१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

देउडामा सुखदुःख

घरव्यवहारमा परेका पीरहरु महिलाले मेलापात जाँदा भाका हालेर खोल्छन्, विरहले ओतप्रोत देउडाका भाका नै छुट्टै सुनिन्छ 
मेनुका ढुंगाना

अछाम — आई गए जात्राका मैना, बोल मैना बोल
दिल मिले संसारै आफ्न, दुःखी मन त खोल
राम हेर्नु कृष्ण जात्रा, जन्त जानु तोली
को बुझ्दो मनका लहर, कैकी भनु खोली

देउडामा सुखदुःख

चाडपर्वको मौसम । गाउँबेंसी सबैतिर मेला जात्रा । प्रायः सुनसान हुने पहाडका गाउँबस्तीमा चाडपर्वसँगै चहलपहल छ । यतिबेला अछामका धेरै ठाउँमा देउडा गीतका भाका गुन्जिरहेका छन् । केहीमा खुसीमा छ, केहीमा पीर । देउडा खेल्नु अवसर पनि हो ।

देउडा, न्याउले, रतेडी यी शब्द सुदूर तथा कर्णालीका महिलाहरूका लागि मनको वह पोख्ने माध्यम पनि हुन् । दुःख पाएकाहरूले अझै पनि मेलापात, घाँसदाउरा, पानी पँधेरो, खेतबारी जाँदा यस्तै मार्मिक भाका हाल्दै गाउँछन् । गोठालो जाँदा नै किन नहोस् अथवा महिनावारी भएर सबै छोरीहरू एउटै गोठमा बसेर यस्तै देउडा दोहोरी गाएर रात बिताउने गर्छन् । देउडा गीतमा मनोरञ्जन मात्रै छैन, पीडा पनि छन् । ठाडी भाका, न्याउले, देउडा दोहोरीको माध्यमबाट धेरैजसो सुखदुःख का भाव व्यक्त गर्दछन् । विवाह, व्रतबन्ध र शुभकार्यमा रत्यौली खेलेर यहाँका महिला रमाइलो गर्छन् । मेलापातमा दुःख र व्यथालाई पनि ठाडी भाकाको माध्यमबाट प्रस्तुत गर्दछन् ।

जुन भन्दा तेपाया राम्डा, तारा किरीकिटी ।

दूध भनी लायाको माया, किन छिरबिटी ।।

मंगलसेन–५ की धना बोहरा गाउँघरमा विवाह, व्रतबन्धमा देउडा दोहोरी खेल्छिन् । देउडामा प्रयोग हुने सबै शब्दले अर्थ दिने उनी बताउँछिन् । उनका अनुसार ‘जुन भन्दा तेपाया राम्डा, तारा किरीकिटी’ यहाँ जूनभन्दा टलक्क टल्किने चन्द्रमालाई तेपाया नाम दिइएको छ । जसले प्रेमसम्बन्धमा कुनै पनि दाग छैन भन्ने अर्थ दिएको छ । तारा सानो हुने भएकाले खासै चम्किलो हुँदैन भन्ने अर्थ दिएको छ ।

‘दूध भनी लायाको माया, किन छिरबिटी’ दूधलाई पवित्र मान्ने गरिन्छ । कुनै प्रेमिल जोडीले सुरुमा गाँसेको सम्बन्ध दूधजस्तै पवित्र भएको र समाजमा आउने हरेक बाध्यताले गर्दा प्रेम जोडीले मूर्तरूप दिन नसक्दा सम्बन्ध यत्रतत्र भएको कुरालाई देखाउन खोजिएको छ ।

सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लामा विवाह व्रतबन्धमा अनिवार्य रूपमा खेलिने देउडा पछिल्लो समयमा विकृतितिर बढी ढल्किन थालेको उनको भनाइ छ । अछामका धेरैजसो घरबाट पुरुषहरू कमाउन भारत जाँदा उताबाट देउडा गीतमै चिठी आउने गरेको धना स्मरण गर्छिन् । कामको खोजीमा परदेस गएकाले देउडा गीतमार्फत दःुख सुनाउने गरेको उनी बताउँछिन् । अहिले प्रविधिको विकास भएसँगै चिठीको जमानासँगै देउडाप्रतिको मोह पनि घटेको छ ।

आउने कोइ नाइ जाने कोइ नाइ, क्या कराउँछै काग ।

प्रदेशी हुँ प्रदेशै छु, प्रदेश मेरा भाग ।

धना अर्थ्याउँछिन्– काग करायो भने कुनै खबर ल्याएको बुझिन्छ भने परदेशीले विरानो ठाउँमा मेरो को आउँछ र खाली किन कराउँछस् भनेर कागलाई प्रश्न सोधिएको बुझिन्छ । अहिले गाउँघरमा विवाह, व्रतबन्धमा खेलिने रत्यौली पनि हराउने संघारमा पुगेको उनको ठहर छ ।

‘हाम्रा परम्परागत संस्कृतिमा परिवर्तन हुँदैन । भाका हाल्न जान्ने घट्दै छन् । छिट्टै हराएर जाने पो हो कि जस्तो लाग्छ,’ धनाले भनिन्, ‘अहिलेका छोराछोरीले देउडाका बारेमा चासो लिँदैनन् । यो दुःखद् पक्ष हो ।’

प्रकाशित : आश्विन १२, २०७९ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?