३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

न्युड कला : मानव शरीरको अस्तित्व भाव 

सुशीला तामा‌ङ

काठमाडौँ — ग्यालरीका भित्ताभरी सजिएका महिलाका न्युड शरीरका आकृतिहरू । शरीर एवं अनुहारका विविध भावभंगीमा तिनै महिलाका अनेक मानसिक संवेकहरु चित्रित छन् । मानव शरीरलाई प्रकृतिका ल्याण्डस्केप रुपमा परिभाषित गर्ने चित्रकार कपिलमणि दीक्षित तिनै आकृतिहरु र न्युड कलाको सौन्दर्यलाई यतिबेला झम्सिखेल ज्ञानमण्डलस्थित विण्ड हर्स आर्ट ग्यालरीमा कलाप्रेमीहरुलाई बुझाइरहेका भेटिन्छन् । 

न्युड कला : मानव शरीरको अस्तित्व भाव 

यसै साता शुक्रबार साँझ भने चित्रकार दीक्षित निकै उत्सुकता भरिएको भावले चित्रहरू नियाल्दै गरेका स्कुले विद्यार्थीहरूलाई आफ्नो कलाकृतिहरू देखाउँदै नग्नता र न्युड कलाबीच भिन्तताबारे प्रस्ट्याउँदै थिए । 'मैले मेरा सबै कामहरू मैले वरपर देखेको मानिसहरू, तिनका हाउभाउ, मानसिक अवस्थालाई नियालेर गर्ने गर्छु । मानिसका भित्री पक्षलाई मैले बाहिरी आवरणमा नै प्रस्ट देखाउने कोसिस गरेको छु । यसमा देखिएको बाहिरी शरीरसँग कुनै सम्बन्ध छैन ।'

उनले न्युड कला सिर्जना लाइभ मोडल नै राखेर पूरा गर्छन् भन्ने थाहा पाएर ती विद्यार्थीहरूसँगै सहभागी एक कलाप्रेमीले प्रश्न गरिन्,'के नेपालमा महिला मोडेलहरू नै तपाईंका कलाका लागि आउँछन् ?, तिनिहरू विवाहित वा अविवाहित हुन्छन् ?' 'चित्रमा देखिएको जस्तै गरी उनीहरू बस्छन् कि तपाईंले सिकाउनुहुन्छ ? सहभागी एक विद्यार्थीले अर्को प्रश्न गरिन् । दीक्षितका लागि न्युड आर्ट विलकुल मात्र कला हो । शरीर र नग्नतासँगै उनको कलाको कुनै सम्बन्ध नरहेको उनले सहभागी सबैलाई प्रस्ट पारे । उनले थपे,'म शरीरलाई उत्सवका रुपमा सेलिब्रेसन गरौं भनेर देखाइरहेको छु । मेरा लागि मात्र होइन सबैको शरीर र खुसीको लागि म न्युड आर्ट बनाउँछु ।' उनले यसरी प्रस्ट्याएपछि विद्यार्थीहरूले अझै थप उत्साहका साथ उनका कलाकृतिहरू नियाल्न थाले ।

पश्चिमा मुलुकमा अन्य कला जस्तै स्थापित न्युड कलालाई नेपालमा समकालीन चित्रकलाको फाँटमा भित्र्याउने श्रेय उनै चित्रकार दीक्षितलाई जान्छ । अमेरिकामा कलामा स्नातकोत्तर अध्ययन पश्चात् नेपाल फर्केपछि झण्डै डेढ दशकदेखि दीक्षितले न्युड कला विधालाई निरन्तरता दिइरहेका छन् । नेपालमा नौलो तथा पश्चिमा कलाको उपमा दिएपनि परम्परागत चित्र तथा विभिन्न मन्दिरका टुँडालहरूमा कुँदिएका कलाकृतिहरू हेर्ने हो भने यसलाई सिर्जनामा उतार्ने पुरानै अभ्यास मान्न सकिन्छ । त्यसैले यसलाई पश्चिमा कलाको रुपमा हेर्ने नहुने चित्रकार दीक्षितको बुझाई छ । न्युड कलालाई मानव शरीरको प्रदर्शन नभएर मानसिक संवेगहरूलाई प्रस्तुत गरेर शरीरलाई प्राकृतिक अवस्थामा नै दर्शारहेको उनी सुनाउँछन् । 'जब मेरो अगाडि कुनै मोडल आएर बसेको हुन्छ । म उसको शरीर होइन मानसिक भाव र अवस्थालाई चित्रमा उतार्छु । म उसको न्युड शरीरलाई होइन यसमा कला र नेचरलाई देख्छु', उनले भने ।

दीक्षितले आफ्नो पछिल्लो कलाकृतिहरूमा ५ दर्जनभन्दा बढी न्युड कलाकृतिहरूमा महिलाका मानसिक अभिव्यक्तिहरूलाई विभिन्न शारीरिक अवस्थितिहरूमा प्रस्तुत गरेका छन् । कलाकृतिहरूमा झट्ट नियाल्दा महिलाका शरीरलाई देखेपनि यसमा महिलाका पीडा, संघर्ष तथा मानसिक उत्पीडनका आवाजहरू इंगित भएको उनको ठहर छ । शारीरिक तथा मानसिक हिंसा खेपेका, यौन हिंसामा परेका विभिन्न उमेर समुहका महिलाहरू मोडलका रुपमा आफ्नो स्टुडियोमा आउने उनी बताउँछन् । ‘उहाँहरू घण्टौंसम्म मलाई आफ्नो कथा र व्यथाहरू सुनाउँनुहुन्छ । ऐना अगाडि अभिएर आफ्नै शरीर नियालेर उहाँहरू शरीरको महत्व बुझ्नुहुन्छ । उहाँहरूका मानसिक अवस्थाहरूलाई म पाँच मिनेट भित्रमा चित्रमा कैद गरिसक्छु’ उनले भने । आफ्नो कलामा रंग, उमेर, समुदाय, लिंगका रुपमा कुनै भिन्नता र विभेद नहुने उनको बुझाई छ ।

लाज, प्रतिष्ठाका नाममा मानिस र उसको शरीरलाई निषेध गरिएको सामाजिक मान्यतामा उनी यसको महत्व र प्राकृतिक अस्तित्वलाई न्युड कला मार्फत बुझाउन चाहन्छन् । उनी आग्रह गर्छन्,'मानिसको लागि शरीर स्वत आफैंमा सुन्दर छ । कालो, गोरो, मोटो, पातलो नाम दिएर बाहिरी रङ र बनावटीमा शरीरप्रति धारणा नबनाऔं ।' यस अघि उनले पुरुषको मनोभाव र समाजले पुरुष भावुक हुँदैन, ऊ रुँदैन भन्ने उसमाथि थुपरिदिएको सामाजिक मान्यतालाई तोड्न पुरुषकै शरीरलाई देखाएर कला प्रदर्शनी गरेका थिए ।

नेपालमा पहिलोचोटी प्रदर्शनी गर्दा आम मानिसमा यस प्रकारका कलाकृतिहरूप्रति केही साघुँरो धारणा थियो । कलाका नाममा अश्लीलता ल्याउने आम मानिसमा भयसमेत हाबी थियो । अहिले स–साना स्कुले बालबालिकाहरूदेखि जुनसुकै उमेरसमुहका मानिसहरू उनको कलाकृतिहरू नियाल्नछन् र उनलाई निर्धक्क रुपमा प्रश्न गर्छन् । यसमा भने उनलाई अत्यत्नै खुसी लाग्छ ।

नेपालमा न्युड कला चिनाएर सार्वजनिक रुपमै उनले कला प्रदर्शनी गरेको यो १८ औं पटक हो । र पनि कला सिर्जनाका लागि महिला मोडलहरू पाउन कठिन नै रहेको उनी सुनाउँछन् । यौनप्रति साँघुरिएको सोचले आजका युवापुस्ता यौनशिक्षा जस्तो महत्त्वपूर्ण विषयलाई खुल्ला रूपमा लिन सकिरहेका छैनन् । आफ्नो कलाकृतिहरूले यसप्रति समेत उदार हुन सिकाउने उनको भनाई छ । प्रत्येकले आफैंलाई नबुझि संसार बु र बुझाउन नसकिने सुनाउँदै उनी भन्छन्,'न्युड कला छोराछोरीहरूले मात्र होइन, तिनका बाबुआमा सबैजनाले अवलोकन गर्नुपर्छ र परिवारमा खुलेरै आफ्नो शारीरिक तथा मानसिक अवस्थाबारे भन्न सक्ने वातावरण बन्नुपर्छ ।'

दीक्षितको कला प्रदर्शनी यही शनिबारसम्म रहनेछ ।

प्रकाशित : कार्तिक ३०, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?