार्यक्रम बालबालिकाहरूलाई पठन संस्कृतिको विकास गर्नका लागि कोशेढुंगा सावित हुन सक्छ ।’ कार्यक्रममा सहभागी बुढानीलकण्ठ नगरपालिका ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले समग्र साहित्यको विकासमा उक्त सम्मानले बाल साहित्यकारहरूमा थप हौसला प्रदान गर्ने बताउँदै शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा बालसाहित्यकार उप्रेती, स्नेह पोखरेल, वशुश्री पाण्डेका बाल कृतिहरू पनि विमोचन गरिएको थियो भने उप्रेतीद्वारा लिखित बालनाटक सोही विद्यालयका विद्यार्थीहरूबाट मञ्चन गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरू र बाल साहित्यकारहरूबीच बाल साहित्यकै विषयमा अन्तरक्रियासमेत गरिएको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७९ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्

आचारसंहिता उल्लंघनमा मतदान अधिकृतसहित तीन जना कारबाहीमा 

विप्लव महर्जन

सल्यान — मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि छनौटमा परेका एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा परेका छन् । आचारसंहिताविपरीत काम गरेको भन्दै मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा परेका छन् । 

कारबाहीमा परेका बन्गाड कुपिन्डे नगरपालिकाको कुपिण्डेस्वरी प्रावि मतदान केन्द्रका मतदान अधिकृत बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज गौतम, कालिमा प्रावि कजेरीमा सहायक मतदान अधिकृतमा नियुक्त गरिएका शिक्षक दलबहादुर खडका र नवसर्वसाधारण प्रावि रातामाटा ‘ख’ दार्मामा परेका सहायक चोपीलाल बस्नेत रहेका छन् ।

कुपिण्डेश्वरी प्रावि मतदान केन्द्रमा छनौटमा परेका अनन्तराम गौतमले आचारसंहिताविपरीत कर्मचारीको सरुवा गरेको र अन्यले निर्वाचन प्रचारप्रसारमा सहभागी भई आचारसंहिताविपरीत काम गरेको उजुरी परेपछि कारबाही गरिएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।

आचारसंहिता उल्लंघन गरेका १२ जना मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्यलाई पनि स्पष्टीकरण सोधिएको छ । जिल्लाका २ सय २ मतदान केन्द्र र १ सय १९ मतदानस्थलमा १ हजार ६ सय २३ जना कर्मचारी खटाइएकोमा लोक सेवा आयोगले निकालेको मौखिक परीक्षामा पास भएपछि छनौटमा परिसकेका र नियुक्तिका तयारी भइरहेका बेला १५ जना कर्मचारी छाडेर गएकाले केही समस्या भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी गराए ।

मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षाका लागि १ हजार ९ सय ५० सुरक्षाकर्मी खटिएका र अहिले सबै कर्मचारी तथा सुरक्षाकर्मीलाई नियुक्ति दिएर मतदानस्थल तथा मतदान केन्द्रतिर खटाउने काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक ३०, २०७९ १२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×