मण्डलामा फेरि ‘सुनकेशरी’- कला - कान्तिपुर समाचार

मण्डलामा फेरि ‘सुनकेशरी’

‘सुनकेशरी नाटकको कथा आजको समयमा पनि उत्तिकै सुहाउँदो र समयसापेक्ष लाग्छ । यसले उठाएको साँस्कृतिक पाटो जुनसुकै कालखण्डका युवापुस्तालाई उपयोगी र युनिभर्सल छन् ।’
सुशीला तामा‌ङ

काठमाडौँ — काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा फेरि नाटक ‘सुनकेशरी’ मञ्चन सुरु गरिएको छ । संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा लिखित तथा रंगकर्मी राजन खतिवडाले निर्देशन गरेको नाटक मण्डला र रंगमञ्चलाई निरन्तर नियालिरहेका आम दर्शकका लागि भने नौलो पक्कै होइन ।

यस नाटकलाई विभिन्न समयमा मण्डला थिएटरले मात्र तीन पटकसम्म मञ्चन गरिसकेको छ । गएको भदौ महिनामा मण्डलाले एक विशेष सो मञ्चन गरी पछिल्लो पटक पोखरास्थित गन्धर्व नाटकघरमा नाटकलाई मञ्चन गरिएको थियो । त्यसअघि थुप्रै अन्तर्राष्ट्रिय नाट्य महोत्सवहरूमा समेत नाटक प्रस्तुत भइसकेका छन् ।

गत शुक्रबार देखि भने मण्डला थिएटर नेपालद्वारा सञ्चालित तीन महिने नाट्य प्रशिक्षण कार्यक्रमअन्तर्गत थिएटर ल्याबको दसौं ब्याचका प्रशिक्षार्थीहरूले नाटकको पुन: मञ्चन सुरु गरेका हुन् । झन्डै १२ वर्षअघि शताब्दी पुरुष जोशीले आफूद्वारा लिखित नाटक ‘सुनकेशरी’लाई रंगमञ्चमा उतार्न रंगकर्मी खतिवडाको हातमा थमाएका थिए । २०२७ सालमा कर्णाली सिन्जामा लोक संस्कृति अध्ययन, अनुसन्धानकै क्रममा सुनेका जनमासमा प्रचलित लोककथालाई जोशीले नाटकको रूप दिएका थिए । आºनै नाटकघरको सपना बुनिरहेका खतिवडालगायतका समकालीन रंगकर्मीहरूका लागि नाटक एक खुड्किलो नै बन्यो ।

पाँच शताब्दीको कथा बोकेको कर्णालीको लोक कथामा आधारित नाटकलाई खतिवडाले परिकल्पना तथा निर्देशन गरी पहिलोपटक सन् २०१२ मा बंगलादेशको ‘रंगो हर्षे, बिंगो वर्षे नाट्य महोत्सव’ मा मञ्चन गरिएको थियो । यही नाटकबाट नै मण्डला नाटकघरको पर्दा उघारियो । यसर्थमा मण्डलाका लागि यो नाटक इतिहास हो भने आºनो नाट्य यात्रामा खतिवडा यस नाटकलाई विशेष रूपमा लिन्छन् । ‘काठमाडौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव, भारतको ‘देशविदेशेर नाट्य मेला’, ‘भारत रंग महोत्सव’हरूमा नाटकको मञ्चन गरिएको थियो । सन् २०१९ मा आयोजित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा नाटकलाई पुस्तकका रूपमा सार्वजनिकसमेत गरियो ।

नाटकमा मुख्य पात्र सुनकेशरी छिन् । उनको रूपको सौन्दर्य र गुणले प्रजादेखि राजासम्म प्रभावित हुन्छन् । कर्णालीका तत्कालीन राज्यहरु छिँनासिंहका राजा विक्रम शाही र उनका मामाचेला नाताले कुटुम्बेली भाइ रास्कोटका राजा साइमल शाही सुनकेशरीको रूप र यौवनबाट लालायित हुन्छन् । तत्कालीन ठकुरी संस्कारमा मामाचेला फुपुचेला प्रचलित रहेकाले फुपुका छोरा प्रजापति सुनकेशरीमाथि स्वत: हक दाबी गर्छन् । सुनकेशरीको रूपले मोहित अर्का पात्र हुन्छन्, भोटका राजा झम्पन । रूप र सौन्दर्यकै खातिर सुनकेशरी पाउने अभिलाषाको दौडमा रहेका यी पात्र र तिनै मार्फत सुनकेशरीले भोगेको भोगाइ उनको प्रताडनालाई नै नाटकमा देखाइएको छ ।

नाटकको कथामा खलपात्रका रूपमा झम्पनको प्रवेशले भने सुनकेशरीको जीवनमा उथलपुथल ल्याउँछ । नाटककी पात्र सुनकेशरी र अहिलेको समयावधिलाई लेखाजोखा गर्ने हो भने समयले निकै फड्को मारिसकेको छ । यद्यपि अझै पनि ‘सुनकेशरी’ उसैगरी सुन्दरताकै कारण उत्पीडनमा छन् भन्ने कुरा नाटक हेर्दै गर्दा दर्शकलाई भान हुन्छ । उहिलेका राजा विक्रम शाही, साइमल, झम्पन, प्रजापति मात्र होइन कलियुगका पुरुषसत्ताले अहिले पनि ‘सुनकेशरी’हरु माथि नै दाबी गरिरहेका छन् भन्ने नाटकका दृश्यहरुले बताउँदै गर्दा दर्शकलाई नाटक पुरानो लाग्दैन । नाटकको करिब अन्तिम दृश्यतिर सुनकेशरी बोल्छिन्,‘संसारका सारा दरबारहरु बाहिरी सौन्दर्य खोज्छन् । गोरोपनमा सौन्दर्य खोज्छन् । मनको सौन्दर्य आत्मको सौन्दर्य उनीहरुको खोजीको विषय नै होइन ।’ प्रस्तुत संवादले भलै तत्कालीन समयको दरबार र दरबारभित्र रहने महिलाका अवस्था चित्रित गर्छन् । र पनि नाटक हेर्ने दर्शकका लागि नाटकमा प्रस्तुत गरिएको संवाद पाँच दशकअघिको कथा होइन, समकालीन समाजको आवाज नै अगाडि ल्याएको झैं लाग्छ ।

नाटकमा प्रयोग गरिएको प्रत्यक्ष संगीत, हुड्केली, देउडाको लयले दर्शकलाई कर्णालीतिर पुर्‍याउँछ । ‘प्रप्स’कै रूपमा प्रयोग गरिएको लौराहरु कर्णालीको लोकसंस्कृति झल्काउन मात्र होइन बाटो, खोलानाला, भिरपहरा, युद्ध,दरबार र भोट राज्यको परिवेश झल्काउनसमेत निकै अर्थपूर्ण र सुन्दर देखिन्छन् । सुनकेशरी पात्रकी रूपमा देखिएकी परीक्षा लिम्बू सामान्य युवतीदेखि दरबारकी महारानीसम्मको अभिनयमा पोख्त देखिन्छन् । आºनो सौन्दर्य नै श्राप जस्तै बनेको सुनकेशरी सबैबाट सुरक्षित रहन कुरुप बन्छिन् । नाटकका सम्वादमा मोसो दलिएको भनिएपनि दृश्यमा भने रातो रंग देखिन्छ । त्यस्तै नाटकमा फुपू पात्र शारीरिक हाउभाउ र बनावटमा निकै वृद्धा लाग्छिन् तर उनको बोलीमा उनको बुढ्यौलीपना झल्कँदैनन् । यी दृश्य नाटकमा कमजोर लाग्छन् ।

दर्शकलाई पुरानै समयमा डोर्‍याउन कथावाचकले कथा प्रस्तुत गर्दा होस् या दरबार, युद्धमा देखाइएका दृश्य, प्रयोग गरिएको प्रकाश भने नाटकमा विशेष लाग्छ । पुरुषहरू मात्र हुड्केलीमा सहभागी हुन्छन् भन्ने मान्यतालाई तोड्न कथावाचकका रूपमा महिला पात्र नै प्रस्तुत गरिएका छन् । सुत्रधारकै रुपमा कलाकार प्रीतिशा अधिकारीले हुड्केली गाउँदै सुनकेशरी मैयाँको कथा सुनाएकी छन् । उनको खस भाषा र लयले अझै कर्णालीको परिवेशतिर दर्शकलाई लैजान्छ । एक दशकअघि नाटकको पहिलो मञ्चनमा भने कथावाचक पुरुष पात्रका रूपमा रंककर्मी हीरा बिजुली नेपाली थिए ।

पाँच शताब्दीअघिको कथा, एक दशकअघि नै मञ्चन गरिएको नाटक पटक–पटक किन मञ्चन गरिँदै छ भन्ने प्रश्नमा निर्देशक खतिवडा भन्छन्,‘सुनकेशरी नाटकको कथा आजको समयलाई पनि उत्तिकै सुहाउँदो र समयसापेक्ष लाग्छ । यसले उठाएको साँस्कृतिक पाटो जुनसुकै कालखण्डका युवापुस्तालाई उपयोगी र युनिभर्सल छन् ।’

कार्यकारी निर्माता उमेश तामाङ रहेको नाटकमा मञ्च व्यवस्थापन अनुज्ञा रेग्मी, प्रकाश व्यवस्थापन निर्माता तामाङ, संगीत संयोजन अनुपम शर्माले गरेका छन् । सञ्जीवजंग क्षेत्री, आर्य सुमन खड्का, रोशन लोहोरुङ राई, सुनील राई, कृष्ण चौधरी लगायतका कलाकारहरुको अभिनय रहेको नाटक कात्तिक २७ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : कार्तिक २५, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्

तोक्मेडाँडामा फाल्गुनन्दको पूर्ण कदको सालिक

आनन्द गौतम

ताप्लेजुङ — किरात धर्म दर्शनका पुनरुत्थानकर्ता राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १ सय ३८ औं जन्मजयन्ती शुुक्रबार सदरमुकाम फुङ्लिङमा मनाइँदै छ । फुङ्लिङको तोक्मेडाँडामा एउटै ढुङ्गालाई कुँदेर निर्माण गरिएको १५ फुट उचाइ, १ सय ३५ क्विन्टल वजनको फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

सालिक अनावरणका लागि धर्मगुरु आत्मनन्द लिङ्देन, गुरुआमा साँवा पवित्रा हाङमा र प्रदेश १ का प्रमुख पर्शुराम खापुङ आउने किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र सिं थेगीमले जानकारी दिए । थेगीमका अनुसार लिङ्देनले प्रवचन दिने कार्यक्रम पनि रहेको छ । फाल्गुनन्दको जन्म जयन्तीको दिन प्रदेश १ मा सार्वजनिक बिदा दिने निर्णय गत वर्ष देखि नै भएको छ ।

तत्कालीन समाजमा विद्यमान छोरीचेलीबाट रित नलिनु, नखानु, मासुमंश, मदिरा सेवन नगर्नु, वली पूजा नगर्नु नगराउनु लगायतका सात बुँदे समाज सुधारका नीति ल्याएका फाल्गुनन्दले थुमका किरातहरुलाई बोलाई बृहत् चुम्लुङ गरी तत्कालीन समाजका विकृतिहरुलाई हटाउन सत्यधर्म मुचुल्का खडा गरेको थेगीम बताउँछन् । किरात धर्मावलम्बीहरुको तीर्थ भूमि र मुक्ति भूमिको पहिचान गरेको, छरपष्टिएको एवं लोपोन्मुख सामाजिक मुन्धुमलाई संहिताकरण गरी पुन: लेखन गरेको, लोपोन्मुख किरात लिपिलाई प्रचारप्रसार गरेको, देश तथा विदेशमा माङ्हिम (मन्दिर) स्थापना गरेको र विभिन्न स्थानमा पहिरो रोक्ने, पानी उमार्ने, खडेरी भएको ठाउँमा पानी पार्ने जस्ता चामत्कारिक कार्य गरेकोले फाल्गुनन्दको महत्त्व रहेको थेगीम बताउँछन् ।

१९४२ साल कात्तिक २५ गते इलामको माङसेवुङ २ मा जन्मिएका फाल्गुनन्दको नाममा सरकारले २०५० सालदेखि १५ रुपैयाँको हुलाक टिकट जारी गरेको छ । माध्यमिक तहको नेपाली पाठ्यक्रममा समावेश गर्नुका साथै दमकदेखि पाँचथरको पञ्चमीसम्मको सडकलाई फाल्गुनन्द मार्गको नामाकरण गरिएको छ । २०६६ मंसिर १६ गते १६ औं राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

प्रकाशित : कार्तिक २५, २०७९ १०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×