कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आमाका नाममा

सन्तानलाई बाटो देखाउने–सिकाउने आमाहरू कलाकर्मीका लागि सिर्जनाको पहिलो साक्षी 
कान्तिपुर संवाददाता

काठमाडौँ — चित्रकार संगी श्रेष्ठले कलाकर्मको एउटा प्रदर्शनी आफ्नी आमालाई समर्पण गरेकी छन् । ललितपुर पुल्चोकस्थित जिजी मचानमा ‘स्पन्दन’ शीर्षकमा बुधबारदेखि उनको एकल प्रदर्शनी भइरहेको छ । उनले यस पटकको प्रदर्शनी गत भदौमा दिवंगत आमा अम्बिकादेवी श्रेष्ठलाई सम्झेर गरेकी हुन् । दुई दर्जनभन्दा बढी कलाकृति प्रदर्शनमा छन् । 

आमाका नाममा

प्रदर्शित कलाकृतिहरूमा आमासँग जोडिएका विभिन्न समय र चिजबिजहरू बिम्बात्मक रूपमा चित्रित गरिएको छ । ‘हामी सबै जे

छौं, जहाँ छौं सबै आमाकै देन हो,’ उनी भन्छिन्, ‘आमाको भौतिक शरीर साथमा नहुँदा पनि साथै हुनुहुन्छ भन्ने लागिरहने

रहेछ । म अहिले यही महसुस गर्छु ।’

झन्डै तीन दशकको कला यात्रामा आमाको साथ र समर्थन विशेष रहेको उनी स्मरण गर्छिन् । उनी आफ्नो सिर्जनाको पहिलो साक्षी दर्शक एवं कलाप्रेमी, शुभेच्छुक आमालाई मान्छिन् । उनले भनिन्, ‘आमा बिरामी भएर हस्पिटल हुँदा नै प्रदर्शनी गर्ने कुरा उहाँलाई भनेकी थिएँ । उहाँ निको भएर मात्र गर्ने सोच्दासोच्दै आमा बित्नुभयो । त्यसैले यसलाई आमाकै लागि समर्पित गरें ।’

श्रेष्ठको कलाकृति विशेषतः महिला विषयमा केन्द्रित छन् । अमूर्त तथा अर्ध अमूर्त शैलीमा प्रस्तुत हुने उनका कलाकृतिहरूमा समकालीन मानवीय जीवनका उत्तरचढाव, मानसिक आवेग र महिला जीवन संघर्षका भोगाइहरू भेटिन्छन् । विभिन्न ज्यामितीय आकार र रेखालाई रङले आकार तथा रूप दिने उनका सिर्जनामा नौला विषय र प्रस्तुति प्रतिबिम्बित हुन्छन् । आयातकार र वर्गाकार रूपरेखाका आकारहरू टक्क रोकिएर जीवनका मूल्य र नारी सौन्दर्यशास्त्रलाई खोतल्ने उनका कलाकृतिहरूले कलाप्रेमीलाई मानसिक शीतलता प्रदान गर्दै एउटा छुट्टै प्रेमिल संसारमा यात्रा गराउँछन् । पहेँला, काला, नीला, सेता रङहरूमा रातो टीका र ओठको सौन्दर्यलाई घुसाउँदै उनी महिला पात्रलाई स्थापित गर्न निपुण छिन् । महिला र सौन्दर्य प्रसाधनमा आउने अधिकांश बिम्बमा आमाकै प्रभाव रहेको उनले सुनाइन् । ‘आमाले लगाउने रातो टीकाले म निकै प्रभावित छु । कहिलेकाहीं आमाले टीका नलगाउँदा पनि खल्लो लाग्थ्यो । उहाँ बिरामी हुँदा पनि हामी टीका लगाइदिन्थ्यौं । आमाकै टीका हेर्दाहेर्दै मैले गर्ने आर्टमा पनि त्यही कुरा आइहाल्छ,’ उनले भनिन् ।

श्रेष्ठको कलाकृति हेरेर सबैभन्दा खुसी हुने र गर्व गर्ने उनकी आमा थिइन् । कला सिर्जना नै आमाछोरीको दिन कटाउने मेलोमेसो बन्थ्यो । उनले स्मरण गरिन्, ‘दिनभरि आमा पनि घरमा र म पनि घरमै हुन्थें । मैले आर्ट गरुन्जेल आमा अनलाइनमा घन्टौं बसेर हेर्नुहुन्थ्यो र यो भयो, यो भएन भनेर भन्नुहुन्थ्यो ।’ उनको कामलाई स्नेहपूर्वक हेर्दै स–सानो उनका उपलब्धिले पनि उनकी आमा खुसी हुने गरेको उनले सम्झिन् ।

आमाको देहान्तपछि उनले कला सिर्जनालाई पहिलेकै लयमा निरन्तरता दिन सकेकी छैनन् । उनी आमासँगै भएको कल्पना गर्दै चित्र कोर्छिन् र आमाको ‘स्पन्दन’ महसुस गर्छिन् । त्यसैले उनले प्रदर्शनीको नाम नै ‘स्पन्दन’ भनेर जुराइन् । उनले प्रदर्शनी विशुद्ध ग्यालरी नभएर खाना तथा संगीतका पारखीहरूको आउजाउ र जमघट हुने जिजी मचानमा गरेकी छन् । प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

प्रकाशित : आश्विन १०, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?