कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सडकमै कला प्रदर्शनी

स्टुडियो र ग्यालरीहरू नपस्नेलाई बाटैमा कलाकृति देखाएर प्रदर्शनीमा जोड्ने प्रयास
सुशीला तामा‌ङ

काठमाडौँ — सडकका भित्ताभरि कलाकृतिहरू सजिएका छन् । सडकमा हिँड्नेहरू एकछिन टक्क अडिन्छन् र कलाकृति हेरेर आफ्नो बाटो लाग्छन् । चित्रकार लक्ष्मण श्रेष्ठले सडकमै एकल प्रदर्शनी गरेका छन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ठीक अगाडि सडकका भित्ताहरूमा उनले सोमबारदेखि कला प्रदर्शनी सुरु गरेका हुन् ।

सडकमै कला प्रदर्शनी

अमूर्त तथा अर्ध अमूर्त शैलीका झन्डै डेढ दर्जन कलाकृतिहरूमा श्रेष्ठले समकालीन समय, समाज र मानवीय स्वभावसँगै कला क्षेत्रमा भएका विसंगतिलाई समेत चित्रण गरेका छन् । ग्यालरी र आर्ट स्टुडियोमा मात्र सीमित नराखी बाहिर सर्वसाधारणमाझ कलालाई ल्याउनुपर्छ भन्ने मान्यताले सडकमा प्रदर्शनी गरेको श्रेष्ठले बताए । ‘ग्यालरीभित्र मात्र प्रदर्शनी गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘ग्यालरी नचिन्ने र थाहा नहुनेहरूले प्रदर्शनी कहिल्यै पनि हेर्न पाउँदैनन् ।’ कलालाई ग्यालरी परम्पराले निकै साँघुरो बनाएको उनको बुझाइ छ । कलाका स्रष्टाहरूले कलामा साँच्चै आमूल परिवर्तन गर्न नै खोज्ने हो भने यो समयमा सबैले नयाँनयाँ ढंगले कलालाई बाहिर ल्याउनुपर्ने उनले सुनाए ।

नेपाल आर्ट काउन्सिलमै कलाको बृहत् प्रदर्शनी ‘हिमालय आर्ट फेस्टिभल’ चलिरहेको समयमा यसकै बाहिर सडकमा किन कला प्रदर्शनी आवश्यक भयो भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘मेरो प्रदर्शनीले महोत्सवका लागि अझै पुलको काम गरोस् भन्ने म चाहन्छु । सडकमा कला हेर्नेहरूले भित्र पनि गएर कला हेर्न सक्छन् ।’ ग्यालरीसम्म पुग्ने समय र कला माहोलको जानकारी नभएकालाई प्रदर्शनीले सघाउ पुर्‍याउने उनको मत छ । प्रदर्शनी हेर्दै गरेका ललितकलाका विद्यार्थी आर्जन तन्डुकार र अक्षत ताम्राकारले श्रेष्ठको कला प्रदर्शनीको अवधारणा निकै राम्रो लागेको सुनाए । तन्डुकारले भने, ‘हामीले ग्यालरीहरूमा मात्र आर्टहरू हेर्दै आएका थियौं । आज रोडमै देखेर फरक लाग्यो ।’

कलालाई सडक वा भित्तामा सिर्जना गरेर आम मानिसलाई देखाएको श्रेष्ठको यो पहिलो काम भने होइन । यसअघि पनि उनले नेपालगन्जदेखि राजधानीका सडक र भित्ताहरूमा कला सिर्जना गर्दै आएका छन् । उनले हालै मात्र वीर अस्पताल भएर जाने सडकका भित्ताहरूमा ‘मस्तिष्कको कुनामा’ लगायतका भित्तेकला सिर्जना गरेका थिए । उनको कलामा समकालीन सामाजिक, राजनीतिक, सांस्कृतिक जस्ता क्षेत्रका चरम बेथिति, यसमै रुमलिएको मानवीय समाजको चित्रण पाइन्छ ।

हाल उनले ‘इम्टी मनी प्रोजेक्ट’ अन्तर्गत खोज अभियानका लागि भीमसेनगोलाका सडकका भित्ताहरूमा चित्र बनाउने पनि गरिरहेका छन् ।

प्रकाशित : आश्विन १३, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?