कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव-२०७९ हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘सामाजिक रुपान्तरणको लागि रंगमञ्च : विविधताको उत्सव’ भन्ने नाराका साथ थापागाउँस्थित मण्डला थिएटरको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । मण्डलाले सोमबार पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो ।

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव-२०७९ हुँदै

मण्डलाका अनुसार आगामी मंसिर ९ गतेदेखि १७ गतेसम्म हुने नौ दिवसीय महोत्सवमा नेपालसहित १६ मुलुकका २३ वटा नाटक मञ्चन हुनेछन् । मण्डलाद्वारा आयोजित नाटक महोत्सवको यो दोस्रो संस्करण हो । यसअघि मण्डलाले ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ सम्पन्न गरिसकेको छ ।

महोत्सवमा देशभरीबाट छानिएका ५ नेपाली र १८ वटा विदेशी नाटकहरू मञ्चन हुनेछन् । महोत्सवका लागि २२ देशका ८५ वटा नाटकहरू उपलब्ध भए पनि आधुनिक रंगमञ्चलाई नौलो धार र शैलीमा कथा वाचन गर्ने १६ मुलुकका २३ वटा नाटकमात्र छनोट गरिएको महोत्सवकी संयोजक विजया कार्कीले बताइन् । उनका अनुसार १ करोड ५० लाखको बजेट अनुमान गरिएको महोत्सवमा नाटक मञ्चनको अलावा महोत्सव अवधिभर कार्यशाला, छलफल, अन्तरक्रिया, तालिम, फोटो प्रदर्शनी, सहर भ्रमण, विविध सांस्कृतिक कार्यक्रमका प्रस्तुति रहेका छन् ।

महोत्सवलाई रंगकर्मी तथा निर्देशक अनूप बरालले सम्पूर्ण नाट्य क्षेत्र, नाट्यकर्मी र कलाप्रेमीका लागि उत्सवका रुपमा रहने बताए । ‘यो नाटक महोत्सव मेरो मात्र नभएर सम्पूर्ण रंगकर्मीहरूको साझा सपना हो,’ उनले भने, ‘यसबाट हामीले आफ्नो मात्र नभएर अरुको तर्फबाट व्यक्त गरिने नाटकको भाव, प्रस्तुति, अभिनय र धरातल बुझ्न सक्छौं ।’ नेपाली नाटकको सामाजिक, सांस्कृतिक धरातलसँग विदेशी नाटकहरूको तुलानात्मक अध्ययन गर्नसमेत महोत्सवले सघाउने उनको मत छ ।

रंगकर्मीहरु दयाहाङ राई, सिर्जना सुब्बा, केदार श्रेष्ठले रंगमञ्चको विस्तार र विदेशी नाटक तथा नाट्य क्षेत्रसँग सहकार्य गरी एक आपसमा विचार आदान प्रदान गर्न यस्ता महोत्सवहरू भइरहनुपर्ने धारणा राखे । आफ्नै स्रोत र साधन उपयोग गरी एउटा नाटक गर्न पनि कठिन भइरहेको अहिलेको अवस्थामा महोत्सव गर्न चुनौती रहेको रंगकर्मी राईले सुनाए ।

मण्डलाले अघिल्लो वर्ष नै गर्ने भनिएको दोस्रो संस्करण कोरोना महामारीका कारण स्थगन गरिएको थियो । आगामी महोत्सवमा संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, इजिप्टलगायत देशहरू सहभागी हुनेछन् ।

प्रकाशित : आश्विन १०, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?