शाक्यले ल्याए ‘सिर्जनाका डोबहरू’

पोखरा — पोखराको रंगमञ्च, चित्रकला र प्रहसनबारे लेखिएको पहिलो पुस्तक ‘सिर्जनाका डोबहरू’ को शनिबार लोकार्पण गरिएको छ । कलाकर्मी विश्व शाक्यको लेखन रहेको पुस्तक सिर्जनशील कलाकार समूहले प्रकाशित गरेको हो ।

साहित्यकार सरुभक्तले शाक्यको कृतिमा पोखरेली कला र कलाकारका गतिविधिको विवरण र विवेचना समेटिएको बताए । ‘यो पुस्तक शाक्यको स्मृति र सिर्जनाका डोबहरू मात्र होइन,’ उनले भने, ‘पोखरेली कलाको एक कालखण्डको कला गतिविधिका तथा कलाकारहरूको आधिकारिक अभिलेख पनि हो ।’
कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले आजसम्म पोखरेली कला र कलाकारका विषयमा लेखिएको कुनै अर्को पुस्तक आफ्नो जानकारीमा नरहेको उल्लेख गरे । यो पुस्तक भविष्यमा पोखरेली कलाका विषयमा अनुसन्धान गर्ने र लेख्नेहरूका लागि एउटा बलियो आधार बन्न सक्ने उनको भनाइ थियो ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले शाक्यको पुस्तक अभिलेखका रूपमा आएकाले पोखरेली कलाको इतिहास पढ्न उपयोगी हुने बताए । कलाकार सुनील सिग्देलले नयाँ पुस्तालाई ज्ञान नभएका कतिपय कलाका विषयबारे थाहा पाउन पुस्तकले मद्दत गर्ने बताए । सिर्जनशील कलाकार समूहकी अध्यक्ष मिलन शेरचनले चित्रकला, रंगमञ्च र प्रहसनको ऐतिहासिक संकलन कृतिमा गरिएको बताइन् ।
शाक्यका यसअघि हास्यव्यंग्य, बुद्ध दर्शन, कविता, संस्मरण, नियात्रा, कला, संस्कृतिसँग सम्बन्धित ३० वटा कृति प्रकाशित छन् । पोखराका पाँच दशक पुराना तस्बिरसँगै वर्तमान तस्बिरहरू तुलनात्मक रूपमा समेटेर तयार पारिएको उनको पुस्तक ‘पोखराः हिजो र आज’ पोखराको विकास र विकासक्रमको पहिचान दिलाउने मानक पुस्तक बनेको थियो ।
प्रकाशित : आश्विन ९, २०७९ ०७:५५